Posted by: crazy_love January 12, 2008
लौ म नसक्ने भए स्वीटी सङ.....................
Login in to Rate this Post:     0       ?        

स्वीटीको मुड ठिक छैन भन्ने कुरा उस्ले चोर औंलाले घरि घरि अनुहारमा खसिरहने केशलाइ बटारीरहेकी देखेर थाहा हुन्थी। मैले सोध्नु पर्दैनथ्यो। एकछिनमा सबै आफै बताइहल्छे भन्ने कुरामा म ढुक्क थें। अरु बेलामा पनि उ हद्द भए ३० मिनेट चुप रहन्थी। तेसपछि निरमा डिटरजेन्टले जस्तै मन सफा गरेर सबै कुरा छर्लङ बताँउथी मलाइ। मेरो मिल्ने साथी उ। केहि लुकाँउदैन थी सकेसम्म। एउटा कुरा बाहेक। त्यो झ्याले (झ्यालकुमार) सङ उसको सुटुक्क इलु इलु भैसकेको कुरा अझै मलाइ भनेकि थिन।  शायद उसलाइ म पनि झ्यालेको प्रेममा 'वन वे ट्राफिक' भएर दुर्घटनाको कारण मेरो मुटु सारै नराम्रो दुखेको थियो भन्ने कुरा थाहा थिएन। गल्ती कसैको थिएन। आज घरबाट कलेज आउन्जेल उ चुप नै थी।


"आज पहिला चिया पिउन जाँउ क्यान्टिनमा।" स्वीटीको मुखबाट बल्ल बोली फुट्यो।
"यो बिहानको क्लास त बोर नैं छ। हुन्छ नि।" मैले साथीको दुखमा साथ दिनै पर्यो। बिहानको १० बजिसकेको थियो। क्यान्टिनमा चिया मगाएर कुरिरहेका थियौं।
"आज कलेज बंक गरौ।"
"कहिले पो नगेरेको छ र? अस्तिको हप्ता देखि क्लास बसेको छैन। कहाँ जाने आज?"
"फिलिम हेर्न जाने। पढ्नै मन छैन यार।"
"नम्बर १ को कारण कि नम्बर २ को?" मेरो इशारा नयाँ ब्वाइफ्रेन्डपट्टी थियो। जुन कुरा स्वीटीले मलाइ अझै लुकाइरहेकी थिए।
"मेरो हार्टको सेन्टरमा अहिले पहिलाको नम्बर १ झरेर नयाँ नम्बर १ आको छ।"उसको आँखा चम्कियो बल्ल।
"अनि पहिलाको नम्बर १ के रे उस्को नाम?" सबैजनाको नाम याद गर्न पनि गार्हो। घरि अनिल, घरि सुनिल, घरि को को।
"पहिलाको नम्बर १ मुटुको सेन्टरबाट अहिले सरेर दाँया कर्नरमा पुगेको छ। उ पनि मेरो मुटुमा नै छ।" बल्ल हाँसी मोरी। बिहानदेखि औँसी जस्तै काली भाकी थी।
"तेरो मुटु कति ठुलो हो। दुइजना अटाउने एकै ठाँउमा। अनि आज किन मुड अफ नि तेरो?"
"मुटुको बाँया कर्नरमा 'राज' पनि राज गरि राको छ।" आँखा झिम्काइ फेरि मलाइ। राजसङ उसको ब्रेक अप भाको त ६ महिना भै सक्यो। तर पनि दुबै जना अझै फोन गर्दा रहेछन्।


चिया सकेर हामी दुबै पाटनको अशोक सिनेमा हलतिर लाग्यौं। गेटनिरै एकजना को हो चिन्या चिन्या जस्तो मान्छे हाँसीरहेको थियो।
"ल हेर मेरो नयाँ नम्बर १" स्वीटीले देखाइ।
"कति ढिलो आको तिमीहरु?" झ्यालेको स्वरले मलाइ झस्कायो एकछिन। यो धोखेबाजसङ फिलिम हेर्ने भनेकि स्वीटीले। मनभित्र फेरि आगो बलेर धुँवा निस्क्यो। स्वीटी मस्किन सुरु गरिरहेकी थी। उस्को पातलो कम्मर घरि right to left घरि left to right swing गरिराको थ्यो। उसको परेला हरु झिमझिम गर्न थालेको थियो। स्वीटीको कपाल चाही right shoulder बाट left अनि left बाट right shoulder मा हल्लिरहेको थियो। मोरीको कम्मर पिटिक्क भाँच्चिएला भन्ने कत्रो डर मलाइ। 'मु' भनेको झ्याले मुर्दार दङ परेर स्वीटीलाइ हेर्या हेर्यै भयो। येही अदाले त भुतुक्क बनाँछ प्राय सबैलाइ। मैले स्वीटीको कम्मर सङै लच्किरहेको शरीरलाइ नियाली रहें। मलाइ किन आउदैन यो कला? म किन सक्दिन मस्किन?


"cl, उसलाइ कहिले देखेकि छेस्?" नक्कली मस्कि फेरि।
"तिमी आजकाल झ्यालमा बस्दैनौ नि तेति। किन?"झ्याले बजियाको मुखमा हान्न मन लाग्यो मलाइ। बेकारमा मैले कस्तो राम्रो राम्रो कबिताहरु लेखेको, फेरि सबै स्वीटीलाइ देको। किशोर कुमारको 'हमे तुमसे प्यार कितना भन्ने गीत 'रिवाइन्ड' गर्दै कति सुन्या कति। एकदिन त भाइले झन्डै चक्का नै फाल्देको वाक्क भएर। कम चोट परेको छ र झ्यालेले गर्दा। अझै पनि त्यो झ्याल देख्यो कि मुटु चस्किन्छ।
"आजकाल गर्मी छ नि त घामले पोल्छ तेसैले।"मलाइ तेसको अनुहार पनि हेर्न नपरोस भन्ने भाको थियो। खासमा घाम भन्दा बढी तैले पोल्या छस् भन्न मन थियो भन्न सकिन।
'हाइ'  भन्दै स्वीटी त पर पो जान्छे एकैचोटी। म झन् यो झ्याले बाट कसरी टाढा हुने भनेर सोच्दैथें। तेसको मुटुको दाँया कर्नरको नम्बर २ पनि पाल्नु भाको रैछ हलमा त। एक मनले मलाइ खुशी लाग्यो। बल्ल हुने भयो सबै कुराको समाप्ति। स्वीटीको मुटु रित्तै हुन्छ छिट्टै नै। फिलिम हेर्ने भनेको त अर्को फिलिम पो सुरु हुने भयो आज। मेरो मनमा अब के हुन्छ भन्ने भै राको थ्यो। स्वीटीमा त तेस्तो केही पनि चिन्ता देखिन। उल्टो नम्बर दुइलाइ पनि सङै लिएर पो आइ।
"मेरो मिल्ने साथी cl अनि उस्को साथी उ" भन्दै झ्यालेलाइ पो देखाँउछे बा। तुरुन्तै म झ्याले गधाको साथी बनेछु।
"उ चाही मेरो कजन । अहिले भर्खरै आर्मी जोइन गरेको। उ पनि फिलिम हेर्न आको रे। हामी सङै हेरौँ न हुन्न?"
झ्यालेको मुख त हेर्न काइदा थियो। अमिलो खाएर बिग्रेको अनुहार जस्तै। तर हुन्न भन्ने तागत कहाँ उ सङ ? अब स्वीटीको कजन भनेर चिनाए पछि। चारैजना हलभित्र पस्यौं। स्वीटीको कजन त क्या चलाख, स्वीटीसङै बस्यो। म परें झ्याले सङै। मलाइ त रमाइलो लाग्यथ्यो। कस्तो हुँदो रैछ मेरो मुटुमा चोट पुर्‍याएको नतिजा झ्याले? आज तँलाइ पनि त तेस्तै भयो नि। अब खुच्चिङ् मनमनै भन्दैथें। येसो सम्झे, अगाडी इस्क्रीनको फिलिम त जहिले हेरे पनि हुन्छ। येहाँ स्वीटी र उसको नम्बर २ को कस्तो फिलिम चल्या रैछ भन्ने कौतुहौलता लाग्यो। मैले साइडबाट हेरें, अध्याँरोमा। येस्तो मौका फेरि फेरि आँउदैन पनि थ्यो। मैले अध्याँरोमा सेतो हात र कालो हात चलिरहेको देखें। एकप्रकारको इर्श्या पनि लाग्यो स्वीटी देखी। कस्ति बाठी, नम्बर १ र नम्बर २ सङै बसेर फिलिम हेर्दैछे। सोच्दा सोच्दै मेरो हातमा कस्तो खस्रो चिजले छोको जस्तो महसुस भो। मेरो हात त जकडेको जस्तै भो। चलाउन खोज्छु चल्दैन। फुकाउन खोज्छु फुक्दैन। येसो हेर्छु त झ्यालेले पो समातिराको रैछ। झेल्ली मोरो फेरी झेल्ली गर्दैछ म सङ। एक चोटि त "म" बाट आउने सबै संस्क्रित शब्दहरुले उसलाइ बिभुसित गर्न मन लागेको हो। तर केटी परें, तेस्तो मुख् छाड्न मिल्दैन।  त्यो पनि येत्रो मान्छेहरुको अगाडी। आफ्नै बेइजत हुन्छ। तर मनमा एउटा जुक्ति आयो। येहि हो right time मेरो निर्दोस प्रेममा भएको धोखाको बदला लिने यो सङ। cl सारै खुशी भै मनमनमा।


"ऐयाsssssssssssss,"झ्याले करायो।
"के भयो?" स्वीटीले सोधी। म फिलिममा नै ध्यान देको जस्तै गरेर बसें। झ्याले चुपचाप उठेर बाहिर निस्क्यो। तेसपछि स्वीटी र उसको नम्बर २ पनि मस्त भये आफ्नै फिलिममा। झ्याले फर्केर आयेन। त्यो दिन त मेरो मन अति नै रमायो। फिलिम हेरेपछि हामी तेहि नजिकको रेस्टुरेन्टमा गएर खाजा खायौं। बाटोमा घर फर्किदाँ फर्किदैं मैले कुरा निकाले।
"स्वीटी येस्तो तरिकाले हुँदैन है। कि दुबैलाइ छोडिदे होइन भने एक जनासङ मात्र प्रेम गर। के गर्‍या त्यो? उ सङ पनि मस्क्या छ। उ सङ पनि फिलिम हेर्‍या छ।  त्यो मोरो झ्याले बजियाले आज मेरो हात समाएर मैले त बेस्कन चिमोटीदिए तेस्लाइ।"
"तेही भएर पो त्यो बिचैमा उठेर गाको रहेछ। तेस्तो किन चिमोटेको त। बिस्तारै हात छोड न भन्न सकिनस्?" अझ उपदेश पो छ महारानीको त! कस्ति केटी हो यो? मैले चिन्न सकिन मेरो आफ्नै साथी भएर पनि।
"ल आज हामी फाइनल कुरा गरौं। तँ एउटालाइ बिर्सी। अति भयो यो नाटक। म तँ सङ हिंड्न पनि डर भै सक्यो यार।"
"म सक्दिन कसैलाइ छोड्न।"
"किन?"
"नम्बर १ पनि कस्तो माया गर्छ मलाइ। नम्बर २ त झन् स्वीट छ। अनि मलाइ दुबैको माया लाग्छ।" माछा जस्तो आँखा घुमाँउदै भनी।
"उसो भए बिहे नि। बिहे त दुइजना सङ गर्न मिल्दैन होला नि? कि बिहे पनि दुइ जना सङै? "
"धत् लाटी। बिहे भनेको त कहाँ आफुले सोच्ने कुरा हो र? "
"के रे?"
"हो नि त। मामु बाबाले जसलाइ मन पराइसिन्छ अनि जो सित बिहे गरिदिसिन्छ म त उसैसङ जाने। बिहे जस्तो कुरामा त ठुलोमान्छेहरुको निर्णय पो राम्रो हुन्छ त। हामी बच्चाहरुलाइ के नै थाहा हुन्छ र?"

लौ म नसक्ने भए स्वीटी सङ

Last edited: 12-Jan-08 06:09 PM
Last edited: 12-Jan-08 06:29 PM
Last edited: 12-Jan-08 06:30 PM
Last edited: 12-Jan-08 08:24 PM
Read Full Discussion Thread for this article