"अनुराधा"
भाग १७
धेरै दिन पछि आएको त्यो पत्रले मुटुको धड्कनले बेग हान्यो। कतै नलेख्नु भन्दा भन्दै लेखेकोमा नमिठो चड्कन पो नत्थी गरेकी छैनन् ?
जे होला होला, असल नियतमा लेखेको पत्र थियो। गाली भए नि स्विकार्य छ ताली भए नि भन्दै पत्र खोलें।
तर त्यो पत्रमा मा कुनै गुनासो थिएन। कुनै रीस राग थिएन। अझ परिवारजन द्वारा खडा गरिएको एक अनाबश्यक पर्खाल तोड्न सकेकीमा खुशी थिइन्। र आइन्दा पत्र लेख्न संकोच नगर्न आग्रह पो भेटें। मैले लेखेको जीवन जगत र धरातलिय यथार्थलाई बुझ्न खोजेकी जस्तो लाग्यो। पहिले भन्दा आशाबादी र भबिष्यलाई हेर्ने सकरात्मक नजरहरु स्पष्ट देखिन्थे। संघर्ष गर्ने संकल्प खोपेका आक्रितिहरु झल्किरहेकोथ्यो।
म भित्रको डरले लामो सास् फेर्यो। मैले जुन उद्देश्यले त्यो पत्र लेखेको थिएं। त्यसमा सफल् भए जस्तो लाग्यो। टुट्न लागेको, फुट्न लागेको मनलाई सम्हालिने वातावरणमा आफु कारक भएको जस्तो लाग्यो।
समय बित्दै गए। यसरी नै पत्रहरु क्रमश आइ नै रहे। हरेक चिट्ठीमा जीवनलाई हेर्ने आँखाहरु फराकिला र फरासिला भएको पाएं। पढाइ पनि राम्रो संगै पूरा गर्न थालिन्।
म भने आफ्नै पढाइ र आफ्नै ब्यक्तिगत जीवनब्रित्तको अस्तब्यस्ततालाई केलाउन अनि मिलाउन ब्यस्त रहें। कहिले काहिं मात्र जवाफ फर्काउंथें। लेख्ने बिषयवस्तु पनि हुंदैनथे, फेरि नाजुक मोडबाट बल्ल तल्ल पार गरेको एक जीवनमा धेरै सोचेर, गुणेर मात्र लेख्नु पर्थ्यो, त्यो मलाई हेक्का थियो र त्यसैले लेखिन पनि।
"छोरी, बेला मौकामा म्याडम् ले भन्नु हुन्थ्यो- 'तिमीले एक चोटी साच्चैं नै मन पराएको हो होइन, क्लेयर्लि सोध्नु पर्थ्यो अनुराधालाई, भनेर।"
"म कसरी सोधुं, कुन उद्देश्यले सोधुं, के का लागि सोधुं छोरी?"
यी प्रश्नहरुमा कर्णको रथ झै जिन्दगीको अप्ठेरो थलोमा अड्किन्छु म।
"भनिस्योस् न ड्याडी, किन सोधिसिएन?"
"छोरी, मेरो मनले खोजेको रोजेको जीवन साथी तिम्रो मम्मी। मैले सोधेर के गरुं? एक ब्यक्तीको लागि दुइ आत्मा मार्ने जल्लाद म हुन सक्दिन। मेरा आफ्नै रोजाई छ , आफ्नै बुझाई छ। सबै भन्दा ठुलो पाप आफ्नो आत्म मार्नु हो, आत्महत्या भन्दा नि नीच हुन्छ त्यो। अर्को म तिम्रो मम्मीको आत्मिय प्रेम र निर्दोष आत्मामाथि घात कदापि गर्न सक्दिन।"
"छोरी, आफ्नो मन मारी मारी अरुको मन राख्ने, आफ्नो खुशी जलाएर अर्क्को घर उजिल्याउने महान ब्यक्तीहरुमा म परिन। म सधैं साधरण जीवन जिउन चाहन्छु, सरल मरण बरण गर्न चाहन्छु। सिनेमाको हिरो वा उपन्यासको नायक होइन म। खलनायक कहिलेइ बनिन र नायक बन्ने चाहना पनि भएन। त्यसैले मैले सोधिन, सोध्न जरुरी पनि देखिन।"
"वाह! ड्याडी वाह!, यु आर् ग्रेट।"
"ग्रेट" म होइन छोरी, ग्रेट बन्ने सपना पनि देखिन। बिना पाप, बिना कष्ट आफु र आफ्नो परिवारको जीवन रथ हाक्न सके पुग्छ मलाई। ग्रेट त म्याडम् होइसिन्छ। जिन्दगीलाई बुझ्ने क्षमता र परिस्थिति संग जुझ्ने क्षमता ता म्याडम संग मात्र छ। अझ उनको ममता- तिमीले पाएकै छौ।
क्रमश: