"केटीहुरले लोला हान्दा नि सहेर बस्ने तँ नामर्द! थुक्क तेरो तालु!", साथीको गाली गुन्जी रह्यो रात भरि कानमा। सोंचे, केहि त गर्नै प-यो। तर के गर्ने? वरिष्ठ दाजु राहुलदाईले भने झैं लोलाको साटो गोला हानुम्, सिपाही परिएन। नजानी नजानी गोला हान्न बन्दुक उठाउँदा खप्परै तारेमाम् हुने राहुलदाईको सुझाव चित्त बुझेन।
के गर्ने त?
कसरी बदला लिने त?
गुलेलीको रबर नि प्याट्ट नचुँडियोस्, मट्याङ्ग्रा नि खेर नजाओस्, चरी खुत्रुक्कै हुने गरि मरी भन्ने टेन्सन् नि नपरोस्, लाग्न त लागोस्, तर मायाले सुम्सुम्याउँदै फेरि बचाउन मिल्ने गरि घाईते भएर चरी आफ्नै हाताँ परोस्...यस्तै यस्तै योजनाहरु सोंच्दा सोंच्दै दिन बिते, रात बिते, हप्ता बिते, महिनै बितिएछ। आफू परियो अलि सुस्त।
ल्यासी पाऊँ लोप लेटरको जवाफ ल्यासी पाऊँ प्याकेटले नै दिम् भन्ने असल पिलान जब गिदीमा प-यो, सुनें ति चरी त छैनन् रे वरी परी। अमरिका लागिछन्, बर्ष्यो मेरो मनमा झरि। ति लोला हनुवा, ल्यासी पाऊँ लेटर लेखुवा, तोते बोलुवा, चरी उढेको पिलेन तेही हो जस्तो लागेर ताकेके हो पिलानको गुलेलीले, मट्याङ्ग्राऽ सत्त्यानाश!
बर्षौं बिते। तरुणो भईयो। बिहेको कुरो चल्यो। उ बेला अमरिका पुगेकी थिई ति चरी, हामी पनि अम्रिका कै केटी बिहे गरेर त्यहीं पुगिए त कतै दशैं भेलाँ, नभए कन्सर्टाँ, नभए काम चोर बनेर तलब खान पाईने सरकारी अड्डाँ, नभए आफू भाँडा माझ्ने रेस्टुराँ ऊ वेट्रेस भए पनि...भेट भईहाल्थ्यो कि भन्ने झिनो आशाँ, अमरिकाने नेपाली केटीको राख्नु भ'को बुवा मुवाको प्रस्तावलाई मैले नाई भन्न सकिन।
संयोगबश भेट भईहालेमा उसलाई के भन्ने? के गर्ने? कसरी पुरानो बदला लिने? अर्को योजना बनाउन बित्ने होलान् फेरि बर्षौं। म त अझै सुस्त....