Posted by: Deep December 30, 2007
रेखामा नभएकी रेखा
Login in to Rate this Post:     0       ?        
पछि के पर्छ पर्छ भनेर टाइप गरेर ल्याएछ छोटो हावादारी लव् लेटर्।

"मलाई नि त मन पर्छ नि रेखा। मलाई मन पर्यालाई तँ लव् लेटर् लेख्नी?" मलाई चित्त बुझेन।
"अइलेसम्म के साईत हेरेर बसिराथिस् त?" बाङ्गे जङ्गियो।
पर्दैन ट्वाँट् स्वाँट् खान ले भनेर खोस्यो बा बाङ्गेले त हर्लिक्स् को सिसी। गाई कि तिर्सुल् गरम् कस्ले दिनी लव् लेटर् रेखालाई भनम् कि जस्तो नि नलाग्या हैन तर रेखा भन्या हात नलाग्या माल, त्यो हात नलाग्या माललाई भनेर यो हात लागिसक्या ट्वाँट् माल छाड्ने कुरो मलाई मुनासिब लागेन र भनें "भैगो भैगो रेखा तँलाई नै भो, खै सिसी चै पास् गर्न यता।"

सिसी रित्तियएसि एनपी चुइगम् किनेर चपाउँदै लागिम् रेखाको घरतिर।

त्यो रेखाको घर गल्लीभित्र चिबाल पनि नाघेर जानु पर्ने। दिउसै रात पर्या जस्तो अँध्यारो ठाम्।
"बाङ्गे, सक्छस् दिन लेटर्?" मलाई पो डर जस्तो लाग्यो।
"अहिले हेर् न कसरी दिन्छ दाइले" बाङ्गेले आफैंलाई मेरो दाइ बनायो।
बाङ्गेको आँट त मान्नै पर्छ, "धेरै भए एक चड्कन् हान्ली। त्यसपछि आशै गर्न परेन त्यस्को, आर्की खोजम्ला" बाङ्गे ले तर्क गर्यो।
उसले अलिकति कुरो फुस्क्यायो एकछिनपछि तर। बाङ्ग्या बाउले त्यो रेखाको बाउलाई भेट्न खोज्या रेछ घर थप्ने सम्बन्धमा कुरो गर्न। रेखाको बाउ घर सम्बन्धी टाकटुक गर्थ्यो।
"बाउ रैनछ त्यस्को भने त्यै रेखालाई लेटर दिन्छु, बाउ रेछ भने घरमा आउनू रे भन्दिन्छु; डराउन पर्ने त केइ छैन नि" बाङ्गेले सुनायो।
रेखाको घरको ढोका हामीलाई नै भनेर खुला राख्या जस्तै रेछ। अहिले त बाहिर त अँध्यारै भैसक्याथ्यो, भित्र त झन निस्पट रेछ। बाङ्गे सनक्क सन्किएर भटाभट आफ्नै घर हो कि जस्तो गरेर भर्याङ् चढ्छ बा!। म नि पैलो तलामा त पुगेँ । पल्याक्-पुलुक् हेर्या कोही छैन। एक किसिमको गन्ध त्यहाँ रुम्मल्लिराथ्यो।
"कल्लाई खोज्या?" रेखा पो भर्याङ् मुनिबाट सोध्छे।
हामी भित्र छिर्या देखिछ क्यारे तेल्ले बाहिरबाट। हामीले केही भन्नुअघि नै ऊ भर्याङ् चढेर माथि आई।
बाङ्गेले "बाउ खै?" भन्ला भनेको त "लाऊ, यो तिमीलाई" भनेर लेटर् पो तेर्साउँछ। मेरो त मुटुले ढ्याङ्ग्रो ठोक्यो।

"के यो?" रेखा हच्की।
"लाउ न" बाङ्गेले हाताँ समातेर लेटर् जिम्मा लाइदिया मात्रै के थ्यो, चिट्ठी सिट्ठी फ्यात्त फ्यात्त फालेर बा-आमा भनेर कराउन थालि रेखा माया त। भएन के फसाद्!
म भर्याङ्बाट तु ओर्लिने भाको, एउटो खुड्किलो बिग्र्या रेछ चढ्दा बिस्तारै चढ्या थाहा भएन अहिले त एक्कै चोटि तल खुर्मुरिएर रन्थनिदै बाहिरिएँ ।
बाङ्गे पनि मज्जाले पछरिएको हुनुपर्छ लड्या आवाज र त्यस्को "अइया" क्रन्दन् सुन्दा। बाङ्गे र म हुर्धुरिदै टाप् हानिम्। "म त अहिले घर जान्न" भन्दै बाङ्गे पनि मेरै पछि लाग्यो। मेरो कोठामा बत्ती-सत्ती नबाली बाङ्गे र म चुप-चाप स्वाँ-स्वाँ गरेर बसिम्। कुन बेलामा रेखाको बाउ आउने हो उफ्रिन भन्दै।
"लेटर् देको तैँले हो, मलाई त के को डर?" मैले सुनएँ बाङ्गेलाई।     
"त्यस्को बाउ आएर करायो भने नारान्दाइ, म त तपाईलाई बुवाले बोलाको छ आउनुस् भन्न जादै थिएँ, मलाई कुमले धकेलेर येल्ले ला यो मेरो लेटर् दे रेखालाई भन्यो। मैले हुन्न हुन्न भन्दा नि मानेन, अनि मैले देको हो यसको लेटर्। तर अबदेखि कहिल्यै यस्तो गर्दिन दाइ, भन्दिन्छु।  टाइप् गर्या छ बाबु लेटर् टाइप्। नाम-साम पनि लेख्या छैन। केइ छैन मलाई मात्रै के को डर्!" भन्छ बाङ्गे त!

बाङ्गेसँग उस्को कुरा सुनेर म तात्दै थिए "एक-एकलाई मार्दिन्छु" बाहिर रेखाको बाउ नारान्दाइ कराको सुनियो।
"ल खत्तम्, आयो तेरो बाजे" मैले बाङ्गेलाई धकेल्दै भनेँ। बाङ्गे चुप-चाप छ।
"तरवारले हानेर छिनाइदिन्छु। के सोच्या छ? हाम्रो इज्जत् छैन?" नारान्दाइ उर्ली-उर्ली कुन हतियार् प्रयोग गर्ने भन्ने बारेमा समेत फलाकिराथ्यो बाहिर।
घर पछाडिबाट बाङ्गे र म कौसिमा चढिम बस्तुस्थिति बुझ्न। नारान्दाइ सडकबाटै कराइरारेछ। सडकको बत्ती मुनि पाखुरा हावामा बजार्दै जाँड र रिसले होला यता र उति हुर्रिदै ऊ फेरि गर्जियो "छोड्दिन म। मरिगए छोड्दिन।"
"सुनिस् बाङ्गे? भुत भएर नि आउछ रे। खुब फुर्ति गर्थिस् नि!" मैले थपेँ।
"अब के गर्ने यार्?" बाङ्गेको स्वरमा चिन्ता प्रसस्तै थ्यो।     
"थाहा छैन मलाई। तँलाई अत्ति जान्ने हुनुपर्छ नि!  जुन केटी देखे नी तँलाइ भाम लाग्छ---" आफुले पनि दनक भेट्ने करीब करीब पक्कै थ्यो।
मलाई नि रीस उठ्यो। बाङ्गेले यस्तो अभर पारिरन्छ बेला बेलामा। कौसीको पछाडितिर जहाँ हामी टुक्रुक्क बस्याथिम्, अध्यारो अध्यारोथ्यो। बाहिर उज्यालो सडकबाट मान्छे ठम्याउन मेहनत गर्नुपर्थ्यो। नारान्दाइ उफ्रिंदै थिए, मेरो काका पुगे त्याँ काहाँबाट हो जान्ने भएर "के भो नारान्दाइ?" भन्दै।

"खुँडा ल्याउँछु घर गएर र छिनाइदिन्छु" नारान्दाइ फेरि डुकरिए। बाङ्गे र मैले मुखामुख गरिम्।
"त्यो खुँडा लिन घर गयो भने हामी पनि धोबीखोलातिर टाप हान्नुपर्छ, बुझिस्" बाङ्गेले सुझाब दियो।
मेरो काकाले सम्झाउन थाले, नारन्दाइको स्वर अलि कम भो। बाङ्गे ले नारान्दाइको ज्यान मच्चेको देखेर भन्यो "जाँड त अत्ति खाने हो बुढो। ह्याँसम्म गनाइर'छ।"
"गँनाउँछ तेल्ले खाको जाँड ह्याँसम्म तँलाई भनेर!" मैले भने।
"अनि के गनाँ त यो डुङ्डुङ्ती?" बाङ्गेले सोध्दैथ्यो, थाहा भैहाल्यो नि। अघि गल्ली-गल्ली हुर्धुरिंदै भाग्दा कुन चैंले पेट खाली गर्या चिनो पाइन्टा मोताभरि लाएछ बाङ्गेले।
"त्यस्को हात खुट्टा भाँच्न सकिन भने मेरो नाम नारनै हैन! म त छोड्दिन।" नारान्दाइ कुर्लेको सुनियो फेरि।
"बाठो रे छ नारन्दाइ सुनिस्? भाँच्न सके नारन् नसके फेरि न्वारन् रे" बाङ्गेले अझै चेत्या छैन।
"अघि त्याँ भर्याङ्बाट लड्दा क्या छाती बजरियो भने एक दुइटा करङ् पनि भाँचियो कि जस्तो लगिराछ। जिउ दुखेर आयो, नुन् पानीले सेक्नुपर्छ जस्तो छ।" बाङ्गे फत्फतायो।
"पख् अब एकछिन। नारान्दाइले नि बजाओस् तेरो बाँकी भाका करङ्गमा बाजा, अनि एकै चोटि सेक्नु।" मैले नि भन्दिएँ।
"दीप! ए दीप!" काका कराए।
"हजुर्" ह्वात्तै मुखबाट निस्कियो।
बाङ्गे झर्कियो "किन बोल्या तँ?"
"ह्याँ आइज छिट्टो" काका कराए।
म फेला परेँ। कस्तो दशा लाग्या। बोलाको सुन्या-नसुनेइ गर्नुपर्ने। त्यै पनि काकाको अगाडि धेरै नकुट्ला नारान्दाइले। काकाले नि त बचाउलान्, भैगो भैगो भन्लान् नि। फेरि लेटर् मैले देको नि हैन। बरु अघि खाको ट्वाँट् गनाउनी हो कि? यस्तै कुरा खेले मनमा। एनपी चुइगम् बेस्सरी चपाउँदै मन नलागी नलागी कौसीबाट भर्याङतिरर लागेँ।
"म के गरुँ?" बाङ्गेले बिस्तारै सोध्यो।
"झुन्डिएर मर् अलच्छिना!" भन्दै म हिडें।
"अब रिस त ममाथि पोखिहाल्छ। तँ त बचिहालिस् नि" बाङ्गेलाइ भन्दै म ओर्लिएँ, बाङ्गे कौसिमै थ्यो।

नारन्दाइको वरी परी दुई चार जना भेला भैसक्या थिए। सप्पैको अगाडि पूजा गर्ने भो अब भनेर मन ओइलायो। डराई डराई अगडि पुग्या त नारान्दाइको खुट्टाबाट त तरतरी रगत पो आइरारेछ।
"जा त्याँ प्रसन्न मेडिकल हलसम्म गएर टिटानसको सुइ दिन्छ कि सोधेर आइज। ह्याँ नारन्दाइलाइ चहियो।" काकाले आदेश दिए।
अस्टमान्दाइसँग परेछ आज नारान्दाइको ट्वाँट् लाएसि जग्गाको बारेमा। अस्टमान्दाइको पालो कोदालोले बजाइदिएछन् नारान्दाइको खुट्टामा। त्यै भ' अघिदेखि अस्टमान्दाइमाथि जाइ लाग्ने सनकमा करका रेछन् नारान्दाइ। ठुलो राहत भो! बाङ्गेलाई हेर्या अझै कौसीमा टुक्रुक्क बसिरा रेछ। तेल्ले पक्कै सुन्या छैन खास कुरो भन्ने मलाई थाहै थियो। त्यसैले बाङ्गेले समेत सुन्ने गरी कौसिमा देखाएर म कराएँ "ऊ त्याँ छ बाङ्गे नारान्दाइ" भनेर।
झिमिक्क गर्दा बाङ्गे गायब् कौसीबाट । नारनदाई अलमल्लमा परे। सबैले कौसीतिर हेरे तर किन हो कसैलाई थाहा छैन। पछि कोठामा आएर हेर्छु त हर्लिक्स्को झोला बाङ्गेले लगेनछ।

-------------
यो प्रस्तुती मैले दादा ब्रो लाई खै के जाति अवसरको लागि भनेर 2006 ko summer तिर पठाएको थिएँ। कतै पहिलेई यो प्रकासित भैसकेको रहेछ भने त्यसै प्रकासनलाई साभार मानियोस। मैले आफुले लेखेका कथाहरु साँच्ने गरेको त थिएन तर यो चाई दादाब्रोले यूनिकोडमा राखेर मलाई हेर्न पठाईदीएकोले ईमेलमा सुरक्षित रहेछ।


Read Full Discussion Thread for this article