HAPPY NEW YEAR
2008 TO YOU ALL
---------------------------------------------------------------------------------------
रेखामा
नभएकी रेखा
"के भो ए
बाङ्गे? आज
त निक्कै बाङ्ग्या छस् नि? बाउले भाँच्दे कि के हो तेरो सुकेनास लाग्या
खुट्टो?" देब्रे खुट्टो खोच्याउँदै आउँदो खर्ल्याङ्खुट्टे बाङ्गेलाई
हेर्दै मैले भनें।
बाङ्गेले भन्न त
केही भनेन तर मेरो कौसीमा राख्या एउटा अचारको सिसीलाई दाइने सट हानेर बारीतिर
हुर्याइदियो अनि डरलाग्दो घृणा दियो मलाई। मैले बुझें । केटोले जे शंका
गर्या तेही गरेछ हिंजो। ----
- आज सक्रान्ति,
सत्तेनारानथान जान
आइपुग्यो बाङ्गे ब्यानै ।
न्यल्माटोलबाट
पूर्ब लाग्दै डबलीमा पुगेसि बाङ्गेलाई सरसोतीथान पनि नघुमी भएन। मन्दिर पछाडि
मान्छेले पेट खालि गर्या सबुत छ्यास्छ्यास्ति। सास् रोकेर अगाडि आइयो।
बाङ्गेले एक मोहोर चढायो सरसोतीलाई। टिका लायो, फूल राख्यो टाउकामा र अघि
चढाको मोहोर फिर्ता खल्तीमा राख्यो।
"चढाको पैसा
फेरि किन फिर्ता लेको ए बाङ्गे?" भन्दा "अघि चढाको भेटी, अहिले टिपेको प्रसाद।
बुझिनस? पर्साद
त लिनै पर्यो नि; मैले नलिए अर्कोले लिन्छ के गर्ने?" भन्यो।
सत्तेनारानथान जान
रोगी जस्ता चालीस पचास वटा सिँढी ओर्लेर ढुङ्गे धारा मात्रै के पुग्याथिम् बाङ्गे
अड्कियो।
"के भो?"
मैले सोधें।
"रेखा हेर्न
त्याँ" बाङ्गेले ढुङ्गे धारामा मयल माड्दै गरेकी एउटी केटी देखायो।
हो त रेखा त रेखै
हो। के गर्ने समाजको डर, धीत मरुन्जेल् हेर्न पाइएन मयल मड्या पनि। मन नलागी-नलागी
सत्तेनारानथानतिर लागियो। छोटकरी दर्शन गरेर आउन खोज्या, किरन र पर्मोद बोकाहरु
भेट भो, एकछिन
अलमल भैहाल्यो। पछि आउँदा रेखा बाटो लागिसकिछे।
बाङ्गेले भन्यो "क्या
ट्र्याजिडी पर्यो आज पनि।"
मैले हो मा टाउको
हल्लाएँ। यहाँ सन्दर्भ पर्या बेलाँ भनिराखम्, रेखाको असली नाम त लक्ष्मी रे।
तर बाङ्गेले त्यो सिनेमाकी हेरोनी रेखा जस्ती छ भनेदेखि मैले पनि
लक्ष्मीमा रेखै देख्न थालें। त्यसरी ऊ हाम्री रेखा त भै तर हाम्रा हत्केलामा भने
ऊ अझै कोरिइसकेकी थिइन। हामी निरन्तर कोसिसमा थिम् तर।
बिज्ञापन सेवा
सकिया तर बाल कार्यक्रम आउन बाँकी भाको समय थ्यो। बाङ्गे एउटा झोला च्यापेर
आइपुग्यो म कहाँ।
"झोला बोकेर
कता नि? अब
चोर्न छोडेर माँग्न थालिस् कि के हो?" मैले हाँस्दै सोधें।
बाङ्गेले जवाफ
दिनु सट्टा झोला यसो खोलेर देखायो। हेर्छु त हर्लिक्सको सिसी छ बा!
"किन ल्या यो?"
मेरो प्रश्न खस्न
नपाई "तन्काउन नि अरु किन?" भन्छ बाङ्गे त।
"खाँदिन
हर्लिक्स् सर्लिक्स्" मलाई नि रिस उठ्यो, "तँ मलाई हर्लिक्स् ख्वाउन आ
ह्याँ?" मैले थपें।
"काँ हर्लिक्स्?" बाङ्गेले फत्फताउदै सिसी झोलाबाट झिक्यो। भित्र त झोल पो
छचल्किन्छ।
"के यो?"
मेरो सोधाइलाई
आँखामा चमक ल्याउदै बाङ्गेले गर्वसाथ जवाफ दियो, "ट्वाँट् नि, अरु के हुन्छ? बाउले ल्याको नयाँ माल
यो। बिदेसी हो यो बिदेसी।"
मेरा नि आँखा
चम्के । घुटुक्क थुक् निल्दै भनेँ "ल हिँड्"।
अस्ति भिनाजु आउँदा
राख्या दुइटा लालीगुराँसका खिल्ली पनि च्यापेँ मैले। घरमै ट्वाँट् लाउँदा
रिस्क् अलि बढी हुने। झन् बाङ्गे म कहाँ आएसि त हाम्रो निगरानी निकै कडा
हुन्थ्यो। बाङ्गे अघि लाग्यो म पछि। अघि हर्लिक्सको सिसी हेर्दा
किताब कापी पनि देख्या थिएँ झोलामा। त्यसैले सोधेँ "किताब कापी नि बोक्या
छस् नि त?"
"तँ काँ पढ्न
हिन्या भनेर आमालाई देखाउँदै हाल्या नि त झोलामा।" उसले भन्यो। हामी बाहिर
निस्केम।
चोकमा झोला बोक्या
बाङ्गेलाई हेर्दै काकीले सोधिन् "काँ हिन्या हँ झोला बोकेर?", बाङ्गेले काकीको अनुहारै
नहेरी जवाफ दियो "ट्युसन्"।
त्याँ पोखरी
पस्चिमको भगवती मन्दिर पछडि गएर चुरोटको सर्कोसँगै ट्वाँट् लाउँदै थिएम्, बेला न कुबेला एउटी
आइमाईलाई मन्दिर घुम्न पर्यो फेरि।
"हेर यी
केटाहरु बिग्रेका" भन्दै मन्दिर घुम्दै थिईन् बाङ्गेले "एउटै कुरो सधै
भनिरहन दिक्क लाग्दैन? एक्-दुई चोटि भनेसि नि हाम्ले बाल् नटेरेसि त वास्ता
नगर्नू नि।" भनेर झर्कियो।
घिन् लाग्दो
दृष्टि फ्यालेर भक्तालु हिनिन्। बाङ्गेले एउटा पट्ट्याको कागज निकाल्यो
र भन्यो "यो मैले लेख्या लव् लेटर रेखालाई"। पछि के पर्छ पर्छ भनेर
टाइप गरेर ल्याएछ छोटो हावादारी लव् लेटर्।