Posted by: Nepal ko chora December 29, 2007
सोचे जस्तो हुन्न जिवन………..
Login in to Rate this Post:     0       ?        

राजन ले त्यो दिन गाएको गितले दुइ जनालाइ नजिक ल्याउने काम भने गर्यो। त्यस पछी मैले त्यती धेरै पापड बेल्नु परेन। बरु कहिले काही ३ जना मिलेर फिल्म हेर्न जाने प्रोग्राम बनेको बेला मलाइ आज अलि सन्चो छैन, बरु तिमी हरु २ जना गएर हेर भनेर भनेर टारी दिन्थे। दिनहरु बित्दै थिए, दुइ जना को आत्मियता पनि बढ्दै थियो। दोस्रो बर्ष सकिनु भन्दा अगाडी क्लासका साथीहरु मिलेर चितवन अनि पोखरा ट्रिप जाने हो कि भन्ने प्रस्ताव एउटा साथीले ल्यायो। मलाइ त त्यो प्रस्ताव सारै राम्रो लाग्यो। पोखरा पहिले पुगिसकेको भए पनि अहिले सम्म चितवन को सुन्दरको रसपान गर्ने अवसर भने मिलेको थिएन।   त्यसैले पनि त्यो ट्रिपको ब्यवस्थापन गर्ने समितीको सदस्य बने। चन्दा मागेर, अनि एता उता गरेर अली कति पैसा पनि जम्मा गर्यौ, जसले गर्दा हामी लाइ ब्यक्तिगत भार अलि कम हुन्थ्यो। घुम्न जाने जम्मा २५ जना साथी हुने भयौ। जाने मध्ये जना साथी पोखराकै रहेछ, अनि उस्को एक जना नातेदारको महेन्द्र पुल निर लज रहेछ। उस्ले त्यहा बस्नलाइ सहुलियत दरमा मिलाउन सक्ने कुरा गर्यो। फेरि अर्को साथीको सौराहमा आफ्नै रिसोर्ट रहेछ। उसले पनि पहिला बुकिङ भै सकेको भए उसको रिसोर्टमा बासको ब्यबस्था गर्न सक्ने कुरा गर्यो। यसरी हाम्रो भ्रमण धेरै खर्चिलो नहुने छांट देखिन थालेको थियो।

 

भ्रमणको सम्पुर्ण बन्दोबस्त गरे पछी हामी २५ जना चितवन तिर लाग्यौ। खाना खाएर काठमान्डौ बाट निस्केको हामी सौराहा पुग्दा साझ परी सकेको थियो। हुन दिन भरिको यात्रा ले केही थकीत महसुस भए पनि रातीको खाना खाएर मादल गितार घन्काउदै केही घन्टा कसरी बित्यो, त्यो पत्तै भएन। भोली बिहानै उठेर हातमुख धोएर हात्ती चढ्न पुग्यौ। भर्खर उदाउन लागेको घाम, जङलमा गाइरहेका कोइलीहरु का सुम्धुर गीतहरु, त्यो मनमोहक माहोलमा उन्मुक्त भएर घुमीरहेका हरु हरिण अनि गैडाहरु ले त्यो बिहानलाइ अबिस्मरणिय बनायो, स्वर्ग हाम्रो नेपाल मा पनि भन्ने अनुभुति दिलायो। २ दिनको चितवनको बसाइ सकेर पोखरा पुगियो। अर्को स्वर्ग आइ पुगेको आभास भयो। फेवातालमा पौडी खेलीरहेका माछापुछ्रेका ति छायाहरु, अनि डेविज फल मा पातालको गर्भ बाट आउने पानिको मधुर सङित, धर्तीको गर्भ छिचोल्दै बगेको त्यो सेती नदी, सारङ्कोट बाट देखिने यो मनमोहक सुर्योदय, महेन्द्र गुफाको भित्र को त्यो अनौठो संसार। सायद त्यो पलहरु को बर्णन गर्न सङ भएका सबै शब्दहरु कम हुन जान्छन। हरे! प्रक्रितिको सुन्दरमा भुलेर राजन निनालाइ भुसुक्कै बिर्सेको। चितवन पोखराको त्यो हप्ता लामो ट्रिपले दुइ जना लाइ एक अर्काको कुरा बुझ्ने धेरै समय दियो। 

हेर्दा हेर्दै दोस्रो बर्ष को पढाइ पनि सकियो। रमाइला क्याम्पसका पलहरु अतित बनेर सम्झनाका पन्नाहरुमा कुदिन पुगे। समयको चक्रले अर्को मोड लियो। राजन र म नेपाल मै इन्जिनीयरिङ पढ्न थाल्यौ। निना भने मेडिसिन पढ्न पाकिस्तान पुगिन। राजन र निना बिचको भौतिक दुरी बढे पनि दुइ मन बिच को दुरी भने घटेको थिएन, उनीहरु अझै पनि बेला बेला मा  घन्टौ टेलिफोनमा बिताइ दिन्थे। छुट्टीमा निना नेपाल आइ रहन्थिन।  

 

इन्जीनियरिङ मा राजन र मेरो बिषय फरक थियो। पहिलो दुइ बर्षमा धेरै बिषयहरु उस्तै उस्तै भएकोले भेटघाट अनि सङै बसेर पढ्नेकाम भने नियमित नै थियो। दिन बित्दै गयो, त्यो ४ बर्ष को पढाइ पनि सकियो। राम्रो अंकको साथ हामी दुबैले इन्जीनियरिङ को पढाइ सकायौ। अब मास्टर्स गर्न चाइ बिदेश जाने निधो भयो हाम्रो। दिन बिताउने मेसो गर्न भने जस्तो काम पनि भेटियो। दिउसो काम गरे पनि साझ अनि बिहान चाइ हाम्रो काम बाहिर पढ्न जाने बिभिन्न अवसरको उत्खनन गर्दै बित्थ्यो। २-४ ठाउ को प्रयास पछी दुबै जनाले छात्रबित्रीमा मास्टर्स गर्ने अवसर मिल्यो। 

 

केही महिना को प्रयास पछी लगभग १ हप्ता को फरकमा राजन अस्ट्रेलिया को लागी उड्यो भने म चाइ एसिया महादेशकै अर्को कुना तिर लागे। इमेल अनि चाटमा भने बेला बेलामा सम्पर्क भै रहन्थ्यो। हास्दै खेल्दै मास्टर्स को पहिलो बर्ष पनि बित्यो। पहिलो बर्षको परिक्षा सकाएर छुट्टिमा केही दिन घुम्न गएको बेला राजनको एउटा इमेल पाए। "तलाइ फोन गर्दा त सङ सम्पर्क हुन सकेन, अनि मलाइ एक चोटी फोन गर" भनेर सन्देश पठाएको रहेछ। राजन को त्यो सन्देश ले मलाइ कौतुहल बनायो, अनि सन्देश पढेर उसलाइ फोन घुमाए। फोन उठाउन पाएको छैन, लु ६ महिनाको पछी को नेपालको टिकट आजै बुक गर त खुरुक्क भनेर मलाइ अर्डर दियो। मैले किन भनेर सोधे को त पहिला टिकट बुक गर अनि बल्ल भन्छु भन्छ, राजन त। उसको जिद्दी को अगाडी मेरो केही लागेन, अनि भोली पल्ट गएर टिकट बुक गरे। अनि राजनलाइ "मैले टिकट बुक गरे" भनेर इमेल गरे। तुरुन्तै उस्ले फोन गरेर उसको र निना को ६ महिना पछी बिहा हुन लागेको कुरा सुनायो। म त एक छिन जिल्लै परे। हुन त उ भर्खर नेपाल गएर फर्केको थियो।

 

अनि उस्ले सबै बेली बिस्तार लगायो। निना भर्खर मेडिसिनको पढाइ सकेर नेपाल फर्किछन। अनि उसको घरमा बिहेको कुरा चल्न थालेछ। अनि निना ले घरमा राजन को बारेमा बताइछन। राजनको बारेमा सोध-खबर गरे पछी निनाको परिवारले राजनलाइ मन पराएछन। मन न पराउने कुरा त केही थिएन, आखिर राजन पनि दरिलो ब्यक्तित्व भएको मान्छे थियो। फेरि छुट्टिको लागी राजन नेपाल पुगेको बेला परेको रहेछ। दुइ जनाको परिवार बसेर बिहे को कुरा पनि छिनेछन। मलाइ भने यो सब महाभारत को केहि सुइको सम्म पनि थिएन। हतारमै सबै कुरा भएकोले मलाइ भन्ने फुर्शद भएन रे। "अब कुरा छिन्दा खेरी तलाइ मिस गरे मैले तर मेरो बिहामा चाइ त आ उनै पर्छ। त्यसैले मैले तलाइ टिकट हिजो फोनमा टिकट बुक गर्न लगाएको हो" राजनले आफ्नो कथा टुङ्याउदै भन्यो। मलाइ पनि खुसी लाग्यो। खुसी न लागोस पनि कसरी? आखिर मैले रोपिदिएको प्रेमको त्यो टुसा अब रुखमा परिणत हुदै छ भनेर सुन्न जो पाए। राजन को बिहेको लागी भनेर नया सुट पनि सिलाए। अब ६ महिना कहिले बित्ने हो भन्दै दिन गन्दै बस्न थाले।

 

६ महिना बित्न धेरै समय लागेन। बिहाको दिन भन्दा १५ दिन अगाडी नै म काठ्मान्डौ पुगे। पुगेको भोली पल्ट देखी त मेरो बसाइ नै राजन को घरमा थियो। ३-४ दिन त दिनभरी राजन सङ बिहेको तयारीमा कहिले एता त कहिले उता दौडिदै ठिक भयो। सायद त्यो दौड-धुप ले अलि धपेडी भयो कि के हो,  पाचौ दिन चाइ मलाइ अलि सन्चो न भए जस्तो भयो । अनि दिन भरी घरमै आराम गरेर बसे। साझमा राजनको घर तिर लाग्नु पर्यो भनेर फोन गर्छु त, अन्टी त राजनलाइ सन्चो न भएर हस्पिटल लिएर गएको छ भनेर भन्नु हुन्छ। अनि मोटर साइकल टिपेर बतासिदै म हस्पिटल पुगे। खासै केहि हैन, तर अलि नराम्ररी पेट दुख्यो भनेर हस्पिटलमा भर्ना भएको रहेछ। आज एक दिन भर्ना गरेर सम्पुर्ण जाच गरेर केही सिरियस न देखिएमा भोली घर फर्किन मिल्छ रे भन्ने कुरा सुने। 

हुन त मलाइ राजनलाइ हस्पिटलमै कुरेर बस्न थियो, तर मलाइ पनि सन्चो थिएन। त्यसैले घर फर्के, खाना खाएर राजनको बारेमा सोच्दै निदाए। के भएको होला? अब १० दिन पछी बिहे हुन लागेको मान्छे, भोली सम्म मा तन्दुरुस्त राजन देख्न पाइयोस, यस्तै कामना गर्दै निदाउन पुगे। भोली बिहान उठेर अंकललाइ फोन गरे। अंकल ले झन निरास बनाउने खबर सुनाउनु भयो - "आज दिउसो राजनलाइ लिएर दिल्लि जान लागेको" भन्दै। त्यो खबर ले चाइ मलाइ साचै नै दुखी बनायो। झन हिजो सुत्दा आज त तन्दुरुस्त राजन देख्न पाउने कल्पना गर्दै निदाको म, एका बिहानै अशुभ समाचार सुन्नु पर्यो।

 

अनि फेरी मेरो पुरानो भटभटे दौडाउदै राजन लाइ भर्ना गरेको हस्पिटल पुगे। डाक्टरहरु ले कलेजोको सम्स्या भएको अनुमान गरेर दिल्ली लैजाने सुझाव दिएका रहेछन। कहा बिहे गर्न आएको मान्छे बिरामी भएर दिल्ली पुगाउनु पर्ने भयो। कुडिएको अमिलो मन लिएर राजनलाइ एयरपोर्ट सम्म पुराउन गए। धुम्म कालो बादल लागेको त्यो दिनले राजन को घर मात्र हैन, हाम्रो घरको बातबरण पनि धुम्म पारेको थियो। साझको डिनर टेबलमा पनि राजनकै चर्चा चल्यो। राजनको घर को बिहे को वातावरणलाइ निरासा अनि अनिश्चयको भुमरीले घेर्यो। बेला बेला मा अन्टीलाइ राजनको बारेमा सोध्न फोन गरिरहन्थे। 

 

दिल्ली लगेको १ हप्ता पछी अन्टीले भोली दिउसो राजनलाइ लिएर अन्कल फर्किन लागेको भनेर फोन गर्नु भयो। अन्टीको आवाज मलिन थ्यो, आवाजमा एउटा गहिरो पिडा लुकेको आभाश पाए। धेरै कुरा सोध्ने आट म सङ थिएन,  तर मैले सम्भावित अनिष्ठताको भनक भने पाइ सकेको थिए। भारी मन लिएर भोली पल्ट एयरपोर्ट पुगे। अंकलले मलाइ देख्ने बितिकै अङालो हालेर घ्वा-घ्वा रुन थाल्नु भयो। अंकलको त्यो ब्यवहार बाट नराम्रो खबर को पुर्बानुमान मैले लगाइ सकेको थिए। राजन अब यो सन्सारमा न रहेको कुरा मैले थाहा पाए। राजनलाइ  Nonalcoholic steatohepatitis  (NASH) भएको रहेछ। म त छांगा बाट खसे जस्तै भए।

 

यसरी राजनको जन्ति जान भनेर नेपाल आएको म राजनको मलामी बन्न बाध्य भए। त्यो रात मेरो जीबनको सबै भन्दा अध्यारो रात थियो होला। राजन सङ बिताएका बिगतका पलहरु सम्झिदै पुरै रात बितेको मलाइ पत्तै भएन। केही दिन पछी म पनि नेपाल बाट फर्के। सायद त्यही घटनाले गर्दा होला, राजनको भाइ निश्चल पनि क्यानडा तिर पलायन भयो। अहिले अंकल आन्टी पनि क्यानडा मै हुनु हुन्छ। त्यो घटनाको धेरै दिन सम्म पनि निना सङ कुरा गर्ने आट म सङ थिएन। त्यो घटनाले अत्यन्त मर्माहत पारेका ब्यक्ती मध्ये उनि पनि एक थिइन। हुन त अहिले पनि निना र म राम्रो साथी हौ। तर राजन को असामयिक निधनले हाम्रो बार्तालापमा शब्दहरुको ठुलो खडेरी ल्याइ दियो। आज राजन यो संसारमा न भए पनि मलाइ उसको यादहरुले बेला बेला मा भने झस्काइ रहन्छ।

 

समाप्त:

 

पुनश्च: यस कथाका सम्पुर्ण घटना र पात्रहरु काल्पनिक हुन। कसैको बास्तविक जिन्दगी सङ मेल खान पुगेमा केवल संयोग मात्र हुनेछ।

Last edited: 29-Dec-07 12:08 PM
Read Full Discussion Thread for this article