Posted by: bikash kc December 11, 2007
WHERE IS TERAI HEADING?
Login in to Rate this Post:     0       ?        

मधेश विद्रोह : केही चुनौति केही सम्भावना
Filed under: समाचार र विचार — Deepak Aryal @ 3:13 pm
- दीपक अर्याल
मधेश विद्रोहले धेरै व्यक्ति, पार्टी र समूहलाई ठूलो झड्का दिएको छ। तर, यो अस्वाभाविक र अप्रत्यासित भने पक्कै होइन र यसबाट आश्चर्य मान्नु पर्ने पनि केही छैन। यो हुनेवाला थियो र भयो। मधेश विद्रोह राज्यका विरूद्ध मात्र थिएन बरू पहाडीया व्यक्तिका विचार, आचरण र व्यवहारका विरूद्ध पनि थियो भन्ने कुरा अझसम्म पहाडीयाहरूले बुझ्न सकेका छैनन्। मैले मधेश विद्रोह हुनभन्दा पहिले नै मधेश आन्दोलनको सम्भावनाका वारेमा मेरो संसारमा लेखेको थिएँ। तर, त्यतिवेला साम्प्रदायिकतासँग जोडेर साथीहरूको कमेन्ट आयो। मैले सामान्यरूपमा 'कपाल काट्ने' ठाउँ, सब्जी वा फलफुल लिएर हिड्ने साना खुद्रा व्यापारी, वा तराईकै कतिपय जिल्लामा रिक्सा चालकहरूलाई पहाडीया साथीहरूले गर्ने व्यवहारका वारेमा कुरा उठाएको थिएँ।
मधेशका मान्छेलाई हेपेर बोल्ने प्रवृत्ति वा उनीहरूलाई दोस्रो दर्जाको नागरिक गन्ने प्रवृत्तिको अन्त्य सरकारी स्तरबाट मात्र होइन, समाजबाट र हामीहरू जस्ता अलि-अलि पढे-लेखेकाबाट शुरू हुनु पर्छ। धेरै ठूलो कुरा गर्नु पर्दैन, एकदिन कुनै माइक्रो वा सार्वजनिक यातायातका साधना चढ्नुहोस् र यातायातका कर्मचारीहरूले कुनै मधेशी समुदायको व्यक्तिलाई कस्तो व्यवहार गरिरहेका छन् अवलोकन गर्नुहोस्। जुन व्यवहारबाट तपाईँ स्वयंलाई पनि वाक्क लाग्नेछ र धेरै असमानता, अन्यायका कुराहरू बुझ्न सक्नुहुनेछ। यही सामान्य कामबाट हामीहरूले हाम्रा व्यवहारहरू सुधार्ने प्रयास गरौं, यसले धेरै सकारात्मक प्रभाव पार्नेछ। हाम्रा तमाम व्यवहारले गर्दा मधेशका जनताले पहाडीयाहरूलाई घृणा गर्न सिके तथापि, मधेशका जनताले पनि के बुझ्न जरूरी छ भने, वर्षौंदेखिको यस्तो खालको व्यवहारमा परिवर्तन हुन समय लाग्छ र यो विस्तारै हुँदै पनि छ। त्यसैले वहाँहरूले भने जस्तो वा चाहेजस्तो रातारात परिवर्तन भने हुनेवाला छैन।
यस्तै यस्तै अनगिन्ति असमानता, अपमान देखेर मैले, मधेश र मधेशी जनताले चाहेको सामान्य कुराहरूतर्फ इङ्गित मात्र गरेको थिएँ र सो असमानता हटाउनका लागि मधेश आन्दोलन जरूरी छ भन्ने आशय व्यक्त गरेको थिएँ। त्यसो त मैले हालमा बाहुन वा क्षेत्रीहरूले राज्यको नेतृत्व गरेजस्तै 'ठाकुर', 'लाल', 'यादव' अथवा 'झा' लगायतका कथित उपल्लो जात र पैसा, जग्गा, जमिन हुनेहरूले समानताको भन्दा पनि जात वा क्षेत्रको कुरा मात्र गरेर फाइदा लिनेहरूले नेतृत्व गरेको आन्दोलन भन्दा दलित, गरिब, भुमिहिन, किसानहरूहरूले नेतृत्व गरेको आन्दोलनको अपेक्षा गरेको थिएँ। तर, त्यो हुन सकिरहेको छैन। त्यसो त त्यो आन्दोलन पनि हुनेवाला छ र त्यतिखेर हालका मधेशी नेतृत्वहरू बढारिने नै छन्। भुमिसुधारको सबैभन्दा चर्को विरोध गर्नेहरू, जातपात सबैभन्दा बढि मान्ने र कथित दलीतहरूलाई सबैभन्दा बढि पिडा दिने जयप्रकाश गुप्ताहरूले नेतृत्व गरेको मधेशी पार्टीले समग्र मधेशको उत्थान त हुनेवाला छैन तर, मधेशको नाममा पहाडीया शासक वर्गबाट शासन खोसेर मधेशकै 'बाहुनवाद र सामन्तबाद'का ठेकेदारहरूको हातमा भने अवश्य पुर्याउने छ र यो मधेशका लागि केही हदसम्म सुखद पक्ष पनि हो।
यसले मधेशका पिडितवर्गलाई उठ्नका लागि उत्प्रेरित गर्न सक्छ। तर, मधेशमा एकतावद्ध हुँदै गइरहेको समूह नेपालको सन्दर्भमा 'राजा' वा 'राजतन्त्र' पछिको सबैभन्दा उत्कृष्टरूपमा संगठीत सामन्ति वर्गहरूको संगठन हो, जसलाई चिर्न वा जसका विरूद्धमा उत्रन सजिलो हुने छैन। यसले 'क्षेत्र' वा 'जात'का नाममा आफ्नो सामन्ति संस्कारलाई बचाउने कोशिस गर्नेछ र यदि यसको विरूद्धमा कोही बोल्यो भने त्यो 'अर्को' जात वा 'क्षेत्र'को मान्छेले बोलेको ठहरिनेछ र त्यसलाई त्यहाँका जनताले अभिरूचिपूर्वक लिने छैनन्। त्यसैले त्यो वर्गको वर्चस्व तोड्न त्यहीँ क्षेत्रको प्रतिनिधित्व गर्ने जात उठ्नु पर्नेछ र यो त्यति सजिलो हुने छैन। जब राजनीति 'जात', 'धर्म', 'क्षेत्र' वा मान्छेका टाउकाका आधारमा मात्र गरिन्छ त्यस्तो राजनीतिक हथकण्डालाई तोड्न गाह्रो हुनेछ। यसका लागि भारतीय राजनीति हेर्दा हुन्छ र नरेन्द्र मोदी वा बाल ठाकरेको लोकप्रियतालाई बुझ्दा हुन्छ।
अब, कुनै विचार, संगठन, योजना वा नयाँ सम्भावनालाई नकार्दै प्रत्येक मान्छेको टाउकाका आधारमा राजनीति गर्ने खेल शुरू हुनुको अर्थ, कुसुण्डा, राउटे वा चेपाङहरूले जिन्दगीभर राजनैतिक मूलधारमा प्रवेश नपाउनु हो। अब, १५० वा २०० जनसंख्या भएको समूहको प्रतिनिधित्व कसरी सम्भव छ, जबकि मधेशले ४० प्रतिशत जनसंख्याको आधारमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरिरहेको छ? जनजातिहरूमध्ये सबैभन्दा बढि जनसंख्या रहेको तामाङ, मगर तथा थारूहरूको प्रतिनिधित्वलाई त समस्या नपर्ला तर हजार, दुईहजार जनसंख्या भएको जनसंख्याको समूहलाई समस्या पर्नेछ। न त उनीहरूले मधेशले जस्तो आन्दोलन गर्न सक्नेछन्, न त उनीहरूलाई भोटका लागि कुनै पार्टी वा समूहले वास्ता नै गर्नेछन्। ४-५हजार जनसंख्या भएको जाति वा क्षेत्रका मान्छेलाई पार्टीहरूले प्रतिनिधि छान्नु भन्दा ४०-५० हजार जनसंख्या भएको मधेशबाट २ वटा प्रतिनिधि छान्नु नै पार्टीहरूका लागि बढी श्रेयस्कर हुनेछ। किनभने, संसदीय प्रणालीलाई जसले जति नै राम्रो रूपमा व्याख्या गरेपनि त्यसको सबैभन्दा ठूलो पक्ष 'भोट' हुने कुरा निर्विवाद छ।
भोलिका दिनमा ८० प्रतिशत हिन्दू धर्म भएको देशमा हिन्दूहरूको पार्टी जन्म्यो भने त्यसलाई के गर्ने? रोक्ने, अथवा प्रजातन्त्रका नाममा खुला चुनावमा लड्न दिने? अथवा, हिन्दूहरूको छुट्टै स्वायत्त राज्यको मागका वारेमा कसैले निहु खोजेमा के गर्ने? सम्भावनाहरू जे पनि हुन सक्छन्, तर, ती भविष्यका सम्भावनाहरूलाई देख्‍न सक्नु पर्छ र कुनै एउटा क्षेत्र, भाषा वा धर्मका नाममा अन्यलाई धर्म, क्षेत्र वा भाषालाई अन्याय हुनु हुँदैन। हाल, हिन्दू धर्म, नेपाली भाषा, र पहाडीयाहरूको थिचोमिचो तथा अन्यायमा परेकाहरूले आफुहरूले मागेका अधिकार वा हक-दावीले अन्य समुदायका मान्छेलाई अन्याय परेको छ वा छैन? ख्याल गर्नु नै पर्ने हुन्छ। समग्र मधेशलाई एउटा छुट्टै स्वायत्त राज्य माग्नेहरूले यसभित्रका भोजपुरि, थारु, अवध, मैथिली, नेपाली, उर्दु भाषी मात्र होइन, फरक संस्कृति, चालचलनहरूलाई ध्यान दिन सक्नु पर्छ कि पर्दैन? आजसम्म पहाडीया साम्राज्यका विरूद्धमा लडेको भन्नेहरूले किन पूर्वीय साम्राज्य लागू गर्न तम्सिदैछन्? बुझ्न गाह्रो छ। हृदयश त्रिपाठीलाई छाड्ने हो भने मधेशको माग गर्ने आन्दोलनमा लाग्नेहरू अधिकांश पूर्वका छन्। नेपालको परम्परालाई हेर्ने हो भने प्रधानमन्त्री, मन्त्रीहरू, आर्मी प्रहरी, प्रशासन सबैजसो ठाउँमा पूर्वको हालीमुहाली छ। अब, यसका विरूद्ध पनि हड्ताल, आन्दोलन गर्न वा पार्टी गठन गर्न सकिएला तर त्यसले समाधान दिन सक्दैन। सबै कुराहरू आफ्नो पक्षमा हुँदैमा समस्याको समाधान हुने होइन। माओवादीले हिजो जंगलबाट बाहिर निस्केपछि सबैकुराको समाधान हुने सोचेको थियो र सात पार्टीले पनि माओवादीसँग मिलेपछि सबै समस्याको समाधान हुने सोचेको थियो होला, तर त्यसो हुन सकेन। किनभने उनीहरूले अन्य कुनै पक्षलाई महत्त्व दिएका थिएनन् र अन्य पक्षको अस्तित्त्व स्वीकारेका थिएनन्। त्यसको परिणाम उनीहरूले आज भोग्दैछन्। आफूलाई मात्र शक्तिशाली देख्ने, आफ्नो मात्र माग जायज देख्ने र आफूले मात्र सबै समस्याको समाधान गर्न सक्छु भन्ने तथा आफ्नो अस्तित्व बाहेक अन्यको अस्तित्व नस्वीकार्नेहरूले समस्या बढाउँछन् मात्र समाधान गर्न सक्दैनन्।
ठीक यस्तै गरि, मधेश आन्दोलनले पनि अन्य कुनै पक्षमा ध्यान नदिएको र एकोहोरो एउटै बाटोमा लागेकाले यसले पनि हालको सात राजनीतिक दलको गति नै भोग्नु पर्नेछ। त्यसैले, आफ्नो जात, धर्म, सम्प्रदाय वा क्षेत्रको स्वार्थ मात्र हेर्ने र अरूको अस्तित्व नस्वीकार्नेहरूलाई समयले पाठ सिकाउँदै आएको छ र सिकाउने नै छ। हो, मधेशको आन्दोलन सम्झौतामा पुगेर टुङ्गिएको भए, यो विचमा केही राम्रो कामहरू गर्ने सम्भावना थियो तर त्यो पुरै टरेर गएको छ। बरू यसको वदलामा मधेशी र समग्र नेपाली जनताले अझ बढी दु:ख पाउने सम्भावना बढेको छ्। मधेशमा भएको यो अप्राकृतिक (एउटै वर्गको) गठबन्धनले एउटा खास वर्ग र सम्प्रदायलाई त खुशी पार्ला तर अर्को वर्ग ढिलो-चाँडो विद्रोहमा उत्रन्छ नै। जनताले बुझेपछि सबै कुराहरूको समाधान हुँदै जानेछ र तराईका गरीब, पिछडिएको, भुमिहिन, दलीत तथा आदिवासी समुहरूको अर्को आन्दोलन पनि शुरू हुने छ जुन स्थानीय दमन, उत्पिडन र अन्यायका विरूद्धमा अन्तिम लडाईँ हुनेछ।

source:mysansar.com

Read Full Discussion Thread for this article