Posted by: shirish December 11, 2007
मधेस र तराईका नेताहरु मन्त्री, संसद र पार्टी परित्याग
Login in to Rate this Post:     0       ?        

मधेसी नेताद्वारा राजीनामा, स्वायत्त तराईको माग गर्दै मन्त्री, संसद् र पार्टी परित्याग

http://www.newsofnepal.com/

नेपाल समाचारपत्र, (काठमाडौं)।
तराईमा अर्को पार्टी गठन गर्ने उद्देश्यले कांग्रेस नेता तथा मन्त्री महन्थ ठाकुरसहित एमाले, राप्रपा र नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) का चार सांसदले संसद् सदस्य र पार्टी जिम्मेवारीबाट राजीनामा दिएका छन्।

नयाँ पार्टी गठनका लागि केही सातामै बृहत् भेला गरिने र अन्य पार्टीबाट राजीनामा गराउने क्रम तीव्र पारिने राजीनामा दिनेहरूले बताएका छन्।

राजीनामा दिनेमा एमाले केन्द्रीय सदस्य महेन्द्र यादव, राप्रपा केन्द्रीय सदस्य रामचन्द्र राय र सद्भावना (आनन्दीदेवी) का हृदयेश त्रिपाठी हुनुहुन्छ। उहाँहरूले संसद् र पार्टीबाट राजीनामा दिनुभएको हो। यसै गरी राष्ट्रिय जनशक्ति पार्टीका प्रवक्ता सर्वेन्द्रनाथ शुक्ल, नेपाली कांग्रेसका अनिश अन्सारी, वृषेशचन्द्र लाल, रामचन्द्र कुशवाह र एमालेका श्रीकृष्ण यादवले पार्टीबाट राजीनामा दिनुभएको छ्।

संसद्बाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा ठाकुरसहितका नेताहरूले राज्य, सरकार र संसद् असफल भइसकेकाले अब यिनीहरूको औचित्य नभएको बताउनुभयो।

पत्रकार सम्मेलनमा कांग्रेस सांसद जेपी गुप्ता उपस्थित भए पनि पार्टीका सांसद पदबाट राजीनामा दिनुभएको छैन। उहाँले चाँडै नै आफूलगायत मधेसका अधिकांश नेता र सांसदले नयाँ पार्टी गठनका लागि पार्टीका अन्य जिम्मेवारीबाट अलग हुने बताउनुभयो। नयाँ पार्टी ठाकुरको अध्यक्षतामा गठन हुने तयारी पूरा भएको पनि बताइएको छ।

ँअब मधेसी जनमानसमा शान्त, समृद्ध तथा सम्मान, स्वाभिमान र पहिचानयुक्त स्वायत्त मधेसको चाहना व्याप्त भइसकेको अवस्थामा जनविद्रोहलाई तर्कसंगत बिन्दुसम्म पुर्याउने गहन जिम्मेवारी मधेसको नवोदित र स्थापित नेतृत्ववर्गको काँधमा आएकाले समग्र मधेसी नेतृत्ववर्गको अर्जुनदृष्टि त्यसैमा केन्द्रित गरी शान्तिपूर्ण संघर्षद्वारा उक्त लक्ष्यसम्म पुर्याउनु सबैको साझा लक्ष्य भएको छ’ -नयाँ पार्टी गठनको उद्देश्य प्रस्ट पार्न पत्रकार सम्मेलनमा वितरित नौ जनाको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

पत्रकार सम्मेलनमा नयाँ पार्टी गठनको उद्देश्य राज्य विभाजन नभएको स्पष्ट पार्दै नेता ठाकुरले आफ्नो माग स्वायत्त मधेस रहेको बताउनुभयो। परिवर्तनकारीहरूलाई क्रान्तिकारी, आतंककारी, अराष्ट्रियतत्त्वलगायतका आरोप लाग्ने टिप्पणी गर्दै उहाँले तराईका सबै संघसंस्था, राजनीतिक शक्ति र व्यक्तिहरूलाई अन्याय र असमानताविरुद्ध प्रारम्भ गरिने निर्णायक शान्तिपूर्ण संघर्षका लागि तराई मधेसको बृहत् राजनीतिक शक्ति निर्माण अभियानमा सामेल भइदिन अपिलसमेत गर्नुभयो।

नेपालमा अहिले कुनै पनि निकायको प्रमुख मधेसी नभएको चर्चा गर्दै ठाकुरले मधेस स्वायत्त राज्य होस, मधेसको आफ्नो सरकार होस्, मधेसको शासन प्रशासन मधेसीको हातमा होस्, मधेसमा छुट्टै अदालत होस् भन्ने मधेसको चाहना भएको बताउनुभयो।

नेता ठाकुरले तराईमा आन्दोलन गरिरहेका सबै शक्तिसँग पनि वार्ता गर्दै उनीहरूलाई शान्तिपूर्ण बाटोमा ल्याएर सहकार्य गर्न सकिने बताउनुभयो। ँमधेस अहिले शान्ति, समृद्धि र सद्भाव खोजिरहेछ, त्यसका लागि सबैको सहयोग जरुरी छ’ -उहाँले भन्नुभयो।

नेता त्रिपाठीले संविधानसभा मधेसी, जनजाति, आदिवासीलगायतका अल्पसंख्यककै लागि आवश्यक भएको बताउँदै वातावरण बनाएर संविधानसभामा जान आफूहरू तयार रहेको बताउनुभयो। उहाँले तोकिएको समयमा संविधानसभा निर्वाचन हुन नसकेका कारण आज आफूहरूले नयाँ कदम शुरू गर्नुपरेको बताउनुभयो।


सभामुख दुःखी
पत्रकार सम्मेलन गर्नुअघि सांसदहरूले सभामुख सुवास नेम्वाङलाई संसद् सचिवालयमा राजीनामापत्र बुझाएका थिए।

सभामुख नेम्वाङले संसद्बाट समाधान नभेटी राजीनामा दिएर जाने स्थिति दुःखद भएको बताउँदै अझै पनि सभामुखका हैसियतले आफूले गर्न सक्ने केही भए गर्न तयार रहेको बताउनुभएको थियो।

सांसदहरूले सभामुखले यथेष्ट पहल गरेको तर राज्य संयन्त्रमा त्रुटि रहेको भन्दै सभामुखको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए। प्रधानमन्त्रीसमक्ष पदको राजीनामा बुझाउनुभएका ठाकुरले पत्रकार सम्मेलनमा जाँदा मन्त्रीकै मोटर प्रयोग गर्नुभएको थियो।

सांसदहरूले राजीनामा दिएको विषयमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सभामुख नेम्वाङबीच सोमबार नै छलफल भयो।

छलफलमा यो विषयलाई गम्भीर रूपमा लिएर अगाडि बढ्न र समयमा वार्तामार्फत निकास खोज्न सभामुखले प्रधानमन्त्रीलाई सुझाव दिनुभयो। सभामुख नेम्वाङले सोमबार नै राजीनामाबारे सम्बन्धित दलहरूलाई औपचारिक रूपमा जानकारी दिनुभएको छ।

जनशक्ति पार्टीका प्रवक्ता सर्वेन्द्रनाथ शुक्ल, शाही मन्त्री केशरबहादुर विष्टलाई पार्टीमा प्रवेश गराई महामन्त्री पद दिएपछि त्यतिखेरदेखि नै गम्भीर असन्तुष्ट र निष्क्रिय हुनुहुन्थ्यो भने एमालेका महेन्द्र राय पटकपटक पार्टीको स्पष्टीकरणमा पर्नुभएको थियो।

त्यसै गरी महन्थ ठाकुरलाई कमजोर मन्त्रालय र पार्टीको पदाधिकारी चयन गर्दा आफूभन्दा पछाडिका डा. रामवरण यादवलाई सहमहामन्त्री बनाएकोमा असन्तुष्टि व्यक्त गर्दै आउनुभएको थियो।

Read Full Discussion Thread for this article