Posted by: gahugoro December 7, 2007
Our Nepal
Login in to Rate this Post:     0       ?        

रा.च.पा. अर्थात् राष्ट्रिय चर्पी पार्टी


रविन साय्मि

'ह्याप्पी टोयलेट डे'। यस्तो भन्ने र सुन्ने दिन पनि आउँदो रहेछ। अस्ति आयो। 'टोयलेट डे' अर्थात् 'चर्पी दिवस'। अनि 'चर्पी दिवस' मनाउने दिन पनि आउँदो रहेछ। अस्ति आयो। 'दिवस' भनेरै मनाएपछि शुभकामनाको आदान–प्रदान पनि हुनुपर्‍यो। अस्ति त्यो पनि भयो। शुभकामना केको भन्दा १ करोड ४० लाख नेपालीहरू चर्पी सुविधाबाट वञ्चित छन्। उनीहरू मैदान जान्छन् अथवा खुला ठाउँमा दिसा–पिसाब गर्छन्। त्यसैले प्रत्येक नेपालीले सके आजै या भोलि नै या सकेसम्म छिटो चर्पी जान पाउनै पर्छ। हो त्यसै कुराको शुभकामना!

कुरा ठीक हो। कोही भोको बस्न हुन्न, प्रत्येक नेपालीले खान पाउनै पर्छ। यो उसको जन्मसिद्ध अधिकार हो। खाएपछि चर्पी पनि जान पाउनै पर्छ, यो पनि उसको प्रकृतिसिद्ध हक हो। तर अघि नै भनियो, आधाभन्दा बढी नेपालीले यस हकको उपभोग गर्न पाइरहेका छैनन्। आज पनि। संसारले एक्काइसौँ शताब्दीमा पदार्पण गरेको सात वर्ष पुगिसक्दा पनि। किन त?

किनभने घर बनाएपछि त्यसको साथमा एउटा चर्पी पनि बनाउनुपर्छ भन्ने कुराको हेक्का थोरैलाई मात्र छ, धेरैलाई छैन। जहाँ जहाँ मान्छे जम्मा हुन्छन्, जहाँ मानिसको आवतजावत हुन्छ त्यहाँ त्यही माफिक चर्पी चाहिन्छ भन्ने हेक्का जसलाई हुनुपर्ने हो त्यसलाई छैन। त्यसैले त घर हुन्छ, चर्पी हुँदैन। कुनै सार्वजनिक स्थलमा जानोस् चर्पी पाइँदैन। डिपार्टमेन्ट स्टोर खोल्छन्, ठूलठूला 'मल' खोल्छन्। तर 'मानवमल' फ्याँक्ने सुहाउँदो ठाउँ बनाउँदैनन्। पार्क, उद्यान हुन्छ, चर्पी हुँदैन। सयौँ ग्राहक एकसाथ बस्न र खान सक्ने रेष्टुँरा हुन्छ या पार्टी प्यालेस हुन्छ तर ठाउँ सुहाउँदो सफा चर्पी हुँदैन। झकिझकाउ पसल चलाउँछन्, तर अभरमा परेको ग्राहकलाई हल्का पार्ने कुनै ठाउँ हुँदैन। कथम् ती ठाउँमा चर्पी भइहाले छिरी सक्नुहुँदैन। बत्ती, पानी, सफा केही हुँदैन।

अस्पताल र नर्सिङहोम गयो त्यही हाल छ। सिनेमा हल पस्यो हालत उस्तै छ। स्कूल गयो, कलेज छिर्‍यो त्यही हाल छ। बस अड्डा र एयरपोर्टको दुरवस्था उही छ। सरकारी कार्यालयको कुरा गरिसाध्ये छैन। घरमा महङ्गा टायल र सङ्गमरमरका बाथरुम हुने हाकिमहरूले कसरी सहन सकेका होलान् आफ्ना कार्यालयका दुर्गन्ध?

जो फोहोरको सान्निध्यमा बस्छ ऊ स्वस्थ होस् कसरी? अस्वस्थ र रोगी नागरिकहरू भएको देश अघि बढोस् कसरी? यही बुझेर होला मोहनदास करमचन्दले आफ्नो सामाजिक जीवनको सुरुआत फोहोरको सफाइबाट गरे, जो पछि महात्मा गान्धी कहलाइए।

हाम्रामा पनि कोही महात्मा भए शुरु गरे हुन्छ देशव्यापी चर्पी आन्दोलन– चर्पी नभएको ठाउँमा चर्पी बनाउने र भएको ठाउँमा त्यसलाई सफा राख्ने। खोले हुन्छ राष्ट्रिय चर्पी पार्टी। 'चर्पी दिवस' मनाउने जाँगर हुने मित्रहरूले यसबारे गौर किन नगर्ने?

Read Full Discussion Thread for this article