"हैन् कबिता नी च्वाँक छ -- उस्लाई त पैले नी देख्या हो तर पूनम त फस्ट टाईम देख्या फस्ट टाईम नै बेस्ट टाईम भो बुझिनस?" बाङ्गेलाई अझै पूनमको भूत लागेकै थ्यो। सुपारी मुसुमुसु हाँस्दै थ्यो अझै।
शोभा त अघि नै आएकि। चेतना संगै थिई। ट्वाक पनि दङग थ्यो। "लेटर दिई तँलाई" भन्या ट्वाक "छैन -- कल्ले भन्यो तिमीहरुलाई चाईने नचाईने कुरा ?" भन्थ्यो मक्ख पर्थ्यो।
पाहुनाहरु कोहि आए पछि दुलहीलाई भेटेर खाना खान आउँथे। त्यही बुझेर होला बाङ्गेले "ल हिन केटा हो पाल तिर" भन्यो अनि "त्यो पूनम र कबितालाई चै म दिन्छु है प्लेट --" पनि थप्यो।
"सबै ओगटन नखोज न बाङ्गे -- हामी चै के तमासा मात्रै हेर्नी?" मैले भनें।
"ल भैगो कबिता मारो गोली --ए सुपारी, म दिन्छु है पूनमलाइ प्लेट? दाई भन्छु ल तँलाई म" भन्यो बाङ्गेले।
"दे ल दे तैं दे -- गति पर" सुपारीले सजिलै भन्यो।
"तँ हो के साथि भन्या त -- यो दीप त कामै नलाग्ने झुर -- उस्ले चै जे दिए पनि हुने -- हाम्ले चै प्लेट सम्म पनि दिन नहुने" बाङ्गेले मलाई कुरा सुनायो। मलाई केही वास्ता लागेन।
पालमा प्लेट दिन बस्यालाई बाङ्गेले एक छिन पछि म दिन्छु है प्लेट एक दुई जनालाई भनेर कुरा मिलायो। कबिता र पूनमलाई हामी कुर्दै थिईम। कबिताका नातेदारहरु त आईसक्या थे -- बल्ल बल्ल चेतना र शोभा सँगै आए पूनम र कबिता। बाङ्गे चलमलायो। प्लेट उसैले दियो पूनमलाई पनि कबितालाई पनि।
चेतना र शोभाले त प्लेट लिएनन तर बाङ्गेले चेतनालाई हेरेर सोध्यो "खै ज्योतिका?"
चेतना पहीरन र आभुषणमा धपक्क बलेकी थिई। एक चोटी हेर्नु पर्थ्यो आँखा हटाउन महाभारत पर्ने। शोभा त ठिकै हो भन्न उसो हैन। तर जे होस, त्यस्ति राम्री चेतनाको अनुहारमा बाङ्गेको प्रस्नले एक किसिमको लहर उठायो। उस्ले "आउन्न रे ज्योतिका" भनी।
बाङ्गेले प्लेटको जिम्मा छोडेर फेरी चेतनालाई सोध्यो "नआउने रे? किन?"
"मलाई के था? भ्याउँदिन रे -- अर्को तिर पनि बे छ उता जानु पर्यो रे भन्थी" थाह छैन भन्दा भन्दै कुरो त भनी चेतनाले। सबै तरुनी हाँस्दै हिने। बाङ्गेको दशा हेर्न लायक भो।
"यत्तिकै भन्या होला बाङ्गे -- आउँदै छे होला बुझिनस?" मैले बाङ्गेको दशा हेर्दै उस्लाई मद्दत गर्न खोजें। उस्ले केही भनेन तर उ भडकेको थ्यो। एक छिन हामी सँग यता र उती गर्दै थ्यो पछि त बाङ्गे हरायो। कता गयो गयो। हुन त राम्रै भयो। सुपारी र मैले छ्यासछुस कबिता र पूनम सँग बोल्न भ्याईम। आफुलाई फेरी चेतनाको पनि ख्याल गर्नु पर्ने -- के गर्नु? कबिता फेरी मैले कुरा नगरे सुपारी सँग बोल्दीने -- सुपारी मक्ख -- पूनम त फेरी छदै छे -- मैले नी बोले पूनम भन्ने सँग आबाज पनि क्या मन्त्रमुग्ध पार्ने खालको रे छ उस्को त" बे मा रमाईलो हुँदै थ्यो।
चेतनाको कुराले बाङ्गेलाई चोट परेको मलाई थाह थ्यो। पछि मैले चेतनालाई मौका पारेर सोधें "के साँच्चै ज्योतिका नआउने हो?"
उस्ले आँखा नचाउँदै "थाह् छैन मलाई, सत्ते!-- आउँछु त भन्थी" भनी।
अनि अघि बाङ्गेलाई किन "आउदिन रे उ" भन्देको त? मैले सोधें।
"ठिक्क पर्यो त्यस्लाई -- देख्या थेन कस्तो पार्या थ्यो अनुहार त्यस्ले?" हाँस्दै उस्ले भनी।
"साथिलाई बोर भयो भने हाम्लाई नी बोर हुन्छ नी" मैले सुनाएँ।
"साथि भए के त मेरो हैन --" छडके नजर म तिर हान्दै उ त्यसपछि हिनी तर जाँदा जाँदै थपि -- "साथि रिसाए नी म छु नी" -- राम राम राम! भाग्गे बलियो भएसी भन्ने लाग्यो मनाँ।
निक्कै बेर पछि आयो बाङ्गे।
"काँ गा हँ त यत्रो बेर?" आउँदा आउँदै मैले सोधें।
"काईँ न काईँ -- तँ मेरो बाउ हो र बयान दिनलाई?" उ त झर्कियो बा! ज्योतिका आउन्न रे भनेर उ रिसाको मलाई था थ्यो। हुन त झन हिजो उस्ले त्यै ज्योतिकाको नाममा कार्यक्रम राख्या आज तरुनी आउन्न रे भन्दा चोट त पर्ने नै भो।
"तँ ट्वाँट खाएर आ?" उस्ले हावामा मिसाउँदै गर्या गन्ध चिनेर मैले सोधें।
"जे खाएर आए पनि कसैको बाउको खाईदिया छैन -- तँलाई के को टनटन?" बाङ्गे अझै उस्तै कुरा गर्छ।
"हेर बाङ्गे, मैले चेतनालाई सोधें -- उस्ले यत्तिकै भन्देकी रे ज्योतिकाको कुरा -- आउन्न भनेर -- अहिले एक छिन पछि आउँछे भन्थी" मैले बाङ्गेलाई शान्त पार्न खोज्दै भनें।
"ज्योतिका के जन्ति हो र दुलाह सँग आउन लाई? या त त्यो आउन्न या त तैले मलाई त्यो ज्योतिकाको कुरा लट्टे दे को हो" उस्ले भन्यो।
"मैले लट्टे देको होईन -- चेतनाले भनेको त्यही हो मलाई" मैले भनें।
"खै त ज्योतिका?" बाङ्गेले मलाई सोध्यो।