Posted by: Deep November 26, 2007
आमन्त्रण
Login in to Rate this Post:     0       ?        

केटाहरु निक्कै नजिक आईसकेका थिए। सम्भाबित स्थितीको लागि मैले आफुलाई तयार पार्दै थिएँ। ----

"चिन्या छ यसलाई?" ति तिन जना मध्ये एउटाले त्यो अस्ति बाङ्गेले दनक हान्या सोम-- त्यै प्रकास भन्ने हो क्यारेलाई देखाउँदै रिसमा सोध्यो।

"चिन्या हैन देख्या छ" मैले जबाफ दिएँ। मलाई त्यति बेला झगडाको धुन थिएन म अर्कै सुरमा हिन्या मान्छे।

देख्न त मैले त्यो प्रकास भन्ने सँग आएका दुईटैलाई देख्या हो पैले पनि -- तर को हुन चाई थाह थेन। अब परिचय पाईएला जस्तो हुँदै थ्यो।

"किन हात हालिस त, नचिन्या मान्छेलाई?" अर्को चाई सोम मेरो झन नजिक आएर कुर्लियो। अब त्याँ बार्तामा अनेक थरी अरु शब्दहरु पनि प्रयोगमा हुन्थे तर म ति सबैलाई यता बोलाउन सक्दिन। ति त्यस्ता शब्दहरु थिए जस्लाई उच्चारण गर्न नपाउँदा जिब्रो बिद्रोही हुन खोज्थ्यो -- ठाम अनुसार सुनाउने पर्ने के गर्नु?

अनि त्यो सोमले के कुरा गर्या हो कुन्नी? मैले त हात हाल्या हैन। बाङ्गे र सुपारी थिए क्यारे त्यति बेला -- मैले त सुनेको मात्रै हो।

मैले बोल्नु अघि नै त्यो प्रकास- द नवयुबकले बोल्यो "यो हैन -- अर्कै हो अस्ति झगडा गर्ने -- बाङ्गे भन्ने थ्यो -- अनि अर्को अलि सोझो सोझो जस्तो अर्को थ्यो"।

प्रकासेको बाङ्गो र सोझोको कुरा प्रति ध्यान नदिई त्यो अघि कुर्लिनेले  "तँ चुप लाग" भन्दै प्रकासेलाई नबोल्न आदेश दियो।

अर्को चै सोमले मलाई सोध्यो "खै त्यो तेरो साथि?"

"को साथि?" मैले सोधें। बाङ्गेकै कुरा गर्या हो कि जस्तो त लाग्या थ्यो तै पनि पक्का त गर्नु पर्यो नी।

"बढ्ता कुरा गर्छस?" त्यो अघि कुर्लिनेले मलाई छातिमा हलुका पुस दिदै आफ्नो रबाफ कायमै गर्या थ्यो -- मलाई झनक्क भयो। आफुले केई गर्नु न होर्नु -- काँ कुन सुरमा के के न गरम्ला भनेर जान लाईरा बेलाँ -- त्यै रिसमा मैले यसो बरी परी हेरेँ त्यस्ले मलाई धकेलेको ककस्ले देखे भनेर। पस्चिम उत्तर तिरको घरमा एउटा केटीले हामी तिर हेरी राकी के देखें आफुलाई ठुलो चोट पर्यो। त्यसरी केटीको अगाडी धकालीसके पछि खत्तम भएन? आफुलाई त्यै बाटो हजार चोटी हिन्नु पर्छ। त्यस्तो धकेल्दा धकेल्दै पनि केई नगरे पछि मर्या जुनी भएन? झोंकले एक्कासी ठाडो उडान भर्यो अनि मैले त्यै जोसमा त्यो कुर्लीने सोमलाई बजाई दिएँ मुखैमा।

त्यस्तो प्रतिकृयाको अपेक्षा गर्या रैन्छ कुर्ले सोमले भयङ्कर भेट्यो। त्यस्को दाँतमा मेरो गठेमंगलको औंठि लाको मुडकी बज्रिदा मेरै हात रन्केको थ्यो। दाँतले ओठ काटेछ क्यारे त्यस्को रगत आईहाल्यो।

अब त्यस पछिको त के बयान गराई भो र -- नराम्रो घार घुर भै हाल्यो नी। पछि त्यो प्रकासे र अरु बाटो हिन्दै गर्या एक दुई जनाले छुट्टाउँदा मेरो सर्ट त धार धुर भएछ। टाँक साँक त कता हो कता। आफ्नो नाकबाट रगत आईराको -- बिपक्षी दलको एउटा सोम पनि नाक समात्दै थ्यो आफ्नो। बेहाल भो। हानाहान सकिए पनि भनाभन सकिया थेन। धोको पुगुन्जेल मुख छोडीयो।

यसो त्यो अगि छताँ बस्या तरुनी तिर हेरियो उ त त्यै थिई तर तरुनी पो हो हैन पक्का भएन -- अघिकि उही त होली नी -- थाह छैन आँखा नजिक पनि कुन चैको हो दनक लागेछ हेर्नै अप्ठ्यारो हुँदै थ्यो। तर कौसीकी तरुनीले नी देखी -- चिनी नी अब डरपोक ज्यान हैन रे छ यो भनेर भन्ने फुर्ती आएर यसै राम्रो लाग्यो।

प्रकासेले त खास केही गरेन। छुट्ट्याउने बल गर्या हो तर बाँकी दुईटालाई त एक्लै भए पनि राम्रै बजाईयो -- हुन त उनीहरुले पनि मेरो बन्दोबस्त गरेकै हो त्यत्तिको।

उनीहरु फेरी सूर्य बहादुरको घर तिर जाने बाटो लागे म हाँडीगाउँ तिर फर्के। अब त्यो हालतमा के पसपति गै भो र।

जति जति आफ्नो टोल तिर आँए -- मान्छेहरुले मेरो गति देखे त्यति त्यति अरु रिस उठन थाल्यो। ति अघिका केटाहरुलाई ध्वस्त नपारी छाडदिन भनेर धुन जाँड लाग्या जसरी लाग्न थाल्यो।

अघि मालिगाउँबाट आउँदा "घर जान्छु अनि नुहाई धुबाई गरेर सुत्ना काम छ" भन्दै आको थें अब घर जान मन लागेन। जति जति मान्छेले हेरे -- "के भो?" भनेर सोधे उति उति ति केटाहरुलाई अरु कुटन मन लाग्यो। बाङ्गेकाँ जाने काम थेन -- जोरोले ढ्ल्या थ्यो -- सुपारी थिएन घरमा अघि, भए पनि त्यस्ले उपदेश दिन्थ्यो -- मलाई उपदेश चाहिया थेन -- ट्वाक नै मेरो आशा र बिश्वास थ्यो। फर्कियो की घर भन्ने आशमा उस्को घर तिर लागें। किस्नदाईको घर अघि छ्याक भेटियो। छ्य्याक पनि साथि नै हो राम्रो।

"ल मा --- के भो यार?" उस्ले सोध्यो।

"देखिनस के भो? फाईट पर्यो नी" मैले गर्ब सँग सुनाएँ। उ म सँग संगै आयो।

"को सँग?" उस्ले सोध्यो।

"त्याँ मालिगाउँका केटाहरु सँग --" मैले भनें। म फटाफट हिन्दै थिएँ। उस्ले पनि बुझेछ क्यारे म ट्वाक काँ जान ला भनेर त्यसैले होला भन्यो "ट्वाक घरमै छ -- एकै छिन भो मैले देख्या त्यस्लाई घर छिर्या"।

"फेरी जाने हो हान्न?" उस्ले  सोध्यो मलाई।

"परेन त?" मैले पनि सोधें।

" म पनि आउँछु घर गएर" भन्दै ट्वाक त्याँ बाट बिदा भयो।

म ट्वाकको चोकमा पुग्दा चेतना चोकमै थिई। मेरो हालत देखेर होला " के भयो?" भन्दै एकै चोटी मेरो छेउमा आई र हात समाई। तर तत्कालै छोडीदिई। मलाई अहिले चेतना, कबिता कसैको केही धुन थिएन।

"ट्वाक खै?" मैले सोधें।

"दाई पछाडी बारीमा छ" उस्ले भनी। म लागेँ उतै।

ट्वाकले मेरो हालत देख्ना साथ सोध्यो "ल तँ पसपति जानु पर्ने मान्छे के हालत बनार बस्या यस्तो?"

मैले घुरेँ मात्रै उस्लाई।

"कस्ले?" यस पटक ट्वाकले अलि गम्भीर भएर सोध्यो।

"त्यै प्रकासे र तेस्को साथिहरुले।" मैले भने।

"को प्रकासे?" उस्ले फेरी सोध्यो।

"को अब -- त्यै पसपतिबाट आँउदा गफ गरेर बसीरा थेन त्याँ मालिगाउँमा-- बाङ्गेले सम्झाको खाते क्या" मैले सम्झाएँ।

"के गरीस र तैले?" उस्ले सोध्यो।

"केई न केई -- पसपति जान भनेर त्याँ पुग्या थें -- यत्तिकै आईलागी रा भन्या -- हान्न त मैले नी हान्दें -- नाक साक फुटाल्दे -- बंगारा संगारा पनि" सुनाएँ फुर्ती सँग।

ट्वाकलाई सुपारीको बारेमा सोध्नु पर्ने -- पसपति जाने बारेमा भन्नु पर्ने -- उ किन थिएन घरमा अघि त्यो बुझ्नु पर्ने थ्यो तर अहिले परिस्थिती बेग्लै। ति कुराहरु झिक्न मन थिएन मलाई।

"कति जना थिए?" ट्वाकले सोध्यो।

"प्रकासे समेत तिन जना -- तर त्यो प्रकासे ले त केई गर्या हैन" मैले भनें।

"बाङ्गे काँ छ थाह छ तँलाई?" ट्वाकले सोध्यो। उस्को बारी बारी हुँदै अहिले हामी छ्याकको घर पछाडीबाट डबली तिर जाँदै थिम।

"घरैमा होला नी -- ओछ्यानमा। जोरो आएर ढलीराथ्यो अघिनै म जाँदा"। मैले भनें।

छ्याकको घर पछाडीको गल्लिमा पुग्दा उ पनि भेटियो। जंजिर बोकेर आएछ।

ट्वाक, म र छ्याक मालिगाउँ तिर लागिम फटा फट। ---

Read Full Discussion Thread for this article