ट्वाक कहाँ त म अघि देखि नै थिएँ त। मैले त सुपारीलाई देखिन। ----
मनमा अनेक कुराहरु एकै चोटी आए। म ट्वाक कहाँ पुग्नु अघि नै सुपारी पुगेछ क्यारे त्याँ अनि ट्वाक सँगै बे को काममा कतै गयो होला नभए ट्वाकलाई नदेखेर बाङ्गेकहाँ गयो कि? अथबा अन्तै कतै गयो कि भन्ने तिर जति सोचे पनि मन भने "गयो सुपारी पसपति" भन्दै हल्ला गर्या गरेई थ्यो।
तै पनि बाङ्गेकहाँ जानु पर्यो न सुपारी त्यतै छ कि भनेर जाँदै थिए छ्याक भेट भयो त्यो धोबीको पसल अघि। मैले उस्लाई देख्नासाथ सोधें "सुपारीलाई देखीस?"
"ट्वाक र उ त मालिगाउँ तिर लाग्या देख्या थें अघि नै" भन्यो।
सुपारीले तेस्को घरमा ट्वाक कहाँ जान्छु भनेको त ठिकै रे छ तर अब गयो कता उ ट्वाक सँग? पसपति नै गए भन्ने पनि पक्का थिएन गएनन भन्ने पनि थिएन।
अब बाङ्गेकहाँ जाने काम थिएन बरु पशपति नै जानु पर्यो भन्ने ठानें। हुन त चेतनाले नजा त भनेको हो -- भेट्याले नजा भन्दा भन्दै नभेट्यालाई खोज्न जानी काम अलि बरबाद त बरबादै हो त्यै पनि जबानीको आगो हुँदो हो जति ताप्यो अरु तापुँ तापुँ लाग्ने।
एक्लै लखर लखर मालिगाउँ तिर जाँदै थिएँ। ट्वाक र सुपारी बे को काममा कतै गएको हुनु पर्छ -- मलाई धोका त किन दिन्थे र भन्दै मनलाई थामथुम त पार्दै थिएँ तर मन भने झन रिस उमार्दैथ्यो।
त्याँ नारन सिंह डिआईजीको घर तिर पुग्या थें मन लागि नलागि। बरु चेतनाले अघि नै भित्र हिन भनेकि थिई -- दशा लागेर भैगो भन्दें -- पशपति जानु पर्दैन भन्दा भन्दै म गएको थाह पाई भने? मनमा कुरो उठ्यो। त्यस्को असर सम्झिदै दिक्क लाग्यो। आफु यता कबिता भनेर गयो उता कबितालाई सुपारीले पढीसक्या रे छ भने यता नजा म छु भनेर चेतनाले भन्दा भन्दै सुन्या नसुनेई गरेर पसपति पुगे पछि चेतनाले पनि मेरो मनलाई चेत बाबा कासी पार्ने पक्का थ्यो।
"आ -- मारो गोली कबिता सबिता -- चेतना जिन्दाबाद " मनले त्यो ज्ञानेस्वरतिर बाट आउने बाटोमा पुग्न लाग्दा एक्कासी नारा लायो।
"हो त?" आफैले आफैलाई सोधें।
"अनि के त?" मनले पनि सोधेरै जवाफ दियो।
लौ त भनेर फनक्क फर्कें। फर्किनु के थियो मन फेरी पिपलपाते भै गो।
कबिता त ट्वाकले नै सिकाको हो तर चेतना तिर लाग्दा ट्वाकले बेहोस नपार्ला भन्न सकिन्नथ्यो। फर्केर फेरी नारन सिंह डिआईजीको घर तिर पुग्दा "हैन अब कैले देखि जाने भन्या पशपति -- बनको बाघले खाओस नखाओस मनको बाघले खाने भन्या जस्तो अब सुपारी र ट्वाक कता गए गए यसै पशपति नै गए भन्दै कबिताको निम्तो यसै लत्याउन त भएन नी --- उता उ पर्खीरहेकी रैछे र आफु गैएन भने खत्तम भएन?" मनले फेरी कुरा उठायो।
हो त कुरा त ठिकै हो। जाम एक चोटी पसपति कबिता बाचन गर्न पाईयो भने पाई हालियो नपाए चेतना त छदै छे। चेतनाले सोधे "अँ, अब मेरो अब बाटो नहेर्नु भन्न गा थें कबितालाई" भन्दिम्ला भन्या जस्तो लाग्यो।
टक्क अडेर फेरी कालो पुल तिर लाग्नु पर्यो भनेर फर्कें। अरुहरुले मलाई हेरी रा रे छन भने यो ठीटो सडकेछ कि भन्लान भन्ने डर।
फर्केको मात्रै के थिएँ उता त्यो सूर्य बहादुरको घर तिर बाट आउने बाटोबाट ओर्लिदै गरेका तिन जाना केटाहरु प्रति ध्यान गयो। ति सबै मै तिर हेर्दै थिए। मन जिरिङ्ग भयो। ति तिन जना मध्ये एउटा त त्यै पैलेको नबयुबक रे छ। बाङ्गेले नाकाँ सट हान्या सोम।
उनीहरुको तारो म भएको पक्का थ्यो। हुन त मैले नै त केही गर्या थे न तर त्यो नबयुबकले बाङ्गे, ट्वाक, सुपारी र मलाई एक साथ देख्या थ्यो। आफु ताक्छु मुडो बन्चरो ताक्छ घुँडो भन्या यस्तै होला। काँ आफु कुन धुनमा हिन्या के आईलाग्न लाग्यो। चेतनाले नजा त भन्दै थिई। कति न जान्ने पल्टेर हिन्या। उसै सँग अघि नै बोलाको बेला भित्र गा भे? अहिले सम्म के के हुन्थ्यो होला --अब जे जे सोचे पनि त भयो नी।
केटाहरु निक्कै नजिक आईसकेका थिए। सम्भाबित स्थितीको लागि मैले आफुलाई तयार पार्दै थिएँ। ----