Posted by: BKMailo November 19, 2007
BHOJPUR
Login in to Rate this Post:     0       ?        

घर खरका, शौचालय जस्ताको

सुरेन्द्र सुवेदी

तुम्लिङटार -संखुवासभा, केउरेनीपानी-९, भोजपुरका लालबहादुर माझीले कर्कटपाताले शौचालय छाएका छन् । घरमा भने चुहिने अवस्थाको खरको छाना छ ।

लालबहादुरजस्तै केउरेनीपानीका आठ सय परिवारमा शौचालय अभियान चलेको छ । घरको वास्ता नगरी सुधारिएको र पक्की शौचालय बनाउन गाउँले जुटेका छन् । सरसफाइलाई महत्त्व दिएर उनीहरू दुर्गन्धरहित शौचालय निर्माणमा जुटेका हुन् । खाँदबारी- ११, १२ र १३ का कुमाल, माझी र दलित बस्तीमा ९ सय ५५ सुधारिएका र पक्की शौचालय बनेका छन् । रेडक्रसको सामुदायिक विकास परियोजनाले शौचालय बनाउन सघाएको छ । जीविकोपार्जनका लागि वन कार्यक्रमको सहयोगमा शौचालय बनाइएको रेडक्रसका सभापति सरोज बज्राचार्यले बताए । खाँदबारी-१३ की पार्वती कुमालले भनिन्- 'घर जस्तो भए पनि बस्न सकिन्छ, शौचालय नभए कहाँ दिसापिसाब गर्नु ?' यहाँ शौचालय बनाएर मात्र घर बनाउनेको संख्या सयभन्दा बढी छ ।

प्यान, सिमेन्ट र रड निःशुल्क उपलब्ध गराउने र निर्माण, रोडा, ढंुगा, बालुवा उपभोक्ताले बेहोर्नुपर्ने नियम बनाउँदै पक्की शौचालय अभियान चालिएको परियोजना सुपरभाइजर शिवराम खड्काले बताए । शौचालयबाट मल झिकेर खेतबारीमा प्रयोग गर्न सकिने प्रविधि प्रयोग गरेर शौचालय निर्माण गरिएको छ ।

राष्ट्रिय जनगणना २०५८ अनुसार नेपालमा १ करोड ७० लाखले खुला ठाउँमा दिसापिसाब गर्छन् । यसबाट लाग्ने र सर्ने रोगको प्रभाव पनि कम छैन । सन् २००५ को युनिसेफको प्रतिवेदनअनुसार पाँच वर्षमुनिका १३ हजार नेपालीको सरसफाइको अभाव र फोहोर पानीले लाग्ने रोगका कारण बर्सेनि मृत्यु हुने गरेको छ ।

नेपालीलाई लाग्ने ८० प्रतिशतभन्दा बढी रोग गुणस्तरयुक्त खानेपानी तथा सरसफाइको सुविधा नभएर लाग्ने गर्छन् -नेपाल सरकार, २००३) । यो सबै शौचालयको समस्याले बढ्ता हुने गरेको छ । त्यस्तै खानेपानी र सरसफाइसँग सम्बन्धित रोगका कारण स्वास्थ्यमा हुने खर्चमा प्रत्येक वर्ष अनुमानित २ अर्ब २० करोडदेखि ३ अर्ब ६० करोड रुपैयाँसम्म खर्च हुने गरेको छ । दिसा र फोहोरमैलाबाट उत्पन्न हुने परजीवी जुकाको संक्रमणबाट विश्वमा १ अर्ब ५० करोड जनसंख्या जहिल्यै

रोगग्रस्त छ ।

समस्या यति संवेदनशील भए पनि सरकार र नागरिक समुदायको प्राथमिकता शौचालयमा नभएकामा सरसफाइकर्मीहरूले सचेत गराएका छन् । 'शौचालयमा हाम्रो ध्यानै पुगेको छैन,' खानेपानी तथा सरसफाइ साझेदारी परिषद् नेपाल शाखाका राष्ट्रिय समन्वयकर्ता उमेश पाण्डे भन्छन्- 'जबकि विश्वमा प्रत्येक दिन चुरोटमा २४ करोड रुपैयाँ खर्च हुन्छ । युरोपेलीहरू प्रत्येक वर्ष ८ खर्ब ४० अर्ब स्टर्लिङ पाउन्ड बराबरको आइसक्रिम खान्छन् ।'

Source: http://www.kantipuronline.com/kolnepalinews.php?&nid=128685

Read Full Discussion Thread for this article