Posted by: Amazing November 19, 2007
Good News from Nepal
Login in to Rate this Post:     0       ?        

पोखरा-दिल्ली बस सेवाबाट यात्रुलाई सुविधा

ईश्वरी न्यौपाने

पोखरा, मंसिर २ - वर्षौंदेखि भारतमा नोकरी गर्दै आएका दानबहादुर गुरुङ हिँडेको पाँचौं दिनमा मात्र दिल्ली पुग्दै आएका थिए । तर यसपालि भने उनी घरबाट निस्केकै भोलिपल्ट पुगेका छन् । यहाँबाट दिल्लीका लागि सोझै बस सेवा सञ्चालन भएपछि भारतमा काम गर्ने उनी जस्ता हजारौं नेपालीले राहत पाएका छन् ।

कास्कीको गाउँबाट पोखरा आएर बास, भोलिपल्ट सुनौली गएर बस्ने अनि पर्सिपल्ट मात्र त्यहाँबाट बस वा गोरखपुर गएर रेल समातेपछि चौथो दिन बेलुका वा पाँचौं दिन बिहानमात्र यसअघि दिल्ली पुग्ने गरेको उनले बताए । 'समयमात्र धेरै लाग्ने होइन, बास बस, झोला ओसार, बस-रेलको टिकट खोज, भीडमा कोच्चिँदै जाऊ जस्ता सास्तीबाट पार पाइएको छ,' दानबहादुरले सोझो बस सेवाले आराम पाएको उल्लेख गर्दै भने । घरबाट हिँडेकै दिन शुक्रबार तीन बजे बस चढेका उनी शनिबार साँझ नै आरामसाथ दिल्ली पुगेको खबर पनि पठाउन भ्याए ।

गत महिनामात्र सुरु भएको यो बस भारतमा काम गर्ने नेपाली र नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले भरिएर चल्नेगरेको छ । अन्नपूर्ण क्षेत्रको पदयात्रा वा पोखरा र आसपासको भ्रमणपछि दिल्ली जान राजधानी काठमाडौं नै पुग्नुपर्ने बाध्यता छ । यातायातले सुविधा दिएकोमा पर्यटकहरूले पनि खुसी व्यक्त गरेका छन् । बसमा दिल्ली जान लागेका स्विडिस काजेतान जेलेसले भने- 'दिल्लीको जहाज चढ्नकै लागि मात्र फेरि काठमाडौं र्फकनु परेन, नेपालको तराई भेगसमेत हेर्दै जान पाएँ ।'

पाँच पोखरेली युवा व्यवसायीले मोर्डन इरा टुर्स एन्ड ट्राभल्स प्रालि खोलेर यो बस सेवा सुरु गरेका हुन् । बसमा ३५ सिट क्षमता छ । प्रालिले खरिद गरेका छमध्ये चार बस चलिसकेका छन् । यहाँबाट सातामा तीन दिन दिल्लीका लागि यी बस छुट्ने गरेका छन् । सुरुकै दिनदेखि नै सबै सिट भरिएर बस गएको ट्राभल्सका अध्यक्ष केशव अधिकारीले बताए ।

शुक्रबार यहाँबाट छुटेको बसका चालक दुर्गाबहादुर विकले दिल्लीसम्म १ हजार ३ सय १० किलोमिटरको दूरी पार गरिने बताए । ३६ घन्टाको यात्रा अवधि राखिए पनि अहिलेसम्म ३०/३२ घन्टामा नै पुगिएको बताए । धेरैजसो सुनौैली र नेपालगन्ज नाकाबाट भारत छिर्ने उनले बताए । जहाँबाट गए पनि भारतको बरेलीमा भेट हुने र त्यसपछि भने एउटै राजमार्गबाट उक्त बस दिल्ली पुग्छ । बसमा दुई जना चालक रहेको बताउँदै विकले भने- 'जहाँ थकाई, निद्रा लाग्छ त्यहाँबाट पालो गरेर बस हाँक्छौं ।'

बसले दिल्लीको जहाँगिरपुरीमा लगेर यात्रु ओराल्ने गरेको छ । दिल्लीका धेरै कार्यालयदेखि नजिक भएकाले जहाँगिरपुरी नेपालीका लागि निकै पायकको ठाउँ मानिने जसबहादुरले बताए । यो बसले भारतबाट आउनेलाई पनि सजिलो नै बनाएको छ, उनले भने ।

दिल्लीसम्मको एकतर्फी भाडा दुई हजार रुपैयाँ कायम गरिएको छ ।

 

ekantipur

Read Full Discussion Thread for this article