"खै त्यो त था छैन-- तर जो भए पनि दुईटै हाम्रै हुन ल जा---" बाङ्गेले सुनायो। ---
"किन दुईटै मात्रै? नाता नपर्ने जति तरुनी सबै मेरा भन्न" सुपारीले बाङ्गेलाई घुर्दै भन्यो।
"पातकी, कुरा त घच्चिको गर्छस् यार तँ पनि कैले काईं त -- एक बोतल जाँड ल तँलाई मेरो तर्फबाट -- जुन बोतल भन्छस त्यही" बाङ्गेले हाँस्दै भन्यो।
अब केही भए पनि नभए पनि एक दुई दिन त्यो टंगाल स्कुल तिर बाट हिन्दा साबधान त हुनै पर्यो। यसमा भने दुईमत भएन।
ट्वाक कहाँ जाम भन्या सुपारीले "त्याँ बे को रुमलो हुन्छ राम्रो कुरै गर्न पाईंदैन म त्यसलाई यहीँ लिएर आउँछु" भन्यो। कुरा त ठिकै हो। सुपारी गयो। बाङ्गे र म भएम।
"तँ पनि नसुध्रीने भईस, बाङ्गे" मैले भनें।
"बिग्रेकै कैले थिएँर म? तँ पनि मेरो बाउको जस्तो कुरा नगर् न --" उस्ले आनन्दै भन्यो।
"तँलाई कस्ले यत्तिकै हात छोडन लायो? न त्यो केटाको दुईटै केटीहरु सँग लेनदेन छैन की? त्यसो भए केही गर्ने कामै थेन --" म भन्दै थें।
"त्यो त हो, मैले अब हान्दि सकें -- जे पर्ला पर्ला" उस्ले भन्यो।
"तेरो काम त बिग्रीहाल्यो नी -- अब चेतनाले त्यो केटालाई मन पराउने रैछे भने पनि तँलाई सराप्ने भई उस्को साथिले मन पराएकी रैछे भने पनि तँलाई सराप्ने नै भई" मैले बाङ्गेको मन चेतनाबाट बिरक्त्याउने सुरमा भनें।
"त्यो त हैन झन उस्लाई मैले कस्तो मन पराउँदो रहेछु त्यो प्रस्ट भो" उस्को आफ्नै तर्क थ्यो।
मैले उस्को घरबाट आउँदा के के भो ट्वाकले के भन्यो भनेकै थिईन। अहिले सुनाईँदिएँ।
उस्ले कुरा सुनेर भन्यो "देखिस? अब झन कति राम्रो भो? ट्वाकलाई शोभा फेरी ब्याक टु मंगलमान -- ट्वाकले मेरो गुन बिर्सीदैन -- चेतना अव त्यस्कै बैनी भै हाली -- कुरो बुझिनस्?"
"ल ल मारोगी अब मनको लड्डु त्यै घ्यु संग खाएर बसी राख" भन्दें। बाङ्गेलाइ जे भनेनी उस्को सुर चलुन्जेल जे मन लाग्या हो त्यो नगरी छोडदैन्थ्यो।
सुपारी एक्कै छिनमा फर्केर आयो तर एक्लै। "ट्वाक घराँ काम गरीरारेछ। आउन मिल्दैन भन्यो तर भाको कुरा सुनाईँदिएँ" भन्यो।
"के भन्यो त तेरो बाजेले?" बाङ्गेले सोध्यो।
सुपारीले बाङ्गेलाई घुर्दै "ठिकै छ" भन्थ्यो तेरो बाजेले भन्यो।
"देखीस?" बाङ्गेले सुपारी र मलाई हरायो कि झै गरी हेर्यो।
चिया आउँदै छ भन्दा पनि नमानी सुपारी उस्को घरमा काम छ भनेर गयो। म र बाङ्गे नानाथरी कुरा गरेर बसेम। अनि उ घर जानलाई उठ्यो होला भन्या त एक्कासी "हिन्त एकचोटी ट्वाककहाँ जाम" भन्छ।
"किन?" भन्या "हिन्न चेतनालाई हेरम् हेरम् लाग्यो के एक हात" भन्छ भाते।
"ट्वाक बिजी छ भन्या सुनीनस?" मलाई बाङ्गे सँग त्याँ जानै मन् थिएन।
"त्यै भएर त झन जाने नी -- ल हिन" बाङ्गेले इसारा गर्यो।
"म किन चाहियो? जान त तँ" मैले भनेँ।
उस्ले किचकिच् गरी रह्यो। लौ त भनेर लागिम ट्वाक कहाँ।
साँझ पर्ला पर्ला जस्तो थ्यो बेखालालको घर नेर पुग्दा ट्वाकलाई त्यैं भेट भो।
"तँलाई फुर्सद भो अहिले?" ट्वाकले मलाई हेरेर सोध्यो।
"के फुर्सद? फुर्सदै फुर्सद त हो नी" मैले सुनाएँ।
बाङ्गेले अघि त्यो केटालाई उस्ले दनक देको सुनाउन खोज्दै थ्यो ट्वाकलाई गुन लाउनलाई होला उस्ले "मैले थाह पाएँ अघि नै सुपारीले भनी सक्यो" भनेर कुरा सक्यो। शोभाको बारेमा मैले बाङ्गेलाई केही भनें कि भनेर होला उस्ले म तिर हेर्यो। मैले केही भनेकै थिईन।
"सुपारीले त तँ आउन मिल्दैन रे" भन्थ्यो त। ट्वाकले अझै मलाई हेरेर भन्यो।
म त छक्क परें। त्यस्तो खबर त सुपारीले ट्वाकको बारेमा पो ल्याएको थियो त।
"किन आउन नमिल्नु? मलाई सुपारीले केही त भनेन" मैले भनें।
बाङ्गे पनि अलमलियो र भन्यो "त्यो त घर जान्छु काम छ भनेर अघि नै गयो-- हाम्लाई त केही भनेन म दीप कै बसीरा छु अघि देखि ।"
ट्वाक एक छिन चुप लाग्यो र हाँस्यो अनि "ल नसकिने भयो -- सब एक से एक --सुपारीले पनि आज चै हरीप चाल चलेछ---सुध्रेछ सुपारी ।" भन्यो।
"भन्या?" बाङ्गेले सोध्यो।
"भन्या अब एक छिनमा भनम्ला ---" ट्वाकको अनुहारमा हाँसो अझै टन्नै थ्यो।
"तँ कता नी?" मैले ट्वाकलाई सोधें।
"म ग्यास लिन जान ला दुई सिलिण्डर ल्याउनु छ --ट्याक्सी खोजीरा" भन्दै थ्यो उ, भुतेस्वर तिर बाट एउटा ट्याक्सी आयो। ट्वाकले रोक्यो। तिमीहरु पनि हिन न साथि हुन्छ -- एक्लै जानला थेँ -- घराँ जानी सिलिण्डर राख्ने -- अनि गएर् ल्याउने -- तु हुन्छ" भन्यो। बाङ्गे छिरी हाल्यो ट्याक्सीमा म पनि बसें।
"यति बेला काँ लिन जानी ग्यास?" भनेर सोध्या -- मामाको पसलबाट ल्याउने हो -- ठिक्क पारी रा छ रे त्याँ --- ल्याईदिन्छ भन्थे फेरी के मिलेन कुन्नी बाउलाई लिन पठाईदिनु भनेर खबर आएछ अनि के गर्ने मै जानु पर्यो" ट्वाकले सुनायो ट्याक्सीमा।
ट्वाक्या घराँ गएर सिलिण्डर राखेर बत्तेम। अनि बाटामा मैले मनमा लाग्या कुरो फेरी झिकेँ "तँलाइ सुपारीले म बिजी छु भन्यो रे अघि?"
"ए अँ -- ट्वाक फेरी हाँस्यो र भन्यो कबिता आ थी अघि -- सुपारी आउँदा घरमै थिई -- मैले झन उस्लाई दीपले पुर्याईदिन्छ घर भनेर सुनाई देको थिएँ उस्ले मक्ख परेर पर्दैन भन्या थि। सुपारीलाई "पठाई दे दीपलाई जा भन्या थें" फर्केर "दीपको आउन मिल्दैन रे --काम छ रे घरमा" भन्यो।
बाङ्गे र मैले हेरा हेर गरीम।
"अनि कबिता छे त घरमा अझै?" मैले सोधें--अनि झट्ट सम्झें --हरे! यो ट्वाकले पनि खत्तम गर्यो --उता जवानीले भरीदी कबितालाई घरमै छोडेर रित्ता सिलिण्डर सँगै मलाई कता कुदायो फेरी।
"हैन उ त घर गै हाली नी -- एक्कै छिन भो" ट्वाकले भन्यो।
यै ग्यासको अलमलले गर्दा म के गरम के गरम् भन्दै थें "खै ग्यास ल्याइदिएनन - त्यो आफै लिन जानु पर्ने हो की ल्याइदिन्छन त्यो बुझेर मात्रै जानु तँ चाबेल कबितालाइ पुर्याउन जाने भा" भन्दै थे बा--
ट्वाक अरु के के भन्दै थ्यो मैले केही सुनीन --रीस उठेर आयो सुपारी देखेर।
"खै त त्यो सुपारी पिचास?" बाङ्गेले सोध्यो।
"सुपारी त गै हाल्यो नी कबिता सँगै चाबेल --- पुर्याउन भनेर --भन्या हैन सुपारी सुध्रेछ भनेर मैले अघि? "दुखको कुरा सँगै ट्वाकको हाँसो ट्याक्सीमा भरीयो। ---