Posted by: sumedhu November 3, 2007
Maoist's atrocities... what more to expect??
Login in to Rate this Post:     0       ?        

जनयुद्ध’ ले गरेको जनसंहार

विद्रोह सुरु गरेयता माओवादीहरूले चितवनको माडी क्षेत्रमा सबैभन्दा ठूलो जनसंहार गरेका छन्, जसले उनीहरूको राजनीतिक चरित्र धूमिल बनाएको छ ।

प्रभाकर घिमिरे र खुमानसिं तामाङ/चितवन

श्रीमतीको दाँतको उपचारका लागि वसन्तपुर स्वास्थ्य चौकी हिँडेका महेश्वर पौडेल, ६०, अहिले भरतपुर अस्पतालमा आफ्नै उपचार गराउँदैछन् । चितवन, अयोध्यापुरी देवीनगरका महेश्वर वसन्तपुर ओहोर-दोहोर गर्न प्रायः साइकलको प्रयोग गर्थे । तर, त्यस दिन श्रीमतीलाई जचाउन जानुपरेकाले यी दम्पती बस चढेका थिए । दाँत दुख्ने रोगले सताइएकी धनकुमारी, ४८, को दाहिने गोडाको तलदेखि माथिसम्मको पूरै भागमा गम्भीर चोट लागेको छ । "धन्न बाँचियो," अस्पतालको शय्यामा छट्पटाइरहेका पौडेल दम्पतीले भने ।

जेठ २३ गते चितवनको कल्याणपुर गाविस-१, बाँदरमुढेमा माओवादीले गराएको विद्युतीय धराप विस्फोटमा पौडेल दम्पतीसहित सय जनाभन्दा बढी यात्रु चढेको बस परेको थियो । अयोध्यापुरीको बगाईबाट बनकट्टा आउँदै गरेको ना१ख ३२४५ नम्बरको सो बसमा उनीहरू १५ मिनेटअघि मात्रै चढेका थिए । घाइते महेश्वर भन्छन्, "सुरुमा खासै आवाज आएको थिएन, चक्का पन्चर भएको अनुमान गर्दै बसबाट ओर्लन खोज्दा भयङ्कर आवाज आयो ।" क्षणभरमै सो आततायी आवाजले ३९ निर्दोष जनसाधारणको ज्यानै लियो भने अरू ७२ जना घाइते भए ।

विस्फोटले बस धुजाधुजा भयो । यात्रुका सरसामान मात्रै छरपस्ट भएनन्, कतिपय मृतकका जीउसमेत सग्लो भेटिएनन् । कसैका हात छुट्टएिका थिए भने कसैको टाउका शरीरबाट अलग थिए । घटनास्थलनजिकै टाउको नभएको बच्चाको एउटा लास भेटिएपछि सनाखत हुन नसक्ने देखेर स्थानीय बासिन्दाले अर्को दिन त्यसको अन्तिम संस्कार त्यहीँ गरेका थिए । घटनास्थलवरपर अहिले पनि त्रासदीले घर गरेको छ भने घटनास्थलको बीभत्स तस्बिर स्थानीयवासीको मन-मस्तिष्कबाट हट्न सकेको छैन ।

माओवादीहरूले बिहानको आठ नबज्दै विस्फोटन गराएका थिए । गर्मीको बेला भएकाले घटनास्थलनजिकैको वीरेन्द्र राष्ट्रिय प्राथमिक विद्यालयमा पढाइ चलिरहेको थियो । बाँदरमुढे खोलाको बगरमा घाँस काट्ने महिलाहरू भारी पुर्‍याउनमै व्यस्त देखिन्थे । त्यतिबेलै अन्य दिनझैँ भरिभराउ यात्रु बोकेर यात्रुवाहक बस त्यतातिर आउँदै थियो । बस यति भरिभराउ थियो कि कोही सिटमा कोचिएका थिए भने कोही कोचिएरै उभिएका थिए । बसभित्र नअटेर कति त छतमा बसेका थिए । कल्याणपुर गाविसको बाँदरमुढे खोलाको पुलको 'डाइभर्सन' नजिक आइपुग्दा बसको पछाडि भागमा सानो आवाज आयो । यात्रु र चालकले पन्चर भएको हो कि भन्ने अनुमान गर्दागर्दै अर्को भयङ्कर आवाजसहितको विस्फोट भयो । त्यो विस्फोट ३९ निर्दोषहरूको ज्यान लिने विद्युतीय धरापको थियो ।

धराप पड्केपछि बस माथि उछिट्टएिर अलि पर थचारियो । बसको आवाजसँगै घटनास्थलबाट करिव डेड सय मिटर टाढा रहेको विद्यालयमा खैलाबैला मच्चियो । वीरेन्द्र राष्ट्रिय प्रावि क्षणभरमै आतङ्कित भयो । "भर्खरै कक्षा सुरु भएको थियो," कक्षा ५ मा अध्ययनरत शिव महतोले भने, "केही पड्केको आवाज आयो । नभन्दै बस टुक्राटुक्रा भएको देखियो । यात्रुहरू पनि उछिट्टएिर कता हो कता !"

घटना हुनासाथ स्थानीय रेडक्रसकर्मी र अरू गाउँलेहरूले घाइतेको उद्धार कार्य सुरु गरे । घाइतेलाई ४० किलोमिटर टाढाको भरतपुर अस्पतालसम्म्ा ल्याउन रेडक्रसले तत्काल चारवटा एम्बुलेन्स परिचालन गरेको थियो ।

निकुञ्जपारिको बस्ती र बाटो अप्ठ्यारो भएकाले घाइतेलाई समयमै उपचारका लागि पुर्‍याउन कठिनाइ भएको थियो । "तर पनि हाम्रो रेडक्रस एकाइ र जुनियर रेडक्रसले निकै सक्रियता देखायो," चितवन रेडक्रसका सभापति हरि न्यौपानेले भने । उद्धारका लागि त्ात्काल कुनै सवारीसाधन नपाएपछि घाइतेहरूलाई बयलगाडाको सहायताले नजिकको वसन्तपुर स्वास्थ्य चौकीसम्म लगिएको थियो ।

तीन घण्टापछि मात्र नजिकैको बनकट्टा पोस्टबाट पैदल हिँडेर सुरक्षाकर्मी पुगेको स्थानीय बासिन्दाले बताए । घटना हुनुभन्दा केही दिनदेखि त्यहाँ माओवादी चहलपहल बढेको स्थानीय बासिन्दाले अनुभव गरेका थिए । "तर, यस्तो विध्वंस होला भन्ने कहिल्यै सोचिएको थिएन," घटनास्थलमा दुई मिनेटमै पुगेका हरि पौडेलले भने, "पिछडिएको भए पनि यो सुन्दर बस्तीमा कसको आँखा लाग्यो !"

पौडेल मात्रै होइन, माडी उपत्यकाका चारै गाविसका बासिन्दा शोकले स्तब्ध छन् । उनीहरूमा जति पीडा छ, त्यसभन्दा बढी माओवादीप्रति आक्रोश छ । "हरेक दृष्टिले पिछडिएको यस बस्तीमा माओवादीहरूले आक्रमण गरेर गाउँलेलाई जिउँदै मारेका छन्," स्थानीय कृष्ण चौधरी भन्छन् । घटनामा एकै परिवारका चार जनासम्म मारिएका छन् । विस्फोटबाट अयोध्यापुरी गाउँका १६ र कल्याणपुरका १८ जना मारिएका छन् ।

अस्ताउन लागेको घामको मधुरो प्रकाशसँगै गाउँलेहरूले सबै मृतकको नजिकैको रिउ खोलामा लगेर दाहसंस्कार गरेको दृश्य निकै हृदयविदारक थियो । नबलेका मूढाहरू असरल्ल देखिन्थे । घटनाका मृतक रामचन्द्र सुवेदीको संस्कार गरेको ठाउँमा मलामीहरूले काङ्ग्रेसको झन्डा गाडेका थिए । रामचन्द्रको किरियामा बसेका चार छोरामध्ये शिव भन्छन्, "यस घटनाको जति निन्दा गरे पनि पुग्दैन । जनतालाई धरापमा पारेर कसैले राजनीति गर्नुहुन्न । अब यस्तो कसैले नगरोस् ।"

मारिनेमा तीन सुरक्षाकर्मी पनि थिए, जो बिदा मनाउन बगाई पोस्टबाट घरतर्फ जाँदै थिए । हातहतियारसहित सादा पोसाकमा चढेका १२ सुरक्षाकर्मीका कारण माओवादीले आक्रमण गरेको हुनसक्ने अनुमान स्थानीय गाउँलेले गरेका छन् । के सुरक्षाकर्मी चढे भन्दैमा सार्वजनिक यातायातको साधनमा आक्रमण गर्न हुन्छ ? बारुदी सुरुङविरुद्ध कार्यरत 'ब्यान ल्यान्डमाइन्स क्याम्पेन' की संयोजक पूर्णशोभा चित्रकार पटकपटक माओवादीले एकै प्रकृतिको गल्ती दोहोर्‍याएको बताउँदै भन्छिन्, "जनताले प्रयोग गर्ने यातायातका साधनमा सुरक्षाकर्मी चढे भन्दैमा आक्रमण गर्न मिल्दै मिल्दैन ।" माडीका बासिन्दाको राय पनि यस्तै छ । एक जनाले आक्रोशित हुँदै भने, "सेना चढ्यो भन्दैमा यतिका निर्दोषको ज्यान लिन मिल्छ ?"

माडीवासीले यसअघि नै जनसाधारण चढ्ने यातायातका साधन सेनालाई प्रयोग नगर्न आग्रह गरिसकेका थिए । र, माओवादीले पनि सुरक्ष्ााकर्मी नचढाउन बेलाबखत चेतावनी दिने गरेका थिए । दोहोरो चेपुवामा परेका कारण बस व्यवसायीले सात महिनाअघि एक साता हडतालसमेत गरेका थिए ।

'युद्ध' को मारमा जनसाधारण परेको यो घटना पहिलो भने होइन । विद्राेही माओवादी र राज्यकै तर्फबाट युद्धकालीन यो समयमा थुप्रै जनसाधारणले अनाहकमा ज्यान गुमाएका छन् । अनौपचारिक क्ष्ाेत्र सेवा केन्द्र -इन्सेक) का अनुसार, ०५२ फागुनमा 'जनयुद्ध' सुरु भएयता १२ हजार तीन सय ८९ जनाले ज्यान गुमाइसकेका छन्, जसमा निर्दोष र निःशस्त्र व्यक्तिको सङ्ख्या बढी छ । इन्सेकको तथ्याङ्कअनुसार माओवादीबाट मारिनेमा एक हजार आठ सय सुरक्षाकर्मी छन् भने दुई हजार पाँच सयभन्दा बढी निःशस्त्र व्यक्ति, जसमा किसान, शिक्षक, विद्यार्थी, राजनीतिक कार्यकर्ता, कर्मचारी, सामाजिक कार्यकर्ता, व्यापारी, श्रमिक, स्वास्थ्य कार्यकर्ता, सर्वसाधारण, पत्रकार र फोटोपत्रकारसमेत परेका छन् । इन्सेकका अनुसार राज्यबाट पनि माथि उल्लिखित पेसाका कम्तीमा दुई हजार निःशस्त्र व्यक्ति मारिएका छन् ।

राज्य र विद्राेहीतर्फबाट अनाहकमा मारिने जनसाधारण प्रायःजसो विस्फोटन र 'क्रस फायरिङ्' को सिकार भएका छन् । 'ब्यान ल्यान्डमाइन्स क्याम्पेन' को तथ्याङ्कअनुसार गत पुसयता मात्रै विस्फोटका कारण ५७ जनाले ज्यान गुमाएका छन् । सन् २००४ मा यो सङ्ख्या अझै अधिक थियो । त्यस वर्ष तीन सय ८९ जनाले विस्फोटबाट ज्यान गुमाए, जसमध्ये ४४ जना त बालबालिका थिए ।

तथ्यहरूले के देखाउँछन् भने 'जनयुद्ध' को सञ्चालन वा त्यसको नियन्त्रण गर्ने, दुवै बहानामा निर्दोष जनता मारिरहेका छन् । अनाहकमा जनसाधारणले ज्यान गुमाएको सबैभन्दा ठूलो घटना माडी धराप काण्ड भएको छ । र, यस जनसंहारले माओवादीहरूको राजनीतिक चरित्रलाई धूमिल बनाएको छ ।

माओवादीहरूले सदाझैँ यसपटक पनि घटनाका दोषीलाई कारबाही गर्ने भनी माफी माग्दै विज्ञप्ति निकालेका छन् । जेठ २४ गते माओवादी अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "शाही सैनिकहरूमाथि लक्षित गरी हाम्रो जनमुक्ति सेनाको एक टुकडीले थापेको उक्त विद्युतीय धराप सर्वसाधारणलाई क्षति पुग्ने गरी विस्फोट हुन जानु हाम्राे गम्भीर गल्ती हो ।" उनले घटनाप्रति आत्मालोचित हुँदै सो विद्युतीय धरापमा संलग्न सैनिक टुकडी र त्यसका लागि प्रत्यक्ष निर्देशन दिने पार्टी नेतृत्वलाई समेत निलम्बन गरिएको बताएका छन् । तर, त्यस्तो भयानक अपराध कार्यमा के-कति छापामार संलग्न थिए ? ती को हुन् ? तीमाथि के-कस्तो कारबाही गरिन्छ ? यसबारे केही बताइएको छैन, जसले गर्दा दाबी गरिएअनुसारको कारबाही हुन्छ भन्ने पर्याप्त आधार छैन । यसअघि पनि उनीहरूले ज्यादतीका घटनामा यही शैलीमा क्षमा माग्दै कारबाही गर्ने बताउँथे तर कारबाही गरिएको ठोस विवरण भने सार्वजनिक गर्दैन थिए ।

पछिल्लोपटक कारबाही गरिएको एउटा घटना दैलेख प्रकरण मात्र हो । ०६१ कात्तिकमा दैलेखका माओवादीले अराजक ढङ्गबाट निर्दोष जनता मार्न र ज्यादती गर्न थालेपछि त्यसको चौतर्फी विरोध भयो, जसलाई साम्य पार्न पश्चिम कमान्डका इन्चार्ज देव गुरुङको संयोजकत्वमा माओवादी नेतृत्वले एउटा छानबिन समिति बनायो । समितिले माओवादीको भेरी-कणर्ाली क्ष्ाेत्रीय ब्यूरो सदस्य एवम् दैलेख इन्चार्ज खगेन्द्र सेन, जिल्ला सेक्रेटरी रणजित र दैलेख 'जनसरकार' का प्रमुख कुशललाई पदमुक्त गरिएको सार्वजनिक गर्‍यो ।

माओवादीले दैलेखबाहेक अन्यत्र यसरी गल्ती गर्नेमाथि कारबाही गरेको सार्वजनिक गरेको छैन । ०५५ सालमा रोल्पाको हारजङ्गमा आफ्ना विरोधीलाई ज्यूँदै डढाइएको घटना होस् वा चितवनको भण्डारामा आठवर्षे किशोरी काजोल खातुनलगायतलाई बसभित्रै जलाएर मारिएको काण्ड अथवा दोलखाको मैनापोखरीमा मारिएका जनसाधारण- कुनै पनि घटनाका दोषीमाथि गरिएको भनिएको कारबाही सार्वजनिक भएको छैन ।

माओवादीका चितवन जिल्ला इन्चार्ज अविनास र अर्का जिल्ला तहका नेता इन्द्रजित माडी क्षेत्रकै हुन् । एक महिनाअघिसम्म सो क्षेत्रका कमान्डर क्षितिज थिए । स्थानीय बासिन्दाका जानकारीमा आएका यी केही 'भूमिगत' नामबाहेक सो क्षेत्रमा भएको यत्रो जनसंहारको दोषी को-को हुन् ? माओवादीबाहेक कसैलाई थाहा छैन । के प्रचण्डले दाबी गरेजस्तै वास्तविक अपराधीमाथि कारबाही गरिन्छ त ? त्यस्तो कारबाही सार्वजनिक नगरिएसम्म न माओवादीको प्रतिबद्धतालाई कसैले पत्याउँछ, न त उनीहरूको राजनीतिक चरित्र नै पुनःस्थापित हुन्छ ।


धरापमा निर्दोष ः केही ठूला घटना



बाल्टिन धरापको सर्वनाश !

माओवादीको विद्युतीय धरापमा यातायातका साधन परेको चितवनको घटना पहिलो नभए पनि क्षतिको हिसाबले यो सबभन्दा उपल्लो हो । ३९ जनसाधारणको एकै चिहान बनाउने यस विस्फोटबाट सवारी साधन पनि क्षतविक्षत बनेको छ । यतिबिघ्न शक्तिशाली धराप कस्तो प्रविधिको थियो ? सेनाका प्रवक्ता, सहायक रथी दीपक गुरुङका अनुसार, माओवादीले बाल्टिन धराप प्रयोग गरेका थिए, जुन कम्तीमा २० किलोग्राम विस्फोटकले भरिएको थियो । जमिनमुनि बिछ्याइएको बाल्टिन विद्युतीय धरापलाई पड्काउन तीन सय मिटर टाढासम्म तार जोडिएको थियो । उनी भन्छन्, "माओवादीले कमान्ड डेटोनेटेड प्रविधि अपनाएका रहेछन् ।" विद्युतीय धराप बनाउन माओवादीले जिलेटिन, नोभलेजेल, टेल्जेल, बारुद केप, सिसाको धूलो, प्लास्टिक, फ्युजवायर, गन्धक, सोडा, इलेक्ट्रोनिक डेटोनेटर आदि प्रयोग गर्छन् ।

अहिले सेना र माओवादी दुवैले 'कमान्ड डेटोनेटेड' र 'भिक्टिम एक्टिभेटेड' गरी दुई किसिमका धराप प्रयोग गरिआएका छन् । आफू सुरक्षित ठाउँमा बसी दुश्मन हिँड्ने बाटोमा बारुद बिछ्याएर तारको माध्यमबाट विस्फोट गराउने प्रविधिलाई कमान्ड डेटोनेटेड भनिन्छ, जुन प्रविधि माओवादीले अत्यधिक प्रयोग गर्छन् । भिक्टिम एक्टिभेटेडचाहिँ मानिस वा सवारी साधनले टेक्दा, छुँदा वा चलाउँदा हुने विस्फोट हो । सेनाले ब्यारेकवरिपरि सुरक्षा घेराका रूपमा यस्तो धराप बिछ्याउने गरेको छ ।


ँकिलर एरिया’

मोहन बुढाऐर/धनगढी

सुरक्षाफौजको बेस क्याम्पमाथिको आक्रमण असफल हँुदै आएपछि माओवादीहरूले एम्बुस-रणनीति अख्तियार गरेका छन् । जेठ २४ गते कैलालीको मसुरिया क्ष्ाेत्रमा भएको भिडन्त यसको नमुना हो ।

सुरक्षा स्रोतका अनुसार, मसुरिया क्ष्ाेत्रमा ठूलो सङ्ख्यामा माओवादी गतिविधिको खबर पाएको सेनाको एउटा टुकडी त्यसतर्फ गयो । त्यसपछि तयारीका साथ बसेका विद्राेही र सेनाबीच भिडन्त सुरु भयो । भिडन्तमा १४ सुरक्षाकर्मी र डेढ सय माओवादी मारिएको सुरक्ष्ााफौजको दाबी छ । तर, माओवादीले भने आफ्नोतर्फ १० र सुरक्षाकर्मीतर्फ ४८ जना मारिएको दाबी गरेको छ । माओवादीहरूको पश्चिम डिभिजन कमान्डर प्रभाकरले एम-१६, इन्सास, ब्राउनिङ पेस्तोललगायतका हातहतियार कब्जामा लिएको दाबीसमेत गरेका छन् ।

तर, शाही सेनाका सुदूरपश्चिम पृतनापति राजेन्द्र थापाको दाबी फरक छ । उनी भन्छन्, "यता माओवादीको एम्बुस थापेको 'किलर एरिया' मा फसेको फौजतर्फ ठूलो क्षति हुनुपर्नेमा संजोगले बाँचिएको छ ।" उनको भनाइमा लुकेर बसेका माओवादीलाई बाहिर तान्न सेनाले नयाँ रणनीति लियो, जसअनुसार उनीहरू बाटोको दुवै किनारामा करिब डेढ किलोमिटर लाम लागेर अगाडि बढेका थिए । तर, त्यतिन्जेलमा सुरक्षाफौज माओवादी एम्बुसको किलर एरियामा परिसकेको थियो । थापा भन्छन्, "किलर एरियामा फसेका फौजले बाँध बाँधेजस्तो भई लडेर सफलता पायो ।" उनका अनुसार, कुनै पनि फौज किलर एरियामा फसेपछि त्यहाँ १० मिनेटभन्दा बढी लडाइँ लड्न सक्दैन तर सेना पाँच घण्टासम्म लडेको थियो । भिडन्तको चपेटामा दाङबाट आइरहेको ५६२९ नम्बरको दिगो विकास अवलोकन भ्रमण टोलीको बस पनि पर्‍यो । बसमै गोली लागी टोलीकी १८ वर्षे सदस्य लीला आचार्य मारिइन् भने सोही बसका ११ जना घाइते भए ।

गतसाल कात्तिकमा माओवादीहरूले कैलालीस्थित सुक्खड आधार शिविरमा आक्रमण गर्ने प्रयास गरेयता लगातार क्षति बेहोर्दै आएका छन् । त्यसबेला सुरक्षाफौजले मसुरियाको त्यही शङ्करपुर क्षेत्रबाट उनीहरूलाई लखेटेको थियो । सेनाले गत मङ्सिर ५ गते पन्डौनमा माओवादीतर्फ ठूलो क्षति पुर्‍याएको थियो । त्यही क्षतिका कारण बेसक्याम्प आक्रमण विद्रोहीका लागि इज्जतको सवाल भएको सुरक्षा स्राेतको भनाइ छ । र, अहिले माओवादीहरूले विगतको तुलनामा ठूलै सफलता हासिल गरेको दाबी गरेका छन् ।

Read Full Discussion Thread for this article