Posted by: Deep October 30, 2007
आमन्त्रण
Login in to Rate this Post:     0       ?        

बे मा झन क्या सजिएर आउने होली उ -- सम्झिदै जिउ भरीका सप्पै रौं भाला भए। ---

अब घर त आइयो मन हराईयो। हुन त मन बेईमान हुन थाल्या एक समय भै सक्या थ्यो। आफुले आफ्नो भन्यो बस्न जान्थ्यो उ तरुनी फेरी फेरी। कैले त आफ्नो मन बस्या छ कहाँ थाह नहुने। आज भने कबिताकै बस्या थ्यो उ।

ट्वाकको घर आयो उ गयो। अरु बेला भए यसो भित्र छिर्ने गर्या थ्यो न दर्शन पाईहालिन्छ कि तेस्की बैनीको भनेर --आज वास्ता लागेन। लङुर-बुर्जाको गोटी घोप्ट्याउँदै गर्दा बुर्जा डबल देखी सके पछी किन पानमा राख्ने पैसा? कबिता बुर्जा अब ट्वाक्या बैनी पान।

आफ्नो घर तिर जानु अघि खुसी बाँड्नु पर्यो भनेर बाङ्ग्या घर तिर लागें तर उस्को घर नेर पुगे पछी फर्किएँ।  उ पनि बेरोजगारै थ्यो लभ मार्केटमा। मैले कबिताको बारेमा भन्नु उसलाई पनि दरखास्त हाल भन्नु बराबर थ्यो। त्यस्तो काम पनि गर्नु हुन्थ्यो के त?  तर पनि घर तिर फर्किदा एक किसिमको गरुङ्गो अनुभव चै भयो। आफ्नो तेस्तो पक्का साथी बाङ्गे। तर भएर के? एक नम्बरको घातक थ्यो। म भन्दा पैले ट्वाक सँग कुरो थुतेर कबिताको ट्युसनमा भर्ना हुन्थ्यो। शंकै थिएन। हुन त हाम्रो खेस्रा सम्झौता के थ्यो भने तरुनीहरु श्रीमती भए भने भैगए -- तेसमा हस्तछेप नगर्ने तर श्रीमती नहुँदासम्म जस्को शक्ती उस्को भक्ती।

बाङ्गेले हुन त ट्वाक बाट कुरो सुनीहाल्थ्यो बरु ट्वाकले भन्नु अघि आफैले भन्न पाईयो भने ईमान्दार पनि भईने भन्ने लागेर फर्किन लाग्या थें फेरी थाह पाए उसैले पाओस म त भन्दीन भनेर आफ्नै घर तिर लागी रहें।

तेती बेला एउटा न एउटा तरुनीले आएर सपना बिथोल्थे। आज कबिताको पालो थ्यो। निश्चित।

ट्वाक्या दिदीले अहिलेको घरलाई माईत भन्नु अघि दुईटा जति मंगलबार बाँकि थिए। अब आज अघि रोप्या प्रेमको फुललाई पर्सी आउने मंगलबार सम्म मलजल गर्नु थ्यो अनि अर्को मंगलबार सम्म गोडमेल गरेर उ बेमा आउँदा त फुल फुलाई होरी समर्पण गर्नु पर्ने थ्यो उस्लाई । युद्ध्स्तरमा गर्नु पर्ने लभ थ्यो त्यो भनम न।।

भोली ब्यानै ट्वाक काँ पुगें केही गर्नु छ कि बेको लागि भनेर। अरु बेला भए भागी भागी हिन्थे केही गर्नु पर्ला भनेर तर आफ्नो भर्याङग ट्वाक भए पछी के गर्नु? घराँ पुगेर बोलाएँ आमा चै ले छैन भनीन। कता अन्मरेछ त? भन्दै सुन्नारनको घर माथि बुर्जा बाहीर राख्या लसुन हेर्दै सोच्दै थिएँ "आज ब्यान ब्यानै गाँजा खाएर आ हो?" ट्वाक्या बैनीले सोधी। म ट्वाल्ल परेर सोची रा देखी छ क्यारे। मुस्कान दे र अझै उभिरा छे बा ट्वाक्या बैनी त -- मन हडबडायो। उ हतपत म सँग तेसरी बोलेको याद छैन मलाई।  सुरुमा कुरा झिकेर उ त बोलेकै थिइन भने पनि हुन्थ्यो। मैले कैले केही सोधे जबाफ दिन्थी। तेत्ती हो।

"गाँजा रे? काँ गाँजा खानी? म चुरोट त छुन्न। यत्तिकै दोष लाउनी?" मैले पनि पाको बेलामा मुस्कानको उत्तर मुस्कानले नै दिएर भनें।

"अँ खाँदैन चुरोट -- मलाई था छैन र?"

"खान्न म त -- सत्ते-- बिद्यानस् -- त्यो बाङ्गेले खान्छ चुरोट त --" मैले पनि लौ त भनेर ठोकी दिएँ। अब ट्वाकले खान्छ भन्न भएन। सुपारी अलि सोझो थ्यो अनि अलि बढी आउ जाउ थ्यो तेस्को ट्वाक कहाँ -- अब कसैले न कसैले खाको त भन्नै पर्ने भो जस्तो लाग्यो -- बाङ्गे फेला पर्यो।

"अस्ति त्याँ भगबतीथान पछाडी चुरोट तान्दै गर्या मैले नदेख्या हो र?-- अझ बिद्यानस रे -- फेल हुन्छ एस यल सीमा अनि ठिक्क पर्छ" भन्छे बा उ त। अब मारेन? कैले देखीछ चुरोस तान्या।

"ए, त्यो त बाङ्गेले सल्काईदे भनेर सल्काईदेको मात्रै हो -- अब साथिले भने पछी के गर्ने?" मैले भ्वाङ्ग टाल्न सक्दो कोसीस गरें।

"त्यो मोरो त म फुट्या आँखाले पनि देख्न सक्दिन -- जाँ जैले देखे पनि खाउँला जसरी हेर्छ -- कत्ति नी मन पर्दैन मलाई त्यो बाङ्गे टिङ्गे मोरो" उस्को भनाईमा रोष थ्यो। मुस्कान हरायो।

"म नी म? म मन पर्छ?" सोधम भन्दा भन्दै उ एक्कासी हराई। म त अलमल्ल परेँ। किन तेसरी बतासिई भनेर। ट्वाक्या बैनी सँग तेती लामो कुरा त्यो पनि तेस्तो फाईदा जनक कैलेइ थेन -- कबिताको फुलबारीमा आर्को पनि फुल रोप्नु पर्ने भो त?" मनमा कुरा आको मात्रै के थ्यो ट्वाक अगाडी देखें।  ---

 

Read Full Discussion Thread for this article