Posted by: deeps October 13, 2007
विश्वास गर दशैं आउँछ
Login in to Rate this Post:     0       ?        
www.palpaonline.com बाट साभार गरिएको दशैको कविता

विश्वास गर दशैं आउँछ

- डिल्लीराज अर्याल

आमा खै अझै पनि आकाशमा मालचरा देखिएन
लहरमा उड्दै कराउनुपर्ने हो खै त कराएन ।
भन्नोस् न आमा
आकाशमा सधैं आउने मालचरा किन आएन?
घरघरमा सधैं आउने दशैं किन आएन?
मालचरासँगै हाम्रो दशैं हराउन त हराएन?


आमा तपाईं त भन्नुहुन्थ्यो  
सबै बारी जोतेर रातै बनाएपछि
घर आँगन लिपेर सफा गराएपछि
बाटाघाटा खनेर राम्रा बनाएपछि
आकाशमा मालचरा आउँछन्
कय्राङ कुरुङको आवाजमा दशैं बोलाउँछन्

खै तपाईंले भने झै त भएको देखिएन
मालचरा आएको पनि देखिएन
खर काटेर बारीका पीङ पनि बाटिएन
वाँस काटेर घारीका लिंगा पनि गाडिएन
सधैं आउने हाम्रो दशैं अझै आएन ।

हो बाबु,यस पटक यस्तै यस्तै भएको छ ,
घरघरमा असन्तोष फैलिएको छ
लिपपोत गरेर घर सिंगार्ने सोचै छैन
बाटाघाटा खन्न जाने खोजै छैन
यस्ता बेलामा कसरी आउँथ्यो दशैं ?
आउने बाटो नै बनेको छैन,
खन्नु पर्नेले कतै खनेकै छैन ।

बाबु,दशैं आउन त शरद् ऋतु आउनुपर्छ,
सुन्दर फूलले वाग सजाउनुपर्छ
बाटाघाटा,घरआँगन सजाउन श्रम लगाउनुपर्छ
प्रकृतिले जतासुकै सुन्दरता फिंजाउनुपर्छ,
मान्छेको मनमा उज्यालो छाउनुपर्छ

आकाश हेर न अझै उघ्रेकै छैन
कालो बादल मडारिन छाडेकै छैन
बस्ती उजाड पार्ने बाढी मच्चिन छाडेकै छैन
झाडीमा श्याल कराउन छाडेकै छैन
मीठोआवाजमा मालचरा कराउन थालेकै छैन।
तिम्रा शिरमा जमरा घुसारेर
निधार राता अक्षताले सिंगारेर
मान्य जनका आशीर्वादमा
राम्राराम्रा कपडामा सजिएर
र मीठा खानेकुरा लिएर दशैं आउन करै लाग्छ

तर पर्खेर हेर र विचार गर,
दशैं आउन समय त लाग्छ लाग्छ
किनकि दशैं आउन कालो बादल फाट्नुपर्छ
गड्गडाएर बग्ने बाढीको बेग घट्नुपर्छ
र आकाश नीलो हुने गरी उघ्रनुपर्छ
त्यसका लागि सुन्दर वातावरण त बन्नैपर्छ
स्वच्छ शरद् त आउनैपर्छ
त्यसका लागि पनि केही समय त लाग्छ लाग्छ ।
त्यसैले पनि धैर्य र विश्वास गर
एकदिन यो आकाश निश्चितरूपले उघ्रनेछ
वरिपरिको वातावरण सुध्रनेछ,
घरहरूका भित्ता थरीथरीका रङले सजाइनेछ,
घरघरमा रमाइलो मनाइनेछ
आकाशमा उड्दाउड्दै मालचराको हूलले
तिमीलाई मीठो गीत सुनाउनेछ
र फेरि तिमी हामीले खोजेको दशैं आउनेछ

(www.palpaonline.com बाट साभार)
Read Full Discussion Thread for this article