Posted by: xbox October 10, 2007
Mysansar column writer ZZ
Login in to Rate this Post:     0       ?        
here is the full article from http://www.mysansar.com/?p=1990

भारतीय हस्तक्षेपको संकेत, अनि नेपाली राजनीति
Filed under: समाचार र विचार, पाहुनाको पालो — ZZ @ 12:10 am
- ZZ बाट -
जनरल अशोक मेहता नेपाली राजनीतिमाथि टिकाटिप्पणी गर्ने भारतीयहरुको मैदानमा जोकर अवश्य हैनन्, उनीबाहेक अन्य भारतीय पत्रकार, विश्लेषक, साहित्यकार वा लो-प्रोफाइल कुटनीतिक कर्मचारीले नेपालमा भारतीय सैनिक हस्तक्षेपका कुरा यदि गरेका भए म एक कानले सुनेर अर्को कानबाट उडाइदिन्थें । तर सैनिक जानकारी प्रचुर भएका यी भु्पु जनरलको कुरालाइ सतही हो भनेर अवमूल्यन गर्नु पक्कै मुर्खता होला जस्तो लाग्छ । यिनले किन एक्कासी यस्तो बोले र अब के होला त नेपालको राजनीति ?

सर्वसाधारणका समस्या
अहिले नेपालमा सर्वसाधारण जनता साह्रै नै कठिन जीवन बाँच्दैछन । राजनीतिक स्वतन्त्रताको कुरालाइ एकछिन छोडौ, सामान्य दैनिकीको कुरा गरौ । बिगतमा बेला बेला हुने बन्दको आक्रोश सिधै सरकार बिरुद्ध केन्द्रित हुन्थ्यो, त्यसैले सरकार बिरोधी पार्टीहरुको निमित्त बन्द वा चक्काजाम अचुक हतियार नै सावित भयो । बन्द आफुले आह्वान गर्ने, तोडफोडमा आफ्ना कार्यकर्ता उतार्ने अनि दोष जति सबै सरकारमाथि थोपर्ने । तर अचेल यति धेरै बन्द र चक्काजामहरु हुन्छन कि ती सञ्चारमा आउनलाइ ठुलै नोक्सानी हुनु पर्ने, मान्छे नै मर्नु पर्ने स्थीति छ । हप्तौहप्ता बन्द हुनु सामान्य भैसकेको छ । पेट्रोलियमको अभावले सिर्जित समस्याको अर्को छुट्टै कहानी छ । जनतामाथि थोपरिएको मर्काको कुनै क्षतिपुर्ति दिन पर्दैन । चोरी डकैति लुटपाट भ्रष्टाचार यति ब्यापक छ कि राज्यको उपस्थीति कहि कतै देखिन्न । आपत परे राज्यले उद्दार गर्ला भन्ने भरोसा नै उडिसकेको छ । आफ्नो सबै ब्यबस्था, सुरक्षा जस्ता कार्यहरु आफै गर्नु परे भएपछि सरकार किन चाहियो भन्ने भावना ब्यापक हुँदैछ । आफ्नै घरमा आत्मरक्षाको लागि बन्दुक राख्ने जमात बढ्दैछ । गैरकानूनी नै सही, बन्दुक नभइ ढुक्कले सुत्न मुश्किल हुन थालेको छ । यही स्थिति कायम हुदै जाने हो भने हरेक ब्यक्तिले हतियार राख्न पाउनु पर्ने कानूनको माग छिट्टै हुने छ । यति धेरै अनिश्चितता र असुरक्षाका बीच नेपालीहरुले पाएको राजनीतिक स्वतन्त्रता वा सार्वभौमिकता नेपालीलाइ कतिको प्यारो छ भन्न सकिन्न ।
अहिलेको नेपाली राजनीतिमा माओबादी
मंसिरमा गर्ने मनशाय नहुँदा नहुँदै तीब्र भारतीय दबाब पछि घोषणा गरिएको संस चुनाव नहुने भयो, यो कुनै आश्चर्य नै होइन । यो चुनाव हुँदै हुँदैन, भए पनि मान्यता पाउदैन भनी यही ब्लगमा मैले धेरै अगाडि लेखिसकेको थिएँ । २०६७ साल भन्दा अगाडि चुनाव होला भन्ने १% पनि आशा छैन । तर अहिले चुनाव कसको कारणले नभएको भन्दै हिलो छ्यापाछ्याप गर्ने खेल चलेको छ । यसको पहिलो शिकार माओबादी भयो । सतहमा माओबादी- काँग्रेस बिबादले चुनाव स्थगित गराएजस्तो देखिए पनि वास्तविक कारण त्यो होइन भन्ने मेरो तर्क हो । मोरियार्टीको मास्टर प्लान अन्तर्गत भएको अमेरिकी चलखेलले अहिले मोरियार्टी बिदेशिएपछि नतिजा दिएको मात्र हो । यो नान्सीको पहिलो सफलता हो भने मुखर्जीको पहिलो असफलता । चुरो कुरो यही हो । नोट गरिराख्नु भए हुन्छ । आगामी दिनमा पनि नेपाली राजनीति भारतीय र अमेरिकी स्वार्थको टक्करमा कसको पल्ला भारी हुन्छ तेसैले निर्धारण गर्ने छ । चीनिया हरु पनि चनाखो बसेका छन, तर उनीहरुको भुमिका कस्तो होला मैले अनुमान गर्न सकेको छैन ।
आफैले उछालेको नारा, आफैले अघि बढाएको माग र आफैले अन्य सबै दललाइ सहमत हुन बाध्य पारेको मुद्दा संस चुनाव भाँड्न माओबादी आफै यति तल ओर्लेर प्रत्यक्ष भुमिका खेल्यो कि म चकितै परें, यसको मतलब मैले गरेको शंका सही रहेछ, माओबादी पार्टीमा अमेरिकी घुसपैठ दह्रै रहेछ । भारतीय पकडमा रहेको एचक्यू कमजोर भएको छ र यसको संरचना छिटै परिवर्तन समेत हुन सक्नेछ ।
तर यो चुनाव हुन नदिएको भन्दै काँग्रेस एमाले लगायतका अन्य दलहरुले माओबादीलाइ गणतन्त्र बिरोधिको रुपमा चित्रित गर्न खोजेको चै मलाइ चित्त बुझेन । जसले जे सुकै भनोस, दरबारलाइ घुँडा टेकाउन प्रमुख भुमिका खेल्ने माओबादी नै हो । अन्य पार्टीलाइ त दरबारले हिजोका दिनमा झिंगा धपाए झै धपाएकै थियो । चाहिने बेला काखी च्याप्ने नचाहिने बेला रद्दि टोकरीमा फालेर मुसो खेलाए झै खेलाएकै थियो । आजका जल्दाबल्दा नेता हिजो सडकमा हिड्ने बटुवा गनेर समेत २-३०० समर्थक पछाडि नभएर दङ्गिनु पर्ने अवस्थामा पुगेका थिए । सैनिक शक्ति मुठ्टीमा हुँदा सक्रिय वा निष्कृय जुनसुकै अवस्थामा पनि दरबार शक्तिशाली नै थियो । दरबारले सैनिक दमनबाटै सिध्याउछु भनेर माओबादीमाथि पुर्ण शक्तिका साथ जाइलागेकै पनि थियो, तर उसले सोचेजस्तरी दमन गर्न सकेन र सम्झौताको बाटो हिड्न बाध्य भयो । हाल आएर माओबादिकै एजेण्डा पछ्याउदै, उसैका नारा उराल्दै सैद्धान्तिक आदर्शहीनताको पराकाष्ठा प्रदर्शन गर्दै संबैधानिक राजतन्त्रका पिछलग्गु पार्टीहरु गणतन्त्रमा जाने ओठे निर्णय गर्नेबित्तिकै माओबादिलाइ राजतन्त्रको अप्रत्यक्ष समर्थकको रुपमा चित्रित गर्न मरिमेटेर प्रयासरत रहेको देख्दा हाँसो उठ्छ मलाइ । राजनैतिक बेइमानीको पराकाष्ठा ।
हुन त माओबादी यो हालतमा पुग्नु पछाडि माओबादी आफै दोषि छ । सम्झौतालाइ नै जीत ठान्नु र जीतको मातमा विवेक गुमाउनु माओबादीका दुइ प्रमूख गल्ति थिए, जसको बिरोध मैले पनि जमेर गरेको थिएँ । बिशेषत: वाइसिएल जत्थाको उद्दण्ड कारवाही, आफुले अन्यायमा पारेका जनतासित भिज्न नसक्नु, धम्कीकै भरमा टिक्ने धृष्टता, चन्दा आतंक र बलजफ्ति, मुढेबलको राजनीति, परिस्थीतिको गलत बिश्लेषण गर्ने नेतृत्त्व आदिका कारण माओबादीले आफ्नै खुट्टामा एकपछि अर्को बञ्चरो हानेको हान्यै गरे । यसबाहेक जातीय सद्भाव बिथोल्न, तराइमा दंगा भड्काउन र राजनीतिलाइ विश्वसहीन बनाउन पनि माओबादी गतिविधि धेरै हदसम्म जिम्मेवार रह्यो । रौतहतमा आफ्ना कार्यकर्ता मारिएको प्रतिशोध कपिलवस्तुमा लिन खोज्ने जस्ता मुर्खतापूर्ण कार्यका सिलसिलाहरुले पनि माओबादीलाइ एकपछि अर्को धक्का लाग्ने निश्चित छ । मानसिक रुपमा अस्वस्थ नेता कार्यकर्ताहरुको बहुमत रहेको पार्टी हुनाले माओबादीले एकाएक सही राजनीतिक कदम चाल्ला भन्ने आशा गर्न पनि म असमर्थ छु ।
अहिलेको नेपाली राजनीतिमा अन्य पार्टीहरु
स-साना पार्टीहरु - फिल इन द ग्याप - मात्रै हुन, तीनको प्रमुख भुमिका खासै छैन । काग्रेस र एमाले नै माओबादी बाहेकका मुख्य खेलाडी हुन । कांग्रेस अहिले दुबै हातमा लड्डु लिएर बसेको छ, पार्टी एकता र संसको चुनावको अनिश्चितता पछि काग्रेस पार्टी कसैले चलाउन नसक्ने गरी मुलधारमा दह्रै स्थापित भएको छ । २०४८ पछाडि जसरी काग्रेसी सर्वसत्ताबाद लागू भयो, अब पनि त्यस्तै सर्वसत्ताबादी कृयाकलाप शुरु हुने छ भन्ने मेरो ठहर छ । (शायद शुरु भै पनि सक्यो होला) चुनाव कहिले हुने निश्चित छैन, त्यसैले यही हो मौका, फाइदा उठाइहाल्नु पर्छ भनेर देशभरिका काँग्रेसी अवसरबादीहरु भित्रभित्र जुर्मुराइसकेका छन । काँग्रेसी सर्वसत्ताबादको प्रतिकार गर्न एमाले नै अघि सर्नेछ । काँग्रेसले सकेसम्म माओबादीलाइ नजिक तानेर एमालेको बिरोधमा उचाल्ने छ, जसको लागि काँग्रेसले अब माओबादीलाइ धमाधम पैसा निकासा गर्ने राजनीति खेल्ने छ । जस्तो भर्खरै सुजाता र सीपी गजुरेल मिलेर एमालेको कारणले चुनाव सर्ने स्थिति बनेको भाषण दिए र बदलामा जनसेनाको निमित्त ३ महिनाको एकमुष्ठ तलब निकासा गरे । यस्तो स्थितिमा एमाले केहि गर्न नसक्ने गरी ब्यूहमा फँस्न जान्छ । फेरि एकपल्ट एमाले नेपाली राजनीतिमा निरीह खेलाडीको रुपमा देखा पर्ने सम्भावना देखेको छु मैले ।
भारतीय सैन्य हस्तक्षेप भयो भने ….
बिगतमा अशोक मेहताले बोलेका कुराहरु पनि मैले अवलोकन गरेको छु र यिनका प्राय: कुराहरु मुलधारबाट बाहिर गएको छैन, बिशेषत: यिनी “र”सित दह्रो सम्बन्ध भएका र नेपाली सेनाका भित्रियासम्म पहुँच भएका ब्यक्तिका रुपमा चिनिन्छन । त्यसैले यिनको अभिब्यक्ति नेपालमा मंसिरमै चुनाव गर्ने भारतीय योजनाको निर्मम असफलतापछि “र”को आक्रोश हुनसक्छ । तर यस अभिव्यक्तिको लक्षित श्रोता भने अमेरिका नै हो, जहाँ सैनिक दम्भको प्रदर्शन गर्दा भारतलाइ कुनै नोक्सानी बेहोर्नु पर्दैन । चीनले पनि यो कुरो बुझेको हुनु पर्छ नत्र यति स्पष्ट ब्यक्त गरिएको सैनिक दम्भलाइ चीनले अवश्य रुचाउदैन । शायद चीनले यो प्रसंगमा कुनै गम्भीर प्रतिक्रिया पनि दिदैन होला ।
सैन्य हस्तक्षेपको संभावना एकदमै झीनो छ । कथंकदाचित भारतीय सेना नेपाल पसे भने नेपाली सेनासित कार्यगत एकता गरेर पस्ने छन् । आम जनताले सोचेजस्तो नेपालको सडकमा जय हिन्द भन्दै भारतीय सेनाले मार्चपास गर्ने नभै यो हस्तक्षेप मुलत: सांकेतिक हुने छ । केही प्रमुख नाकाहरुमा मात्रै वास्तविक सेनाको उपस्थिति हुनेछ । यदि भारतीय हस्तक्षेप भयो भने यसको दोष सिधै माओबादीमाथि नै लाग्ने छ, भारतीयहरुले येनकेनप्रकारेण माओबादी सिर्जीत समस्यालाइ नै अगाडि सारेर नेपाल भित्रिने छ । नेपाली र भारतीय सेना बीच कुनै मुठभेड हुने छैन, स-सानो गुटले सामान्य विरोध प्रदर्शन गर्ने बाहेक जनस्तरबाट पनि कुनै दह्रो प्रतिकार हुने छैन । कम्युनिष्ट र राष्ट्रबादि नारा लगाउने समुहहरुले कडा बिरोध गर्ला, बाँकि सबैले बक्तव्यबाजीको विरोधमात्रै गर्ने छ । एमाले र काँग्रेसले भारतीय सेना नेपाल पसिसकेपछि पनि सम्झौताको राजनीति नै गर्न खोज्ने छ । माओबादी सिधै मुछिने हुनाले कस्तो नीति लिएर प्रतिकार गर्ला भन्न गाह्रो छ तर निश्चित रुपमा यस्तो विदेशी हस्तक्षेपको राजनीतिक रुपमा सामना गर्न माओबादी हालसम्म तयार देखिएको छैन । यो अवस्थामा उसको सैन्य अस्तित्व खतरामा पर्न पनि सक्छ । त्यसैले मलाइ माओबादीको सैन्य क्षमता ब्रोइलर कुखुरा जस्तै लाग्छ, भारतीय पुठबाट मोटोघाटो भएको तर भारतीयहरुकै आहारा । माओबादी सेना नेपाली जनता नै भए पनि हतियार, तालीम तथा स्वास्थोपचार आदिमा भारतीयहरुले गरेको सहयोग अव गोप्य छैन ।
अर्को तर्फ सर्वसाधारणले भोगिरहेको दैनन्दिन समस्यामा केही राहत हुने बित्तिकै उसै पनि निष्कृय रहने जनता प्रतिकार गर्न स्व:स्फुर्त रुपमा अगाडि सर्ने छैनन । मेरो संसार लगायत सबैजसो नेपाली अनलाइन फोरममा तीव्र भारतबिरोधी कमेण्टहरु लेखेर उफ्रिने बन्धुहरु प्राय: सबै बिदेशतिरै पाउरोटी चपाइरहेका हुनाले तिनले गर्ने औँले प्रतिरोध (कमेण्ट टाइप गरेर गरिने प्रतिरोध) ले पनि खासै केही माने राख्ने छैन । यी कमेण्ट लेखकहरुमध्ये अधिकांशलाइ २ लिटर पेट्रोल लिन ६ घण्टा लाइन बस्नुपर्दाको पीडा थाहा छैन । शान्तिपूर्वक बाँच्न पाउनु पर्ने आग्रह नेपालमा उसै पनि पहिलेभन्दा झन धेरै सशक्त हुँदैछ । मकै भटमास चपाएर खुकुरी उज्याउँदै तोपको नालमै भिड्न जाने बहादुरी र रितो पेट लिएरै पनि देशको लागी लड्ने वीर गोर्खाली स्पिरिट मूर्खतापूर्ण दुस्साहसको दोस्रो पाटो थियो भनेर तर्क गर्न अघि नसरिहालेतापनि त्यस्तो बहादुरी देखाउन २-४ गोटा अक्षर जान्ने बित्तिकै यूरोप अमेरिकाको सपना देख्ने आजको यूवा कतिको तयार होलान शङ्कै छ । भारतीय हस्तक्षेपको बहानामा यदि शरणार्थी बनेर अमेरिका यूरोप छिर्न पाउने भए सकेसम्म चाँडै भारतीय हस्तक्षेप होस भनेर कामना गर्ने वा देविदेवताको भाकल गर्ने जमात बरु भारतीय सेनाबिरुद्ध लडेर शहिद बन्न तयार जमातभन्दा ठूलो होला । त्यसैले भारतीय सैनिक हस्तक्षेप रक्तपातपूर्ण नहुने सम्भावना देखेको छु मैले । यो हस्तक्षेप यदि भयो भने माओबादी लगायत अन्य भारतबिरोधी भावनामा राजनीति गरेका शक्तिहरुको तेजोबध गर्ने छ भने राजतन्त्रलाइ फाइदा पुर्याउने अनुमान छ मेरो । तर भारतीय सैन्य हस्तक्षेप लामो समयसम्म रहने छैन । करीब ६ महिना देखि डेढ बर्षसम्म मात्र रहने छ र त्यतिञ्जेल भित्र राजनीतिक अभिष्ट पुरा गरी भारतीय सेना फिर्ता जाने छ भन्ने मेरो अनुमान छ । छोटो नै भए पनि यस्तो दुर्भाग्यपूर्ण सैनिक हस्तक्षेप भने नेपाली स्वाभिमानमाथि नाङ्गो बलात्कारको रुपमा इतिहासमा दर्ज हुने छ र त्यो घाउ कहिल्यै निको हुने छैन ।
साँच्चिकै होला त भारतीय हस्तक्षेप ?
अशोक मेहताले बीबीसीमा बोलेको भाषा सुन्दा मलाइ यस्तो लाग्यो कि यो अभिब्यक्ति एउटा लिटमस टेस्ट मात्रै हो, र लिटमस टेस्टमा भारत पास भयो । संभवत: कुनै किसिमको सैन्य हस्तक्षेप हुने छैन । स्थिति बिग्रेर हस्तक्षेपको तहसम्म पुग्नु अगाडि धेरै राजनीतिक उतारचढावका अप्सनहरु बाँकी रहेको हुनाले भारतीय हस्तक्षेप हुनै लाग्यो भनेर नसोच्दा हुन्छ । (भर्खरै मैले भारतीय दूत श्यामशरण नेपालमा आएर केही टेण्टरमेण्टर गर्न थाले भन्ने समाचार पढेँ, हुँदै जान्छ यस्तै, उनले शायद अब राजाबादीलाइ अलि बलियो बनाउने कोरामिन दिएर जान्छन होला भन्ने अनुमान गर्दैछु । यसले पनि उतारचढावको अर्को प्रकरण चलाउने नै छ ।) मेहताको अभिव्यक्ति नेपालका राजनीतिक पार्टीहरुलाइ भारतीय दास बनीरहन बाध्य पार्ने उद्देश्य एकातर्फ छ भने अर्को तर्फ अमेरिका, बेलायत र चीनलाइ भारत नेपालको सम्बन्धमा कति धेरै सम्बेदनशील छ भनी देखाउने उद्देश्य पनि छ । भारतीयहरुसित माओबादीले खेलेको डबल रोल (जसको बारेमा एउटा ब्लगमा मैले पहिला संक्षिप्त उल्लेख गरेको थिएँ) का कारण माओबादीले अव भारतको बिश्वास गुमाएको छ, त्यसैले माओबादी अब पहिला जसरी मेरो गोरुको बाह्रै टक्का शैलिको राजनीति गरेर टिक्नेवाला छैन । लचकता प्रदर्शन गर्नु पर्ने पउटा थप बाध्यता माओबादीमाथि थपिएको छ ।
उसै पनि अनिर्णयको शिकार बनेको हाम्रो देश अबका दिनमा बिदेशी चलखेल झन धेरै हुदै जाने खेलमैदान बन्दैछ । दु:खलाग्दो कुरो यो हो । भारतले नेपाललाइ सिक्किमिकरण गर्ला जस्तो कुनै हालतमा नलागे पनि सामरिक र आर्थिक अधिनमा राखेर नेपाललाइ भुटानीकरण गर्न खोजेकै हो । बिदेशीका कुरा धेरै सुन्ने सरकार, अनैतिक राजनेता (हालको सन्दर्भमा पार्टीका नेताहरु), निष्कृय जनता हावी रहेको देशको राष्ट्रियता सँधै खतरामा रहन्छ भनेर चाणक्यले हजारौ बर्ष अगाडि नै भनेका हुन । भ्रष्ट सैनिक संयन्त्रमा घुसपैठ गर्ने, राजनीतिक समुहहरुमा टकराव श्रृजना गर्ने र जनतामा निराशा ल्याउने तीन सु्त्रीय षडयन्त्र द्वारा राज्यलाइ कमजोर बनाउने र त्यसपछि सजिलै आफ्नो अधीनमा ल्याउन सकिन्छ भन्ने निकै पुरानो चाणक्य सुत्रमै आधारीत षडयन्त्रकारी खेल नेपालमा “र”ले खेलिरहेको छ । के नेपालका देशभक्तहरुले यति कुरा पनि बुझ्न नसकेकै हो त?

Last edited: 10-Oct-07 01:26 PM
Last edited: 10-Oct-07 01:38 PM
Read Full Discussion Thread for this article