Posted by: harikancha September 30, 2007
Video - Prashant in Nepal
Login in to Rate this Post:     0       ?        
राष्ट्रियस्तरका पत्रपत्रिकामा इन्डियन आइडल घोषित प्रशान्त तामाङबारे खुबै लेख-रचना प्रकाशमा आइरेहका छन्। केहीको प्रतिक्रिया छ, इन्डियन आइडलका कारण नेपालमा एक जुगमा एकपटक आउने भनिएको संविधानसभाबारे जति चर्चा हुनुपर्ने हो त्यति भएको छैन। प्रशान्त तामाङ इन्डियन आइडल बनेपछि नेपालका केही सहरसँगै काठमाडौंमा समेत विजयोत्सव मनाइयो। एक पत्रकारको टिप्पणी थियो- ‘राजा ज्ञानेन्द्रको शासन समाप्त भएको ०६३ वैशाख ११ को रात निस्केका स्वतःस्फूर्त विजययात्राको सम्झना यिनले गराएका थिए। यस्तै, विजयोत्सव र हो-हल्ला जनआन्दोलन ०४६ का सफलताका रातमा पनि भएका थिए। जब आनन्दले उत्कर्ष पुर्‍याउँछ राजधानीवासी यसैगरी सडकमा वेपरवाह निस्किन्छन्। प्रशान्तका पक्षमा एसएमएस भोटिङका लागि नेपालका विभिन्न भागबाट ठूलै रकम संकलन गरिएको र प्रशान्तलाई भोट दिन टोलीका टोली भारतसमेत पुगेका खबर प्रकाशमा आइसकेका छन्। नेपाली सरहदभित्र रहेका प्रशान्तका प्रशंसकले उनलाई नेपाली जातिका लागि एकताका प्रतीक, नेपालीका परिचय, नेपालीको शान, नेपालीपनको पुनर्जागरण, नेपालीको वृहत्तर राष्ट्रियता जस्ता ‘शब्द श्रीपेच’ले अलंकृत गरेका छन्। उनका नेपाली प्रशंसकमध्ये कसैको व्याख्या छ- ‘इन्डियन आइडल’ एउटा सांगीतिक मात्र नभएर कसको राष्ट्रियतालाई स्थापित गर्ने भन्ने अघोषित प्रतिस्पर्धा पनि थियो, त्यसमा नेपाली विजयी भएका छन्। प्रशान्त तामाङ एक उत्कृष्ट कलाकार हुन्। एउटा सामान्य भारतीय परिवारबाट विशाल भारतको विराट प्रतिस्पर्धाको शिखरमा पुग्नु, कलाप्रेमीका लागि हर्षको विषय हो नै। गीत-संगीतले राजनीतिक सीमा वा भाषाको परिधिलाई नाघेर मान्छेको हृदयलाई स्पर्श गर्छ, उसको मनमस्तिष्कलाई झंकृत गर्छ। प्रशान्तको चुम्बकीय प्रतिभाले उनका प्रशसंकलाई लठ्ठ पारिदिनु, मोहित पारिदिनु आश्चर्यको विषय होइन। प्रशान्तको प्रसंगले यही सम्झाइरहेको छ। आश्चर्य त यस मामिलामा भएको छ, प्रशान्तलाई नेपालीमूलसँग, नेपाली राष्ट्रियतासँग जोडिएको छ। नेपाली राष्ट्रियताको प्रशान्तीकरण नवीन प्रयास होइन, यो त मूलतः नेपाली राष्ट्रियताको पहाडेकरणको शृखंलाकै अभिव्यक्ति हो। यसप्रकारको मानसिकताको प्र्रकटीकरण अकस्मात् पनि भएको होइन। नेपालको राजनीतिक एकीकरणदेखि निरन्तरता पाउँदै राजा महेन्द्रबाट अझ कथित दार्शनिक एप्रोच पाएर हुर्किंदै आएको पहाडे र राष्ट्रवादको प्रस्तुति हो। प्रशान्तलाई नेपालीमूल, नेपाली रगत जस्ता विशेषणसँग नेपालीले साइनो लाउने गरेका छन्। प्रशान्त भारतीय नागरिक हो, उसले भारतीय टेलिभिजनका लागि उद्यम गरेको छ। उसको गायनको तारिफ गर्न सकिन्छ, ऊ बेलाबेलामा नेपाली बोल्दा मख्ख पर्न सकिन्छ। तर, उसलाई नेपालीमूलको कसरी भन्ने? जनआन्दोलन-२ सँगै नेपाली जनताले केही सार्वभौम प्रश्नको जवाफ खोजेका थिए। ती नेपालका सन्दर्भमा यक्ष प्रश्न नै थिए। यो देश कसको हो? यो देशका निर्माता को हुन्? यो देशका अंशियार को-को हुन्, यो देशको इतिहास के हो? जनआन्दोलन- २ को जनादेशले यस देशको राष्ट्रियताको पुनःपरिभाषा गर्न खोजेको थियो, मधेस विद्रोहले नेपाली राष्ट्रियताको नेतृत्व गर्न खोजेको थियो। तर, नेपालका एकथरिका समुदायको मानसिकता जनआन्दोलन-२ को आँधी बेहरीले पनि परिवर्तन गर्न नसकेको पुष्टि गरेको छ- प्रशान्त प्रकरणले। नेपालको संस्थापनपक्षीय समुदायको मानसिकता ऋतिक प्रकरणभन्दा माथि उक्लिनसकेको छैन। राष्ट्रियताको साँघुरो घेरामा नेपालकै एक समुदाय मधेसीलाई वञ्चित गरी, खोक्रो राष्ट्रियताको खोजीमा सरहदबाहिर लम्पसार पर्ने मनोवृत्ति ज्यूँदै छ। जनआन्दोलनको प्रस्ट जनादेश थियो- विगतमा एउटै भाषा र एउटै भेषको नाममा भएको विभेदलाई सच्याएर नेपाललाई साँच्चिकै सबै जातको फूलबारी र प्रतिनिधिमूलक बनाउन सच्चा प्रयास थाल्ने, जसबाट यो नेपाली समाज ‘पञ्चरत्न जस्तो’ हुनेछ जहाँ आफ्नो छुट्टै अस्तित्व भएका रत्न नछेलिईकन आ-आफ्ना ठाउँमा बसेर एउटा सुन्दर आभूषण बनाउँछन्। भूगोललाई आधार मान्दा काठमाडौंबाट सिक्किम र दार्जिलिङ निकै टाढा छ। राजनीतिक सीमांकनले त यी ठाउँलाई अलग-अलग मुलुकमै पारेको छ। भुटान त अझ टाढा छ। तर, नेपालको राजधानी काठमाडौं र भारतका सिक्किम, दार्जिलिङ तथा भुटानको एउटा समुदायमाझ भावनात्मक सम्बन्ध यति गाढा छ कि त्यसले भिन्नता र असमानतालाई बिर्साइदिन्छ। काठमाडौंका लागि कालिङपोङ नजिक छ, तर कपिलवस्तु भावनात्मक रूपले पनि टाढा छ। कपिलवस्तु र काठमाडौंबीच राजनीतिक साँध छैन, तर कपिलवस्तुको आफ्नै कन्तविजोग छ। काठमाडौंको कालिङपोङसँग जति निकटता छ, कपिलवस्तु र कैलालीसँग त्यस्तो नजिकको सम्बन्ध छैन। तराईका मूलबासिन्दाको काठमाडौंप्रतिको अलगावको मूलकारण नै काठमाडौंले अद्यावधि वैचारिक रूपले सामेटी राष्ट्रियतालाई आत्मसात गर्न नसक्नु हो। प्रशान्तजी ‘तामाङ’ भएकै कारण नेपालीमूलका हुन् भने चित्रलेखा, मातृका वा उपेन्द्र यादवका नजिकका पर्ने बिहारका लालुयादव नेपालीमूलका कहलिन सक्ने कि नसक्ने? पहाडेमूलका भएकै कारण कोही नेपालीमूलको मानिन सकिने हुन् कि होइनन्? नेपाली धरतीका सबै सन्तती नेपालीमूलका हुन् कि होइनन्? मधेसले गरेको यस्तो प्रश्नको आशयले न त कसैको अपमान हुन्छ न प्रश्नकर्ताको अहं प्रदर्शन। यो त राष्ट्रियताको लोकतान्त्रिक परिभाषाका लागि गरिएको जायज प्रश्न हो। जाति विशेषसग राष्ट्रियता गास्ने कट्टरता एक अर्को समुदायको सम्मान गर्ने लोकतान्त्रिक परम्पराको पूरै विपरीत हुन्छ। विडम्बना नै मान्नुपर्छ, विभिन्न क्षेत्रका कतिपय अगुवा अतिवाद र विशिष्ट स्वार्थको भासबाट बाहिर निस्कन सकेका देखिँदैनन् अझ पनि। वञ्चितीकरणमा पारिएकामा वितृष्णा र नैराश्य पैदा गर्नमा यस्ता प्रवृत्ति पनि उत्तिकै जिम्मेवार छन्। ऋतिक रोशनदेखि प्रशान्त तामाङसम्म पोतिएको नेपाली राष्ट्रियताको अनुहारले मधेसीलाई नेपाली हुन् भन्ने कुरा नै मान्दैन। मधेसलाई सिंगो उपनिवेश मान्दै पहाडी र मधेसी गरी दुइवटा राष्ट्रियताको अवधारणा ल्याइयो र राज्यले पहाडी राष्ट्रियतालाई मान्यता दियो भने अर्को मधेसी राष्ट्रियतालाई मान्यता दिइएन। कुनै पनि राष्ट्रको निर्माण अनेकथरिका जाति र समुदायको संमिश्रणबाट भएको हुन्छ र जनसंख्याको बनोट कसैको इच्छाधिन विषय होइन यो त खास ऐतिहासिक कारणबाट निर्धारित भएको हुन्छ। ऋतिकदेखिको प्रसंग यस कारणले उठाउन गरिएको हो कि त्यो जनआन्दोलन -१ पछिको कालखण्ड थियो, त्यतिखेर नेपाली राष्ट्रियताको अनुहारमा एउटा खास पाउडर पोत्ने कार्य भयो, त्यस्तै उपक्रम जनआन्दोलन- २ पछि प्रशान्त प्रकरणबाट भएको छ। एउटा खास पाउडर पोतिएको अनुहार हेन हिमाल, पहाड र मधेसलाई समग्रमा नियाल्नुपर्छ। बिर्सनु हुदैन, नेपाली राष्ट्रियताको मौलिक छवि हृदयंगम गर्न नसक्दा ‘शाह शासन’ भताभुङ्ग भयो। नेपालमा एउटा शक्तिशाली समूह छ जसले राष्ट्रको साधन र स्रोतमाथि हालीमुहाली चलाइरहेछ र कुनै पनि मूल्यमा यो स्थिति कायमै राख्न चाहन्छ। पाउडर पोतिएको राष्ट्रियताको अवधारणालाई यस्तै तत्त्वले अडेस दिएका हुन्। जनविद्रह ०६२-६३ भने यस्ता मान्यतालाई पूर्णतः विस्थापित गर्ने लोकादेशका साथ टुंगिएको हो। नागरिक सचेतता र संलग्नताबिना सरकार वा राजनीतिक तहबाट मात्र यस किसिमको विकृतिको निराकरण सम्भव हुदैन। प्रियतामोहको रोगले ग्रस्त स्थापित मान्यतालाई समाप्त गर्न चाहँदैनन्, यसैले यतिखेर मधेसलाई आश्वस्त र उत्प्रेरित गर्नु राजनीतिक सामाजिक नेतृत्वको सबैभन्दा ठूलो चुनौती हो।
Read Full Discussion Thread for this article