Posted by: world_map September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
आज चौतारीका चल्तापूर्जा सदस्यहरू धेरैजना गायब हुनुहुन्छ। त्यसैले अलि शून्यता छाएको छ। यसबाट केही राहत प्राप्त गर्न म मेरो यौटा पुरानो स्वस्थानी कथा राखिदिन्छु। नयाँ लेख्न त ट्याम पनि छैन, जाँगर नि छैन।यो कथा पढिसक्नु भएको भए माफ पाम्। कथा हाम्रै आदरणीय जिम्माल बाको बारेमा हो! स्वास्थानी कथा कुमारजी आज्ञा गर्नुहुन्छ,’हे अगस्त्य मूनि! आज म तिमीलाइ सोह्र वर्षकी जिम्माल्नीको साठी वर्षका जिम्माल बूढासँग कसरी विवाह भयो, कस्तो अवस्थामा उनी परदेशतिर लाग्नु पर्यो भन्ने सारा वृत्तान्त सुनाउँछु, हात खुट्टाको नङ् काटी, पाँच डलरलाइ सिक्कामा साटी, एक चित्त भई, संजय दत्तलाई संझी सुन। एकदिन महादेवलाइ कैलाश पर्वतमा बसेर गाँजा तान्दा तान्दा नैराश्य लाग्न थाल्यो र मर्त्यलोकमा कुनै रमाइलो गर्ने र गाँजा चरेस पनि मज्जाले तान्न पाइने स्थान छ कि भनी ध्यान दृष्टीले हेर्दा भए। समुन्द्र भन्दा पनि मुनि रहेको हल्ला ल्याण्ड(हल्याण्ड) भन्ने मुलुकको यामस्टरड्याम(एमस्टर्ड्याम) नगरीमा सूरा सुन्दरी, गाँजा चरेस, जे चाह्यो मज्जाले पाउन सकिने कुरा थाहा पाएपछि कुनै विलम्व नगरी सीधै यामस्टर्ड्याममा ड्याम्म हामफाल्नु भयो। जताततै रमणीय नहरहरू, स्वर्गका अप्सरा भन्दा पनि सुन्दर युवतीहरू देखेर महादेव हेरेको हेर्यै हुनु भयो। घुम्दा घुम्दै महादेवलाइ गाँजाको तलतल लाग्न थाल्यो र यौटा पसलमा छिरेर किन्न लाग्नुभयो। तर आफूसँग कमण्डलुमा दुइ युरोको सिक्का मात्र भएकोले महँगो गाँजा किन्न असंभव भयो। के गरूँ कसो गरूँ भनी सोच्दा सोच्दै महादेवलाइ यौटा आइडिया आयो, र भिक्षा माग्नको लागि त्यही दुई युरोले एक घण्टा समयको लागि टिकट किनेर ईन्टर्नेट क्याफेभित्र छिर्दा भए। यता उता माग्दा पनि कसैबाट भिक्षा पाउन नसकेपछि अन्तिम १५ मिनेट बाँकि हुँदा एकजना १४ वर्षकी किशोरीलाइ हाहू च्या(yahoo chat) मा भेट्टाए। ती किशोरी नयाँ याकू(न्यू योर्क) शहरमा बस्थिन्। महादेवले लेख्नुभयो – ‘हे किशोरी, मलाइ गाँजा खानको लागि सय युरोको आवश्यकता परेको छ, भिक्षा देऊ। ’ किशोरीले भनिन् – ‘हे महादेव, मसँग अहिले पैसा छैन, मेरो नाममा क्रेडिट कार्ड, पे-पाल केही छैन। मेरा आमा बुबा डिस्कोमा जानु भा’छ। उँहाहरू फर्केपछि बैंक टान्स्फर गरिदिम्ला।‘ महादेवले फेरी भने ‍- ‘हे किशोरी, मेरो टिकटको ट्याम सकिन लाग्यो, तेरा बुबा आमा फर्कियुन्जेल त म ईन्टर्नेट पनि चलाउन पाउँदिनँ। अनि गाँजाको तलतलले म बेहोस् हुनेछु। दिने भए अहिल्यै दे, हैन भने म तँलाइ श्राप दिन्छु।‘ यो सुनी किशोरी आत्तिंदै भन्न लागिन् – ‘हे महादेव, देवताका पनि देवता, मलाइ श्राप नदिनुहोस्, म बच्चीसँग दिनको लागि केही छैन। एकछिन धैर्य गर्नुहोस्।’ महादेवले कम्पुटरमा हेर्दा दुइ मिनेटमात्र समय बचेको थियो, यो देखी रिसाएर महादेवले श्राप दिन थाल्नुभो – ‘हे पापिष्ठ किशोरी, तैंले मलाइ भिक्षा पनि दिइनस्, भएको दुइ युरो पनि त्यतिकै नाश गराइदिइस्। अब म तँलाइ श्राप दिन्छु, तँ सोह्र वर्षकी हुँदा साठी वर्षको बूढोसँग बिहे होस्। फेरी बिहे हुने बित्तिकै तेरा बूढा बिदेशिनु परोस्!’ यत्ति भन्दा नभन्दै महादेवको समय सकियो र कनेक्सन् पनि काटियो। -------------------------------------------------------------------------------------------------- मेउसिकाने गल्फू (गल्फ अफ मेक्सिको) को किनारमा टेउसास भन्ने गाममा बिर्खे माइला भन्ने जिम्माल बूढा बस्दथे। गाममा सबैले उनलाइ सम्मान गर्थे, जिम्माल बा भन्ने बित्तिकै केटाकेटी उनको पछि लाग्थे, पुस्टकारी, पिपलामेठ, आइसकिरिम खानको लागि। उनी पनि एक माना पुस्टकारी, चकलेट आदी खल्टिमा बोकेर हिंड्थे र सबैलाइ बाँडी हिंड्थे। बूढो भएपनि आफ्नो रेखदेख गर्ने कोही नभएकोमा उनी चिन्तित थिए। गामका मानिसहरूले पनि उनलाइ यौटी जिम्मालनी खोजी झट्टै बिहे गर्ने सल्लाह दिएका थिए। बूढा हरेक बिहान मेउसिकाने गल्फूको किनारमा नूनिलो पानीमा स्नान गरी बालुवाको शिव लिङ्ग बनाई त्यसमा नूनिलो पानी चढाई महादेवको आराधना गर्थे। त्यसबाट महादेव प्रसन्न भई उनलाइ चाँडै बिहे हुने वरदान दिएका थिए। त्यसैक्रममा पून्टे भन्ने लमीले आफ्नो एक सालीको लागि उपयुक्त वर खोज्ने क्रममा बिर्खे जिम्मालसँग पनि सम्पर्क गरे। जिम्माल बूढालाइ कहिल्यै नदेखेका पून्टेले फोटू पठाउन अनुरोध गर्दा श्री महादेव बिर्खेको शरीरभित्र प्रवेश गरेर छल गरी जोन ट्राभोल्टाको फोटू पठाइदिए। यो फोटू देखी पून्टे अत्यन्त हर्षित भए र आफ्नी साली कोइलीको बिहे बिर्खे माइलासँग पक्का गरिदिए। कोइली उनै किशोरी थिइन् जस्लाइ दुइवर्ष अघि श्री महादेवले ईन्टर्नेट श्राप दिएका थिए। बिहे निश्चित भएपछि, बिर्खे माइला खुशीले गदगद हुँदै, मेउसिकाने गल्फूमा सँधै झैं स्नान गरी यामटार्क (Amtrak) चढी नयाँ याकू नगरतर्फ हुँइकिंदा भए। बिर्खे जिम्माल बूढा कस्ता भने हिउँ जस्तै सेतो जूंगा भएका, कपालको नाममा टूप्पीमा केवल चारवटा रौं बाँकि भएका, कालो ईस्टकोट, दौरा सुरूवाल लाएका, दाँतको नाममा केही पनि नभएका, गोलभेंडा जत्रा आँखा भएका, धनुष जस्तो धुम्रेका नलीखुट्टा भएका, बूढो रूख झैं कुप्रेको जीउ भएका, छाती सधैं घ्यार् घ्यार् गर्ने, तर सधैं ट्यार ट्यार गीत गाइरहने, ‘चिरन्जीवी’ टेलिफिल्मका हरीवंश जस्ता देखिने, यस्ता जिम्माल बूढालाई देखेपछि कोइलीका आमाबुबा झस्किए र भन्न थाले, ‘ए पून्टे ज्वाइँ, के गरेको यस्तो? यस्ता ६० वर्षका कुप्रा बूढालाइ हाम्रो षोडशी छोरी कोइली दिएर उसको जिन्दगी बर्बाद गर्न लागेको?’ यो देखी पून्टेले पनि जिम्माल बूढाले आफूलाइ ठगेको थाहा पाई, लाचार भएर केही नबोली धोविनीको भट्टीतर्फ सोमरसपान समारोहमा सरीक हुन सुइँकुच्चा ठोके। पून्टे भागेपछि बिर्खे जिम्मालले कोईलीसँगै बिहे गर्ने ढिपी गर्न थाले। कोइलीका आमाबुबा नमानेपछि श्री महादेव बिर्खेको शरीरमा प्रवेश गरी भन्न थाले,’ हे पापीष्ठ मनुष्य हो! म महादेव हुँ, यदी मलाइ कोइली नदिने हो भने म श्राप दिन्छु।‘ यो सुनी कोइलीका आमाबुबा डराएर कोइली बिर्खे जिम्माललाई सुम्पिदिए। जिम्माल बूढा पनि बडो दंग पर्दै कोइलीलाइ लिएर टेउसास गाम फर्के। गाममा सबैजना सोह्र वर्षकी जिम्मालनी देखेर दंग परे। केही दिन पछि बिर्खे जिम्माललाइ यौटा चिठ्ठी आयो जसमा उनी तरूनो हुँदा काम गरेको कुवेतको तेल खानीमा फेरी काम गर्न आउन अनुरोध गरिएको थियो। जिम्माल्नी आफ्नो बूढालाइ जान दिने पक्षमा थिइनन्, तर बूढाले भन्न थाले, ‘हेर प्रिय! कुवेतको गल्फूमा यहाँ भन्दा धेरै अनमोल रत्नहरू पाइन्छ। म त्यहाँबाट चाँडै नै धेरै धन कमाएर फर्किनेछु र त्यसपछि हामी सुखसँग रहौंला।‘ यति भनी जिम्माल बूढा कोइलीलाइ गालामा म्वाइँ खाई कुवेतको गल्फूतर्फ रवाना भए। ईति श्री स्कन्द पुराने केदार खण्डे माघमहात्म्य कुमारागस्ते संवादे नोट:- यसकथाका सबै घटना काल्पनिक हुन्, कसैलाइ चोट पर्न गएमा क्षमा चाहन्छु।
Read Full Discussion Thread for this article