Posted by: CaMoFLaGeD September 25, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
"ल ल रुद्रमणि जी, आजको हिसाब किताब चाँहि भोली नै मिलाउँला, अहिले जत्ति पैसा छ त्यो गिन्ती गर्नुस् अनि डेबिट क्रेडिट भोली गर्नुपर्छ" क्यासियर साबको कुरा मलाई निकै राम्रो लाग्यो। बिगत केहि दिन देखि हाम्रो शपिङ सेन्टरमा यसरी नै काम चलाउँदै छौँ। सधै बेलुका ९ बजे सम्म पसल खोल्नु पर्ने हुनाले हामीले क्लोजिङ गर्न खासै टाइम पाउदैनौ। घर चाँडो चाँडो जानुपर्ने भएकोले हामी सङ हिसाब किताब गर्ने समय नै हुँदैन। "बुझ्नु भयो रुद्र दाई, म मलाई त्यो हिजोको कोलकातामा भएको कार्यक्रम चाँहि खुब रमाइलो लाग्यो। सार्है राम्रो गायो हैन प्रशान्तले?" सपना जी पनि यसपाली निकै कुरा गर्न थाल्नुभएको छ। उहिले हामी सङ त्यत्ति कुरा गर्न नरुचाउने उहाँ। प्राय जसो मोबाइलमा आउने एस एम एस मै भुल्नु हुन्थ्यो। हामी बुढा पाका र उहाँहरु जस्तो युवा उमेरका हरुको कुरै नमिल्ने। केहि महिना अघि साबित्रीले घरमा बेलुकाको खाना पस्किदै मलाई मिठो स्वरमा, "सुन्नुस् न, हामीपनि माथी घरबेटीलाई भनेर त्यो डिस्कको लाइन तानौँ न। सबैजनाले इन्डियन आइडलमा एउटा नेपाली भाईले सार्हो राम्रो गाएको छ भने देखि हेर्न मनलागेर कस्तो भा'छ" भन्दा मलाई 'यी आइमाई मान्छेहरुलाई नै चाहिने अनेक थोक। यहाँ छोराको फिस कसरी तिर्ने भा'छ आफुँलाई' जस्तो भा'थियो। तर उस्को त्यो मिठो बोलीलाई मैले कसरी नकार्न सक्थेँ र? उस्लेपनि खासै त्यस्तो फरमाइसी खर्च गर्दिन, आज निकै ठुलै मन गरेर माँगेकी हो कसरी नाई भन्नु? "घर भाँडामा ३० रुपिया थपेर दिनुस न त" भन्दै घरबेटी आमैले पछाडीको झ्यालबाट मेरो कोठा सम्म पुग्ने तार खसालिदिएकी थिन्। त्यहि बाट हाम्रो घरमा हरेक सप्तान्त निकै रमाइलो हुन थालेको थियो। "त्यो मोरो अनु मलिकलाई के खाँचो हाम्रो प्रशान्तले चुरोट खाओस कि खैनी खाओस? त्यस्को छोरा हो र सुधार्नु पर्ने?" खुब रिसाकी थी साबित्री त्यो रात। बल्ल बल्ल फकाएर सुताको उसलाई। तर अस्ति राती खुब रुइ उ जब अनु मलिकले प्रसान्तको बारेमा राम्रो भन्यो, "सुन्नुस बाबा! सबैभन्दा राम्रो र मनको साँचो चाँहि यहि अनु मलिक रहेछ। त्यस्ले मात्र उस्को मनको कुरा बुझ्यो" भन्दै रात भरी सुत्न दिएकी थिइन। आज हत्तार गरेर बल्ल बल्ल घर पुग्दा साबित्री, छोरो र पल्लो कोठामा बस्नुहुने सबैजना हाम्रो ओछ्यान मा बसेर टि भी हेरिरहेका रहेछन्। म आइपुगेको देखेर साबित्री उठेर छेउमा स्टोभ माथी थालमा अघिनै पस्केर राखेको खाना दिदै भनी, "मैले आज अलि छिटै खाना पकाएर राखेको अनि कार्यक्रमपनि तिन घन्टाको हुने भएकोले भाँडाहरुपनि अघिनै माझेर बसेको, त्यहि भएर सबैथोक यहि थाल मा छ। चिसो नहोस भनेर स्टोभ माथी राख्या खाना" "ए अनि प्रशान्तले गाइसक्यो?" मैले खानाको थाल हातमा बोक्दै आँखा त्यो १४ इन्ची ब्लाक एन्ड व्हाइट टिभीमा लगाई रहेँ। खाना चिसो थियो कि तातो थियो यादै भएन। "छैन छैन बल्ल सुरु भएको" छोरोपनि सबै सङ बसेर हेर्दै रहेछ। खुब रमाइलो गरेर हेरियो। साबित्रीलेपनि १० रुपिया चन्दा दिएकी रैछ बागबजारमा प्रशान्तलाई भोट दिन भनेर। निकै बेर हेरेपछि बल्ल बल्ल कार्यक्रमको अन्त्य हुनलागेको थाहा भयो। अब कस्ले जित्ला भनेर खुब मन भारी भइरहेको थियो। सबैको मुटु ढुक ढुक गरेको प्रष्ट थाहा हुन्थ्यो। "हेर्नु न त्यस्को आमाले नमस्ते गरेको! ठ्याक्कै हाम्रो आमाले जस्तै गर्ने रैछ" मेरी छिमेकी कोठामा बस्ने एकजना बहिनीले भनिन्। प्रशान्तले जितेको कुरा टि भिले देखायो! हामी सबैजनाको खुसीको सिमा रहेन। उस्लाइ उस्की बहिनीले ढाका टोपी लगाउँदा मेरो छाती फुलेर आयो! उस्ले सिक्किम देखि नेपाल सम्मका सबैलाई धन्यवाद भन्दा आँखा पुरै रसाए। आमालाई जन्म दिनुभएकोमा धन्यवाद दिदाँ भक्कानो छुट्ला जस्तो भयो। यस्तो सार्हो खुसी पहिले कहिले भइएको थियो यादै छैन। रात भरी सुत्न गार्हो पर्यो। कहिले बिहान हुन्छ र पसलमा गएर यस्को कुरा गर्ने भन्ने सोचाईले सुत्नै सकिएन। बिहान उठेँ, पसल जान लुगा लगाएँ अनि साबित्रीलाई बोलाउँदै भने, "साबित्री! त्यो मेरो ढाकाको टोपी कता छ? आज ढाकाको टोपी लगाउन खुब मनलागिरहेको छ" समाप्त!
Read Full Discussion Thread for this article