Posted by: somewhereondearth September 13, 2007
सीताराम सर
Login in to Rate this Post:     0       ?        

[1st Part]
'हंसमुख मान्छे' मैले यहि बिम्ब पाएकको छु, वहांको । हाम्रो पहिलो भेट त्यस्तो बिशेष होइन । तर भेट चाहिं त्यहीं मीना दिदीको पसलमा नै भएको हो ।
बजाजको नयां discover बाइक; उमेरले ४० नाघेका तर मन त्यसको छेउछाउ पनि नपुगेका; फुलेको कपालमा रातो मेहेन्दी ; दिनहुँ दाह्री काट्ने (दाह्रीमा मेहेन्दी लगाउन नमिलेकाले पनि हुन सक्छ); परम्परागत नेपाली जागिरे भुँडीको परम्परालाई 'सपोर्ट' गर्न नसकेका; चुरोटको सर्को सर्को आन्नदले तान्ने; जहिले पनि हाँसी रहेने; यी नै थिए मैले देखेका सीताराम सर ।
बैशाखको महिना थियो । एकदिन चिया गफमा वहांले आफ्नो नयां मोबाइल सेट देखाउनु भयो - 'nokia n70' । धेरै function भएर मलाई सोध्ने/सिक्ने हिसाबले देखाउनु भएको वा 'हेर ठिटा, मोबाइल त मेरो पनि stylish छ' भन्ने हिसाबले, म आज पनि भन्न सक्दिन ।

"बुढालाई data cable मा ठगेछ" मैले नदिएको प्रतिक्रिया यहि थियो, त्यो बेला ।

हामीले खाना खाने ठाउँबाट ३ किलोमिटर टाढा छ वहांको डेरा । पूर्व, पश्चिम, उत्तर वा दक्षिण कता हो म भन्न सक्दिन । २ चोटी सम्म सोधेको हो । याद छैन र अब सोध्न शिष्टाचारले दिदैन ।
मान्छे पाल्पाका हुन, त्यसैले खाना खाने ठाउँमा भाषाको झगडा हुन्थ्यो कहिलेकांहि अनि कहिलेकांहि टेलिफोनका गफ। हाम्रा दिनहरु यसरी नै बित्दै गए ।
महिना दिन जतिको संग्‌तमा थाहा हुदै गयो, मेलै देखेका 'हंसमुख' सीताराम सर मदिराको राम्रै सौखिन हुनुहुदो रहेछ । धेरै जसो सांझ मैले वहांलाई मातेको अवस्थामा नै देखे । रक्सी खाएर डेरा जान अफ्ठ्यारो हुने भएकोले सीताराम सर प्राय अफिसको गेष्टहाउसमा नै बस्नु हुन्थ्यो । वहांको खाना खाने समय पनि अनियमित हुन थाल्यो । दाह्री कटाइ पनि नियमित देखिन । किन किन मैले वहांलाई अलिक कालो देख्‌न थाले । त्यो मेरो दृष्टि भ्रम पनि हुन सक्छ । किटान गरेर भन्न सक्दिन ।

एक दिन मिना दिदीकी भान्जी आइन्, SLC सकेर । उमेर पनि लिएकि अनि ज्यान पनि । बोल्दा खासै लजाउने जस्तो लागेन । धेरै राम्री पनि होइनन्, नराम्री पनि होइनन् ।


[next part coming soon...]

[2nd Part]



 

भान्जी छोटो समयमा नै हाम्रो वातावरणमा राम्रोसंग घुलमिल भइन् । बिशेष गरि सीताराम सरसंग । अब मैले सरमा रसिक गुण पनि राम्रैसँग रहेछ भन्ने थाहा पांए । हुन त ४०/४२ बर्षको अनुभवीको अगाडि यो ठीटोले के नै पो अध्ययन गर्छ र!! तर पनि त्यो मेरो स्वतन्त्र अध्ययन थियो ।


 

सर उनलाई जिस्काउन छोडनुहुन्न थियो। उनि सरलाई भन्दा बढि सरको उमेरलाई कटाक्ष: गर्थिन् । खुब झगडा हुन्थ्यो ति दुईको । सर बेला बेला उनको फोटो खिच्नु हुन्थ्यो आफ्नो n70 ले, त्यो बेला उनि लजांउथिन् ।


 

एकदिन SLC को रिजल्ट भयो । भान्जी पास भइन्, second division मा । सीताराम सरको छोरा पनि distinction मा पास । छोरालाई भर्ना गर्न वहां घर जानु भयो ।


 


 

१५ दिन पछि हाम्रो भेट भयो । बढो खुसी देखिनु भएको थियो । नयां सर्ट, पालिस लगाएका जुत्ता, अनुहारमा राप थियो । घर गएर वहां फेरिनु भएको थियो ।

"सर मेरो छोरोले त distinction ल्यायो नि।"

यहि कुरा जानु अगाडि २ चोटि भनेका थिए बुढाले। कति पटक सुनाउनु पर्ने ? सधैं झैं फेरि आफ्नो percentage सम्झे । फेरि सोचे '१० कक्षाबाट मात्र प्रश्न सोधेकोले त हो नि' नत्र म पनि के कम ।

एकछिन पछि आफैलाई गालि गरे, किन compare गरे भनेर ! ग्लानि भयो, आफैसंग ।

"St. Xavier पढछु भन्दै थियो" बुढाको volume बढेको स्वरले म झसंङ्ग भए ।

"राम्रो नि सर, बरु entrance पो कहिले हो।" यति भन्दै थिए, सरले उत्तर फर्काउनु भयो ।

"टप १० मा त निकालि हाल्छ नि, 'मेरो छोरो' ले।" 'मेरो छोरो' को उच्चारणमा अलिक बल थियो ।

म हांसे मात्र ।

चिया आयो । यसपालि हाम्रो गफ लामो भयो। छोराको भविष्यको बारेमा मसंग पनि धेरै कुरा बुझ्नु भयो । एकदम उत्सुक र गहिरो भाव देखे मैले वहांको आंखामा जुन पहिले कहिले देखेको थिइन । खुसी लाग्यो । नेपाली बुवाहरु छोराको भविष्य प्रति संवेदनशिल छन। मैले जाने जति, बुझे जति कुराहरु भनिदिए ।

SLC को hangover ४/५ दिन सम्म रह्‌यो । सीताराम सरले रक्सी कम गर्नु भएको थियो । एकदिन मलाई ढिला भएको थियो, सरले मलाई डेरासम्म बाइकमा पुर्‌याइदिनु भयो । राम्रो लाग्यो । सीताराम सरलाई मैले मिजासिलो मान्छे भन्नु नै पर्छ । ती दिनहरुमा बर्षाले गर्दा बिराटनगरमा गर्मि कम थियो ।

SLC को रिजल्ट पछि भान्जी घर गएकी थिइन्, केहि दिनपछि उनी फेरि आइन् ।

दिनहरु बित्दै गए । अब सरलाई कम्प्युटर र मोबाइलको मोह बढ्‌न थाल्यो । अफिस समय पछि पनि सर अफिसमा नै बस्नु हुन्थ्यो, कम्प्युटर चलाएर । (अफिस, दिदीको पसल भएको घर भित्र छ। )

पसलमा पनि वहां कि भान्जीसंग जिस्किनुहुन्थ्यो कि मोबाइल चलाएर बस्नु हुन्थ्यो । पसलमा धेरै मान्छे नभएको बेला भान्जीको फोटो खिच्नु हुन्थ्यो । भान्जीलाई देखाउनु हुन्थ्यो । फोटो खिचाईमा भान्जी सधैं जस्तो राम्रो ननिकालेको भनेर complain गर्थिन्, । अनि सरले दांया बांया हेरेर उनलाई जिस्काउदै कुममा पिट्‌नु हुन्थ्यो। उनी रिसाउंथिन्, बुढा मन खोलेर हाँस्थे ।

एक साँझ, भान्जीको खुट्टाको नंङमा समस्या भएछ । दिदीले तातो तेल लगाउँदा ठिक हुन्छ भनेर तेल तताउनु भयो । उनी डराइन्, सीताराम सरले दिदीको पक्ष लिनुभयो ।

भान्जी बेन्चमा बसेकि थिइन्, सर उनको पछाडि । म अर्को टेबलमा थिए । दिदीले उनको खुट्टामा तेल हालिदिनु भयो । सरले बढो समयमा भान्जीको कम्मरमा चिमोटिदिनु भयो, सबैको आंखा लुकाएर । उनी ऐया गर्दै उफ्रिन् ।

दिदीले "यति जाबो तेल लगाउंदा पनि उफ्रिनुपर्छ" भनेर रिसाउनु भयो ।

"कस्तो पोल्यो!" भान्जीले स्पष्टिकरण दिइन् ।

" आ म त लगाउँदिन, यस्तालाई" दिदीले झर्को मान्नु भयो ।

"म लगाईदिउँ त?" सीताराम सर तम्सिनुभयो ।

"नपोल्ने गरि लगाउने भए मात्र" भान्जीले शर्त राखिन् ।

तेल दिएर दिदी तरकारी किन्न जानु भयो ।

देब्रे हातले पैतला तर्फबाट भान्जीको खुट्टा समात्नु भयो, सीताराम सरले । अनि दाहिने हातले औला सफा गरेर खुट्टा सुम्सुम्याउंदै बिस्तारै तेल हाल्नु भयो । भान्जीले सन्चो मानिन् ।

सरले "देख्यौ त?" भन्नु भयो ।

भान्जीले म तिर हेरिन, अफ्ठ्यायो मानिन्।

बाकि भएको चिया घुटुक्क पारेर म मेरो अवलोकन लुकाउँदै आफ्नो बाटो लागें ।

पछिका दिनहरुमा सरसंग खासै भेट भएन । सर अफिस पछि पनि कम्प्युटरमा नै बस्नु हुन्थ्यो । भान्जी चिया पुर्‌याउन जान्थिन् अनि त्यहि कम्प्युटरमा नै बस्थिन् । कहिले फोटो हेर्थिन त कहिले सरसंग झगडा गरेर बस्थिन् । सरको र मेरो खाना खाने बेलामा पनि भेट हुन गाह्रो हुन्थ्यो ।

एकदिनको कुरा हो । दिदीले भान्जीलाई आफुसंग राखेर क्याम्पस पढाउंदिन भन्नु भयो । " मान्छे, त्यसै त कुरा काट्छन" वहांको भनाई थियो । भान्जीको इच्छा यहिं बसेर पढने थियो । दिदी कडा हुनुभयो । भान्जीले मन गह्रौं गरिन्।

हप्ता दिन पछी भान्जी फर्किन्, आफ्नो घर ।

अचेल सीताराम सर कम्प्युटरमा खासै बस्नु हुन्न । जील्ला बिकासको मान्छे, बाढि पीडित कार्यक्रममा दिनभरि हिडनु हुन्छ । थकाइ मेट्टाउन सांझमा रक्सी स्वाभाविक हो । सरले छोरोलाई पोखरामा science पढाउनु भएछ । अचेल हाम्रो भेट दिनहुं हुन्छ । खाना सगैं नै खान्छौ । दिनै भेट हुंदा हाम्रो अभिवादन एउटै हुन्छ; हात उठाएर "गुड मर्निङ सर।"

हांस्न सीताराम सरले कहिल्यै छोडनु भएन ।

कुशे औंशी ०६४

बिराटनगर ।

[परिवेश र पात्र दैनिक जीवनको लिएको छु । तर मोडहरु, पात्रका भावनात्मक बहाबहरु र कर्महरु पूर्णरुपमा काल्पनिक हुन् । कसैको जीवनसंग सोझै जोख्न खोजीयो भने दुर्भाग्य हुनेछ]


Last edited: 13-Sep-07 03:07 AM
Last edited: 13-Sep-07 11:42 PM
Last edited: 16-Sep-07 04:02 AM
Read Full Discussion Thread for this article