Posted by: Jawala August 30, 2007
श्लील नग्नताका पक्षमा - सुधा त्रिपाठी (A Nice Article)
Login in to Rate this Post:     0       ?        
श्लील नग्नताका पक्षमा सुधा त्रिपाठी जीवनमा मलाई पहिलोपटक अर्धनग्न महिला देख्दा लज्जाबोध भएन । बरु उल्टै त्यस नग्नतामा आत्मसम्मानको गौरवबोध भयो । म यसलाई शालीन नग्नताको संज्ञा दिन्छु । बाफ रे, त्यो साहस ! त्यो पनि चौबीसै घन्टा सुरक्ष्ााकर्मी तैनाथ रहने सिंहदरबारको गेटमा । 'छोयौ भने यो पनि फालिदिन्छु' भन्दै बचेखुचेका कपडातर्फ संकेत । अनि जसले नाङ्गनि विवश पारेको छ, उसैले यो नाङ्गोपनविरुद्ध प्रहार गर्ने ? यो दृश्य देखेपछि मलाई हिजोको प्रजातन्त्र र आजको लोकतन्त्रको पूरा अर्थ प्रकट भएजस्तो लाग्यो । महेन्द्र भवनमा पढ्दा विद्यालयको पोसाकमा समेत सुरुवाल लगाउँथेँ म । पत्रपत्रिकामा ब्रा र पेन्टीमात्रै लगाएका केटीको तस्वीर राखेर गरिएको डान्सबारको विज्ञापन, कथाले मागेजति भन्दै अभिनेतृहरूले गरेको छाती-तिघ्राको प्रदर्शन, काठमाडौंका सडकमा प्रदर्शित अर्धनग्नता देख्दा सधैंभरि मेरा हातहरू आफ्ना कपडा तानतुन पार्न थालिहाल्थे । जहिले पनि महिला नै व्यापारी रहेका पसलमा मात्र आफ्ना भित्री कपडा खरिद गर्ने र सधैंभरि महिला स्त्रीरोग विशेषज्ञलाई मात्र आफ्नो शरीर परीक्ष्ाण गराउने मलाई यसपटक ब्रा र पेटीकोटमात्रै लगाएकी महिलाको फोटो देख्दा अत्यन्त हर्ष लाग्यो । वादी दिदीबहिनीहरू हो, तिमीहरूको यो सुकार्यलाई मेरो सलाम ! हो, वादी महिलाहरूले राज्यलाई यसरी नै हो चुनौती दिने । लुगै लगाएर पनि उनीहरू सावरण त कहाँ छन् र ? सामन्ती संस्कृतिले उनीहरूलाई सधैंभरि नङ्ग्याइरह्यो । अब उनीहरूको पालो हो सामन्तवादलाई नङ्ग्याउने । उनीहरू राजीखुसीले वेश्यावृत्तिमा लागेका होइनन् भन्ने कुराको बोध अब त सारा राष्ट्रवासीलाई सिंहदरबारका ढोकामा भएको त्यो अर्धनग्न प्रदर्शनले भयो नै होला । त्यो आक्रोश सित्तिमित्ती जन्मेकै होइन, जीवनलाई नारकीयता भोग्न बाध्य पार्ने विसंगतिलाई चिर्नका लागि, नागरिक अधिकारको सम्बर्द्धनका लागि हो । के लोकतन्त्रमा पनि नागरिकले आफूलाई अरुचिकर भएको जीवनशैली त्याग्ने चाहना व्यक्त गर्न नहुने ? कसैगरे पनि आफ्ना पीडाहरूको सुनुवाइ नभएपछि उनीहरूले त्यो प्रदर्शन गरेका हुन् । अझ त्यसमाथि धरपकड ! यस्तो क्रियाकलापले त राज्य र कानुन हुनेखाने र सत्ताशक्ति सम्पन्नहरूकै लागि हो भन्ने पुष्टि हुँदैन र ? त्यस्ता सत्ताशक्ति सम्पन्नहरूले देशको कानुनलाई तिनै वादी महिलालाई झैं वेश्या बनाएनन् र ? लाटो र अन्धो कानुन वेश्या भयो भन्दैमा पलपलमा जीवनको अर्थ खोजिरहेका ती वादी महिलाले अझै पनि त्यसको हुकुम किन मानिरहने ? हो, यसरी नै हो त्यसलाई चुनौती दिने । संविधानसभाका नाममा उनीहरूलाई कुण्ठित गर्न पाइन्न । यस्ता उत्पीडनको मर्म नबुझ्नेहरूको झुन्डले कुन नयाँ संविधानको निर्माण गर्ला र नयाँ नेपाल बन्ला भनेर आशावादी हुने ? यो आन्दोलन संविधानसभाको चुनाव र त्यसपछिको संविधान निर्माणका लागि मार्गदर्शन हो । जीवनको जरासँगै कलमी गरेर उमार्नुपर्छ, अबको संविधान भन्ने कुराको संकेत हो यो । भावी नेपाल कस्तो बन्छ भन्ने कुरा आज यी वादी महिलाका समस्यालाई राज्यले कसरी सम्बोधन गर्छ भन्ने कुराले छर्लङ्ग पारिदिन्छ । उनीहरूको समस्यालाई राज्यले यथोचित सम्बोधन गरेन भने अब हामीले व्यर्थै किन संविधानसभाका लागि टाउको दुखाइरहनुपर्‍यो ? के त्यस्तै हो भने त के नै पो गर्छ र त्यो संविधानसभाले ? यो सरकारको र सम्पूर्ण नेताहरूको परीक्षाको घडी हो । कुनै परीक्ष्ाामा उत्तीर्ण र कुनैमा अनुत्तीर्ण हुने गरेका नेताहरू यसपालीचाहिँ के हुँदारहेछन्, हेर्न पर्खिबसेका छौं । यो सामन्ती संरचनामा हामी आममहिलाहरू कुनै न कुनै ढङ्गले उत्पीडित रहेका छौं । हामीले आ-आफ्ना वर्गीय मुखुण्डा र तथाकथित आदर्शको खोल च्यातेर आन्दोलन गर्न सकेनौं, उनीहरूले गरेका छन् । पुरुष त पितृसत्ताका कारिन्दा भइहाले, कम्तीमा विधायिका-संसदका महिला सांसदले उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउनुपर्ने थियो, त्यो पनि सकेनन् । आमनेपाली स्वाभिमानप्रेमी महिलाका तर्फबाट वादी महिलाहरूलाई धन्यवाद, उनीहरूको शालीन नग्नतालाई धन्यवाद । हिजो छाक जुटाउन नाङ्गनिेहरू आज नागरिक अधिकार प्राप्तिका लागि नाङ्गइिरहेछन् । यसमा उनीहरू दोषी छैनन् । नाङ्गनि बाध्य पार्नेहरू दोषी छन्, राज्य दोषी छ । उनीहरू नाङ्गो हुनु नपरोस् भनेर नाङ्गएिका हुन्, राज्यसत्ताका ठेकेदार पुरुषहरूको नाङ्गोपन आमजनताका अगाडि पस्किएका हुन् । साँच्चै उनीहरूले पूर्ण नग्न जुलुस गरे भने पनि मलाई विष्मात् लाग्ने छैन । समय र स्थान थाहा पाएँ भने म दर्शक बनेर उनीहरूको समर्थनमा ताली बजाउने थिएँ । आफ्नो शरीरसँग खेल्नेहरूको नामावली समय आएपछि सार्वजनिक गर्छाैं भन्छन् । समय आइसक्यो, अब किन पर्खनुपर्‍यो ? त्यति गर्दा पनि अझ तिनैले ठूला कुरा गरे भने डीएनए परीक्षण गराए हुन्छ । कम्तीमा पनि त्यस्ता व्यभिचारीलाई हामी हाम्रा नेता र समाजका प्रतिष्ठित व्यक्तिका रूपमा सम्मान गरिरहन त बाध्य हुने छैनौं ? वादी महिलाहरूसँगै यो आमनेपालीको समेत मुक्ति हुनेछ, किनभने यो मुक्ति सामाजिक मुक्तिकै एउटा अङ्ग हो ।
Read Full Discussion Thread for this article