Posted by: SurNaTal August 28, 2007
दशैँ र गाऊँका स्म्रितीहरु
Login in to Rate this Post:     0       ?        
तल्लो टाहारमा अनौ समाउदा,
मेरो दाई सम्झनुहुँदो हो,
मैले हालेका बिऊहरु!

अँगेनाभरि ढोडको हुर्हुरे बाल्दा,
मेरी बहिनी सम्झँदि हुन्,
मैले पोलेका सुठुनीहरु!

घरपछाडिको तामा फब्ल्याटाऊदा,
मेरो बुबा सम्झ्नु हुँदो हो,
मैले काडेका चोयाहरु!

सकिनसकी ढिँडो मस्काऊदा,
मेरी आमा सम्झँदि हुन्,
मैले कोरेका कुँडेहरु!

असरल्ल स्म्रितिका घ्याम्पाहरु,
म कुन चाहिं पहिला फोडौं,
कुन् चहिं पछि?

मेरो रातमाटे उस्तै रातो होला,
म पहेँल्ली सकेँ;
मेरो चिसापानी उस्तै चिसो होला,
म सुख्खा भइसकेँ।

मेरो केराघारी,
घरीका घरी उपहारहरु बोकेर
मेरो प्रतिक्ष्या गर्दो हो;
मेरो आरुवारी,
लटरम्म कोसेलीहरु बोकेर
मेरो बाटो हेर्दो हो।

भाग्यको पखावारीमा
कर्मको तुईन तान्दा तान्दा,
म त बेफुर्स्दी बनेछु।

न ढिंडो, न गुन्द्रुक्,
न ढोड, न हुर्हुरे;
न मकैको बिऊ,
न हाँडीको घान्;
न चित्राको चोया,
न छारीको फरिको।

म त अल्मलिएछु,
कन्क्रिट्का जंगलहरुमा;
तथाकथित् पुस्तकहरुसंग,
संग्धिग्न सपनाहरुसंग।

छ्यास्छ्यास्ती काँडाहरु बिझेका छन्,
सुँगुरेका;
तनभरि - मनभरि,
गाऊँ छोड्दाका।

मेरो सानो घर, मेरो सानो सन्सार,
मेरी प्यारी आमा, दाजु, बहिनि, वावा।

त्यो चुलो - त्यो पँधेरी,
त्यो गोरेटो - त्यो अँधेरी;
त्यो ओदान् - त्यो चुलेसी,
त्यो आँगन् - त्यो वलेसी;
त्यो दलान् - त्यो सँघार्,
त्यो मतान् - त्यो जँघार्।

त्यो गोठ, मेरो सिन्धुरे गोरु,
त्यो खोर, मेरो घोर्ले खसी;
पारी डुँडको खेत,मैले लगाएका आलीहरु;
चिलाउनेको हलो,मैले ठोकेका फालीहरु।

अवत असह्य भयो;
म अरु सक्दिन
मेरा अस्थित्वहरुलाई उसिनिरहन।

असुरोको पातमा केराको घरी पकाउँदै गरे आमा,
हाटमा आएको रोज्जा चाहिँ खसी किनिराखे वावा।

मेरो लट्टाईमा धागो र माड लगाईदिराखे दाजु,
मेरो मादलमा असली खोरी हालिदिराखे दाजु।

मेरो खाट्मा दिङ्लाको राडी ओछ्याइदिराखे बहिनि,
मेरो ठेकीमा एकराते दहि जमाईदिराखे भाउजु।

सारा अप्ठ्याराहरुलाई पाईतालाले कुल्चेर,
तपाईँहरुको प्यारो सनोकान्छो,
यसपाली त फुत्त फुत्त उफ्रदै हुनेछ,
पाख्रिवासको ओरालोमा;
दशैँको टीका, जमरा र आसीश थाप्न।
Read Full Discussion Thread for this article