Posted by: shirish August 10, 2007
बन्द गर सम्भोगहरु !
Login in to Rate this Post:     0       ?        
.....पत्नी, छोराछोरी, आमाबाबु, समाज सबै छन् कवितामा । पत्नीको घरभित्रको जीवनलाई मिहिनपाराले हेरिएको कविता 'उनी कविता जीवनको रङ्गले लेख्छिन्'ले प्रत्येक पाठकलाई आफ्नी पत्नीप्रति सोच्न र तिनको जीवनलाई हेर्न बाध्य गराउँछन् आज तिनै पत्नी रिसाउँदा- 'घरको आँधी' कस्तो हुन्छले छर्लङ्ग पार्छ । तिनले केही नबोली सुरुसुरु काम गरिरहँदाको घर र तिनले चित्त दुखाई रिसाउँदाको घरभित्रको चित्रण प्रत्येक परिवारको जीवन्त कथा हुन्छ । सरदर समयमा उनी - उनी अक्षर जान्दिनन् तर सुन्दर कविताहरू लेख्छिन् । सबेरै अँध्यारालाई घरबाट खेदिसक्छिन् घामले मझेरी र आँगन पोतिसक्छिन् अँगेनामा न्यानो पोखिसक्छिन् बिहानै घरभरि बिहान छिरिसक्छ पूजाकोठामा बलेको धूप आशीर्वादको महक बोकेर चोटाकोठा पुगिसक्छ म ब्यूँझदा उनी घरभरि जीवन लेखिसक्छिन् । (उनी कविता जीवनको रङ्गले लेख्छिन्) तर उनी रिसाइन् भने- उनी रिसाउँदा घरभित्र यौटा आँधी पस्छ झयाल-ढोका, थाल र रिकापीहरू मस्तिष्क चर्कने गरी बज्छन् । सारीको सप्को उनको पटुकीभित्र खाँदिन्छ चुल्ठो फुक्छ असरल्ल तूफान उठ्ताको कालो बादलजस्तो । (घरको आँधी) ला ..... । उनी रिसाएको यस्तो बेला अब कतिञ्जेल रहला ? घर अब के होला ? मन त्यसै डराइरहेकोमा - तर एकैछिन हो, आँधी घर हल्लाएर गैसकेको हुन्छ हेर्नू, अझै उनको अधरबाट जून खसेको हुँदैन । (घरको आँधी) ए ..... । तर त्यो आँधी एकैछिनको हुँदो रहेछ । विस्तारै उनी फेरि जीवनको रङ्गले कविता लेख्न थाल्दिरहिछन् । घरभित्रको जीवनलाई कविले यी दुइवटा कविताबाट दुइ अवस्थाको चित्रण गरेका छन् । घरभित्र पत्नीको महत्व, हैसियत र स्थानको सुन्दर मीमांसा भएको छ यहाँ । तिनको सामान्यताको जीवन जो घरको प्राण हो, तिनको असन्तुष्टि र विद्रोह घरको एउटा भयङ्कर आँधी । आमाहरूको महत्वलाई हेरिएको यस कविताले नारीको जीवन पुरुषसँग कसरी अविभाज्य रहेछ चिनाउन खोज्दछ । पत्नीबाट केटाकेटीतिर सर्छन् उनी - लुकामारी खेल्दाखेल्दै केटाकेटीहरू मेरो बस्तीमा बाक्लै लाग्ने हुस्सुमा गएर हराउँछन् बताससँगै कहाँकहाँ कुदेर आउँछन् घरी पानीसँगै रुझेर आउँछन् घरी यी मसिना साँढेहरू चोटै लाग्ने गरी कतै जुधेर आउँछन् । लाग्छ- मकैबारीबाट बट्टाई लखेटेझैं लखेटूँ सैतानहरूलाई र ढुक्क बसूँ ! तर बालक बिनाको घर धुन रित्तिएको सारङ्गी बन्छ तारा नभएको रातको आकाश बन्छ म के गरुँ - (केटाकेटीहरू) बालकहरूको चकचके जीवनलाई सरल र मिहिन पाराले हेरेका तिनले तर यो केटाकेटीपनलाई राष्ट्रको बेथितिसँग पनि जोडी व्यङ्ग्य गरेका छन् - केटाकेटीहरू त चकचके नै राम्रा ! केटाकेटीलाई जत्तिको कसैलाई सुहाउँदैन बदमासी, होहल्ला, झूट र केटाकेटीपन । तर केटाकेटीहरूबाहेक यो देशका अरू मान्छेहरूले चाहिँ अलिक गम्भीर भैदिएकै सुहाउँथ्यो कि - (केटाकेटीहरू ) यो देशका ठूला मान्छेहरू केटाकेटीभन्दा पनि गैर-जिम्मेवार भएका र राष्ट्रमाथि धेरै नै बदमासी, होहल्ला, झुठ र केटाकेटीपना गरेका माथि चित्त दुखाएका छन् । कवि कवितामैं यति राम्ररी कुराहरू भन्न सक्छन् कि तिनलाई लामै व्याख्या गर्दा पनि नपुगेको भान हुन्छ । पुर्खाले कमाएर छोडिदिएको पैतृक सम्पत्तिले परितृप्त भई बसिरहेको अल्छी सन्तानका रूपमा नेपाली राष्ट्रिय जीवनलाई देखेका छन् कविले । यथार्थमा अवस्था यस्तै छ आजको हाम्रो । हामीलाई पुर्खाले छँदै नभएको देश बनाइदिएका थिए तर त्यसलाई सिङ्गारपेटार समेत गर्न नसकी त्यत्तिकै बसिरहेका हामीलाई कवि भन्छन् - म पुर्खाले छाएको छानोले वर्षात् रोक्छु पुर्खाहरूले उभ्याएको आँगनले आँधी छेक्छु मसित मैले नबनाएको यौटा सुन्दर घर छ मैले नकमाएको ऐश्वर्य छ । (पुर्खाहरूप्रति) देशको वर्तमान स्थितिलाई कति सरल पाराले तर डरलाग्दोसँग देखेका छन् तिनले तिनी भन्छन्- खुसीको कुरा यो रात पनि सरकारले कर्फ्यूको आदेश जारी गरेन । (कर्फ्यू नलागेको रात) प्रत्येक रात कर्फ्यू भोगिरहन बाध्य भएको हाम्रो जीवन कुनै रात कर्फ्यू नलाग्दा कति खुसी हुन थालेको छ । देश आफ्नो भएर पनि अब नागरिकहरू देशका हुनसकेका छैनन् । एक ठाउँबाट अर्को ठाउँमा जान प्रतिबन्ध छ । आतङ्कको अज्ञात भयले मानिसहरू आफ्नै घरभित्र स्वकैद जीवन भोगिरहेको आजको वर्तमानलाई भन्न यत्ति तीन हरफ अभिव्यक्तिनै पूर्ण देखिन्छ । त्यसमा अर्को कविताले थप्छ केही कुरा यसरी - यो बेला जीवन बोधले ओतप्रोत उत्साहित मान्छेहरूको लहर सम्भव छैन र, तानाशाह प्रसन्न छ आज जुलुस निक्लने सम्भावना छैन । (शीतलहर) यी दुइ कविताले भिन्दाभिन्दै पृष्ठबाट एउटै कुरा भन्दै छन् अलगअलग शीर्षकमा कर्फ्यू आदेश जारी नहुनुमा जुलुस निक्लने सम्भावना नहुनुरहेछ । प्रत्येक जुलुस कर्फ्यूको उत्पादक बन्दो रहेछ अचेल । अचेल यहाँ स्वतन्त्रताको र मानवीय मूल्यको अनायासै ह्रास भएको बेला हो । उनी वर्तमान नेपाली राजनैतिक जीवनमाथि व्यङ्ग्य प्रहार गर्दै भन्छन् - - धरतीमा साँझ ओर्लेको समय मेरो देशको सबभन्दा शालीन र सुन्दर समय हो । (साँझ) अर्थात्, प्रजातन्त्रका सबै अधिकारहरू निलम्वित जस्तो भएको भावनात्मक रूपमा अन्धकारबोध हुने यो समय तर कसैलाई त सबैभन्दा शालीन र सुन्दर नै लागेको छ । त्यसैमा प्रफुल्ल र सन्तुष्ट पनि छन् । तानाशाहीभित्र पनि प्रजातन्त्र हुन्छ, त्यसलाई स्वीकार गरेपछि । तानाशाहीलाई स्वीकार गर्नेहरूलाई कहाँ छ जेल, नेल र हत्कडी, कहाँ छ रोकटोक, कहाँ छ स्थानहद - संसारमै प्रजातन्त्र भनेको आफ्नो तन्त्रप्रतिको समर्थकलाई उपलब्ध हुने अधिकार त हो नि । तर प्रजातन्त्र प्रतिको उनको विश्वास यति अटल देखिन्छ, उनी लेख्छन्- बगून समयका यी बगरमा केही उत्ताल भेलहरू केही त बगोस् पनि पग्लेर ज्यादै भो जमेको यो आँसुको हिमाल लागोस् केही चोट यो लाटोपन उँगिबसेको पनि धेरै भो । भरिएनन् दुखद् कहानीले इतिहासका केही पृष्ठहरू यति अप्ठेरो कुदेर नथाक्ला समय केही त्रासद् अनुच्छेदहरू लेखिएर इतिहासको बिट नमारिएला । नयाँ पृष्ठहरूमा फेरि मान्छेका अनगिन्ती सुखद् कथाहरू पढ्न पाइने तिर्खामा म एक दुइ घुड्को अमिलो पानी प्यूँन तयार छु । (उज्यालाको गीत) कुनै दिन उज्यालो आउलाको प्रतीक्षामा वर्तमान अँध्यारोलाई स्वीकार गर्दै बाँचिरहेको एक प्रतीक्षित मन यहाँ उभिएको छ । निराशा, कुण्ठा र हीनताले ग्रस्त नभई, आशाजनक जीवन बोकेको छ कविले आफ्नो मनमा । प्रत्येक कविताले छुट्टाछुट्टै व्याख्या माग्छन् । लामो-लामो व्याख्याका पृष्ठहरू मागिबसेका मनुका कवितालाई म हृदयदेखि नै स्वागत गर्छु पचासको दशकको मध्यतिर देखि साठीको प्रवेश वर्षसम्म लेखिएका कविताहरू समाहित मन्जिलको कवितासंग्रह २०६२ भदौ ३१, विराटनगर वाणी प्रकाशनबाट प्रकाशित भएको हो । यस संग्रहभित्रका कविताले (२०५६-०६१) ६ वर्षको कविको र देशको मनस्थितिको चित्रण गरेका छन् । तर कविताले समसामयिकताको घेरोलाई यसरी नाघेका छन् कि यिनलाई जहिले र जुन युगमा पनि रमाउँदै आफ्नो जीवन पढ्न सक्नेछ भविष्यले । नकारात्मक सोच नभएका, अनियन्त्रित विद्रोह नबोकेका, हीनता, पलायनता र निराशा वर्जित रहेका, जीवनसँग ज्यादै घनिष्ठ सम्बन्ध राख्ने यी कविता जति पढ्यो त्यति मीठो र रमाइलो हुन्छ यहाँ । विषयलाई हेर्ने मनुको कोल्टे आँखै रमाइलो । 'दुस्मन' शीर्षकको कवितामा उनले देखेको दुस्मन कति प्यारोप्यारो - दुस्मन नहुनु भनेको त आफूतिर हरदम फर्किरहने जीवनको यौटा रमाइलो पाटै नहुनु हो रहेछ म त्यो पाटोलाई फूलजत्तिकै मन पराउँछु । (दुस्मन) ओ ! दार्शनिक कवि ! बधाई छ । जीवनलाई हेर्ने यो दृष्टिचेतको स्वागत गर्दछु । नेपाली कवितामा एउटा थप भो यो इँटा माथि चढ्न प्रेरित गर्ने लिस्नो बनोस् उठौं तिम्रै कविताहरू पनि टेक्दै माथि-माथि जीवनमा । अस्तु
Read Full Discussion Thread for this article