Posted by: deshbhaktanepali July 11, 2007
Sad Reality of Nepal
Login in to Rate this Post:     0       ?        
हुँदै नभएका राजदूतका नाममा करोडौं स्वाहा लेखनाथ अधिकारी, (काठमाडौं)। हुँदै नभएका राजदूतका नाममा करोडौं स्वाहा भइरहेको सुन्दा आर्श्चर्य लाग्न सक्छ। तर सरकारले राजदूत नै नभएका विभिन्न राष्ट्रका राजधानी शहरमा भाडा तिरेर घर खाली राखेको पाइएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार झन्डै १४ महिनाअघिदेखि विभिन्न मुलुकमा राजदूत नभए पनि सरकारले राजदूत निवासका लागि रकम तिर्नुका साथै सँगै आउने पानी, बिजुली र टेलिफोनलगायतको न्यूनतम महसुलसमेत तिरिरहेको छ। राजदूत निवासका लागि दक्षिण एसियामा १ हजार ५ सयदेखि २ हजार अमेरिकी डलरसम्म र अन्य ठाउँमा ५ देखि ७ हजार डलरसम्म सरकारले मासिक भाडा तिरिरहेको छ। यसरी राजदूत नै नभए पनि निवासका लागि सरकारले भाडा तिरेका देशमा स्विजरल्यान्ड (जेनेभा), हङकङ, थाइल्यान्ड, पाकिस्तान, कतार, रूस, साउदी अरेबिया, म्यानमार, जापान र चीनस्थित राजदूत निवास रहेका छन्। तीमध्ये स्विजरल्यान्डबाट राजदूत फर्केको करिब ६ महिना भएको छ भने हङकङस्थित महावाणिज्यदूत खाली भएको करिब ३ वर्षपछि हालै केशव भट्टराईलाई सो पदमा नियुक्त गरिएको छ। बाँकी ठाउँबाट राजदूत फिर्ता गरिएको भने १४ महिना नाघिसकेको छ। राजदूत नभएका ठाउँमध्ये फ्रान्स, बेलायत, अमेरिकी, बंगलादेश र बेल्जियममा राजदूत निवास नेपालले नै किनिसके पनि घरको पानी, बिजुली, टेलिफोन लगायतको न्यूनतम महसुल सरकारले १४ महिनादेखि बेहोर्दै आएको छ। भारतमा भने दूतावासभित्रै राजदूत निवास भएकाले यो हिसाबले खासै घाटा भएको छैन। राजदूत निवास खाली हुँदाहुँदै पनि कार्यवाहक राजदूत भने छुट्टै निवास भाडामा लिएर बसेको पाइएको छ। किन त्यस्तो त ? राजदूत खाली भएका एउटा देशको राजधानीमा रहेका कार्यवाहक नेपाली राजदूतले नेपाल समाचारपत्रसँग भने- 'राजदूत जुनसुकै बेला नियुक्त भएर आउलान् भनेर राजदूत निवासमा नबसेको हुँ। आइहाले भने सामान सार्न साह्रै झन्झटिलो हुन्छ। त्यही भएर छुट्टै निवास खोजेको तर खाली घरको भाडा तिर्दा देशलाई भने घाटा भएको छ।' उता म्यानमारस्थित कार्यवाहक राजदूत दिलीपकुमार पौडेल एक जनाले भने राजदूत निवास नै प्रयोग गर्नुभएको पाइएको छ। परराष्ट्र मन्त्रालयका सम्बद्ध देश हेर्ने एक अधिकारीका अनुसार 'किन राजदूत निवासमा बसेको' भनेर सोध्दा उहाँले भन्नुभयो- 'राजदूत आए होटलमा बस्छन्, खाली घर छोड्न उपयुक्त नहुने ठानेँ' भन्ने जबाफ दिनुभएको थियो। राजदूत नै नभएका ठाउँमा एक वर्षन्दा बढी समयदेखि खाली घरको भाडा तिरिएको सन्दर्भमा राखिएको जिज्ञासामा परराष्ट्र मन्त्रालयका केही आधिकारिक व्यक्तिले यो विषय अत्यन्त संवेदनशील भएकाले नाम उल्लेख गरेर विवादमा नतानिदिन आग्रह गर्दै भने- 'सरकारले छिट्टै राजदूत नियुक्त नगर्दा यी सबै स्थिति उत्पन्न भएका हुन्। सक्दो चाँडो राजदूत नियुक्त नगरिएकै कारण यति जाबो काम पनि गर्न नसक्ने मुलुकका रूपमा हाम्रो छवि विश्वसमक्ष प्रकट हुन थालेको छ।' आफ्नै राजदूत निवास भएका ठाउँ १. बंगलादेश २. बेल्जियम ३. फ्रान्स ४. जर्मनी ५. भारत ६. बेलायत ७. अमेरिका ८. न्युयोर्क ९. कोलकाता भाडाका निवास १. चीन २. इजिप्ट ३. जापान ४. मलेसिया ५. म्यानमार ६. पाकिस्तान ७. कतार ८. साउदी अरेबिया ९. श्रीलंका १०. थाइल्यान्ड ११. स्विजरल्यान्ड १२. हङकङ १३. ल्हासा १४. यूएई १५. डेनमार्क १६. अस्ट्रेलिया १७. दक्षिण कोरिया १८. रसिया १९. इजरायल (खुल्न लागेको)
Read Full Discussion Thread for this article