Posted by: kya_naam_disturb June 12, 2007
जात र धर्मका आधारमा संघीय शासन ??
Login in to Rate this Post:     0       ?        
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=112450 अिाँधी आउँदैछ, कमरेड ! लोकतन्त्रका नाउँमा, नयाँ नेपाल निर्माण गर्ने निहुँमा, राज्य पुनसर्ंरचना गर्ने मनोग्रन्थीका आडमा जसले जे गर्न पनि हुन्छ भने विश्वले विकास गरेका सारा अन्वेषण, उन्नति, प्रगति, सोच, ज्ञान र खोज ध्वंस गरौं । विज्ञानका पाठ्यपुस्तक किन चाहियो ? ठाउँ-ठाउँमा कुरान, मुन्धुम, बाइबल, मनुस्मृतिका स्लोक र संस्कृति रटाउने पाठशाला र पाकशाला खोलौं । हाम्रा बाजेसँगै हाम्री बजै सती गएकी थिइन्, हामी त्यही बाटो लागौं । संसारमा अहिलेसम्म विज्ञानले यस्तो प्रयोगशाला विकास गरेको पाइँदैन जसले मान्छेको धर्म, जात, थर छुट्याओस् । बाहुनको जिब्रो र पेट बेग्लै हुँदैन, राउटेको पनि त्यस्तै हुन्छ । मान्छे धनी-गरिब होला, कालो-सेतो होला, गिदी-रगत र उसको जनेन्द्रीय उस्तै हुन्छन् । आकृति उही, बनोट उही, रगत उही । त्यसैगरी विज्ञानका पाठ्यपुस्तकमा कोही जन्मजात बाहुन हुँदैन, नेवार हुँदैन, दमै-कामी-सार्की हुँदैन । भूगोल फरक होला, मान्छे त्यही हो । अवसर पाए जो-कोही माथि पुग्छ । हामीलाई बाहुन हुन शास्त्रले सिकाएका छन् । गुरुङ हुन हाम्रा शासकले अह्राएका छन् । हामीलाई नेवार हुन हाम्रा संस्कारले खटाएका छन् । हामी सबै रोजेर दलित भएका होइनौं । यसको अर्थ रातको प्रहर निद्रा बिथोल्न बाहुनले शंख फुक्यो भने छिमेकको क्षेत्रीले बन्दुक पड्काउनु कहाँसम्म उचित हो ? बाहुनले छिमेकीको निद्रा बिथोल्न शंख फुक्न मिल्छ भने मैले ढ्याङ्ग्रो ठोक्न किन मिल्दैन, म यो प्रहर नरसिंहा फुक्छु, मादल ठोक्छु, अहिले भैरव नाच निकाल्छु भन्ने हो भने यो मुलुकको लोकतन्त्र कहाँ पुग्ला ? देश कहाँ पुग्ला ? हामी भोलि कहाँ जाने ? लोकतन्त्रका नाममा अस्टे्रलियामा होटल खरिद गर्ने नेताका छोराछोरी उतै बस्लान्, हामी भोलि कहाँ बस्ने ? अझ अचम्म कहाँ छ भने आफूलाई विज्ञानका आडमा उभ्याउने कम्युनिस्ट भनाउँदाले जातीय सवाल उठाइदिएका छन्, धार्मिक र प्रत्युत्पादक हिसाबले संघीय सवाल उठाइदिएका छन् । जात र धर्मका आधारमा यो एक्काइसौं शताब्दीमा संघ निर्माण कहीँ पनि हुँदैन । मधेसमा आगो सल्केको छ । कसले सल्कायो ? पहाड क्रमशः रित्तिँदैछ, भोलि कोमाथि शासन गर्ने हो ? बरु मधेस, पहाड, हिमाल, जहाँतहीँ हामी मुलुकलाई प्रतिगमनतिर धकेल्ने थरीथरीका नरहरिनाथ जन्माइरहेछौं । उनीहरू २ हजार २५ सय वर्षपहिलेका राजा-महाराजाका गाथा वर्णन गर्छन्, जातीय महिमा गाउँछन् । मान्छेलाई एउटा सिँगो मान्छे भएर होइन, जात र धर्ममा गर्व गर्न सिकाउँछन् । मुलुकमा नेतृत्व सवल भएन, नेतृत्वमा मुलुक हाँक्ने भिजन, योजना र उन्नत सोच भएन भने पण्डित दीनबन्धु र कमलनयनका हातमा लोकतन्त्रको साँचो पुग्नेछ । र, उनीहरूले विज्ञानको खिल्ली उडाउनेछन् । मुलुकभरि जातीय हिंसा, धार्मिक र क्षेत्रीय बिखण्डन बढ्दै गएर यो मुलुकमा लुकेर बसेका हुतु र तुत्शीहरूले थपडी बजाउँछन् । कहीँ नभएको जात्रा हाडीगाउँमा भनेझैं संसारमा कही नभएको जातीय र धार्मिक संरचनालाई राज्यको पुनसर्ंरचनासँग जोडेर विकसित विज्ञानलाई चुनौती दिने संस्कार ब्राह्मणवादी पुरानो मनोग्रन्थीबाहेक अरू के हो ? जातीय संरचनाका आधारमा निश्चित जातिलाई सत्तामा पुर्‍याउँदा सरकार सुदृढ बन्थ्यो भने राणाहरू काटाकाट गर्दैनथे, राजा वीरेन्द्रको वंश विनाश हुँदैनथ्यो । दलित मन्त्री हँुदैमा दलित उत्थान हुँदैन । दलित उत्थान भिजनले गर्छ । गैरदलितै किन नहोस् उसको मिसनले गर्छ । गैरदलितले झुन्ड्याइदिएको थर थाप्लोमा चढाएर मन्त्री पड्काउने र हलो अड्काएर गोरु चुट्ने भिजन तथा मिसन नभएका यस्ता मन्त्री पञ्चायतकालमा पनि हुन्थे । आरक्षण र संरक्षणको कालो खोलभित्र आफ्ना नामका पछिल्तिर दलित थर झुन्ड्याउने होड चलाएर राज्यले तमाम दलितलाई मगन्ते बनाइदिएको छ । एउटा जहानिया शासन ढालेर अर्को जहानिया शासन पुनस्र्थापित गर्नु राज्यको पुनर्संरचनाभित्र पर्छ कमरेड ? तमुवान, लिम्बुवान, आदिवासी, जनजाति, चुरे-भावर-मधेस, तराई-पहाडका नारा उछालेर हामी आफैंप्रति कसरी न्याय गर्न सक्छौं ? नेपाली भएकामा गर्व गर्नु, ज्यूँदो मान्छे भएर बाँच्नु परोस् भनेर गर्व गर्नु, असल मान्छे भएकामा गर्व गर्नु अर्को कुरा हो, तर बाहुनले न्वारान गरिदिएकाले चोखिएँ, महाराजले लिम्बू बनाइदिएकाले धन्य भएँ भन्नु कुन शताब्दीको संस्कार हो ? रहरले दमाईं को हुन चाहन्छ ? रोजेर गुरुङ को भएको छ ? चाहेर हुम्ला र मुगुमा को जन्मन्छ ? यही बाध्यतालाई संस्कृति र धर्मको आवरण दिएर हिजोका राजा-महाराजाले राजनीति गर्थे र ब्राह्मणले गुजारा चलाउँथे । ती दिन गए । अब मधेस र पहाडको कुरा होइन, चन्द्रमा र मंगलमा बसाइ सर्ने दिनले ठाउँ लिएका छन् । 'वसुधैव कुटुम्बकम्' जस्तो विशाल हृदयले ठाउँ नपुग्ने भयो । अमेरिकी आफूले नपुगेर दुनियाँदेखि मान्छे आफ्नो मुलुकमा ओसार्दैछन् । हामी यो संसारभन्दा लाखौं गुना साना छौं । टोलैपिच्छे अब कविला र त्यसमा सरदार राख्ने ? त्यतिमात्र होइन, हाम्रो सोच सानो छ, विचार साँघुरो छ, संस्कार लाजलाग्दो छ, हामी बुद्धु भएकैले वीर बनेका हौं । असल मान्छे हुनुमा पो गर्व गर्नु । ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र हुनुमा के गर्व गर्नु ? मधिसे, पहाडे बनेर के युद्ध गर्नु, आफूमा सदीयौं छाएको अज्ञानता, संकीर्णता र अपसंस्कृतिका विरुद्ध पो युद्ध गर्नु । मान्छेलाई विखण्डन गर्ने संस्कृति के संस्कृति ! संस्कृतिका आडमा परिस्थिति सिर्जना गर्ने होइन । अनुचित संस्कृति ध्वंस गर्ने परिस्थिति सिर्जना नभए मुलुक खरानी हुनेछ । अतः कथित धर्म, जात र थर जनाउने यो देशको नागरिकताको के अर्थ छ ? कमसेकम भावी पिँढीले यो दासताबाट कति वर्षपछि कहिले मुक्ति पाउने हुन् ? यसो गर्न तपाइँहरूले निर्माण गरेको अन्तरिम संविधानले अनुमति दिन्छ दिँदैन ? कमरेड, समुद्रमा आँधी बाजा बजाएर आउँदैन । शान्ति, सद्भाव, सहिष्णुता र समन्वय बिथोलेर यो भयावह आँधी निम्त्याउनुमा तपाइँहरूको हिस्सा कति छ कृपया इमान्दारीपूर्वक संसद्मा छलफल चलाइदिनु हुन कमरेड प्रचण्डलाई म निवेदन गर्छु । - सरुविन्द उर्फ गोविन्द भण्डारी, क्षेत्रीय निर्देशक, पश्चिमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालय, पोखरा
Read Full Discussion Thread for this article