Posted by: palpaliraper May 29, 2007
What you do think about bhutanse refugees
Login in to Rate this Post:     0       ?        
भुटानको त के कुरा गर्नु, त्यहाँ निरंकुश राजतन्त्र कायमै छ। तर भारत जस्तो आफूलाई विश्वकै सबैभन्दा ठूलो प्रजातन्त्र भनाउन चाहने देशलाई चाहिँ के भएको ? प्रसंग भुटानी शरणार्थीको। भुटानी शरणार्थीको खबर विगत केही दिनदेखि लगातार चर्चामा आइरहेको छ- विशेष गरी नेपाली सञ्चारमाध्यममा। विदेशी सञ्चारमाध्यमको त कुरै छाडिदिउँ, भारतको सञ्चारमाध्यममा समेत यो समाचारले समाचार बन्न पाएको छैन। यी भुटानी शरणार्थी अहिले चारैतिरको मारमा परेका छन्। बेलडाँगी शिविरमा अस्ति एउटा शरणार्थी नेताले तेस्रो मुलुकमा जानुको विकल्प छैन भनेर के भनेछन्, शरणार्थी युवाले चुटेछन्। उनलाई बचाउन गएको नेपाली प्रहरी र शरणार्थीबीच भिडन्त हुँदा हिजोसम्ममा दुई जना शरणार्थीको मृत्यु भइसकेको छ। अनिश्चितकालीन कर्फ्यु लगाउनु परेको छ। भुटानी शरणार्थीहरु हिजैदेखि स्वेच्छिक स्वदेश फिर्तीका लागि लङ मार्च अभियानमा लागेका छन्। तर भारतीय प्रहरीहरुले भने मेची पुलदेखि नै अवरोध खडा गरेर उनीहरुलाई रोकिरहेको छ। भारतको यो कस्तो दोहोरो नीति ? भुटान र नेपालबीच सोझो सम्पर्क छैन। यी शरणार्थीलाई भारतकै बाटो भएर नेपाल ल्याइएको/आएका थिए। अझ कतिपय शरणार्थीलाई त भारतीय प्रहरीले ट्रकमा राखेर नेपाली सीमामा ल्याएर छाडिदिएका थिए। अब उनीहरु आफ्नो देश फर्कन्छु भन्दा त्यही भारतीय प्रहरीले रोक्ने ? कहाँको नियम हो यो ? घर जान्छु भन्नेहरुलाई जान नदिने तर नेपालतिर भने जति पनि आउन दिने- - कस्तो वन वे डेमोक्रेसी हो यो ? हिजो पहिलो दिन भारतीय प्रहरीले लाठी चार्ज गरेको थियो, आज त गोली समेत चलाएछ। यस क्रममा एक शरणार्थीको मृत्यु भएको खबर छ। आज शरणार्थीहरुले जिरो प्वाइन्टमा राखिएको फलामे अवरोध पार गर्दै भारतीय भूमिसम्म पुगेका थिए। भारतीय प्रहरीको गोली, अश्रुग्यास र लाठी प्रहारबाट कम्तीमा ५ जना शरणार्थी सिकिस्त घाइते भएका छन्। भारतीय प्रशासनले आज सीमा क्षेत्रमा कर्फ्यु समेत लगाएको थियो। शरणार्थीहरुले अब आफ्नो देश फर्कन पाउने अधिकारको लागि संघर्ष गरेकै राम्रो। भारतीय प्रहरीबाट हुने दमनलाई अन्तर्राष्ट्रियकरण गर्दै विश्व जनमतलाई आफ्नो पक्षमा पार्नुपर्छ। निरीह नेपाल सरकारले केही गर्न सक्दैन भन्ने कुरा त झण्डै २० वर्षको यो अवधिमा प्रष्ट नै भइसक्यो। नेपाल सरकारको नालायक कूटनीतिको एउटा नमूना हो भुटानी शरणार्थी समस्या। अनि भारतको हेपाहा नीतिको पनि एउटा उत्कृष्ट नमूना हो यो समस्या। भारतले सँधै यो समस्यालाई नेपाल र भुटानको आन्तरिक समस्या भन्दै पन्छँदै आएको छ। तर शरणार्थीलाई नेपालतिर आउन दिने अनि नेपालबाट भने भुटानतिर जान नदिने विश्व मै कहीँ नभएको नियम लागू गरेको छ त्यही भारतले। भारतको समर्थन र हस्तक्षेप बिना यो समस्या समाधान हुँदैन भनेर प्रष्ट छ। तर यही बेला अमेरिका लगायतका मुलुकहरुले तेस्रो मुलुकमा शरणार्थीहरुलाई पुनर्स्थापन गर्ने प्रस्ताव ल्याएर शरणार्थीहरु बीच आपसमै फुट ल्याइदिएको छ। नेपालका लागि त उनीहरु तेस्रो मुलुकमा जाउन् कि आफ्नै मुलुकमा, खासै फरक पर्दैन। तर शरणार्थीहरुबीच आपसी फुट आयो भने चाहिँ मार भोग्नुपर्ने नेपालले नै हो। यसैको नमूना अस्ति बेलडाँगी शिविर वरपर देखिहालियो तनाव।
Read Full Discussion Thread for this article