Posted by: Jawala May 14, 2007
Pradeep Giri's Article - May 14th
Login in to Rate this Post:     0       ?        
- http://www.kantipuronline.com/kolnepalinews.php?&nid=109512 माओवादको सैद्धान्तिक आधार प्रदीप गिरी विचारको इतिहासमा अंग्रेजीमा आइडियोलोजी वा नेपालीमा वाद भनिने चिन्तन-धाराको चिनारीबारे ठूलो छलफल भएको छ । वाद वा आइडियोलोजीले एउटा साङ्गोपाङ्ग जीवनदृष्टिलाई सूचित गर्छ । एउटा खास किसिमको सामाजिक प्रणालीमा एउटा वाद अन्तर्गत थुप्रा विचारधारा प्रतिबद्ध रहन सक्छन् । एउटा वाद र आइडियोलोजीमा विभिन्न दृष्टिकोण गाभिएको हुनसक्छ । उदाहरणका लागि पुँजीवाद पनि लिन सकिन्छ । पुँजीवादको 'वादत्व' सर्वत्र एउटै छ । सबै थरीका पुँजीवादले केही मूलभूत मान्यता स्वीकार र संरक्षण गर्छ । पुँजीवादीको त्यस्तो वादत्व पहिचान निम्ति हामी निजी सम्पत्तिको पवित्रता, बजारको सम्प्रभुता, ब्याज र नाफाको अग्राधिकार आदि तत्त्व औंल्याउन सक्छौं । पुँजीवादको उपरोक्त दायराभित्र फेरि अनेकौं थरीका मतान्तर अटाउन सक्छन् । यस्ता मत विशेषलाई सिद्धान्त भन्न सकिन्छ । यस्ता मतलाई वाद भन्न सकिँदैन । कुनै विचारधाराले वादको संज्ञा प्राप्त गर्न त्यसले दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रमा सर्वथा मौलिक र नवीन युगबोध -?) प्रतिष्ठा गरेको हुनु पर्नेछ । माओत्सेतुङले यस्तै गरे भन्ने माओवादीको दाबा छ । अर्कोतिर माओत्सेतुङको योगदानलाई सिद्धान्तका विचारमात्र भन्न सकिन्छ, वाद भन्न सकिँदैन भन्ने तर्क छ । नेकपा -माओवादी) का सिद्धान्तकारहरू यथा मोहन वैद्य, डा. बाबुराम भट्टराईले 'माओवाद' का पक्षमा अनेकन लेख लेखेका छन् । उता कमरेड मोहनविक्रम, कमरेड प्रकाश र डा महेश मास्के समेतले माओका शिक्षाका निम्ति विचारको संज्ञा उपयुक्त हुन्छ भनेर जिकिर गरेका छन् । चिन्तनको इतिहासमा रुचि नभएका व्यक्तिलाई उक्त बहस पट्यारलाग्दो र दुर्बोध्य पनि लाग्न सक्छ । तर वास्तवमा यो बहस विश्वको क्रान्तिकरण गर्ने क्रममा बडो सारगर्भित र शिक्षाप्रद छ । दुर्भाग्यवश, यताका वर्षमा हाम्रो राजनीतिबाट विचार लखेटिँदै छ । होइन भने बहस पुनरावलोकनमात्रले सामयिक नेपाली राजनीतिको अनेकौं अँध्यारो कुना आलोकित गर्नेछ । माओवादी यस समय नेपाली राजनीतिको एक महत्त्वपूर्ण घटक भइसकेको छ । त्यस पार्टीको सोचाइ र संस्कार बुझ्न आज यसका विरोधीका निम्ति पनि आवश्यक छ । यसैले माओवादीका दार्शनिक-राजनीतिक प्रस्थापना हामीले बुझ्नै पर्छ । माओवादीको माओवादमात्र नेपालभित्र उत्पन्न भएको तथा झाङ्गएिको आयाम होइन । खासमा माओवादीको एउटा अन्तर्राष्ट्रिय संगठनै छ । अहिले प्रचण्ड, मोहनविक्रम र कमरेड प्रकाशद्वारा नेतृत्व गरिएका कम्युनिस्ट घटकहरू स्थापनाकालदेखि विभिन्न रूपमा त्यस आन्दोलनसँग सरोकार राख्थे । यी पार्टीका दस्तावेजमा त्यस्ता सरोकारको इतिहास पढ्न सकिन्छ । अत्यन्त जटिल प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिमा आजको माओवादको जन्म र विकास भएको हो । सोभियत रूसको विघटन भइसकेको थियो । माओत्सेतुङको देहान्तपछि चीन पुँजीवादको बाटोमा ढुक्क लम्केको थियो । त्यस्तो बेला पनि हरेस नखाई नेकपा -माओवादी) अगाडि बढेको डफ्फा हो । यसैले हामीले अर्थोक जे गरे पनि माओवादीका सैद्धान्तिक र राजनीतिक समझलाई हलुका रूपमा लिनु हुँदैन । नेपालका हकमा जंगल र भूमिगत जीवनको अँध्यारोबाट उनीहरू सहरको झििलमिलीमा हठात् प्रवेश गरेका छन् । यसले उनीहरूको आँखा तिरमिराएका छन् । यसैले उनीहरू अलमलिएकासमेत छन् । तर यस्तो अलमल-तिरिमिरीका बाबजुद उनीहरूको खोज, संघर्ष र राजनीतिक समझलाई अवमूल्यन गरिन हुँदैन । यसको अर्थ उनीहरूको राजनीतिक समझदारी पूरै ठीक छ भन्ने होइन । त्यो छैन । अझ यी पंक्तिका लेखकका नजरमा त्यस्तो हुँदै-होइन । माओवादीको सोचाइ, संस्कार र विचारधारामा थुप्रा कमी-कमजोरी छन् । त्यसको संशोधन, परिष्कार र विकासको खाँचो छ । तर सात राजनीतिक दलका नेताले माओवादीको राजनीति र विचारधारा बुझ्न लापरबाही गर्नु एक प्रकारको आत्मघात हो । प|mेडरिक एवर्ट र अलेकजेन्डर करेन्सिकीको बाटोमा हिँड्न खोज्नु हो । यसो भयो भने इतिहासले यस्तो प्रवृत्ति र आजको नेतृत्वलाई क्षमा गर्ने छैन । कार्लमाक्र्सको जीवनको एउटा चर्चित प्रसंग छ । कुनै प्रशंसकले उनलाई 'माक्र्सवाद' का विषयमा जिज्ञासा गरे । माक्र्सले आत्तिएझैं गरेर त्यसको जानकारी नभएको बताएछन् । अझ उनकै शब्दमा भन्दा, अरूको जान्दिन, म भने पक्कै 'माक्र्सवादी' होइन है भने । कार्लमाक्र्सको व्यक्तित्व अनुरूपकै थियो, यो प्रतिवाद । कार्लमाक्र्सले आफ्नो विचार एउटा मतवादका रूपमा बढोस् भन्ने खोजेका थिएनन् । यसैले गर्दा माक्र्सको आफ्नो विचार-प्रणालीमा एक प्रकारको खुल्लापन छ । माक्र्स केही निश्चित आदर्शका निम्ति आजीवन संघर्षरत रहे । धेरै दुःख खेपे । आफ्ना विचारको विशेषता र महत्त्वबारे उनी विश्वस्तसमेत थिए । तर आफ्ना विचारलाई अलौकिक उपलब्धि भन्ने पक्षमा उनी थिएनन् । उनले आफ्ना निष्कर्षलाई अन्तिम, अकाट्य र निरपेक्ष कहिल्यै भनेनन् । उनी आफ्ना सिद्धान्तलाई 'धर्मसूत्र' का रूपमा सरलतापूर्वक व्यक्त गर्न सकिन्छ भन्ने सोच्दैनथे । उनको अध्ययन र लेखन शोधपरक, वैज्ञानिक र अन्तरिम किसिमको थियो । प्रारम्भमा कार्लमाक्र्स दर्शनशास्त्रका विद्यार्थी थिए । उनका प्रारम्भिक रचना दर्शनमा केन्दि्रत छन् । उनी हेगेल र फायरवाखबाट विशेष प्रभावित थिए । उनले फायरवाखबारे गरेका टिप्पणी बडा महत्त्वपूर्ण छन् । टिप्पणीमा उनले आजसम्मको दर्शनशास्त्रको भूमिका उल्लेख गरेका छन् । आजसम्म दार्शनिकहरूले दुनियाँलाई विभिन्न किसिमले अथ्र्याएका छन् । अब दुनियाँ बदल्नुपरेको छ । हाम्रो युगको वास्तविक कार्यभार दुनियाँ बदल्नु हो भन्ने उनको स्पष्ट र निश्चयात्मक अभिव्यक्ति छ । कार्लमाक्र्सको यो अभिव्यक्ति उनको सिङ्गो विचार-प्रणालीको आत्मा हो । दुनियाँ बदल्ने अठोटले उनलाई क्रमशः राजनीति र अर्थशास्त्रतर्फ डोर्‍यायो । जीवनका उत्तरार्द्धमा उनी पूर्णतः अर्थशास्त्रमा केन्दि्रत भए । उनले 'पुँजी' भन्ने महान ग्रन्थ सिर्जना गरे । कार्लमाक्र्सका परवर्ती विचारकहरू विशेष गरेर एडम स्मिथ, डेविड रिकार्डोले तत्कालीन पुँजीवादको चरित्र अध्ययन र व्याख्या गरेका थिए । कार्लमाक्र्स उनीहरूका प्रशंसक थिए । तर उनीहरूका निष्कर्षसँग माक्र्स सहमत थिएनन् । एडम स्मिथ र रिकार्डोले प्रतिपादित गरेको शास्त्रीय अर्थशास्त्रमा पुँजी, भूमि, श्रम र उद्यमलाई सन्तुलनमा राख्न सकिने र राख्नुपर्ने जिकिर छ । शास्त्रीय अर्थशास्त्रमा पुँजीले ब्याज, भूमिले तिरो, उद्यमले नाफा र श्रमिकले ज्याला पाउँछन् । थोरबहुत हानथाप हुन्छ, तर सन्तुलन अनिवार्य छ भन्ने उनको विश्वास थियो । शास्त्रीय पुँजीवादको यस्तो हिसाब-किताबले माक्र्सको चित्त बुझेन । यस्तो वितरणमा माक्र्सले असन्तुलन र अन्यायसमेत देखे । उनले श्रमलाई उत्पादनको वास्तविक एवं प्रमुख शक्तिका रूपमा रेखांकित गरे । यसैक्रममा उनले 'श्रमको अतिरिक्त मूल्यको सिद्धान्त' प्रतिपादन गरे । राजनीतिमा वर्ग-संघर्षको अनिवार्यताउपर जोड दिए । पछि गएर अर्थशास्त्र र राजनीतिमा चुर्लुम्म डुब्दा पनि माक्र्सको दार्शनिक रुचि र गति कायमै रह्यो । उनले दर्शनका विषयमा स्वतन्त्र कृति लेखेको भने भेटिँदैन । उनका अभिन्न सहकर्मी प|mेडरिक एंगेल्सले अवश्य लेखे । एंगेल्सका दार्शनिक रचनाहरूले माक्र्सवादको दर्शनशास्त्रको जग बसायो । प्रथम महायुद्धपछि युरोपमा प्रजातान्त्रिक समाजवाद भनेर चिनिने धाराले दर्शनशास्त्र अध्ययन र विकासमा विशेष रुचि राखेनन् । उल्टो कोही-कोही माक्र्सका दार्शनिक प्रणाली र विशेष गरेर हेगेलीय द्वन्द्ववादका आलोचकसमेत भए । रूसमा नवजीवन प्राप्त गर्ने क्रममा माक्र्सवादको दर्शनशास्त्र अध्ययन परिमार्जित भयो । प्लेखानोव, लेनिन र स्टालिनले दर्शनबारे स्वतन्त्र कृति लेखे । दर्शनशास्त्रको ज्ञान नहुँदासम्म माक्र्सवाद ठीक बुझ्न सकिँदैन भन्ने लेनिनको स्पष्ट दृढोक्ति थियो । १९१४ तिर लेनिनले द्वन्द्ववादको महत्त्वप्रति विशेष जोड दिए । द्वन्द्ववाद नबुझी माक्र्सवाद बुझन्िनसमेत भने । खासमा कार्लमाक्र्सका शिक्षालाई निश्चित सूत्रका रूपमा प्रस्तुत गर्ने काम पनि लेनिनले गरे । लेनिनले पहिलोपटक सरल भाषामा माक्र्सवादका तीन महत्त्वपूर्ण संघटक औंल्याए । जर्मनीको दर्शनशास्त्र, बेलायतको अर्थशास्त्र र प|mान्सको राजनीतिको वर्ग-संघर्षको निचोड माक्र्सवाद हो भन्ने लेनिनको तेरिज आज बहुप्रचारित छ । कार्लमाक्र्सको चिन्तन संसारमा यस्तो सरल सूत्रीकरण थिएन । रूसमा सोभियत क्रान्तिपछि लेनिनका रचना र शिक्षा माक्र्सवादको आधिकारिक र प्रमुख रूपमा संसारभरि फैलियो । स्टालिनले लेनिनको शिक्षा झन् सरल र सुगम शैलीमा प्रचार गरे । सोभियत रूसका प्रारम्भिक दशकहरू प्रेरक र प्रभावशील थिए । तदनुरूप त्यसैले दुनियाँभरि उनीहरूको शिक्षा लोकपि्रय माक्र्सवादको रूपमा प्रचारित एवं प्रसारित भयो । माओत्सेतुङले माक्र्सवादको प्रारम्भिक शिक्षा यसै परम्पराबाट प्राप्त गरेका थिए । तर माओत्सेतुङको विचार-प्रणालीलाई लेनिन वा स्टालिनको शिक्षाको चिनी भाष्य भन्न सकिँदैन । त्यसको आफ्नै मौलिकता छ । त्यसै मौलिकताबाट माओवाद जन्मेको हो । विश्वको कुनै पनि महान आन्दोलन र क्रान्ति पैंचो लिएको आदर्श र विचार-प्रणालीबाट सफल हुन सक्दैन । अधिकांश आन्दोलन र क्रान्तिका संगठक विचार पैंचो लिन दच्किँदैनन् । तर उनीहरू राजनीतिको लक्ष्यमा पुग्न त्यसैले गर्दा झन् कठिन हुन जान्छ । माओत्सेतुङअघिका चीनका तत्कालीन शासक र क्रान्तिकारी पनि विदेशी विचारधारा र निर्देशनबाट प्रत्यक्ष प्रभावित थिए । माओत्सेतुङले यस प्रवृत्तिको उपहास गरे । उनलाई चीनको इतिहास, पुराण, संस्कृति र भाषाप्रति तीव्र अनुराग र श्रद्धा थियो । माओत्सेतुङले आफ्ना राजनीतिक लेखन र संघर्षमा चीनको र्ऊजस्वी र सिर्जनशील परम्परा साँच्चै राम्रो उपयोग गरेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको विकास र सफलतानिम्ति माओत्सेतुङको व्यक्तित्व र शिक्षा बडो महत्त्वपूर्ण थियो । विश्वका इतिहास निर्मातामध्ये माओत्सेतुङको नाम सर्वदा आदरणीय रहनेछ । तर सबै इतिहास निर्माता महान विचारक हुँदैनन् । क्रमवेल, जर्ज वासिङटन, अब्राहम लिंकन, नेपोलियन वा मुस्तफा कमाल पासालाई विचारकको संज्ञा दिन सकिँदैन । उनीहरूले एउटा युगको नेतृत्व अवश्य गरे । कतिपय युग पुरुष विचारक पनि थिए । जनश्रुतिका अनुसार चाणक्य यस्तै विचारक र कर्मयोगी थिए । यही कुरो शंकराचार्य, मार्टिन लुथर, लेनिन, गान्धी, माओत्सेतुङबारे ढुक्कसाथ भन्न सकिन्छ । सिंगो संसार र मानवताको दृष्टिकोणले माओत्सेतुङको शिक्षा कत्तिको मूल्यवान र प्रासंगिक छ भन्ने बहस भने जारी छ । यो बहस टुङ्गनिे बेला पनि भएको छैन । प्रचण्ड वा प्रचण्डपथका अनुसार माओवादले दर्शनशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्रमा गुणात्मक फड्को मारेको छ । कुनै समय माक्र्स र लेनिनले यस्तै काम गरेका थिए । यसैले उनका विचारलाई कम्युनिस्टले विचारधारा नभनेर लेनिनवाद भनेका छन् । माओत्सेतुङले यस्तै युगान्तकारी योगदान दिएका छन् । माओत्सेतुङ शिक्षालाई माओ-विचारधारा भनेर हुँदैन । यसलाई माओवादै भन्नुपर्छ । वादको संज्ञा प्राप्त गर्न सबै संघटक तत्त्व माओत्सेतुङका शिक्षामा छन् । आजको युगको क्रान्तिको समस्या माओत्सेतुङको शिक्षाले मात्र राम्ररी फुकाउन र सुल्झाउन सक्छ । यसरी तर्क गर्दै माओवादीका सिद्धान्तकारले अनेकपटक यसै आशयका लेख र दस्तावेज अघि सारेका छन् । माओवादको सर्वाधिक प्रभावशाली पक्ष निश्चय उसको राजनीति हो । राजनीतिक विकासक्रममा माओवादले दर्शन, अर्थशास्त्र, सैन्यशास्त्रमा समेत महत्त्वपूर्ण योगदान दिएको छ । माक्र्सवादी परम्परा अनुरूपको दर्शनशास्त्रको नौलो भाष्य पनि लेख्ने प्रयत्न गरेका छन् । माओवादको राजनीतिको विकास सोभियत संघको विकासक्रमसँग प्रत्यक्ष रूपमा गाँसिएको छ । १९५६ पछि अर्थात् रूसी कम्युनिस्ट पार्टीको बाह्रौं महाधिवेशनपछि सोभियत रूसमा नाटकीय घटनाक्रम भए । ख्रुस्चोभले स्टालिनको खैरो खने । माओका विचारमा रूस संशोधनवाद, उपभोक्तावाद र नयाँ किसिमको साम्राज्यवादतर्फ अग्रसर भयो । माओका अनुसार निकिता ख्रुस्चोभले महान बोल्सेभिक क्रान्तिलाई धोखा दिए । १९५७ को महाधिवेशनलगत्तै यी सारा कुरा उठेका थिएनन् । तर स्टालिनको त्यस्तो भत्र्सना र उच्छेदन माओत्सेतुङलाई मनपरेको थिएन । ७० को दशकमा रूस र चीनको महाविवाद दुनियाँले जान्यो र देख्यो । कतिपय अध्येताले त्यो महाविवादका व्यावहारिक कारण पनि औंल्याएका छन् । सत्य होला तर सिद्धान्तको परीक्षा गर्दा हामी त्यता ध्यान पुर्‍याउन सक्दैनौं । सांस्कृतिक क्रान्ति अघि र पछि पनि माओवादको मुख्य प्रस्थान-विन्दु सोभियत युनियनको विचलनै थियो । महान लेनिन-स्टालिनको त्यो क्रान्तिकारी धर्ती कसरी पथभ्रष्ट भयो ? यही थियो माओत्सेतुङको मुख्य प्रश्न । मरणोपरान्त स्टालिनको अपमान र उच्छेदन देखेर माओत्सेतुङ कदाचित आफ्नो उत्तराधिकार एवं ऐतिहासिक भवितव्यप्रति चिन्तित भए । त्योमात्र कदापि थिएन, चीनको नवनिर्माण थियो । चीनको नवनिर्माणप्रति सोभियत सर्वथा विमुख भइसकेको थियो । सोभियत सहायताको अभावमा चीन विकासको बाटो के हुने कुरा बडो जटिल भएको थियो । सोभियत साम्यवादको उदाहरणप्रति माओत्सेतुङ धेरै अघिदेखि शंकालु थिए । अब शंकामात्र रहेन । उनी नयाँ मोडेल खोजी गर्नसमेत तम्सिए । माओले सोभियत रूसको विचलनको पृष्ठभूमिमा राजनीति, अर्थशास्त्र र दर्शनशास्त्रको सर्वथा नयाँ मूल्याङ्कन गरे । सोभियत राजनीतिले वर्ग-संघर्ष, राज्य, राज्य चरित्र, राज्य लोप हुने माक्र्सवादी मान्यतामा केही नौला विचार प्रतिपादन गरेको थियो । माक्र्सवादका अनुसार प्रत्येक राज्य वर्गीय हुन्छ । सोभियत शासकका अनुसार सोभियत रूसमा अब वर्ग-संघर्ष समाप्त थियो । त्यसैले वर्ग-संघर्ष पनि थिएन । सोभियत राज्य आमजनताको साझा राज्य थियो । यसबाट माओत्सेतुङलाई चित्त बुझेन । कम्युनिस्ट व्यवस्था आएपछि पनि वर्ग-संघर्ष जारी रहन्छ भन्ने माओको तर्क आयो । तदनुरूप माओत्सेतुङले सांस्कृतिक क्रान्तिका क्रममा कम्युनिस्ट भइसकेको मुलुकमा पनि जनताको विद्रोहको अधिकार प्रत्याभूत हुनुपर्छ भने । सांस्कृतिक क्रान्तिमा लाखौं विद्यार्थी एवं तन्नेरीलाई राजनीतिमा हामफाल्न तयार गरियो । लाखौंको संख्यामा सडकमा झरे । माओको समर्थन क्रान्तिकारीको पहिचान बन्यो । रक्षामन्त्री, मार्सल लिन पियाओको संरक्षण र प्रेरणाले यो सम्भव भयो । मूलतः माओवादको शिक्षा जनविद्रोहको आह्वान थियो । माओत्सेतुङ त्यस समय सत्तारुढ पार्टीका अध्यक्ष थिए । तर उनी आफैंले नेतृत्व गरेको त्यस पार्टीको सरकार र सत्ताविरुद्ध विद्रोह गर्न आमजनतालाई आह्वान गरे । यस्तो उदाहरण इतिहासमा कमै होलान् । हाम्रो नेपालका सर्वोच्च नेता गणेशमान सिंहले झन्डै यसै किसिमको प्रयत्न गर्नुभएको थियो । उहाँको सैद्धान्तिक तयारी थिएन । असफल हुनुभयो । माओत्सेतुङलाई पनि सफल मान्न भने सकिँदैन । उनले अन्ततः सांस्कृतिक क्रान्ति समापनमा पुर्‍याउन सेनाको खुल्ला सहायता लिनुपर्‍यो । व्यवहारमा सांस्कृतिक क्रान्ति असफल भयो । सिद्धान्ततः सांस्कृतिक क्रान्ति आज पनि सार्थक छ । नेकपा -माओवादी) यसैबाट प्रेरित भएको दाबा गर्छ । समाजवादमा जनताको विद्रोह गर्ने अधिकार सुनिश्चित रहने उनीहरूको आश्वासन छ । कसरी हुन्छ भन्ने उनीहरूसँग कुनै संस्थागत प्रत्याभूति छैन । यही आजको नेपालको माओवादको प्रमुख सैद्धान्तिक समस्या हो ।
Read Full Discussion Thread for this article