Posted by: chanaa_tarkaari May 11, 2007
राजनीति बढी भो ....... हगि?
Login in to Rate this Post:     0       ?        
मलाई अचेल राजनीति भन्नेबित्तिकै प्रेसर बढ्छ । राजनीतिक लेख लेख्न जाँगर लाग्दैन । हामी जनता जति राजनीतिमा एकोहोरिन्छौं, त्यति नेता बेफुर्सदिला हुँदारहेछन् । आफ्नै कारण, राजाको कारण आदिले छत्तीसौं ठाउँमा हन्डर खाइसकेपछि अब त चेते होला, देश विकासका लागि राजनीति गर्लान् भन्दा उल्टै पो हामी उनीहरूलाई मिलाउन हिँड्नुपर्ने, हामीले पो उनीहरूको विकास गरिदिनुपर्ने ? बिहान उठ्न पाएको हुँदैन, लौ के पो भइसक्यो होला रातभरिमा जस्तो लाग्छ, अनि आँखा खुल्नेबित्तिकै हातले रेडियोको स्वीच अन गरिसकेको हुन्छ । मलाई 'बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्' भन्ने गीत सम्झना हुन्छ कहिलेकाहीं । अनि यो गीतलाई भविष्यत् कालका लागि थाँती राखेर प्यारोडी बनाउँछु, 'बिहान उठ्नेबित्तिकै शुभसमाचार सुन्न पाइयोस्' । आखिर हामी जागिर, पढाइ, परिवारको पर्वाह नराखी किन समाचारमा मरिहत्ते गछौर्ं ? किनभने हामी नेपाल र नेपालीको विकास चाहन्छौं । के हामी गिरिजा- प्रचण्डहरूको विकासकै लागि त्यति कष्ट गरेका हौं ? अहिलेको तातो बहस संविधानसभा अघि गणतन्त्र घोषणा गर्ने कि नगर्ने भन्नेमा छ । संविधानसभा चुनाव अगावै गणतन्त्र घोषणा गर्ने कुरामा आठदल विशेषगरी नेपाली कांग्रेस सहमत नहुने हो भने माओवादी विष्फोट हुने रे। वाफ रे ! भविष्यवाणी सुन्दा अनुमान लगाएँ, माओवादीका अध्यक्ष कमरेडलाई पनि प्रेसर बढेछ । अहिले यसै विषयलाई लिएर काँग्रेसका केही नेताको पनि पारो बढेको छ, अनि भन्न करै लाग्छ, कांग्रेसलाई पनि प्रेसर बढेकै हो । भन्ने बेलामा सहमतिको राजनीति गर्छौं भन्ने अनि काम गर्ने बेलाचाहिँ अर्का दलको नाम सुन्नासाथ प्रेसर बढाइदिने ? अहिलेको राजनीतिको चुरो बुझ्न खोज्दा के लाग्दैछ भने नेपालमा सबैभन्दा ठूलो काम गर्न बाँकी भनेको संसदबाट गणतन्त्र घोषणा हो । त्यो यति ठूलो काम हो कि कांग्रेस त्यसो हुन नदिन ज्यान फालेर लागेको छ भने माओवादी त्यसो नहुँदा पड्किन तयार भएर बसेको छ । संविधानसभा चुनावपछिको पहिलो बैठकले नै राजतन्त्रको फैसला गर्ने भन्ने पहिलेको सहमतिको बचाउ गर्नु कांग्रेसलाई एक हिसाबले जायजै होला । तर कांग्रेसले गणतन्त्र या राजतन्त्र कसको पक्ष लिने निर्णय नगर्ने अनि संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको फैसला गर्ने पनि भन्ने ? भोलि कांग्रेस सेरेमोनियल किङको पक्षमा गयो भने....भन्ने त्रास पाल्नु अन्य दलको पनि हक हो । त्यसैले कांग्रेसले आफ्नो बारेको द्विविधा, शंका अन्य दल सामु निवारण गर्न जरुरी छ । कांग्रेस गणतन्त्रवादी हो भने गणतन्त्र घोषणा गर्नु नै देशको सबैभन्दा ठूलो काम हो जस्तो मलाई लाग्दैन । प्रक्रियाको कुरा हो, त्यो संविधानसभाको प्रथम बैठकबाट गरे पनि हुन्छ, अन्तरिम संसदबाटै गरे पनि हुन्छ । जनताले प्रश्न उठाउला भन्ने कुरा आउँदैन । उसो त प्रतिनिधिसभा पुनःस्थापनाको माग पनि कांग्रेसको एजेन्डा थियो, जनताले किन पुनःस्थापना गरिस् भनेर प्रश्न गरेन । राजावादीले विरोध जनाउलान् । अब राजावादीको पीर आठ दलले लिने होइन । उनीहरूको विचारको सम्मान गर्नु एउटा कुरा, तर उनीहरूले चित्त दुखाउलान् भनेर निर्णय नगरिबस्नु जनताको भावनामाथिको खेलवाड हो । संविधानसभाबाट नयाँ संविधान बनाउने, संघीय प्रणालीको स्वरूप के रहने, पिछडिएका जाति-जनजातिलाई कसरी मूलधारमा ल्याउने, पिछडिएको क्षेत्रलाई कसरी विकसित तुल्याउने, गरिबी र बेरोजगारी कसरी हटाउने जस्ता मुद्दा नयाँ नेपालका एजेन्डा हुन् । गणतन्त्र घोषणा त कास्टिङमात्रै हो, वास्तविक फिल्म संविधानसभा चुनावपछि मात्र सुरु हुन्छ । र त्यो फिल्म जनताको जीवनस्तरमा सुधार भइसकेपछि क्लाइमेक्समा पुग्छ । यसका लागि हामीलाई धेरै काम गर्नुछ । कृपया, हामीलाई नयाँ नेपालका लागि काममा एकोहोरिन दिनुहोस् । बीच-बीचमा हल्ला गरेर हामीलाई डिस्टर्व नगर्नुहोस् । किनभने राजनीतिक गफ गरेरमात्रै त खेतमा अन्न फल्दैन नि ? राजनीतिकै लागि राजनीति गर्ने हो कि असल जीवनका लागि राजनीतिक समर्पण गर्ने ?। - सावित्रा राई http://kantipuronline.com/kolnepalinews.php?&nid=109136
Read Full Discussion Thread for this article