Posted by: chanaa_tarkaari April 12, 2007
व्यर्थ पुगिएछ त्यो कार्यक्रममा
Login in to Rate this Post:     0       ?        
व्यर्थ पुगिएछ त्यो कार्यक्रममा - चन्द्रप्रकाश बानियाँ - जनआन्दोलन दिवसको अवसर पारेर अमरसिंह थापा स्मृति प्रतिष्ठानले यौटा अति नै सामयिक र महत्वपूर्ण अन्तरकि्रयात्मक कार्यक्रमको आयोजना गरेको थियो । ख्याती प्राप्त सीमाविद् श्री बुद्धिनारायण श्रेष्ठद्वारा प्रस्तुत गरिएको कार्यपत्रको विषय थियो 'नेपालको सीमा समस्याः व्यवस्थापनको अपरिहार्यता ।' १००-५० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा आधाभन्दा बढी सहभागीहरु देशी विदेशी विश्वविद्यालयहरुबाट विद्यावारिधिको उपाधि प्राप्त गर्नेहरु थिए । प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्ने जिम्मेवारी पनि दुईजना घागडान डाक्टर साहेवहरुलाई दिइएको थियो । छलफलको विषय जति महत्वपूर्ण थियो विद्वानहरुको उपस्थिति पनि त्यति नै गरिमामय थियो । त्यो दिन हुने छलफल मेरा लागि मात्रै होइन सिंगो मुलुकका लागि मार्गदर्शक बन्नेछ लाभदायक हुनेछ भन्ने लागेको थियो । त्यसैले उक्तावसरमा सहभागी बन्ने अवसर मेरा लागि अहोभाग्य हो जस्तो लागेको थियो । प्रसिद्ध सीमाविद् विद्वान श्रेष्ठजीले आफ्नो ५-७ वर्षको अथक र अनवरत लगन र परिश्रमको कष्टसाध्य अध्ययन अनुसन्धानबाट जुटाउनु भएको नेपालको सीमा समस्याको यथार्थ वस्तुतथ्य सविस्तार प्रस्तुत गर्नुभो । नेपालले व्यहोर्दै आएको सीमा समस्याको भूत वर्तमान र सम्भावित भविष्यको चित्रसमेत सबैको घैंटोमा घामलाग्ने गरी राखिदिनु भयो । श्रेष्ठजीको यथार्थ र सारगर्भित प्रस्तुतीले सद्धे नेपाली हृदय हुनेहरु सबैलाई संवेदनशील बनायो द्रविभूत बनायो । श्रेष्ठजीको करिब घण्टाभरको प्रस्तुति यति मार्मिक र वस्तुपरक थियो कि एकजना विद्वान टिप्पणीकर्ताले त बुद्धिनारायणजीले कार्यपत्र पनि आफै प्रस्तुत गर्नुभो र टिप्पणी पनि आफै गर्नुभो भनिदिनु भो । अर्थात श्रेष्ठको प्रस्तुतिपछि टिकाटिप्पणी गर्नुका लागि विद्वानहरुका लागि विषयवस्तु नै बाँकी रहेन । सुगौली सन्धिले सीमा खुम्च्याईदिनु पूर्वको टिस्टा र काँगडासम्मको विशाल नेपालको मानचित्र हेरेपछि वर्तमानमा बाँकी बचेको भूभाग त आधा पनि रहनेछ भन्ने जानकारी पाउँदा रामायणको दुब्लो क देखेर दुःखी भएको कालिदासको मनभन्दा पनि वेसी सहभागीहरुको हृदय रोयो होला जस्तो लाग्यो । त्यही बाँकी बचेको भूभागमा पनि कालापानी र सुस्तालगायत झण्डै ६० भन्दा बढी ठाउँहरुमा सानाठूला अतिक्रमणहरु भारतका तर्फबाट भएका रहेछन् । दशगजा क्षेत्र नो मेन्स लैण्ड भित्रै समेत किहं कतै त भारतीय भन्सार नाका ठडिएका रहेछन् । एक पक्षीयरुपमा ३०० मिटरदेखि ५ किलोमिटर भित्रकै दुईदेशीय सीमाक्षेत्रमा बनेका दर्जनभर बाँधहरुले नेपालको हजारौं विघा जमीन डुबानमा परेको रहेछ । र हजारौं मान्छेको उठिबास लागेको रहेछ । नेपाल-भारतबीचको सीमा व्यवस्था पनि तदर्थवादमा चल्दोरहेछ । कहिले मनलाग्दा सीमा बन्द हुँदो रहेछ कहिले नियमित हुँदो रहेछ र कहिले खुला छोिडंदो रहेछ । खास गरेर राणशासनको अन्तपछि सीमा अव्यवस्थितरुपमा रहँदै आएको रहेछ । भारतको स्वार्थ र सहुलियत अनुकूल सीमा व्यवस्था साचालित हुने गर्दोरहेछ । ठूलो छिमेकीले जे जस्ता मनलाग्दो गरेपछि निरीहतापूर्वक टुलुटुलु हेर्ने अन्याय र थिचोमिचो सहनु बाहेक हामीले केही गर्ने गरेकै रहेनछौं । मलाई लाग्थ्यो यो मुलुकका राजनीतिकर्मी लोभी पापी र स्वार्थी छन् । आफ्नो नीजि स्वार्थभन्दा पर मुलुकको हितचिन्तनमा उनीहरुको ध्यान जाँदै जादैन । त्यसैले दर्जनौं ठाउँमा सीमा मिचिदासमेत चुइक्क बोल्दैनन् । कौडीको मूल्यमा कोशी गण्डकी र महाकाली जस्ता विशाल जलभण्डारहरु विदेशीका पाउमा समर्पण गरिदिन्छन् । राजनीतिकर्मीहरु जस्ता भए पनि नेपालीहरु देशभक्त छन् । त्यसमा पनि यो देशका विद्वान बुद्धिजीविहरु त देशको माटोप्रति संवेदनशील होलान् । ती सबैले मुलुकलाई आफ्नो मुटुभन्दा बेसी माया गर्छन् होलान् । कठै बिचरा ।यो मामिलामा त मुलुकका विद्वान बुद्धिजीविहरु राजनीतिकर्मीहरुभन्दा दशगुना बढी कृतघ्न रहेछन् । टिप्पणीकर्ताको रुपमा ड्यासमा उभिने अर्थशास्त्रमा पिएचडीको उपाधि भुण्डाएका एकजना कथित विद्वानले त नेपाल-भारत सीमामा कुनै समस्या नै नभएको टिप्पणी गर्नसमेत लाज मानेनन् । वुद्धिनारायणजीले सप्रमाण प्रस्तुत गरेको ५४ ठाउँमा मिचिएको सीमा समस्या उनले देख्दै देखेनन् । अनियमित र अव्यवस्थित सीमाले निम्त्याएको वेथितिले नेपालको अर्थतन्त्रमा पारेको नकारात्मक प्रभाव देख्दै नदेख्ने उनको अर्थशास्त्रको ज्ञान कस्तो रहेछ कुन्नी नेपालको भुमि दर्जनौं ठाउँमा अतिक्रमित भएको छ । नेपाली भूभाग भारतका कारणले डुबानमा परेको छ । खुला सीमानाका कारण चोरी डकैती तस्करीका सयौ घटनाहरु दिनहुँ माचन हुन्छन् । खुला सीमाका कारणले नेपाली महिलाहरु बलात्कृत हुन्छन् महिला अस्मिताको बेचविखन सरलतापूर्वक हुन्छ । विद्वान टिप्पणीकर्ताका चर्मचक्ष्ाहरुले त ती कुराहरु देखेनन् । किनकि उनले भारतभक्तिको कालो चश्मा लगाएका हुँदा हुन् । तर उनको अर्थशास्त्रको ज्ञानचक्ष्ाले त नेपालले व्यहोर्नु परेको घाटा देख्नुपर्ने हो नि । भारतको अनाधिकार हस्तक्षेप र थिचोमिचोविरुद्ध चु आखर बोल्ने कुरा त परै रह्यो समस्या नै नदेख्ने ती विद्वानले आफूलाई नेपाली नागरिक नै ठान्दा रहेछन् कि जागीरे स्वार्थवस् मात्र नेपाली नागरिकता लिएका पो रहेछन्् कि उनको अन्तर्मन त पुरै भारतीय रहेछ जस्तो लाग्यो । छलफलमा सहभागी अर्का एकजना बकाईदा नेपाली पोशाकमा ठाँटिएका विद्वानले बुद्धिनारायण श्रेष्ठले जागीरबाट अवकाश पाएपछि मात्र सीमा विवाद अनावश्यक रुपमा निकालेको आरोप लगाए । समाचारपत्रहरुबाट उद्दरण गरिएका केही कार्टुन चित्रहरुको प्रदर्शनले वुद्धिनारायणको उचाई घटाएको टिप्पणी गरिरहँदा आफू कुन धरातलमा उभिएर टिप्पणी गरिरहेको छु भन्ने कुराको ख्याल उनलाई भएन । मेरो छेउमै विराजमान एकजना इतिहासका डाक्टर साहेवले त बुद्धिनारायणद्वारा संकलित पुराना सीमासम्बन्धी मानचित्रहरु नापी विभागमा नरहेका हुनाले आधिकारिकताको प्रश्न उठाए । अझ नापीबाट चोरी गरिएको हो कि भन्ने शंका पनि व्यक्त गरे । अर्का एकजना तन्नेरी कानुन व्यवशायीले त झन वर्तमान विश्व परिस्थितिमा सीमासम्बन्धी झिना मसिना कुराभन्दा मुलुकको आर्थिक विकासतिर ध्यानदिनु पर्ने उपदेश श्रेष्ठलाई दिने धृष्टता देखाए । २-४ वटा कालापानी र सुस्ता विवादमा अल्झिनु खोतल्नु वर्तमान सन्दर्भमा असामयिक र असान्दर्भिक अभियान ठहरेछ ती विद्वानका लागि । अझ कसै कसैले त समस्या देखाएर मात्रै हुँदैन समाधान पनि बुद्धिनारायणहरुले नै दिनुपर्ने तर्कसमेत दिन लाज मानेनन् । बुद्धिनारायण श्रेष्ठ वर्तमान सन्दर्भमा कुनै कुटनीतिज्ञ पनि होइनन् राजनीतिकर्मी पनि होइनन् नीति निर्माण र कार्यान्वयनमा प्रत्यक्ष संलग्न रहेका उच्च प्रशासक पनि होइनन् । उनी अवकाशप्राप्त प्रशासक भए पनि नेपाललाई हृदयदेखि माया गर्ने बौद्धिक र चेतनशील नागरिक हुन् । उनी आपुूमा भएको ज्ञान सिंगो मुलुकमा बाँडचुँड गर्ने पवित्र उद्देश्यद्वारा अभिप्रेरित छन् । उनले युरोप अमेरिकासम्म पुगेर नेपालको सीमासम्बन्धी अध्ययन गरेका छन् । नितान्त स्वविवेकबाट अभिप्रेरित भएर नेपालको सीमा समस्याका सम्बन्धमा अध्ययन अनुसन्धान गरिरहेका छन् । उनको परिश्रमले मुलुकलाई अवश्य नोक्सान पुर् याएको छैन । यौटा स्वतन्त्र नागरिकका हैसियतले गर्न सक्नेसम्मको काम उनले गरेका छन् । उनको इमानमा शंका गर्नु पाप हो । उनको अभ्यास यौटा महान् देशभक्तको महान आदर्श हो । सबै कुरा बुद्धिनारायण एउटै व्यक्तिबाट अपेक्षा गर्नु मुर्खता हो बुझ पचाईको कुरुप नमूना हो । छलफलमा भाग लिने अधिकांश विद्वानहरुको आसय ुभारत ठूलो छ बलियो छ त्यसैले उसको आसय र हित विपरीत हामी साना भुसुनाहरुले उभिन खोज्नु हुदैन । न्याय अन्यायको आवाज उठाउनु थप अप्ठ्यारोमा पर्नु हो । ठूलो मुलुकले २-४ थप्पड लात चलाई हाले पनि सानाले षाष्टाङ्ग दण्डवत गर्नुपर्छ प्रतिवादमा उत्रनु व्यवहारिक हुदैनु भन्ने रहेको देख्दा विद्वतवर्गको कायरताप्रति टिठ लाग्दो रहेछ । अधिकांश बुद्धिजीविहरुका तर्क सुन्दा यस्तो लाग्थ्यो कि त्यो जमघट नेपालीहरुको हुँदै होइन । भूलवस् बुद्धिनारायणले आफ्नो राष्ट्रवादी कार्यपत्र भारतीयहरुका बीचमा प्रस्तुत गर्नुभयो । त्यतिबेला सबैजसो तनका नेपाली र मनका भारतीयहरुले बुद्धिनारायणलाई अपराधी सावित गर्ने प्रयत्न गर्दै थिए । बुद्धिजीविहरुको त्यो भावना अज्ञानता त हुनै सक्तैनथ्यो । यदि त्यो भारत भक्ति होइन भने बुद्धिनारायणको राष्ट्रवादी आन्दोलनप्रतिको ईष्र्याभाव हुनुपर्छ जस्तो लाग्यो । कार्यपत्र प्रस्तुतिको सन्दर्भमा बुद्धिनारायणजीले महलीसागर बाँधका कारणले एउटा जंगे पिलर ढल्नै आँटेको चित्र पनि देखाउनु भएको थियो । विद्वान बुद्धिजीविहरुका घीन लाग्दा र पानी मरुवा कुरा सुन्दा त मलाई सिंगै मुलुकको अस्तित्व खतरामा परेजस्तो लाग्यो । नेपालीको राष्ट्रिय भावना खण्डित भए जस्तो लाग्यो । सिंगै मुलुकमाथि हुन थालेको भारतीय हस्तक्षेप र बलमिच्याईबाट रत्तिभर मर्माहत नहुने विद्वानहरु जाबो एउटा जंगे पिलर ढल्न आँटेको देखेर कसरी संवेदित हुन सक्छन् र त्यो दृश्यले उनीहरुको मन दुख्ने कुरै भएन । हृदयंमा आघात पुर् याउने र मन चहर् याउने कुराहरुको जानकारी हुनुभन्दा अन्धकारमा रहनु जाती हुँदोरहेछ । जुन उत्साह र जाँगरसहित म त्यो छलफल कार्यक्रममा सामेल भएको थिए त्यो भन्दा कति हो कति गुना दुःखीत र व्यथित भएर घर फर्कनु पर् यो । त्यसैले होला त्यो दिन उक्त कार्यपत्रमा व्यर्थैमा पुगिएछ जस्तो लागिरहेको छ ।
Read Full Discussion Thread for this article