Posted by: chanaa_tarkaari April 6, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
तारेमाम है सप्पैलाइ ! मन्तयेक ला? आज त सुउरवार लाओ जस्स छ । सुनसान छ । पुरानो जिगरीदोस्त हाउँरो गामतिर घुम्न आम्नि रे, तेसैले भरे भ्याउन्न होला, मेरो भागको कथा टाँसेर गइहाल्न परो भनेर आएँ है म हतार हतार । अँ साँच्चि देसिगाम्तिरका गाम्लेहरु को को हुन रे? एउपल्ट थुलिले "म त दिसिगाम्तिर बस्छु " भनेजस्स लाओथो के रे । हाउँरो दोस्त नि त्यतैतिर आम्नि रे, खोज्न जान पर्या छ बयलगाडा लेर । बाटाआ मै हराम्ने पो हो कि ? लु आजआ भागको कथा ह्याँटि मुन्तिर । गाम्लेहरको प्रतिक्रिया के हुने हो कुन्नि ? भाग - ५ --------------- ए-सेक्सनको फर्स्टगर्ल चमेलि साह्रै मिलनसार, सेकेन्डब्वाइ कमल सँधै हास्ने, थर्डब्वाइ अमर चटपटे चञ्चल, फोर्थब्वाइ गगन साह्रै नरम लगायत प्रदिप, रमेश, उत्तम, चरण, सबिन, ज्ञानु आदि सित चनाको राम्रो दोस्ति बन्यो । प्रतिमा सितको पुरानो दोस्ति राम्रो नै थियो अनिता, सुजना, चन्द्रदेवि, गायत्रि पनि राम्रा साथि नै बने । यो समयमा शायद चनाले सबभन्दा सिर्जनशील साथिहरु पाए । बिद्यार्थिहरु आफै मिलेर स्कुलमा फूलबारी बनाउने, सरसफाइको समान, पानीखाने गाग्री-आंखोरा, नक्साहरु र अन्य प्रयोगात्मक सामानहरुको ब्यबस्था गर्ने, ब्याबसायिक कक्षामा सिकेर बनाएको सामानहरुको प्रदर्शन गर्ने, पालो पालो गर्दै फूलबारीमा गोडमेल, पानीहाल्ने र बोटबिरुवा सुरक्षा गर्ने, कोठामा पानील्याउने, कक्षाकोठा हरेक दिन सफा गर्ने, जानेको बिषयमा आफ्नै कक्षाका साथिहरुलाइ पढाउने, हाते पत्रिका, भित्ते पत्रिकाहरु चलाउने आदि यावत कार्यहरु गरे । चन्दा उठाउने मात्र होइन, कहिलेकाहि साथिहरु मिलेर टिफिन ब्रेकमा बरफ, सोडा बेचेर पैसाकमाउने र त्यो पैसाले कक्षा सजाउन नक्शाहरु, बढार्ने कुचोहरु, बेञ्च पुछ्ने टालोहरु, पानी राख्ने माटाको गाग्री, इनारबाट पानी तान्ने लाखी (लामो डोरी), चोटपटक लागेमा चाहिने प्राथमिक उपचारको सामानहरु आदिको ब्यवस्था गर्ने गरिन्थ्यो । जात्रा मेलाहरुमा रेडक्रस क्याम्प हालेर परोपकार गर्ने काममा पनि सक्रिय रह्यो । काम गर्न पालो छुट्याउने, अल्छि गर्नेलाइ जरिवाना तिराउने जस्ता नियमहरु बनाउन चना सक्रिय हुन्थ्यो । यस्ता कामहरुमा विवाद मनमुटाव हुन्थे नै, तर पनि सवै समस्याहरु मिलेर समाधान गर्थे चना र उनका साथिहरु । चना अघि सरेपछि "नाई" कसैले नभन्ने र जे काममा पनि सबैको सहयोग पाउँथ्यो । स्कुलको वातावरण नै धेरै फरक बनेको थियो यस्ता कार्यहरुले गर्दा । सम्पूर्ण स्कुलभरी चना उदाहरणीय बन्न थालेको थियो । यस्तो कार्यको देखासिकि गर्दै अन्य कक्षाहरुमा पनि बिभिन्नक्रियाकलापहरु हुनथालेको थियो । अर्धवार्षिक परिक्षासम्ममा चनाले निकै प्रगति गर्यो, सबैसित मित्रता, जाँचमा सबै बिषयमा कि पहिला कि दोस्रा, सबै क्रियाकलापमा सक्रिय तथा अहम नेतृत्त्व । बोलिचालीमा कमजोरी भए नि नेवारी राम्रै बुझ्ने भैसकेको थियो । स्कुलमा हुने धेरै अतिरिक्त क्रियाकलापहरुका कारण लभर सभर का कुराहरु पनि गौण बन्दै गएको थियो । परपरपरपर बोलिरहने सुजनालाइ कहिलेकाहि कसैकसैले जिस्काउथे "तेरो र चनाको जोडि मिल्छ" भनेर । "नकरा है तिमारु, मार्दिन्छु म" भनेर जंङ्गिन्थि सुजना तर अनुहार भने खुशीले चम्किन्थ्यो उनको त्यो बेला । यसरी जिस्काउनुको कारण भने गोलाप्रथा थियो । कक्षामा सरसफाइ गर्ने काम बिभाजन गर्दा दुइ जना केटा दुइ जना केटी मिलेर (४ - ४ जनाको ग्रुप) गर्ने भनेर नियम बनाइएको थियो । एउटा गोप (सानोखालको माटोको भाँडो)मा केटाहरुको नाम, अर्कोमा केटीहरुको नाम लेखेको कागजको टुक्रा हाल्ने र पालैपालो थुत्ने - यसो गरेर ग्रुप ग्रुप बनाउँदै कामको जिम्मा दिने गरिन्थ्यो । हरेक दुइहप्तामा एकपल्ट गोलाप्रथाले ग्रुप छान्ने गर्दाखेरी लगातार झण्डै ३ महिनासम्म सुजना र चना एउटै ग्रुपमा परे । एउटै ग्रुपमा परेको परेइ हुँदा नजीक हुने र बढी आत्मीय हुनु स्वभाविक नै थियो, र जिस्किन चाहनेहरुको लागी मसला पनि । तर त्यस्तो जिस्काइको खासै महत्त्व हुन छाडेको थियो । के केटा, के केटी सबैसित मित्रता र घरसम्मैको आवतजावत, र बसिबसाउले "फलानाको फलाना लभर" भन्ने जस्ता कुराहरु नै हरायो । लभको कुरा सिरियस भएर गर्ने र अप्ठ्यारो पर्ने गरी जिस्किने जिस्काउन अघि सर्नेहरु हाँसको बीचमा बकुल्ला जस्ता हुन्थे । यसै बीचमा स्कुलले २५०% फी बढाउने निर्णय गर्यो । त्यहि बर्ष स्वबियु पनि खारेजिमा पर्यो । जसको प्रतिक्रियास्वरुप स्कुलमा हडताल भयो । हडतालको शुरुवाति दिनमा त्यत्रो मेहनत गरी हुर्काएको फूलबारीका फूलहरु मुर्झाउन थाले । जुलुस हुँदा त झन बिरुवा नै सपै कुल्चेर नाश भए । बरिपरी तीनकुने इट्टा गाडेर बडो मेहनतसाथ चनाको नेतृत्त्वमा बनाइएको त्यो सुन्दर बगैचाका इट्टाहरु पुलिस हस्तक्षेपको प्रतिकार गर्दा उखेलिए । त्यहाँको इट्टा उखेल्दै फोड्दै पुलिसलाइ हान्दै । त्यसमाथि "थ्व जान्न्य मचा चना" ले गर्दा स्कुलभित्र इट्टा थुप्रिएको र पुलिसलाइ इटाले हानेकोले तोडफोड धेरै भएको जस्ता कुरा गरेर हेडसरले चनालाइ "भिलेन" झै पो चित्रित गरे । प्रशासनका चम्चा बिद्यार्थिहरु (मण्डले भन्थे तीनलाइ, तर किन मण्डले भनेको भनेर चनाले बुझेको थिएन) ले कक्षाकक्षामा गएर गाग्रो फुटाउने, नक्सा र पत्रिकाहरु च्यात्ने, कक्षाभित्र पोखिएको पानि बाहिर पठाउनलाइ बनाएको "धम्प्वा:" भत्काउने जस्तो काम गरे । सबै चीज नाश भएको देख्ता चनाको मन अमिलियो तर पनि राम्रा साथिहरुको साथ पाए त्यो कुरो केहि होइन भन्ने सोचेर हड्ताल सफल पार्न लाग्यो चना पनि । नारा जुलुस स-साना भाषण गर्ने ठाउँमा भाग लिनु, श्रोता बन्नु, ताली ठोक्नु, पर्चा पम्प्लेट लेख्नु र टाँस्नको लागि माड पकाउनु, स्कुलको भित्तामा पम्पलेट टाँस्न जानु - यस्तै थियो चनाले सहयोग गरेको कामहरु । प्रशासन, पुलिस र हेडसरको कार्टुन पनि बनायो त्यो बेला । पुलिस दमन भएपछि हड्तालको मागहरु थपिदै थपिदै गएर लिस्ट पनि लामो हुदै गयो । हडतालमा लागेका सबै बिद्यार्थिलाइ रेस्टिकेट गर्ने भनेर धम्कायो पनि । तर कसैलाइ रेस्टिकेट गर्यो भने ४ देखि १० कक्षासम्मकै रोलनं १ देखि ५० सम्मको सपैलाइ रेस्टिकेट गर नभए सपैले स्कुल छोड्ने धम्कि दियो । झण्डै एकमहिना पछि बल्लबल्ल जिल्ला शिक्षा अधिकारी, अभिभावकहरु, संचालक समिति र अन्य गन्यमान्यहरुको सक्रियतामा बिद्यार्थिहरुसित वार्ता हुने भयो । स्वबियु खारेज भएकोले नेता को हो भन्ने थिएन पोहोरको स्वबियु प्रतिनिधि गगन साह्रै नरम बोल्ने हुनाले वार्तामा बस्नलाइ हुँदैन भन्यो । वार्ता कमिटिमा आफ्नो कक्षाको प्रतिनिधि बन्न सबैले चनालाइ नै अगाडि सार्यो । वार्तामा के कुरा गर्ने, कसरी गर्ने, प्रशासनका तर्कको प्रतिकार कसरी गर्ने, हाम्रा मागहरुलाइ कसरी सशक्त रुपमा राख्ने जस्ता सवालहरुमा करीब ३ दिन प्रशिक्षण पायो चना समेत रहेको वार्ता कमिटिले - प्रशिक्षण दिने सिनियरहरु को को थिए चनाले चिनेन, चनाले कहिल्यै नदेखेका मान्छेहरु प्रशिक्षण दिन आएका थिए । तर त्यो प्रशिक्षणबाट चनाले "शिक्षा हाम्रो अधिकार हो ।" लगायतका थुप्रै कुराहरु सिक्यो । प्रशिक्षणहलबाट धारिलो तरवार झै बनेर आयो चना पनि वार्ता गर्न तम्तयार हुँदै । *******************************************************************************************
Read Full Discussion Thread for this article