Posted by: world_map March 29, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! ल मैले पनि यौटा कथा लेखिसिध्याएँ। दिप ज्योको कविता दामी लाग्यो, गोतामेज्यूले नि कथा लेख्नु भएको रहेछ, यो टाँसेपछि पढ्नेछु र प्रतिकृया दिनेछु। यो मेरो बाल्यकालका कथाहरूको सँगालोको नवौं भाग हो। पुराना आठ भागहरू बल्खु गाममा (blog) पढ्नुहोला। यो कथा पनि पछि बल्खुमा राख्नेछु। ‘फाइट र फ्लाइट’ स्कूलको अन्तिम घण्टीको व्यग्र प्रतीक्षामा रहेका विद्यार्थीहरू ३:२० को घण्टीसँगै खुशी र मुक्ति मिस्रित आवाज निकाल्दै बस पार्कतिर दौडन्छन्। म पनि आफ्ना साथीहरूसँगै कक्षा ५ बाट निस्केर खैरो रंगको मिनीबस चढ्न पुग्छु ठेलमठेल गरेर। सानासाना विद्यार्थीहरूले भरिएको मिनीबसमा सिट नपाएकाहरू उभिन बाध्य हुन्छन्, र उभिनेहरूकै बाहुल्य हुन्छ। आफ्ना छोटा हातहरूले बसको दलिनमा रहेका डन्डी समाउन नभ्याउने हुनाले उनीहरू झ्यालका रेलिङ् या सिटमा अप्ठ्यारो गरी समाइरहेका हुन्छन्। म पनि साथीहरूसँग गफ गर्दै यौटा कुनामा च्यापिएर उभिरहेको थिएँ, भीड झन्झन् बढिरहेको थियो। चलिरहेको बसमा एक्कासी ब्रेक लाउँदा विद्यार्थीहरू लड्न पुग्थे, कहिले त एकमाथि अर्को लडेर मुनि पर्ने थिच्चिन पुग्थ्यो। त्यस्तो हुनबाट बच्न म कुनातिर टाँसिरहेको थिएँ। त्यही बखत बिनीत पनि म भएको ठाउँतिर आयो र भन्यो ,’ए चित्रे, अलि उता जा त!’ बिनीत अलि बदमाश खालको विद्यार्थी थियो, त्यसैले मेरै क्लासको भए पनि म उबाट अलि टाढा नै बस्न रूचाउँथें। तर बसको भीडमा तील राख्ने ठाउँ त थिएन, कतै जानु त परै जाओस्। ‘यहाँ ठाउँ नै छैन कहाँ जानु?’ मैले जवाफ फर्काएँ। उसले केही भनेन तर केही छिनमै लुकेर टाउकोमा प्याट्ट पिट्ने, कान तान्ने गरेर दु:ख दिन थाल्यो। म केही बेर सहेर बसें तर बसको भीड, गर्मी अनि बिनीतको निरन्तरको चकचकले मलाइ रिस उठ्न थालिसकेको थियो। कतै जाऊँ त जताततै भीड छ, त्यहीं बसिरहूँ त बदमाशले कान तानेर बस्न दिएकै हैन। एकपल्ट त यस्तो दुख्ने गरि टाउकोमा हिर्कायो कि मलाइ साह्रै रिस उठ्यो अनि जे पर्ला पर्ला भनेर म पनि झम्टिएँ उतिर, अनि उसको कान समाई तान्न थालें, एक झापड दिन खोजेको थिएँ तर भीडले गर्दा हात चलाउनै अप्ठ्यारो भयो। उसले पनि मेरा दुबै कान समात्यो, मैले पनि उसका दुबै कान, अनि दुबै जना ‘ऐयाऽऽ! ऐयाऽऽ!’ भन्दै एक अर्कालाइ पछार्न खोज्थ्यौं। तर बसभित्रको भीडले हामी दुबैलाइ भुईंमा लड्नबाट बचाइरहेको थियो। हामी वरिपरिका साथीहरू हामीलाइ रोक्न खोजिरहेका थिए तर सकिरहेका थिएनन्। बस चलिरहेको थियो। एक्कासी कोही कराएको आवाज सुनियो, ‘मीस, फाइट भयो फाइट!!!’। त्यो सुन्ने बित्तिकै बसको पछिल्लो भागमा बसिरहेकी सुष्मा मिसको गर्जन सुनियो, ‘ए! को हो त्यो फाइट गर्ने? ल दुबै जना यता आउ चाँडो!’। मिसको आदेश टाल्ने हाम्रो हिम्मत कहाँ हुन्थ्यो र? अनि ठेलमठेल गर्दै पुग्यौं पछाडि। ‘किन झगडा गरेको हँ तिमीहरू?’ भन्दै मिसले पनि हाम्रो कान समाउनु भयो। त्यतिकैमा त हाम्रो उत्रिने स्थान पनि आइपुगिसकेको रहेछ। ********************************************************************** घरमा साँझ टीभीमा बाल कार्यक्रम आइरहेको थियो, जापानी टीभी एन.एच.के. ले बनाएको ‘नप्पू र गोन्टा’ भन्ने प्रोग्राममा यौटा अजंगको भालु जस्तो जीव र यौटी जापानी युवतीले थरिथरिका खेलौना बनाउन सिकाउँथे र रमाइलो गर्थे। त्यो देखेर म पनि उनीहरूको सिको गर्ने प्रयत्न गर्थें। उक्त साँझ उनीहरूले दुइटा कागजका हवाइजहाज बनाए, तिनलाइ बाँधेर यौटा ‘टी’ आकारको लट्ठीको हरेक छेउमा एकलाइ झुण्ड्याए र लट्ठीलाइ घुमाए। ती दुबै प्लेन धागोमा झुन्डिएर घेरामा उड्न थाले। कार्यक्रम सकिएपछि मैले दुइटा काठको लट्ठी लिएँ। यौटा लट्ठीको बीचको भागलाइ अर्को लट्ठीको टुप्पोमा लगेर किल्लाले ठोकें, गाह्रो भयो, तैपनि बल्ल बल्ल मिलाएँ। कागजका दुइटा हवाइजहाज बनाएर धागोले बाँधी ‘टी’ को एक एक छेउमा बाँधें। अनि दिदीहरूलाइ बोलाएँ। ‘म यी प्लेनहरू कौसीमा लगेर उडाउँछु, हेर्न आऊ न माथि!’ अनि कौसीमा लगेर लठ्टीको तल्लो भाग पक्रँदै बिस्तारै घुमाउन थालें। प्लेनहरू बिस्तारै घेरा बनाएर उड्न थाले। मेरो खुशीको सीमा रहेन। ‘देख्यौ त मेरा प्लेनहरू उडे?’ मैले खुशी हुँदै भनें। ‘ह्या! त्यो त अघि टिभीमै देखाको हैन र? के नयाँ कुरा गरिस् र?’ सानो दिदीले भनिन्। अब मैले लट्ठीलाइ उल्टो दिशामा घुमाएँ। कागजका हवाइजहाजहरू सरक्क फर्केर टाउको अगाडी पारेर उड्न थाले। यो देखेर मेरो कलिलो दिमागमा बत्ती बल्यो, म एकछिन घोरिएँ, अनि उफ्रिन थालें, मानौं मैले ठूलै आविष्कार गरेको थिएँ। मैले दिदीलाइ भनें ‘तिमीलाइ थाहा छ मैले हरेक पल्ट उल्टो दिशातिर लट्ठी घुमाउँदा प्लेनहरूले पनि दिशा बदलेर सँधै टाउको अगाडी अघि गरेर उड्छन्?’ दिदीले सोधिन् ‘किन?’ मैले भनें ‘हामीले साइन्समा पढेको, एरिया कम भो भनेर प्रेसर बढी हुन्छ रे। यहाँ प्लेनको अगाडिको भाग चुच्चो पर्या भएर एरिया कम छ, त्यसैले यसको प्रेसर बढी हुन्छ र सँधैं घुम्दा अगाडी जान्छ।‘ म आफूले आफैंलाइ ठूलो आविष्कारक ठान्न थालें, के के न पत्ता लगाएँ भनेर मेरो नाक घिरौंला जत्रो भयो। दिदी चाहीं ‘खूब भइस् नि महान वैज्ञानिक!’ भन्दै तलतिर झरिन्। ********************************************************************* स्कूलमा हरेक बिहान राष्ट्रिय गान, प्रार्थना र मार्च पास गर्नु पर्थ्यो। मार्च पास गर्दै विद्यार्थीहरू एक एक लाइन गर्दै आ-आफ्ना कक्षाभित्र पस्थे। यसरी मार्च पास गर्दै गइरहेको सेक्सन ‘ए’ का केटीहरूको लाईनमा गएर मेरा टक्क अडिए। एक गोरी, फूर्तिली, थाइ कट कपाल काटेकी, अलि होचो कदकी सुन्दर केटी देखेर म हेरेको हेर्यै भएँ। हरेक दिन हुने मार्च पासमा मेरो आँखा उनैमा गएर रोकिन्थ्यो। मलाइ उनको नाम के होला भन्ने कौतुहलता जाग्न थाल्यो।
Read Full Discussion Thread for this article