Posted by: Gautam B. March 29, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
जदौ है सबैलाई! मेरो तर्फबाट 'चौतारी स्वर्ण-महोत्सव विशेष' यो कथा राखें। हतारमा लेखेको। चौतारी स्वर्ण-महोत्सव सकिएपछि बल्खुतिरपनि टाँग्नु पर्ला। “स्वदेश जाँदा” काठमाण्डौँको विमानस्थलमा विमानबाट सबैभन्दा पछाडि निस्किइएछ। आफूभन्दा अगाडि धेरै लामो लहर देखेपछि ‘सबै सकिउन्, अनि जाउँला लाम लाग्न’ भन्ने सोच्दै शौचालयतिर पसें। लघुशंका निवारण गरेर हातमुख धुन खोजेको, चारवटा धारामध्ये कुनैबाट पनि पानी आएन। मनमनै भुत्भुताउँदै ऐना हेरेर कपाल मिलाउँदै थिएँ, ऐनामा रिमाल दाइ देखिए। “दाइ नमस्ते! अझै यहीँ हो? के छ हालखबर?” “ए! आउँदै हो कि क्या हो भाइ? म त यतै छु। अनि भाइको के छ? पढाइ सकियो हैन अब? के गर्छौ अब?” “अब एक-दुई वर्ष काम गरेर नेपाल फर्किनुपर्ला दाइ। देशको सेवा पनि गर्नै प-यो नि!” पछिल्लो कुरा बोल्दा मेरो स्वरमा अलिक वनावटीपना थपेको थिएँ मैले। अनुभवले मलाई के सिकाएको छ भने नेपालमा आदर्शको कुरालाई अलिक ढाकछोप गरेर बोलेन भने अनौठो जन्तु भईन्छ। “छोड्देउ भाइ देशको सेवा-सेवा!, यता फर्केर किन दु:ख पाउँछौ?! अब उतै ‘सेटल’ होउ!” रिमाल दाइले मलाई सल्लाह दिए। “ल भरे-भोलि घरतिरै भेटौंला।“ रिमाल दाइ उनको ‘ड्यूटी’ तिर लागे होलान्। रिमाल दाइ मेरो छिमेकी गाउँका हुन्, म भन्दा आठ-दश वर्ष जेठा होलान्। गुप्तचरपट्टि स. ई. थिए चार वर्ष पहिले मैले नेपाल छाड्दा, अहिले त माथि पुगे होलान्। त्यतिखेर पनि यसैगरी ट्वाइलेटभित्र जम्काभेट भएको थियो यीनीसंग, यस्तै कुरा भएका थिए र यिनले मलाई ठ्याक्कै यस्तै सल्लाह दिएका थिए। बीचमा एकपटक नेपाल आउँदा यिनीसंग भेट भएको थिएन तर एअरपोर्टमै छन् भन्ने सुनेको थिएँ। अहिले पनि यतै रहेछन् भनेपछि यीनले गतिलै ‘छाता’ ओढेका रहेछन् भन्ने मान्नुप-यो! बाहिर मान्छे पातलिईसकेछन्। नीता छोरी बोकेर मलाई कुरिरहेकी थिईन्, रिसाउन थालीसकेकि रहिछन्। *** भोलिपल्ट साँझ सर्वेन्द्र दाइ आए घरमा, मेरो ठूलो बाका छोरा उनी, छुट्टिएपछि अलि टाढा घर बनाएर बसेका छन्। घरमा भाइको बिहेको भिडभाड जम्मा थियो। “के छ केटा, पढाइ सकिस् हैन? छोरी पनि डेढ वर्षकी भईसकिछे। अब के गर्छस् त?” सर्वेन्द्र दाइले हल्लाखल्लालाई नाघ्ने आवाजले सोधे। “म अब दुइ वर्ष जति जापानमै काम गर्छु दाइ।“ “अनि नीता?” “उचैं अब माष्टर्स शुरु गर्ने---“ “धत्---! किन पढ्नु प-यो नीताले?!” मलाई बीचैमा रोकेर दाइ बोले। “काम गरेर पैसा पो कमाउनु पर्छ! पढेर के हुन्छ? तैंले पढिस्, भैहाल्यो नि! बरु------“ दाइ बोल्दाबोल्दै रोकिए पनि दाइले ‘बरु’ भन्दा पछि ‘तैंले पनि नपढेर दाम कमाउनतिर लाग्या भे’ हुन्थ्यो!’ भन्न खोजेका हुन् भन्ने अडकल गर्न गाह्रो थिएन मलाई। यस्ता भएछन् सर्वेन्द्र दाइ, मेरो बाल्यकालका आदर्श! भर्खरै कुनै मन्त्रालयमा उपसचिव भएका हुन् यिनी। **** “ओहो ज्वाईँसाप, दर्शन!” बिहेमा एकजना जेठान पर्नेले च्याप्प समाते। साथमा झकिझकाउ सुनले ढाकिएकी उनकी श्रीमती पनि थिईन्। मैले ‘दर्शन’ फर्काएँ। “पि.एच.डी सकि’स्यो है! साह्रै राम्रो भो! अब उतै ‘एकस्पर्ट’ भएर बसिस्योस्! किन बेकारमा यता आएर दु:ख गरिसिन्छ?” जेठान सापले एकसासमै सल्लाह दिईभ्याए। “यता आएर पनि के काम छ र? हजुरको ‘सब्जेक्टै’ नयाँ, कसैले पनि बुझ्दैन याँ!” उनले यसो भनिरहदाँ उनको अनुहारमा ‘मैले भने बुझ्छु!” भन्ने भाव थियो। यीनले त झन् बुझ्याबुझ्यै हो! चाचाचूमा उत्कृष्ट छन् यिनी, बाँकी सबैतिर ल्वाँठ! “अब आईयो भने क्याम्पसमा पढाउने काममात्रै भेटिएला यहाँ त।“ मैले भनें। “त्यस्तो विषय पढाउने ठाउँ के होला र ज्वाईँसाप यहाँ? अझ पचास वर्ष पनि हुँदैन।“ अनुसन्धानै त शुरु नभएपनि नेपालपुर क्याम्पसमा एडभान्स्ड बायोटेकका केहि कोर्षहरु पढाउन थालिएको थाहा थियो मलाई, तर मैले उनलाई भनिन। “ज्वाईँसाप जागिरमा थाइ भएरमात्रै गईसिनुपर्ने बाहिर। अनि फर्केर आउँदा अल्झिसिने बाटो बाँकी हुन्थ्यो।“ जेठानी दिदीले फेरि पुरानै कुरा दोहोराईन्। कृषि विभागको करारको जागिरलाई स्थाइ गराउनतिर नलागी जागिरै छोडेर म बिदेश पसेको त्यति राम्रो नमान्ने केहि मान्छेहरु मध्ये यिनीपनि हुन्। अरु पनि धेरै नातागोताहरु भेटिए र सबैसंग यस्तै कुराकानीमात्रै भए। सबैले मलाई नेपाल नफर्किने, दाम धेरै कमाउने र ‘उतै’ ‘सेटल’ हुने सल्लाह दिए। मैले पनि दह्रो प्रतिवाद भने गरिन, शायद ममै पनि नेपाल अवश्य फर्किन्छु भन्ने कुरामा त्यति धेरै आत्मविश्वास छैन। “जापानमा ‘सेटल’ भएर अरु कुरा त ठिकै थियो, छोरीको पढाइमा भने समस्या पर्छ। अँग्रेजीमा पढाई हुन्न त्यहाँ।“ के भनौं के भनौं भएर यो कुराचाहिँ म सबैसंग भन्थें। “त्यसको लागि नेपालै फर्किनुपर्छ त? ‘वेष्टर्न कन्ट्री’ तिर लागे हुन्छ नि!” सबैले यस्तै तर्क दिए मेरो कुराको जवाफमा। मान्छेपिच्छे देश सिफारिश गरे, कसैले अमेरिका, कसैले क्यानाडा, कसैले अष्ट्रेलिया, कसैले यूरोप आदि। बेलुका मनमा एकछिन यिनै कुराहरु आए। भोलिपल्ट एकघण्टा जति समय निकालेर डिन कार्यालयमा पुगें। डिनसंग ब्यक्तिगत चिनजान त छैन मेरो तर पछि फर्केर आएपछिको सम्भावनाहरुको बारेमा उनैसंग सल्लाह लिउँ, नराम्रो त के मान्लान् भनेर सोच्दै गएको थिएँ। डिन कार्यालयमा अखिल-क्रान्तिकारीले तालाबन्दी गरेका रहेछन्। एक महिना भईसकेको रहेछ। नेपालपुर क्याम्पसमा मेरा धेरै साथीहरु काम गर्छन्। ‘केटाहरुसंग भेट नभएको पनि धेरै भयो। अरु कुरा हरु पनि बुझ्न हुन्छ-----‘ भन्ने सोच्दै तीनदिनपछि म नेपालपुरतिर लागें। फेरि मलाई काठमाण्डौँको उकुसमुकुसबाट दुई दिन भएपनि भाग्नु थियो। त्यसका लागि घरमा देखाउन राम्रो बहाना मिलेको थियो। सडकमा आन्दोलन र बन्दको राप पनि अलि कम भएको बेला परेको थियो। त्यहाँ फेरि क्याम्पस-प्रमुखको राजीनामा माग्दै विद्यार्थीहरुले तालाबन्दी गरेको दुई महिना भईसकेको रहेछ। पूरै क्याम्पस खण्डहरजस्तो सूनसान र फोहर देखिन्थ्यो। मेरा साथीहरु पनि कोहि पनि देखिएनन्। पढाइ नहुने भएपछि कोहि घर, कोहि काठमाण्डौँ लागेछन्। कुनै साथीहरु विदेशतिर लागिसकेछन्। सम्पर्क अटूट राख्न नसकेपछि यस्तै हुन्छ। काठमाण्डौंबाट बिहान छ बजे हिँडेको थिएँ, दिउँसो २ बजे आफैंलाई ‘खुच्चिङ’ भन्दै काठमाण्डौँतिर फर्कन माईक्रो समातें। झ्यालपट्टि बसेको थिएँ र नउँघ्ने कोशिश गर्दै थिएँ जोडतोडले। “खै बाबु, यस्सो उता सरम् त----“ एकजना बूढा बा आएर मसंगै ढेस्सिए। बूढीआमै पनि थिईन्। बूढा अलि बढी राजनीतिक परेछन्, एकछिन चूप लागेर बसेका हैनन्। देशमा अशान्ति र अराजकता झन झन बढेकोमा चिन्ता ब्यक्त गर्थे उनी र नेताहरु सप्पैलाई सराप्थे। कुरो गराई हेर्दा केहि समय पहिलासम्म निकै सकृय राजनीतिक कार्यकर्ता भएको छाँट आउँथ्यो। “के गर्नु त अब हाम्रा सबै नेताहरु तेस्तै भए। गतिलो, इमान्दार नेता कोहि जन्मेन क्या रे!” अहिलेसम्म उनकै कुरा मात्र सुनेर बसेको मैले मुख फोरें। “त्यो त हो बाबु, तर मेरो आत्माले के भन्छ भने यो देश बनाउने मान्छे जन्मिसक्या छ। चाँडै त्यो मान्छे देखा पर्छ। तर मचैं त्यो मान्छेलाई नदेखी मर्छु कि जस्तो पनि लाग्छ।“ बूढा बा एकदम गम्भिर भए यति भनिसकेर। बूढी आमै नबोलीकन बाहिर हेरेर टोलाईरहेकी थिईन्। “बाबुको जागिर कता छ नि?” एकछिनपछि बूढाले मलाई सोधे। “जागिर त छैन, म पढ्दैछु, जापानमा।“ “बाबु पढाइ सकेर नफर्कने होला हैन? विदेश ग’का फर्केर आ’ देख्या छैन मैले। सबै यसरी भागेसी के हुन्छ देशको?” “हेरौं के हुन्छ, देशको स्थिति सप्रियो भने आइएला पनि।“ मुखबाट बोली फुस्किन नपाउँदै मलाई पश्चाताप हुन शुरु भयो। कति अवसरवादी भईसकेको रहेछ मेरो अचेतन मन! “बिग्रे नि सप्रे नि आफ्नो देश भन्या आफ्नै देश हो नि! नआएर कहाँ जानु नि!? यतिञ्जेलसम्म चूप लागेर बसेकी बूढी आमैले मलाई हप्काएझैं गरीन्। “ठीक कुरा गरी बाबु यल्ले।“ बूढाले फेरि मतिर हेरेर भने। “यसरी कसरी-कसरी भेटघाट-चिनजान भो बाबुसंग। बाबुचाहिँ पढाइ सकेर नेपाल आउनुस्। गरे यहिँ पनि धेरै काम छन् नि, हैन र?” ***** “ल खाजा खान झर्नुस् है!” खलासी कराएको आवाजले म ब्यूँझिएँ। बेनीघाट आईपुगेछ। मसंगका बूढा बा र बूढी आमै थिएनन्। मेरो छेउमा नवविवाहित एक जोडी, (शायद दुल्हन फर्काउन हिँडेका होलान्) मसिनो स्वरमा कुरा गरेर बसिरहेका थिए। सपना देखिरहेको रहेछु म! तर यी बूढा-बूढीलाई मैले पहिला कतै विपनामै, यथार्थमै भेटको थिएँ। शायद केहि वर्ष पहिला इलामको एउटा परियोजनामा काम गर्दा ताकाको कुनै बस यात्रामा होला। एक कप चिया आफ्नो अगाडि राखेर म सोचमग्न भएँ। आएपछि जति मान्छे भेट भए, कसैले पनि मलाई सधैंका लागि नेपाल फर्केर आउने सल्लाह दिएनन्। नेपाल आइज भनेर भन्ने मान्छे त सपनामै मात्र पो भेटिए! तर ठिकै छ, सपनामै भएपनि किन नहोस्, मेरो देशले कतैबाट त मलाई बोलाईरहेको छ!
Read Full Discussion Thread for this article