Posted by: gwanche March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
खै सोर्न मउसब रे, न कबिता न कथा, कता गए गाम्लेहरु ? यस्तै हो भने त सोर्न मउसब र अरु बाकी चौतारीहरुमा के फरक भयो र । मउसब त बिशेष मनाउनु पर्छ हैन र ? मै सुरु गर्छु है त, एउडा चाइन्जो कथा जस्तो लेख्याथे केइ दिन पैला, चौतारीको सोर्न मउसबको उपलक्ष्यमा पस्किने धृस्टता गर्नु परो, भूल चुक लिने दिने । त्यो सयको नोट 'काकु मलाई फिफ्टी रुपिज दिनुस् न, आज हाम्रो स्कूलबाट हामीहरु सबैजना जू जाने ।' धेरै बर्ष पछि यसपालि आदि घर गएको बेला एकदिन उसको भतिजाले स्कूल जानु भन्दा पहिला पचास रुपिया माग्यो। आर्यन, उसको भतिजा, उसले नेपाल छोडेर जानु भन्दा दुइ महिना पहिले जन्मेको हो, अहिले त दस बर्षको भइसक्यो, पाँच क्लासमा पढ्छ। आर्यन जन्मिनु भन्दा केहि दिन पहिले मात्रै आदिको भिसा कन्फर्म भएको थियो। भिसा भन्दा पनि आदिको घरमा नयाँ पाहुनाको आगमन बढि धूमधाम सँग मनाइएको थियो। डेलिभरिको दिन घरमा सबैजना रोमान्चित थिए, हरेक क्षण कसैको प्रतिक्षामा बितीरहेको थियो । आखिरमा त्यो शुभ समय आयो, जतीबेला आदिले बर्षौ देखि राज गरिराखेको ठाँउबाट उसलाइ त्यो नव आगन्तुकले हटाइदियो । प्रकृतिको नियम अनुसार नै रुख ठुलो हुँदै जाँदा पुराना हाँगाहरु माथि हुँदै गएर नयाँ हाँगाहरु तलतिर पलाउँदै गए जस्तै आर्यनको आगमन संगै आदी घरमा सबै भन्दा कान्छो रहेन, अब त आर्यन सबैभन्दा कान्छो भयो । आर्यन जन्मिनु भन्दा पहिला नै घरमा नयाँ आगन्तुकको नाम कन्फर्म भईसकेको थियो, छोरी भए आर्या, छोरा भए आर्यन राख्ने भनेर सबै सहमत भइसकेका थिए । आर्यन जन्मेको भोलिपल्ट हस्पिटलमा भेट्न जाँदा आदी एकदमै रोमान्चित थियो । भाउजुले आर्यनलाइ उसको काखमा दिंदा आदीले समाउनै सकेन, त्यो सानो प्राणिलाइ आफ्नो हातले बिझाउला कि भनेर। उसले यसभन्दा पहिला यती सानो बच्चा देखेकै थिएन । आदिले भाउजु कै हातमा हुँदा आफ्नो हातले हल्का छोएको मात्रै थियो आर्यनलाइ र त्यती नै बेला आर्यनले आफ्ना ति साना कोमल हातले आदीको एउटा औंला समाएका थिए । त्यसबेला देखि आदीले सबैलाइ भन्थ्यो, आर्यनले मसँग हस्पिटलमा ह्यान्ड सेक गरेको थियो भनेर । केही दिन पछि त आदीले नेपाल छोडेर जानु परीहाल्यो, आर्यनसँग धेरै समय साथ रहन पाएन । आर्यनले पहिलोपल्ट बामे सरेको, पहिलोपल्ट हिंडेको, पहिलोपल्ट केही असपस्ट शब्दहरु उच्चारण गरेको अर्थात आर्यन बढ्दै गएको प्रत्यक्ष रुपमा देख्न पाएन, हुन त घरबाट बेला बेलामा आर्यनका गतीबिधीहरु समेटेर भिडियो क्यसेट र पछि सि. डि. पठाइ रहन्थे । पछि त कहिलेकाँही आर्यनले अरु कसैको सहारामा तोते बोलिमा आदीसँग कुरा पनि गर्थ्यो । बेला बेलामा छुट्टीमा घर जाँदा आदिले आर्यनको लागि धेरै खेलौनाहरु, चकलेट, कपडाहरु लागिदिन्थ्यो । आर्यन अलि बुझ्ने भएपछि आँफै पनि फोनमा कुरा गर्थ्यो र आफुलाइ यसपालिको छुट्टीमा आउँदा ल्याउनु पर्ने सामानहरुको लिस्ट दिन्थ्यो । यस्तै कुनै बेला छुट्टीमा आएको एक दिन हो आर्यनले स्कूल पिकनिक जान आदीसँग पचास रुपैयाँ मागेको । 'आर्यन आज तिमीहरु पिकनिक जाने रे, किन चाहियो नि फिफ्टी रुपिज ?' आदिले आर्यनलाइ सोध्छ । 'काकु जूमा आइसक्रिम खाने नि, सबैजना साथीहरुले फिफ्टी फिफ्टी रुपिज ल्याउने भनेका छन आज' आर्यनले पचास रुपैयाँ चाहिनुँको कारण बतायो । 'मेरो कोठामा मेरो वालेट छ त्यसबाट निकालेर लग न त है, मेरो लुगा सबै भिजेको छ', आदी फूलहरुमा पानी हालीरहेको थियो, आफ्नो लुगा भिजेको हुनाले कोठामा जान नसक्ने कुरा बतायो । 'हस्' आर्यन दौड्दै भित्र गयो । एकछिन मैं आर्यन फेरी दौड्दै बाहिर आयो, 'काकु हजुरको वालेटमा त फिफ्टी रुपिजको नोट नै छैन, हन्ड्रेडको नोटहरु मात्रै छ । म हन्ड्रेड रुपिज लगेर फिफ्टी पछि फिर्ता गर्छु नि हुन्न ?' आर्यनले एउटा सय रुपैयाँको नोट देखाउँदै सोध्यो । हुन्छ भन्नको लागि आदिले टाउको घुमाएर हेरेको मात्रै के थियो, आर्यनको हातमा भएको सय रुपैयाँको नोट देखेर हेर्‍या हेर्‍यै भयो । ---------------------------o------------------------------- 'स्नेहा कस्तो छ तिमिलाइ आज, फिबर कम भयो? थाहा छ आज के भयो कलेजमा?' आदीले आफ्नो सबैभन्दा मिल्ने साथी स्नेहालाइ फोन गर्‍यो । स्नेहा बिरामि भएर केहि दिनदेखि कलेज आइरहेकि थियिनन। 'आज त फिबर छैन, अब दुइ तिन दिनदेखि कलेज आउन सक्छु म। अँ.. के भयो आज कलेजमा?' स्नेहाले सोधिन । 'आज म मेरो जूलोजिको प्र्याक्टिकल फाइल चेक गराउन गएको, प्रेमा म्यामकोमा, मेरो फाइलको फिगरहरु देखेर प्रेमा म्याम क्या खुशी हुनुभयो, सबै फिगरमा भेरी गुड दिनुभयो । म भन्दा ठीक पछि ज्ञानु पनि आफ्नो फाइल लिएर गएको थियो । प्रेमा म्यामले ज्ञानुलाइ क्या गाली गर्नु भयो, स्कुलमा पढ्ने बच्चाको भन्दा पनि नराम्रो फिगर छ भनेर । आदिको फाइल हेर त कस्तो राम्रो फिगरहरु बनाएको छ, अलिकति टाइम दिएर बनायो भने त राम्रो भईहाल्छ नि! सबै फिगरहरु फेरी बनाउनु भनेर सबै पेजमा रि-ड्र, रि-ड्र लेखीदिनुभयो । हामीहरु त हाँस्दा हाँस्दा बेहाल ।' आदीले भन्यो । 'तिमी किन जान्ने भएर सबैभन्दा स्ट्रीक्ट प्रेमा म्यामको मा गएको नि, सुनिल सरको मा गएको भए भईहाल्थ्यो नि । तिम्रो फिगरहरुसँग कम्पेयर गरेर बिचरा ज्ञानुले फेरी त्यत्रो धेरै फिगरहरु बनाउनु पर्ने भयो ।' स्नेहाले ज्ञानुप्रती सहनुभुती प्रकट गरिन । 'अँ जान्छ नि सुनिल सरको मा, सुनिल सरलाइ थाहा छैन कि क्या हो मैले कस्तो फिगरहरु बनाउँछु भनेर । त्यो फिगरहरु हेर्ने बित्तीकै सुनिल सरले थाहा पाइहाल्छ नि मैले बनाएको हैन भनेर, अझ कमेन्टस नि सबै तिमीले नै लेखीदिएकी छौ, सुनिल सरले त मेरो ह्यान्ड राइटीङ पनि चिन्छ अनि फिगरहरु मैले आँफै बनाएको हैन भनेर थाहा पाइहाल्छ नी, अनि ज्ञानुको जस्तै हालत मेरो पनि हुन्थ्यो ।' आदीले सुनिल सरलाइ प्र्याक्टिकाल फाइल चेक नगराउनुको कारण बताउँछ । आदी पढाइमा राम्रो भए पनि उसले एकदमै नराम्रो ड्रइङ गर्छ, त्यसैले यसपाली जूलोजीको प्र्याक्टिकलको लागि सबै फिगरहरु स्नेहाले बनाइदिएकी थियिन । हुन त स्नेहाको सब्जेक्ट जूलोजि हैन बोटनी हो, तैपनि आदीको लागि उनले फिगरहरु बनाइ दिइन । स्नेहाको ह्यान्ड राइटीङ र फिगरहरु एकदमै राम्रो छ त्यसैले त प्रेमा म्याम जस्तो स्ट्रीक्ट टिचरले पनि आदीको प्र्याक्टिकल फाइलको तारिफ नगरी रहन सकिनन । 'कस्तो बदमाश, बिचरा ज्ञानु फसेन त तिमीले गर्दा ?' स्नेहा अझै ज्ञानुप्रती सहानुभुती प्रकट गर्छिन । 'खुब, मैले भन्या थिए कि क्या हो ज्ञानुलाइ मसँग सँगै प्रेमा म्यामलाइ फाइल चेक गराउनु भनेर, झूर फिगर बनाउने मान्छेले त सुनिल सरलाइ देखाए पनि भइहाल्थ्यो नि, सुनिल सरले जस्तो मा पनि सिग्नेचर त गर्दिहाल्छ नि । बरु ज्ञानुको लागि नि बनाइदेउ न फिगरहरु, बिचराको काम त हल्का हुन्छ' आदी प्रस्टिकरण दिन्छ । 'बनाउँछु नि सबैको लागि फिगर, अरु केही काम छैन नि मेरो!' स्नेहा रिसाए जस्तो गर्छिन । ' ए...हैन हैन म त जिस्कीएको मात्रै हो, ज्ञानुले बनाइहाल्छ नि आफ्नो फिगरहरु आँफै, आफ्नो काम त आँफै गर्नुपर्छ नि, सधैं प्यारासाइट भएर काम चल्छ कि क्या हो ।' आदी भन्छ । 'आफुले चाँही खुब आँफैले फिगरहरु बनाएको जस्तो ।' स्नेहा ब्यङ्ग गर्छिन । 'अनी के गर्ने त जती गरे पनि राम्रो फिगर नै बनाउन सक्दिन म, एनिवेज थ्यान्क्स है' आदी फिगरहरु बनाइदिएकोमा स्नेहालाइ धन्यवाद दिन्छ । 'किन थ्यान्क्स् नि जाबो त्यती फिगरहरु बनाउँदा नि, फेरी फ्रेन्डशिपमा नो सरी, नो थ्यान्क्स् भनेको हैन ?' स्नेहा धन्यवाद दिनु पर्दैन भन्छिन । 'ओ के ओ के, स.... ए हैन, नो सरी नो थ्यान्क्स्' आदिको मुखबाट झन्डै फेरी सरी खुस्केको! 'सुमीको दिदीको बिहे रे हैन अर्को विक, आज सुमीले फोन गरेको थियो दिउँसो' स्नेहा सोध्छिन । ' ए हो त, बताउनै बिर्सेंछु, सबैले गिफ्टको लागि हन्ड्रेड हन्ड्रेड रुपिज उठाउने भनेको छन । हामीहरु सबै गरेर थर्टी टु जना छौं, सबै मिलेर गिफ्ट दिने रे' आदी बताउँछ । 'आदी, मेरो सेयरको हन्ड्रेड रुपिज नि तिमी राख्देउ न है, म तिमीलाइ पछि दिन्छु' स्नेहा आग्रह गर्छिन । 'नो प्रोब्लेम' आदीले स्नेहाको भागको सय रुपैयाँ राखिदिन्छु भन्छ । --------------------------o------------------------------------ केही दिनपछि सुमीको दिदीको बिहेमा जाने दिन स्नेहाले आदीलाइ फोन गर्छिन । 'आदी तिमीहरु को को सँगै जान लागेको सुनिता दिदीको बिहेमा' स्नेहा सोध्छिन । ' पाटनबाट आउने सबैजना हनुमानथानमा भेट्ने भनेका छन तर म एक्लइ जान्छु होला । मलाई एक्छिन ढिलो हुन्छ जस्तो छ, दादासँग एउटा अर्को भोजमा पनि जानु छ, त्यहाँ पुगेर म डाइरेक्ट्ली आउँछु ।' आदी आफुलाइ ढिलो हुने र एक्लई आउने कुरा बताउँछ । 'तिमीलाइ कस्तो छ नि आज, तिमी पनि आउने हो ? ' स्नेहालाइ अझै सन्चो नभएको हुनाले आउने कि नआउने भनेर आदिले सोध्छ । 'अब त ठीक भइसक्यो, रेस्ट मात्रै गरिरा' हो, फिबर त छैन । एकछिनको लागि भए नि आउंछु म पनि, सुनिता दिदीले आँफै फोन गर्नु भएको थियो' स्नेहा आफु पनि आउने कुरा बताउँछिन । ' म लिन आउँ त तिमीलाइ ?' आदी सोध्छ । 'हैन पर्दैन, हामीहरु सबैजना केटीहरु सँगै जाने भनेका छौं, स्मृतिको घरमा भेटेर चेन्ज गर्ने अनि सँगै जाने । सारी लगाएर घरबाटै जान त अप्ठ्यारो हुन्छ' स्नेहा साथीहरुसँगै जाने कुरा गर्छिन । 'ओ के, देन सि यु दियर' आदी त्यही भेट्ने कुरा गर्छ । आदी अलि ढिलो पुग्छ, सबैजना साथीहरु पुगीसकेका हुन्छन । ३२ जनाको सिंगै ग्याँङ नै भएको हुनाले खुब रमाइलो गर्छन । केहि समय पछि स्नेहा आदिको नजिक आएर सोध्छिन्, ' आदि तिमि कति बेला जाने हो, मलाइ पनि घरसम्म पुर्‍याइदेउ न है।' 'भइहाल्छ नि स्नेहा, तिमिले जतिबेला भन्छौ त्यतिबेला नै निस्किउँला नि।' आदिले स्नेहालाइ घरसम्म पुर्‍याइदिने कुरा गर्छ। 'हाफ एन आवरमा निस्किने है त।' स्नेहा आधा घन्टामा निस्किने कुरा गर्छिन। आधा घन्टा पछि अरु धेरै जना साथिहरु सँगै आदि र स्नेहा पनि निस्किन्छन्, आदिले स्नेहालाइ उनको घरसम्म पुर्‍याइदिन्छ। त्यहि बिचमा स्नेहा भोलिदेखि आफु पनि कलेज आउने कुरा बताउँछिन। भोलीपल्ट कलेजमा स्नेहा आदिलाइ एउटा रातो खाम दिन्छिन । खोलेर हेर्दा त्यसभित्र एउटा हरियो सयको नोट हुन्छ । नोटको दाँया पट्टी हुने सादा खाली भागमा स्नेहाले आफ्नो सुन्दर ह्यान्ड राइटीङमा लेखेकी थिइन, 'थ्यान्क्स् आदी'! ------------------------------o------------------------------ बिगतबाट बर्तमानमा आउँछ आदि, आर्यन अझै सयको नोट समाएर आफ्नो काकुलाइ हेरिरहेको थियो। 'बाबु, त्यो हन्ड्रेड रुपिजको नोट हैन, काकुले तिमिलाइ अर्को हन्ड्रेड रुपिजको नोट दिन्छु नि है!' आदि आर्यनको हातबाट त्यो सयको नोट लिएर आर्यनको हात समाउँदै भित्र जान्छ। ----------------------------------------oo------------------------------
Read Full Discussion Thread for this article