Posted by: Nepe March 10, 2007
मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी
Login in to Rate this Post:     0       ?        
पिरेज्यू, तपाईको सरल र सरस शैलीको म मौनप्रशंसक हुँ । त्यति चाही भनिहालौं । मेरो संस्कृतप्रेम चाही मेरो झर्रोवादप्रतिको अलगाव मात्र हो, अन्यथा होईन । वास्तवमा यसलाई संस्कृतप्रेम भन्दा पनि अनुचित हुन्छ । किनभने म विद्यालयमा संस्कृत विषयलाई अलग्ग नपढाई नेपाली भाषाकै शब्दभण्डारको रुपमा मात्र अर्थात् नेपाली भाषाकै कक्षामा पढाउनु पर्छ भन्नेमा छु । यसलाई यसो भन्दा हुन्छ -- म नेपाली भाषाको संस्कृतकरण होईन कि संस्कृत भाषा (शब्द) को नेपालीकरण गर्ने पक्षमा छु । त्यही सुत्र (vein) मा, म अंग्रेजी शब्दको पनि नेपालीकरण (अंगीकृत) गर्ने पक्षमा छु, अर्थात नेपालीमा नभएका अंग्रेजी शब्दलाई अंगिकृत नागरिकता दिने प्रथाको पक्षमा । पक्षमा भएपनि व्यवहारमा नै भने छुईन है, साँचो साँचो बोल्नु पर्छ । परमेन्द्रको बारेमा चाही, उसको तर्क र शालिनता यति inconsistent छ कि मैले तिनलाई अतिगम्भिरतापूर्वक लिन छाडिदिएको धेरै भईसक्यो । केही मधेसी मित्रहरुको पनि त्यस्तै अनुभव सुन्छु । उसको रचनात्मक उर्जालाई उसको inconsistency ले खत्तम पार्‍यो । मधेसको कुरामा चाही, मधेसमा आन्तरिक विभेद र विभाजन जति भए पनि मधेसी समुदायले राष्ट्रिय स्तरमा भोगेको विभेदको मुद्धा ओझेलमा पर्न पारिन हुन्न । नेपाललाई एउटा न्यायी, समानतावादी, समावेशी र आर्थिक उन्नतीवादी राज्यको रुपमा पुनर्संरचना गर्ने काम कसैलाई नपर्खेर जारी राख्नुपर्छ । त्यसो भन्दा मैले केन्द्र त्यसको निम्ती तयार भईसकेको छ भन्न खोजेको होईन । केन्द्रमा पनि स्वाभाविक, वास्तवमा अस्वाभाविक, अन्तरविरोध छ । सबै दलहरुका परम्परावादी तप्का, प्रगतिवादी तप्का र माओवादीको पनि कठमुल्लावादी (dogmatic) धार र व्यावहारिकतावादी (pragmatic) धारबिच बहुपक्षिय र जटिल तानातानी छ । तर खुशीको कुरा, जनआन्दोलनको क्रान्तिकारी जनादेशको कारणले गर्दा, आजको केन्द्रमा व्यावहारिकतावादी प्रगतिवादी धार हावी छ । त्यसैले सबै कुरा ठीक दिशामा (ठीक बेगमा नभए पनि) छ । जीवन, at the end of the day, शक्ति र न्यायको सन्तुलन हो । त्यसैले कुनै स्वीकार्य सन्तुलन प्राप्त गर्न गरिने संघर्ष, अथवा समयको आवश्यकता अनुसार पुरानो भएको सन्तुलनलाई पुनर्समिक्षा गर्न गरिने संघर्ष आदि जीवनको स्वाभाविकता हो । नेपालको अहिलेको केही अन्योलको अवस्था त्यही हो-- एउटा स्वीकार्य सन्तुलनमा पुग्न झट्कारिईरहेको अवस्था । यो स्वाभाविक, आवश्यक र अवश्यम्भावी कुरा हो । र अन्त्यमा, मधेसीहरुको आन्तरिक विभेद, विभाजन र राजनीति मधेसीहरुको मात्र मामला नभएर समस्त नेपालको मामला हो । यसलाई त्यसरी हेरिनु पर्छ । Nepe
Read Full Discussion Thread for this article