Posted by: tregor February 27, 2007
कथा: एक साँझको अनुभूति
Login in to Rate this Post:     0       ?        
...was originally posted in the college monthly called "Prawaha"........ एक साँझको अनुभूति पाँच-छ बर्ष जति भयो होला । म भर्खरै आइएस्सी पढ्न थालेको थिएँ। त्यतिखेरका सबै स्मृति मेरो मनसपटलमा जिवित त छन् तर ती अनुभूतिहरु एउटा अँध्यारो गुफाजस्तो लाग्दछ जसभित्रको दुरुस्त आकृति म अहिले देख्न सक्तिनँ तर छामछुमकै भरमा वस्तुहरु ठम्याउन सक्तछु । पुसको ठन्डा महिना ।साँझ छ-सात बजेतिर चिसो सिरेटो चल्दै थियो ।सुनधाराको टेम्पो बिसौनिनेर म टेम्पो कुरिरहेको थिएँ ।त्यसताका म प्राय एक्लै समय बिताउने गर्थेँ ।मनमा विचारका ज्वारभाटाहरु उर्लिरहन्थे हर्बखत ।सामुन्ने उभिरहेको शिशिरको तुषारोले नाङ्गिएको रुखबाट हटेर एक्कासि मेरा आँखा सँगै उभिरहेकी केटीमाथि परे । स्वभाविक रूपमा मेरो मगजको रिक्त स्थान उसको तस्वीरले ओगट्न पुग्यो । ऊ पनि एक्लै थिई ।मलाई किन हो त्यसै उससित कुरा गरौं गरौं झैं भयो ।मलाई केटीहरुसित बोल्न सनैदेखि असजिलो लाग्थ्यो ।त्यो पनि विना कारण ।साँच्चिकै उसले मभित्र कौतुहलताको ज्वाला दन्काइदिई जसलाई साम्य पार्न पनि उससित वातचित गर्नु जरुरी थियो। त्यस शुन्य परिवेशमा ऊ पनि कताकता अशुन्य देखिन्थी ।एकैछिनमा हाम्रा नजर जुध्न पुगे ।निमेषभरको त्यो जुधाइले पनि असीम खल्बली मच्चाइरहेथ्यो ।पटकपटक हाम्रा नजर जुधिरहे,जुधिरहे ।मलाई लाग्दथ्यो उसका ती तिलस्मी नयनबाट जादुमय तरङ्गहरु अविरल बहिरहेछन्् र मेरा विवश आँखाहरुबाट प्रवेश गरी मस्तिष्कको त्यस कुनामा स्पर्श गरिरहेछन्,जहाँ मेरो प्रेम ग्रन्थीमा प्रेमपूर्ण अभिव्यक्तिहरु सुषुप्त भैइ बसेका छन् अनि त्यस स्पर्शले तिनलाई जागृत गरिरहेको छ ।उसप्रति म एकाएक नै अनियन्त्रित रूपले सम्मोहित हुनपुगें ।ऊ पनि चक्षु सम्वादमा उत्तिकै सक्रिय देखिन्थी ।उसको त्यो एकदमै केन्द्रीत हेराइबाट प्रष्टिन्थ्यो ।महत्वकांक्षी खालको हेराई। हामी दुई बिचको महत्वाकांक्षाले झन् सङ्कोच पैदा गरिरहेथ्यो ।पटकपटक हामी एकार्कालाई हेर्थ्यौ र निमेष भरमै टाउको अर्कतिर फर्काउथ्यौं । धेरै बेरसम्म हामीले टेम्पो पाएनौं ।सङ्कटकालको बेला भएकोले निकै कम साधनहरु देखिन्थे । धेरै बेरपछि एउटा टेम्पो आयो ।ऊ सरासर त्यस तर्फ गई,पछिपछि म गएँ ।उसले एकपल्ट फरक्क फर्केर पछाडि हेरी ।सायद जाँच्न चाहन्थी हामी एउटै टेम्पोको प्रतिक्षामा थियौं कि भनेर ।विशुद्ध शङ्कालु नजर थिए उसका ।सीट पाइएन,त्यसै फर्कनुपर्‍यो ।आउनेबित्तिकै खचाखच भरिन्थे टेम्पोहरु ।अन्तत: एउटा खाली टेम्पो आयो ।हामी दुईलाई संयोगवश कुनाका दुई सम्मुख सीटहरु परे ।सुन्धारादेखि कुपोन्डोलबिच कहीं त अवश्य बोली फुट्ला भन्ने दरो आशा भयो मनमा । मैले उससित वातचित गर्न खोजें तर ओठबाट शब्द निस्केन ।त्यसबेला उससित के भन्ने हो म सोच्न सकिरहेको थिइनँ । उसको नाम सोधुँ वा कुन कलेज मा पढ्छे सोधुँ निर्णय गर्न सकिनँ ।निहुँ बनाएरै भए पनि 'टाइम कति भयो होला" भनेर सोधुँ कि झैं पनि भयो ।कुनै कृतिम शैली प्रयोग गर्नु पनि ज्यादै नकारात्मक हुन जान्छ ।छेवैमा बसेको एउटा अधवैशें मानिससँग उसले कुरा गरेको मैले सुन्न खोजें तर मैले स्पष्ट बुझ्न सकिनँ,टेम्पोको आवाजले गर्दा ।ऊ भन्दै थिई ऊ साईन्स पढ्छे भनेर अनि आफ्नो कलेज को नाम समेत भनेकी थिई ।आफैले बोली फुटाउने साहस पनि हुँदैनथ्यो ।मानौं म एउटा शैक्षिक अन्तर्वार्ता दिइरहेछु,मनभित्रका असङ्ख्य विचारहरु एक आपसमा टक्राएर समाप्त हुन्छन् र फलस्वरूप कुनै बोली निस्कदैन । म उसप्रति पूर्णतया विमोहित हुन पुगें ।ऊ वास्तवमै मैले देखेकोमा सबैभन्दा सुन्दर केटी थिई ।कुनै पनि वस्तुप्रति मैले त्यत्तिको मोह राखेको थिइनँ ।मेरा निम्ति ऊ नै विश्व सुन्दरी अनि ब्रह्मान्ड सुन्दरी थिई ।मेरा लागि ऊ बाहेक कुनै वैकल्पिक वस्तु थिएन ।उसको सरल तर आकर्षक आधुनिक पहिरन,सुन्दर रेशमी काँधसम्मका केशराशीले मलाई सजिलै परास्त गरिसकेका थिए ।उसको सरक्क परेको अनुपात मिलेको शरीर । गहुँगोरो मुहारमा असीम चमकता प्रतिबिम्बित भएको ।अनि त्यो लजालु हेराइले त्यसमा झन् सौन्दर्य थपिरहेको आभास हुने ।उसको दाँया गालामा एउटा सेतो ब्युटी-स्पट थियो ।त्यो सिङ्गो तस्वीर मेरो आँखामा दुरुस्त अझै सुरक्षित छ। त्यो केवल उसको रूप थिएन जसप्रति म त्यति लुब्ध थिएँ ।मेरो आकर्षणको केन्द्रविन्दु त उसको सरलता थियो ।उससँग कुराकानीविना नै,यो सानो साक्षत्कारबाटै उसलाई चिनिसकेको थिएँ,उसको आन्तरिक सौन्दर्य देखिसकेको थिएँ ।उसको मुहारको परावर्तनले देखाउँथ्यो ।मेरो मनको आदर्श चित्र मेरा आँखा अगाडि जिवित भेटेझैं लाग्न थाल्यो ।मानौं ऊ एउटा दन्त्यकथाकी राजकुमारी हो र उसलाई म वायुपङ्खी घोडामा राखेर अलौकिक दुनियाँमा लैजान चाहन्छु । जीवनमा प्रथमपल्ट मैले कुनै स्त्रीको सौन्दर्यको त्यत्ति गहिरिएर बखान गरेको थिएँ ।प्रथमपल्ट मनभित्रबाट असङ्ख्य भावहरु उर्लिएका थिए ।कुनै कवि या साहित्यकारको रचना वा चित्रकारको कला भन्दा सायद कम आनन्द पाइनँ मैले उसको सौन्दर्य-चित्रणमा ।कविताहरु फुरे । म आफैं पूर्णतया काव्यत्मक बन्न गएँ ।लाग्दथ्यो,मेरो मस्तिष्क नै एउटा काव्यमा परिणत भयो जसलाई मेरो हृदयले वाचन गरिरहेछ ।"प्रेममा पर्नु कुनै काव्य लेख्नु भन्दा बढी काव्यात्मक हुन्छ" भनेर चेस्टरटनले त्यसैले भनेका रहेछन् । भावनाका तरङ्गहरुमा लहरिंदा लहरिंदै मेरो गन्तव्य पनि आइपुग्यो ।मैले त्यहाँबाट केवल जानुपर्ने मात्र थिएन, उससँग छुट्टिनुपर्ने पनि थियो,सम्भवत: सदा सदाका लागि ।म ओर्लिएँ,आफ्ना सम्पूर्ण आशा अनि अभिलाषाहरुलाई सङ्कुचित पार्दै ।मुटुको गति तेज थियो । एकातिर मेरो आशाको भाँडो खोक्रिंदै गयो भने मस्तिष्करूपी भाँडो भने विचारका ज्वारभाटाले भरिन थाल्यो ।मैले उसलाई गुमाउनु त अवस्यंभावी थियो नै ।मलाई लाग्छ, अझ सम्भावना निकै कम हुन्छ,त्यस चिजलाई पाउन जुन औधी प्यारो हुन्छ ।तैपनि एकपल्ट बाहिरबाटै अलविदाको सङ्केत गर्न हात हल्लाऊँ कि जसो लाग्यो तर त्यसो गर्न पनि ज्यादै अनौठो लाग्यो ।यसप्रकार मेरो उससँगको प्रतिक्रिया हेराइको हेराइमै सिमित भयो ।तैपनि,उसलाई झिसमिसेमा टाढासम्म हेरिरहें, जबसम्म ऊ क्षितिजमा गएर बिलाइन ।
Read Full Discussion Thread for this article