Posted by: nevermind February 23, 2007
What makes a person hindu?
Login in to Rate this Post:     0       ?        
हिन्दू धर्ममा लोकतान्त्रिकरण आवश्यक Filed under: समाचार र विचार — Administrator @ 12:45 pm -गणेश पौडेल/काठमाडौँ- जेठ ४ को प्रतिनिधि सभाको घोषणाले नेपाल हिन्दू अधिराज्यबाट धर्म निरपेक्ष राज्य बन्न पुगेको छ। यसबाट विभिन्न क्षेत्रमा प्रतिकृयाहरू आएका छन्। कतिपय स्थानमा हिन्दू अतिवादीहरूले नेपाललाई पुनः हिन्दू राज्य घोषणा गर्न मागसहित प्रदर्शन गरेका छन् भने धर्म निरपेक्षताले हिन्दूहरूलाई आफ्नो गतिविधि सञ्चालन गर्न कुनै अवरोध नपुग्ने विचारहरू पनि आएका छन्। धर्म निरपेक्ष राज्य घोषणा भएबाट परम्परावादी हिन्दूहरू खिन्न भएका छन्। उनीहरू आफ्नो बहुमत भएकै कारण हिन्दू राज्य हटाइनु हुन्न भनिरहेका छन्। अर्कातिर हिन्दू धर्मलाई राजा र प्रतिगामीहरूले दुरुपयोग गरी लाभ उठाउने प्रयत्न गरेका छन्। यसैबाट आरोपित हुने डरले धर्मप्रति कुनै स्वार्थ नभए पनि जन्मजात आस्थाका कारण आफ्नो धर्मको बचावट गर्न चाहने एकथरी नेपालीहरू मौन बसेका छन्। उनीहरूले संस्थागत रूपमा आफूहरू शुद्ध रूपमा धर्म मान्ने तर राजालाई पूजा नगर्ने कुरा व्यक्त गरेका छैनन् जसले सबै हिन्दूहरू राजालाई अन्ध-भक्त भै मान्दछन् भन्ने गलत विचारहरूको पनि विकास भैरहेको छ। हाम्रो देशमा मानिने हिन्दू धर्ममा एकातर्फ सामाजिक रूढिवादका कारण विभिन्न विसंगतिहरू रहेका छन् भने अर्कातिर यस धर्मका आडमा बाहुन पण्डितहरूले अनुचित फाइदा उठाइरहेका छन्। संस्कारको पाठ सिकाउँदै उनीहरूले गरिब हिन्दू जनताको खुन-पसिना चुस्ने काम गरिरहेका छन्। धर्म र समाजको डरमा ती निरीह जनताहरू पनि बाहुन खुशी पार्न जायजेथाको पर्बाह नगरी धार्मिक अनुष्ठान गर्न बाध्य हुन्छन्। मानिस बाँचुन्जेल उपचारमा खर्च नगरेको सम्पत्ति ऊ मरेपछि उसलाई तार्ने बहानामा ब्राह्मणलाई दान गर्नमा खर्च हुन्छ। समाजमा छुवाछूत लगायतका प्रथाहरू विद्यमान रहेका छन्। जसले कथित तल्लो जातका जनताहरूमा हीनताबोध भैरहेको छ तर यो सामाजिक परिस्थितिको सकारात्मक ढंगले परिवर्तन गर्न कुनै धार्मिक नेता वा बाहुन पण्डितहरूले कुनै योगदान दिएको पाइँदैन। यसबाट खासगरी तल्लो मानिएका जात जातिका हिन्दूको धर्म प्रतिको आस्था घट्दै गैरहेको छ भनेँ अर्कोतर्फ धर्म प्रचारमा पैसाको खोलो बगाइ रहेका अन्य केही धार्मिक सम्प्रदायले जातीय उदारताको बहानामा आफ्नो धर्मतर्फ आकर्षित गरिरहेका छन्। पञ्चायत कालमा हिन्दू अधिराज्यको हिन्दू सम्राटको दम्भमा राजा तथा तत्कालीन शासकहरूले बौद्धबाहेक अन्य गैह्र हिन्दू धर्मलाई अघोषित रूपले निषेध नै गरेका थिए। यसबाट उनीहरूको अनुदारता प्रस्ट झल्कन्छ। त्यसो गर्नुको साटो छुवाछूत लगायतका सामाजिक कुरीति र विसंगति हटाउनेतर्फ समय लगानी गरेको भए हिन्दू धर्ममा यत्रो आक्रमण हुने पनि थिएन। यस्ता सबै कुराहरूबाट बेखबर रहेका हिन्दूहरू वैष्णव, प्रणामी, शाक्त, शैव, मानव, ठाकुर, ॐशान्ति, सनातन, लगायतका सम्प्रदायमा विभाजित हुँदै गैरहेका छन्। यस्ता सम्प्रदायका अग्रज हरूको तर्क हिन्दू धर्मलाई टेवा दिनका लागि आ-आफ्ना सम्प्रदायबाट सक्रिय हुनुपर्छ भन्ने हुन्छ तर यदि त्यसो हो भने एउटा हिन्दू सम्प्रदायले अर्को हिन्दू सम्प्रदायको आलोचना मात्र होइन खोइरो खन्ने क्रियाकलाप निरुत्साहित हुनुपर्छ। हिन्दू धर्मको आडमा राज्य सत्तामा प्रभाव कायम राख्ने दुष्प्रयास राजाबाट पनि भएको हो, अर्कातिर हिन्दू अतिवादीहरूले भारतीय हिन्दू अतिवादी शक्तिको सहयोगमा राज्य सत्तामा पुग्ने दाऊ लगाउन खोजेको कुरा पनि तर्कपूर्ण लाग्दैछ। परिस्थिति र समय अनुसार जस्तोसुकै व्याख्या गरिए पनि हिन्दू धर्ममाथि आक्रमण हुन थालेको कुरा निश्चय नै हो। हाम्रो देशमा हिन्दू धर्म सम्बन्धी धेरैवटा संस्थाहरू छन्। तीमध्ये ठूल्ठूलो सञ्जाल भएका विश्व हिन्दू महासंघ जस्ता कतिपय संस्थाहरू शक्तिकेन्द्रका पूजारी बनिरहेका छन्। निश्चित व्यक्ति वा समूहको स्वार्थका कारण खोलिएका धार्मिक संगठनहरूको पनि बिगबिगी नै छ। त्यसले गर्दा विशुद्ध धार्मिक विचार भएका संस्थाहरू पनि बदनाम भएका छन्। आफ्नो धर्मविरुद्ध प्रचारवाजी तथा आक्रमण हुँदा संरक्षण गर्न नैतिक बल मजबूत भएका धार्मिक संगठनहरू अगाडि सर्नुपर्ने हो। तर यहाँ त्यस्ता संगठनहरू अगाडि आउन सकिरहेका छैनन्। हिन्दू धर्मप्रतिको आस्थामा कमी आउनुमा यो धर्ममा हाबी रहेको बाहुनवाद, सामन्ती शासनकालिन धर्मग्रन्थमा पुनर्लेखन गर्ने उदारताको कमी, सामन्ती शासनकालिन जातीय आधारको वर्णव्यवस्था र छुवाछूत प्रथालाई मान्यता दिनु, सबै जात-जातिका मानिसहरू प्रति समान दृष्टिकोण नबनाइनु, बाहुन जातीका पण्डितले मात्र धार्मिक कार्य गर्ने परम्परा रहनु, लोकतान्त्रिक आचरण नलिइनु, कुनैपनि कुरालाई उदारपूर्वक नसोची तर्कहीन रूपले प्रस्तुत गर्नु आदि मुख्य कारण हुन सक्छन्। समयको प्रभाव, सञ्चारको विकास, विश्वव्यापीकरण आदि कारण हिन्दू ब्राह्मण र क्षत्रीय युवाहरूले पुरातनवादी रूढिवादमा केही सुधार ल्याउन खोजेको लक्षण अलि-अलि देखा पर्न थालेको छ। बीस वर्षको परिवर्तन हेर्ने हो भनें कथित तल्लो जातले छोएको सम्म नखाने युवाहरू अलिअलि गर्दै जातपात नमान्ने हुन थालेका छन्। यसलाई समाजको सकारात्मक परिवर्तनको द्योतक मान्न सकिन्छ। त्यसैगरी अन्तर्जातीय विवाह, अन्तर सांस्कृतिक (जस्तै पहाडे र मधेसी जातिबीच) विवाह, अन्तर धार्मिक विवाह आदिको प्रचलन बढ्नु, ब्राह्मण जातिले कहिल्यै नछुने कुखुराको मासु व्यापक रूपमा प्रयोगमा आउनु इत्यादि परिवर्तन विस्तारै हाम्रो समाजमा देखा पर्न थालेका छन्। कट्टरवादीका लागि अहिले पनि यी कुराहरू सहज बन्न सकेका छैनन्। हिन्दू धर्मलाई बचाई राख्ने हो भने यस धर्ममा तत्काल निम्न अनुसारका सुधार हुन आवश्यक छ। १। बाहुनवादको अन्त्य हुनुपर्छ २। धर्मशास्त्रमा पुनर्लेखन हुनुपर्छ ३। सबै जातजातिका मानिसहरू प्रति समान दृष्टिकोण बनाइनुपर्छ ४। बाहुन जातिका पण्डितले मात्र धार्मिक कार्य गर्ने परम्परा तोडिनुपर्छ ५। लोकतान्त्रिक आचरण लिई उदारता अपनाउनुपर्छ। यी बूँदाहरुको व्याख्या म भोलि गर्नेछु। कृपया प्रतिक्रिया लेख्न नभूल्नु होला। हिन्दू धर्ममा लोकतान्त्रिकरण आवश्यक-2 Filed under: पाहुनाको पालो — Administrator @ 12:09 am -गणेश पौडेल/काठमाडौँ- यो दोस्रो भाग हो। पहिलो भाग यहाँ क्लिक गरी पढ्न सकिन्छ। हिन्दू धर्मलाई बचाई राख्ने हो भने यस धर्ममा तत्काल निम्न अनुसारका सुधार हुन आवश्यक छ। १) बाहुनवादको अन्त्य हुनुपर्छ हिन्दू बाहुन पण्डितहरूले धर्मशास्त्रलाई आफ्नो पक्षमा लेखी त्यसलाई सोही बमोजिम प्रचार प्रसार गर्दै आइरहेका छन्। त्यसैले यो धर्ममा बाहुनको स्थान पवित्र, उच्च र सर्वेसर्वा किसिमको छ। उसले भनेको सबै कुरा मान्दै जाँदा बाहुन बाहेक अन्य जातिका मानिसहरूको हिन्दू धर्ममा स्थान साँघुरिँदै गयो। अब हिन्दू धर्ममा भैरहेका प्रहारहरू रोक्ने हो भने उदारतापूर्वक बाहुनबादको अन्त्य गरिनुपर्छ, सबैलाई समान स्तर र स्थान दिइनुपर्छ। २। धर्मशास्त्रमा पुनर्लेखन हुनुपर्छ आफ्नो तर्कले जित्ने नदेखेपछि बाहुनहरूले धर्मशास्त्रको हवाला दिने गर्दछन् जुन सामन्तकालीन समयमा कम्तीमा पनि २ हजार वर्षअघि लेखिएका छन्। धर्मशास्त्रमा त्यस बेलाको पुरुषप्रधान सामन्ती समाजका पर्याप्त झलकहरू देख्न पाइन्छ। बाइबलमा समय सापेक्ष सुधार भएको पाइन्छ, तर बेद र पुराणहरू यथास्थितिमा छन्। वेदको समयोचित परिमार्जन भैरहेको भए अहिले सम्ममा विश्वकै उत्कृष्ट विश्वकोश हुने कुरामा कुनै शंकै छैन। उदाहरणको रूपमा नेपालकै परिवेशमा लेखिएको स्वस्थानीलाई लिऊँ- शिवजी आइपुग्नासाथ सुनको कमण्डलु लिएर वहाँको गोडा धुन देवी पार्वती बाहिर निस्कनुहुन्छ। सुमेरु पर्वत परिक्रमा गरेर आएका कुमार भन्दा शिवजीकै चाकडी गरेर शिवजीलाई नै परिक्रमा गर्ने गणेशको पहिलो पूजा हुन्छ। राजकाज र सुशासनको कुरा बिर्सेर अप्सराहरूको नाचगानमा इन्द्र लाग्छन्, उनलाई संकट पर्दा चैं संकट हटाउन अरू देवताले साथ दिन्छन् आदि। यस्ता कुराहरूमा जातीय, लैंगिक, सामाजिक ढंगले पुनर्लेखन हुनुपर्छ। हिन्दूकै धर्मग्रन्थ गीताले भन्छ कर्म नगरी फल पाइन्न, फेरि किन पुराण लगायतका अरू धर्मग्रन्थले भजन मात्र गर्न सिकाउँछन् ३। सबै जातजातिका मानिसहरूप्रति समान दृष्टिकोण बनाइनुपर्छ प्राचीन कालदेखि नै हिन्दूधर्म ब्राह्मणवादमा अडेको देखिन्छ। वर्णव्यवस्था अनुसार कामको बाँडफाँड गरी ब्राह्मणलाई धर्मको कामकाज छुट्याइएको, क्षत्रीयहरू राजकाजमा मात्र व्यस्त हुने हुनाले यतातिर चासो नदिने तथा वैश्य र शूद्रलाई तल्लो दर्जामा राखिएकाले उनीहरूले यसविरुद्ध आवाज नै उठाउन नसकेकाले बाहुनको मात्र धर्ममा वर्चस्व रहन गएको हुनुपर्छ। अब वर्णको आधारमा पेसा अपनाउने जमाना गैसक्यो। जिविका चल्छ र आफ्नो मन रमाउँछ भनेँ बाहुनले पनि जुत्ता र लुगा सिलाउन पाउँछ, कथित शूद्रले पनि विद्यालयमा पढाउन वा धार्मिक प्रवचन दिन पाउँछ। वैश्यले राजकाज गर्न चुनाव लड्न पाउँछ, क्षत्रीयले पनि जुनसुकै पेसा अपनाउन सक्छ। अब वर्णव्यवस्थालाई समाजबाटै हटाउनु पर्दछ। यसलाई वंशभित्रको बिहावारी रोक्नका लागि र आफ्ना पिता पुर्खा पहिल्याउनका लागि एउटा इतिहासको रूपमा मात्र सम्झिनुपर्छ। यस बाहेकका अन्य अवस्थामा सबैलाई समान अवसर र स्थान हुनुपर्छ जुन कसैले दिएर मात्र हुँदैन यो सम्बन्धी मान्यता समाजमा नै स्थापित हुनुपर्छ। ४। बाहुन जातिका पण्डितले मात्र धार्मिक कार्य गर्ने परम्परा तोडिनुपर्छ अहिले विभिन्न धार्मिक अनुष्ठान गर्दा बाहुन जातिका मात्र पुरेत पण्डित लगाउने गरिन्छ। त्यस्तो परम्परा तोड्दै आफ्नो इच्छा अनुसार जुनसुकै जातका मानिसले पनि धार्मिक अनुष्ठान गर्नरगराउन सक्ने बनाउनुपर्छ। यसो भएमा धर्मलाई आफ्नो पक्षमा प्रचार वाजी गर्ने काम बाहुनमा मात्र सीमित नरही सबैलाई समान अवसर मिल्दछ। ५। लोकतान्त्रिक आचरण लिई उदारता अपनाउनुपर्छ सबै हिन्दूका लागि पनि मान्य नहोला तर धर्ममा उदारता नअपनाउने हो भनेँ यसको अस्तित्व सकिन बेर लाग्दैन। त्यसैले हिन्दू धर्ममा रहेका अनुदारताहरूलाई विस्तारै हटाउँदै लैजानु पर्दछ। कट्टरताले वैमनष्यता जन्माउँछ, उदारताले स्नेह र सद्भाव जगाउँछ। हिन्दू धर्मले गाई मार्न र त्यसको मासु खान वर्जित गरेको छ तर हिन्दू धर्मावलम्बी हरूको बसोबास नभएको ठाउँमा गाईको मासु खाने गरेको तथ्य कसैबाट छिपेको छैन। देशका पाँचतारे होटेलमा विदेशबाट झिकाई-झिकाई विदेशी “गेष्ट” लाई गाईको मासु “बीफ” खुवाउन हुने, गैह्र हिन्दू गरिब नेपालीले गाईको मासु खान नपाउने ! स्वास्थ्यकै कुरा गर्ने हो भने पनि अहिले भारतबाट रोगी लुते राँगा आयात गरी तिनको सडे गलेको मासु खाइन्छ। गाईको मासु खान दिने हो भने भारतबाट आयातित अस्वस्थ राँगाको भन्दा स्वस्थ नेपाली गाईको मासु रोज्ने मानिस धेरै हुन्थे होला। त्यसैले कसैले चाहन्छ भने उसलाई जेसुकैको मासु पनि खान दिइनुपर्छ, यदि कसैलाई त्यसो गर्न मन लाग्दैन भने उसले गर्दैन, हाम्रो जनसंख्याको ८० प्रतिशत भन्दा माथि नै हिन्दू रहेछन् भने पनि २० प्रतिशत गैर हिन्दूले उनीहरूलाई मनपर्ने गाई वा अन्य जुनसुकै जनावरको मासु पनि खान पाउनुपर्छ। तर उनीहरूले हिन्दूहरूलाई असर पार्ने गरी सार्वजनिक स्थानमा त्यस्तो मासुको मारकाट गर्न भने दिनु हुँदैन। यो विषयलाई सार्वजनिक बहसमा ल्याउनै पर्छ। हिन्दू धर्मलाई जीवन्त राख्ने हो भनें यसका सबै संस्कार र आचरणहरूलाई लोकतान्त्रिकरण गर्नै पर्छ नत्रभने हिन्दू धर्मको अस्तित्व पनि संकटमा पर्ने दिन नआउला भन्न सकिन्न। Source : my sansar.com
Read Full Discussion Thread for this article