Posted by: shirish February 10, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
from gorkhapatra.org.np भूगोलभित्रै कोरिएका गजलहरू नेपाली साहित्यमा गजल विधाले अब मजैले खुट्टा हालेको छ । यस विधामा प्रशस्त मात्रामा नयाँ स्रष्टाहरू त लागेकै छन् तर गर्वको कुरो कविता र गीतका क्षेत्रमा नेतृत्व गरिरहेका साहित्यकारहरूले समेत गजल लेख्न थालेका छन् । यसरी गजल लेखिरहने भीडमा हेलिएका गजलकारहरूमध्ये एक दीपक श्रेष्ठ 'समीप' पनि हुन् । उनी भीडका सदस्य त हुन् तर भीडभित्र प्रस्ट रङमा देखिने गजलकार हुन् भन्ने कुरा उनको कृति "भूगोलभित्र नकोरिएको देश" हेरेपछि थाहा हुन्छ । दीपक श्रेष्ठले 'श्रेष्ठ' नलेखी दीपक समीप मात्र लेख्ने गर्छन् साहित्यमा । उमेरमा भर्खर ३० का यिनी गजलमा चाहिँ पाको देखिन्छन् । उनी कवि पनि हुन् तर कविको सीमा मिचाइ पनि छैन । उनका गजलहरू स्वतन्त्र छन् गजलकारले लेखेजस्तै । उनी पोखरामा भएको तर देशमै नाम चलेको साहित्यिक संस्थाहरूका खम्बा हुन् । उनको सक्रियता उनको उमेरअनुरूप नै जाँगरिलो देखिन्छ साहित्यमा जस्तै । उनले यस सङ्ग्रहको नाम 'भूगोलभित्र नकोरिएको देश' राखे पनि लेखाइ भूगोलभित्रै छ र जहाँ छन् उनी त्यही ठाउँमाथि उनका गजलहरू ठिङठिङ्ती उभिएका छन् । यस गजल सङ्ग्रहमा जम्मा १०१ वटा गजलहरू छन् । गजलहरू संरचना, बुनौट, लय, विषयवस्तुको चयन समसामयिकतामा उच्च स्तरका छन् । गजलहरूका बीचबीचमा चर्चित साहित्यकारहरूका दृष्टिकोण वा भनाइहरू राखेर प्रस्तुतिको नयाँ ढाँचा हालेका छन् उनले । पढ्दा स्वाद केही मत्थर भएको बेला ती दृष्टिकोणहरूले अलिकति अड्याउँछन्, विश्राम दिन्छन् र फेरि पाठकलाई ताजा बनाइदिन्छन् । मोफसलमा बसेर राजधानीमा प्रशस्त मञ्च पाएर चर्चित बन्न पुगेका गजलकारहरूका लागि उनी स्तरमा हाँकसरह भएका छन् । गजलका विषयवस्तु समेटाइ उल्लेखीय छ । उनले राजनीति, समाज र मान्छेलाई भूगोलमै छन् भन्ने सम्झेर प्रत्येक ठाउँमा लेखेका छन् । उनले १०१ वटा गजलको सुरूवात द्वन्द्वबाट गरेका छन् र अन्त्य पनि त्यही द्वन्द्वबाटै । द्वन्द्वबाट सिर्जित परिणामहरूलाई अत्यन्त हार्दिक र मार्मिक प्रस्तुतिका साथ निस्किएका यी गजलकारलाई द्वन्द्वले निकै पिरोलेको देखिन्छ । उनले द्वन्द्वका साथसाथै राष्ट्रप्रेम, नारीप्रेम, लैङ्गकि समानता, मान्छेको विविध रङ, सहर र गाउँको दूरी, मान्छेको परिभाषा, राजनेताहरू र राजनीति, सामाजिक विकृति र विसङ्गति, गरिबी र सम्पन्नता, उनकै पोखरा, नेपालको प्रजातन्त्र आदिजस्ता विविध विषयहरूलाई गजलमार्फ पाठकसामु पेश गरेका छन् । साहित्यलाई उनले बुझेरै लेखेका छन् । मुलुकप्रति अत्यन्त सचेत देखिने यी गजलकारले आफू बाँचेको धरातललाई समग्रमा समेटेको देखिन्छ । शृङ्गारिक गजलहरू पनि सङ्ग्रहमा निकै छन् तर उनको शृङ्गारिकता भद्र र शालीन छ । कतिपय गजलकारहरूमा देखिँदै आएका रदीफ, काफीयाका समस्याहरू यिनका गजलमा देखिँदैनन् । यस सङ्ग्रहबाट पाठकले एउटा मान्छेको सम्पर्ूण्ा भूमिकालाई पढ्न सक्छ । प्रतीक र विम्बहरूमार्फ प्रस्तुतिको ठाडोपनबाट सरक्कै जोगिएका गजलहरू छन् यस सङ्ग्रहमा । भावुकता, नरमपन, कडापन र व्यङ्ग्यात्मकता दीपक समीपका गजलका विशेषता हुन् । कृति- भूगोलभित्र नकोरिएको देश (गजलसञ्चयन) गजलकार- दीपक समीप प्रकाशक- पोखरेली युवा सांस्कृतिक परिवार संस्करण- प्रथम, २०६२ मङ्सिर पृष्ठ- १२३±१३ मूल्य- रू.१००।- -विजय सुब्बा
Read Full Discussion Thread for this article