Posted by: gaalab January 20, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
चौतारी स्वस्थानी व्रतकथा - १७ वाचक - गालब यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्। शहरमा कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमूनि! अहिलेसम्म तिमीलाई भउते-जुरेली-पुन्टेको कहानी सुनाएँ। महादेवको कान्तिपुर यात्राको बारेमा पनि सुनिहाल्यौ। अब तिमीलाई चौतारीको एक सदस्यको ई-प्रेमिकाको बारेमा बताउँछु, सुन। गाउँको स्कूलबाट एसल्सी पास गरेपछि उच्च शिक्षाको लागि शहर पुगेका कुमलवा शहरको रमझम देखेर अचम्मित हुन लागे। दिनभरि लछुमनियाको सैलुनमा बसेर पिच्च पान थुक्दै जयलक्ष्मी र धनियालाई जिस्क्याउन पल्केको मान्छे, शहरमा त कुनै पनि लडकीले देब्रे आँखाले पनि नहेरेकोमा दु:ख मनाउन लागे। यस्तैमा कुनै दिन ठमेल नामको शहर घुम्दा पसलभित्र कन्याहरु मेसिनको अगाडि बसेको देखेर आफूलाई सहरमा लिएर आउने ग्वाँचेलाई सोध्न लागे "हे ग्वाँचे! यी कन्या को हुन्? यस्तो ठाउँमा यिनीहरु के गर्दैछन्?"। कुम्लेको यस्तो प्रश्न सुनी ग्वाँचेले उत्तर दिन लागे "हे कुम्ले! यो पसललाई साइबर क्याफे भन्छन्। यिनीहरु यो कम्प्युटर भन्ने मेसिनको सहायताले आफ्ना प्रियतमहरुसँग गफ गर्दैछन्।" यस्तो सुनी कुम्लेलाई पनि आधुनिक प्रणालीको प्रेम गर्ने ईच्छा पलायो र घरबाट भर्ना खर्च भनेर ल्याएको पैसाले कम्प्युटर किनेर सिक्न लाग्दा भए। हे अगस्त्यमूनि! यावत हुँदै लाग्दा छिमेकी कोठामा भाडामा बस्न थालेका केटाहरु संगत हुन लाग्यो। ती साथीहरु कस्ता भने लामा लामा कपाल पाल्ने, दिनभरि पाठशालामा हाहु गर्ने, साँझ परेपछि गौशालातिर गई तीन दिनको ताजा ममसँग राजाले पैठार गरेको गाँजा खान्थे र आफूलाई महादेवको सच्चा भक्त भन्थे। तिनीहरु एकैछिनमा 'पाट' भनेर मिल्थे भने एक्कासि 'काट' भनेर लड्थे। तिनै संगीहरुको माध्यामले हाहु च्याटको बारेमा थाहा पाई कुम्ले पनि बेलुका-बेलुका कहिल्यै नदेखेका कन्याहरुसँग भालाकुसारी गर्न लागे। यस्तै सिलसिलामा एक रात उनको दोस्ती एउटी कन्यासँग हुन लाग्यो। गफको सुरुवातमै प्रेमको भालाकुसारी गर्ने शहरकी युवती देखेर कुम्लेलाई गाउँको लुकिछिपी गर्ने पियार सम्झँदा "म पहिले नि शहर किन आइन?" भन्दै पश्चाताप गर्न लागे। कुम्लेलाई निशा नाम गरेकी त्यस कन्या साह्रै नै मन परिन्। आफू गाउँबाट आएको र गाउँमा हुँदा जयलक्ष्मीसँग भएको पियार बारे बताउँदा चाख मानेर गफ सुनिन्। अनि, आफूलाई गाउँले केटा मन पर्ने कुरा बताइन् र कुनै दिन कुम्लेको गाउँ घुम्न जाने ईच्छा देखाइन्। उता पल्लो कोठाका 'पाट'हरु भने गाँजाको सुरमा हल्ला गरेर डिस्टर्ब गर्दा पनि निसासँगको गफ छोड्न सकेनन्। यस्ता तवरले भालाकुसारी गर्दै जाँदा निसाले "हेर न क्यामो, म जस्तो सोझी केटीलाई मेरो एक्स-ब्वाइफ्रेन्डले डिस्कोमा नाच्न जानिन, डल्ली भई भनेर ब्रेक अप गर्यो।" भन्दै विलाप गर्न लागिन्। कुम्लेलाई शहरका केटाहरुको मतलबीपन र निर्दयीताप्रति रिस उठेर आयो। र, निसालाई सम्झाउँदै भन्न लागे "हेर निसा! सत्य पियारमा नाच्न जान्नु र नजान्नुमा केही महत्व हुँदैन। न त शरीरको बनोटको केही मतलब हुन्छ। प्रेम भनेको मनबाट गरिने कुरा हो।" निसा खुसी हुँदै भन्न लागिन् "वोह क्यामो, यु आर सो स्वीट!!! मलाई तिमी जस्तो केटासँग लभ गर्न मन छ।" निसाको यस्तो वचन सुनी कुम्ले पनि ढिलै भए पनि शहरमा केटी पट्याउन पाएकोमा खुसीले गदगद भए र भने "मिल्छ भने हामी भोलितिर भेट्न सक्छौं? दरबार मार्गमा नाङ्लो भन्ने ठाउँ छे। त्यहीं हुँदैन?" यता पल्लो कोठामा हल्ला बढेर सहन नसक्ने हुन लाग्यो। "मोराहरु फेरि जाँड खाएर हल्ला गर्न लागे!" भन्दै कुम्ले मुर्मुरिंदै ढोका ढक्ढक्याउन लागे। केटाहरु अट्टाहस निकाली निकाली हाँस्न लागेको देखेर सोध्न लागे "के भो निस् पाट? खुबै हाँस्दैछौ नि"। निशान्तले पनि हाँसो मिसिएको आवाजमा भन्न लागे, "हेर न कुम्ले! केटी बनेर हाहु च्याटरुममा गा'को। एउटा केटो मुर्गा फस्यो। भोलि नाङ्लोमा डेटिङ् बोला' छ। मैले हुन्छ भनें तर १ मिनेट भयो उत्तर नै आ'छैन" कुम्ले पनि अनुहार अमिलो बनाउँदै उत्तर दिन लागे "थाहा पायो होला नि त उसले। तिमीहरु पनि कराएर मलाई सुत्नै दिएनौ यार। निदाएको मान्छे ओच्छ्यानबाट उठेर आउँदैछु!" भन्दै मनमनमा ई-प्रेमिका देखि आजित हुँदै फर्किंदा भए। इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे सप्तदशोध्याय॥१७॥ उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
Read Full Discussion Thread for this article