Posted by: gaalab January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
ल नाम लिया सैतान हाजिर भन्या जस्तै भयो। पाचौं भाग सुन्नुहोस्। चौतारी स्वस्थानी व्रतकथा - ५ वाचक - गालब यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्। कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्य मूनि, अब तिमीलाई श्रीमहादेबले आफ्नो विन्टर रिसोर्टमा बिताएको दिनहरुको चर्चा गर्छु। एक चित्त भई सुन। कैलासबाट कान्तिपुर ओर्लेको पनि ३-४ दिन भइसक्यो। दिनदिनै यही गाँजा मात्तै कति खानु? ढ्याउ गर्दा पनि गौशलाको भैंसीको ममको गन्ध मात्रै आउन थाल्यो। त्यसमाथि मन्दिरको छेउमा बग्ने बाग्मतीको दुर्गन्धले गाँजाको गन्धले जित्न थाल्यो। आर्यघाटमा पोल्ने लासहरुबाट आउने धुवाँले निस्सासिएर खोकी पनि बढ्न थाल्यो। यस्तै हो भने टि बी भन्ने रोग सर्ने भो, अब के गरूँ भनी सोच्न थाल्नुभयो। यस्तै एक बिहान आफ्ना भक्त राहुललाई बोलाउन पठाउनुभयो। राहुल आएर महादेबलाई हात जोडी अभिवादन गरे - "तारेमाम प्रभो!" दिनदिनै राहुलको मुखबाट "तारेमाम" भन्ने शब्द सुनेर महादेवलाई संका लाग्यो र कड्किंदै सोध्नुभयो - "हे राहुल! तिमी दिनदिनै तारेमाम हो कि तारेमम हो भनेको भन्यै गर्छौ। तिमीले भन्न खोजेको के हो? मेरो साँढेको नाम पनि तारे हो। त्यसको मम खान मन लाग्यो भनेका हौ? यदि हौ भने यस्तो पापिष्ट कुरा कसरी सोच्न पुग्यौ? म तिमीलाई अहिल्यै नै श्राप दिन्छु।" एकाएक महादेबले यस्तो कुरा गरेपछि राहुल पनि नम्र हुँदै "हे शम्भो! हाम्रो कान्तिपुरमा बिहान कसैलाई भेट्दा तारेमाम भन्ने चलन छ। अन्यथा नलिनुहवस्" भनेपछि शिवजी अलि शान्त भएर लाग्नुभयो - "हे राहुल! तिमीले यतिका दिनसम्म मेरो सेवा गर्यौ। नेपाली गाँजा पनि खुवायौ, भैंसीका चौटा राखेको लड्डु पनि खुवायौ। अब मलाई कान्तिपुर घुम्ने ईच्छा छ। ल मलाई कान्तिपुर देखाऊ।" श्रीमहादेबबाट यती बचन सुनी राहुल पनि अति प्रशन्न भई कान्तिपुर घुमाउन निस्किए। पशुपति मन्दिरबाट गौशला चोकतिर जाँदा बाटोमा एकहुल युवतीहरु अर्कोतिरबाट आएको देखेर ती युवतीहरुलाई महादेवले सोध्न लाग्नुभयो, "हे कन्या हो! तिमीहरु मेरो घरतिर आएको देख्छु। भन के कति कामले आयौ। केही ईच्छा भए भन म पुर्याइदिउँला।" महादेबको यस्तो कुरा सुनी छेउतिरकी एउटीले भनिन् - "आबुई! कति मात्तेको बाई यो बुढो त! जोगी भएर पनि केटी जिस्क्याउनी हेर् न? हँ भने निधारभरि खरानी धसेको छ, अँझै केटीतिर आँखा लगाउने!" त्यस कुरामा सही थाप्दै अर्की कन्याले थप्न लागिन् "हो त नि बाई! मैले सुन्या अनुसार यिनीहरु ईन्डियाबाट आउँछन् रे। ज्यानभरि खरानी धसेर नाङ्गै हिंड्चन रे बाई! अब शिबरात्री आउन १-२ महिना छ; यो जोगी पनि त्यहीं ईन्डियाबाट आ'को होला।" उक्त कन्याका यस्ता कुरा सुनी सबै युवतीहरु खित् खित् गरी हाँस्न लागे। बिचरा महादेबलाई के गरुँ कसो गरुँ भयो र बिनम्रका साथ भन्न लाग्नुभयो "हे कन्या हो! म कैलासबाट जाडो मनाउन कान्तिपुरमा आएको महादेब हुँ। भन के चाहियो। राम्रो वर चाहियो कि अथवा बिहेपछि पुत्रलाभ होस् भनेर प्रार्थना गर्न आयौ कि! के वर माग्छौ माग।" महादेवका यस्ता कुरा सुनी अर्कीले चर्को स्वरमा बोल्न थालिन्, "ए बुढा जोगी! हामीसँग यस्तो कुरा गर्न लाज लाग्दैन? त्यस्तो केटी चाहिए जाऊ न ठमेलतिर। बिहान बिहानै गाँजा खा'र आछौ कि क्या हो?" कन्याको हुलबाट यस्तो कुरा सुनेपछि, महादेवले पनि बिनम्रसँग "गाँजा त अलिकति खाएकै हुँ। बिहान भने पनि बेलुका भनेपनि मेरो खानेकुरा नै त्यही गाँजा हो।" यस्ता बचन सुनेपछि यतिञ्जेल चुपचाप गफ सुनेकी एउटीले "जाम! यस्ता गँजडीसँग पनि के कुरा गर्ने! बिहान बिहान गाँजा खाएर आफैंलाई महादेव भन्दै केटी जिस्क्याउँदै हिंड्ने! यो भन्दा पागलपन के हुन सक्छ? बरु पैसा फका' होला! ल लाऊ" भनेर १ रुपियाँको डबल उनको कमन्डलुमा हालिदिइन् र आफ्ना संगिनीहरु लिएर मन्दिरतिर लाग्दी भइन्। यतिञ्जेल चुपचाप बसेका राहुल पनि भावुक हुँदै बिन्ती गर्न लागे "हे ईश्वर! हाम्रा महाकविले पनि भनेका छन्, भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिंड्छौ कुन पुर ईश्वर बस्दछ गहिराईमा, सतह बहन्छौ कति दूर खोजी गर्छौ? हृदय लगाऊ, बाली बत्ती तेज प्रचुर।" आज तपाईंले यिनीहरुलाई यहीँ दर्शन दिनुभयो, तर तिनीहरु तपाईं खोज्दै त्यता मन्दिर गएका छन्। यी कली युगका केटीहरु यस्तै हुन्। भनिन्छ नि, आयो कली धपक्कै बली, बाउको नली छोराको मुरली।" राहुलका यति कुरा सुनी महादेबको पनि संयमताले ठाउँ छोडिसकेको थियो र भन्न लाग्नुभयो - "तिमी पनि खाली कविताको कुरा मात्रै गर्छौ। बरु हिंड, अघिकी कन्याले ठमेल नामको गाउँमा जानू भनिन्, मलाई त्यतै लैजाऊ।" राहुलले पनि जिस्किंदै "उसो भए अब सबिता, बबिता, रमिताको कुरा गरूँ त प्रभो?" भन्न लागे। यस्ता कुरा सुनी महादेवले आँखा तरेर हेर्दा भए। महादेवको तेस्रो नेत्र पनि खुल्न लागी ज्वाला आउला जस्तो भएको देखेर राहुल पनि लुरुक्क परी अवाक भई ३ पाङ्ग्रेमा चढी ठमेल शहरमा लिएर गए। ठमेल शहरमा ओर्लिने बित्तिकै एउटा लामो कपाल भएको मान्छे आयो र भन्यो "ओ ब्रो! ब्रोको बाल त क्या दामी रचन्त! बब मार्लीको जस्तो। रेग्गी गीतको सिडी किन्ने भए आऊ है सोम मेरो पसलमा।" महादेवले इन्कार गर्दा पनि त्यो मान्छेले मानेन र अन्त्यमा बब मार्लीको सिडी भिडाइछाड्यो। ठमेल घुमेपछि महादेवले चारपाङ्ग्रे सवारी साधनमा चढ्ने इच्छा देखाउनुभयो। त्यस यान भित्र पुगेपछि ठुलो मेलामा आएको अनुभव भयो र आनन्दित भई सोध्न लाग्नुभयो "हे राहुल! यो यानको नाम के हो?" राहुल पनि अर्थ्याउँदै भन्न लागे "प्रभु! यसलाई 'बस' भन्ने गर्छन्।" उत्तर सुनेर अचम्भित हुँदै महादेवले प्रतिप्रश्न गर्न लाग्नुभयो "हे राहुल! यो यानको नाम कसरी 'बस' हुन सक्छ? जबकि वरिपरिका अधिकांश मानिस उठिरहेका छन्। यस यानको नाम त 'उठ', 'घचेट', 'कोच्चिऊ', 'टाँस्सिऊ' मा एउटा हुन पर्ने हो। मेरा सृष्टिका सबभन्दा बुद्दिमान प्राणी पनि यति अज्ञानी रहेछन्" भनेर मुख सानो पारी उदेक मान्न लाग्नुभयो। महादेवलाई अलि उज्यालो बनाउने उपाय स्वरुप राहुलले बिन्ती गरे "प्रभु! अघि किनेको सिडी बजाएर गीत सुनम्न बरु। एकदम रमाइलो आउँछ।" यति भन्दै राहुलले बसको अगाडिपटिको एउटा मान्छेलाई दियो र एकै छिनमा त्यस यानमा 'बफेलो सोल्जर -- ' भन्दै गीत बज्न थाल्यो। स्वर्गमा सधैं भजन र आरतीमा मात्रै नाच्नुभएका शिवजी संगीतको नौलो र स्वच्छन्द ताल सुनेर मुन्टो हल्लाउन लाग्नुभयो। एकै छिन पछि कुम पनि हल्लिन लाग्यो र बिस्तार बिस्तार पुरै शरीर कँपाउन थाल्नुभयो। महादेवको यस्तो रुप देखी यानमा चढेका अन्य यात्रीहरु पनि उत्साहित हुँदै थपडी मार्न थाले। संगीतको शुरमा शिबजीले पहिरन गर्नुभएको कपडा फाल्न थाल्नुभयो र अन्त्यमा बाघको छाला मात्रै बाँकी रह्यो। यहाँबाट महादेवको ताण्डव नृत्य शुरु भयो। १५ मिनेटसम्म नाच्दा नथाके पछि बसमा होहल्ला र हाँसो मात्रै थपिन थाल्यो। यतिञ्जेलमा त्यस यान सिंहदरबारमा आइपुगी रोकियो। बसभित्र केको हो-हल्ला हो भनी निलो बस्त्रधारी केही पुरुषहरु त्यस यानमा चढे। श्रीमहादेव बाघको छालामा नाचेको देखी ती मानिसले उनीलाई बाहिर निकाली सोधपुछ गर्न थाले। यत्तिकैमा त्यस यान चल्यो र राहुल छुट्टिंदा महादेव एक्लै हुनुभयो। बाहिर सडकमा ती निलो बस्त्रधारीले सोध्न लागे "हे भिक्षु! तिमी कहाँबाट आयौ? के काम गर्छौ?" ती मानिसको यस्तो प्रश्न सुनी महादेव पनि आफ्नो बारेमा बिस्तार गर्न लाग्नुभयो "मेरो घर कैलासमा हो र म मान्छे मार्ने काम गर्छु।" यस्तो कुरा सुनी ती मानिसले सोध्न लागे "हे भिक्षु! पुलिसको अगाडि यस्तो कुरा गर्न डर लाग्दैन? भन कसरी तिमी मान्छे मार्न थाल्यौ र अहिलेसम्ममा कतिजना मार्यौ?" महादेवले पनि भन्न लाग्नुभयो "हे मानव! उहिले हाम्रो कामको बाँडफाँड गर्न मिटिङ् बोलाएका थियौं। दुर्भाग्यवश म त्यस दिन भाँङ्धतुरो खाएर अचेत हुन पुगेछु। होस आएर मिटिङ् जाँदा ब्रह्मा र विष्णुले मान्छे जन्माउने काम र पाल्ने कामको जिम्मा लिइसकेका रहेछन्। मैले चाहिं छोडेको 'मान्छेको संहार' गर्ने काम लिएको हुँ। अहिलेसम्ममा १-२ अरब मान्छे मारिसकें होला। तिमी पनि कालन्तरमा मेरै फेला पर्छौ।" यस्ता कुरा सुनी ती पुलिसको पछाडिको मान्छेले भन्यो, "यो बहुला बुढालाई समात् । यसलाई नख्खु जेलमा नथुनी हुँदैन।" यसरी आफूलाई ती पुलिस भन्ने मानिसहरुले लखेट्न थालेपछि महादेव पनि बित्तातोडले भाग्नुभयो। बल्ल बल्ल ती मानिसको छेल पर्न मिल्ने एउटा पाल आयो र त्यस पालभित्र छिरेर लुक्नुभयो। सधैं साँढेमा हिंड्ने बानी, आज दौडिंदा घाँटी सुकेर आयो, भोक पनि लाग्यो। नजिकै बसिरहेका मानिसलाई शिबजीले सोध्न लाग्नुभयो "हे वावु! यता म:म पानी खान कहाँ पाइन्छ?" महादेवको यस्तो बचन सुनी त्यस मान्छेले दाह्रा किटी आँखा रातो-रातो बनाई भन्न थाल्यो "ए बुढा! तिमीलाई ज्यानको माया छ कि छैन? यो भद्रकालीको अनसन बस्ने ठाउँ हो। यस्तो ठाउँमा खानेकुराको नाम लिन्छौ?" महादेव पनि लल्याक-लुलुक भए र त्यस मानिसले उच्चारण गरेको "भद्रकाली" शब्दको आधारमा यता कतै नजीकै मन्दिर हुनु पर्छ भन्ने लख काटी मन्दिर खोज्दै जानुभयो। मन्दिर पसेपछि आनन्दको महसुस गरी, "यी कान्तिपुरे त ज्याद्रो हुँदो रहेछन्। बरु आफ्नै कैलाश जान्छु, पार्वती पनि मेरो प्रतीक्षा गर्दै होलिन्" भन्दै अन्तर्ध्यान भई कैलासतिर लाग्नुभयो। इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे पञ्चमोध्याय॥५॥ उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
Read Full Discussion Thread for this article