Posted by: gaalab January 6, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमूनि! अब अरु कथा भन्छु, दत्तचित्त भई सुन। यता जुरेलीले सुटुक्कै श्रीस्वस्थानीको ब्रतकथा लिएको कुरा एक कान दुई कान मैदान हुँदै स्वर्ग, मर्त्य, पातलमा फैलिन थाल्यो। जुरेलीले गरेको कठोर तपस्याको कारणले सारा ईन्द्रलोग डगमगाउन लाग्यो। आफ्नो राज्यमाथि चुनौती आएको देखेर स्वर्गका सबै देउताहरु मिली अन्तिम उपाय स्वरुप श्रीमहादेवलाई बिन्ती चढाउन कैलाशपर्वततिर लाग्दा भए। ३३ कोटी देउताको फौज कैलाशतिर आएको देखेर पार्वती पनि के हुन लागेछ भनी उत्सुक भई कुरिबसिन्। देउताका राजा ईन्द्रलाई नजीकैको आशनमा बसाइन् र भनिन्, "हे देवराज ईन्द्र! आज धेरै पछि कैलाशमा आएका छौ। पछाडि यत्रो लावालस्कर समेत लिएर आएका रहेछौ। पक्कै पनि कुनै जटील काम लागिपरेको हुनुपर्छ। भन के कति काम पर्यो।" माता पार्वतीको यति कुरा सुनेपछि ईन्द्रले दुई हात जोडी स्तुति गर्दै भन्न लागे, "हे माता पार्वती! मर्त्यलोगमा एउटी कन्याले गरेको श्रीस्वस्थानी ब्रतकथाको प्रभावले सारा स्वर्ग डगमगाउन लाग्यो। त्यही भएर हामी यहाँ श्रीशिबजीलाई भेट्न आएका हौं।" यती कुरा सुनी पार्वतीले च्याँठिंदै भनिन्, "हे ईन्द्र! मेरा श्रीमान् स्त्रीलाई छल गर्ने देवताको रुपमा लिएका छौ कि कसो। उहिले पनि तिमीहरुले भनेर नै बृन्दाको छल गर्नुभयो, गोमाको छल गर्नुभयो। अब फेरि यो बिचरी केटी। तिमी कपटी नम्बर वान रहेछौ। खाली अरुको खुट्टो तान्नु मात्रै तिम्रो काम रहेछ। कसैले राम्रो गरेको देखिनसक्ने। आफूभन्दा ठुलो कोही हुन नहुने। आफ्ना प्रजाको भलो नचाहने। तिमी कस्ता राजा हौ? तिम्रो यस्तो चाला छ भने मर्त्यलोगका राजाको के चाल होला। नेपालका राजा र तिमीमा फरक देखिन। यस्तै हो भने स्वर्गमा पनि आन्दोलन गरी संबिधान सभाको माग गर्न बेर छैन। मर्त्यलोगमा मात्रै हैन स्वर्गलोगमा पनि गणतन्त्र आउला। होस गर!" पार्वतीका मुखबाट यस्ता कठोर बोली सुनेर ईन्द्र पनि लुचुक्क परेर बसे। तैपनि महादेवलाई भेट्नको लागि कर गर्न थाले। अन्त्यमा पार्वतीले भनिन् - "हे देवराज! अहिले पुसको महिना छ। महादेवलाई अलि जाडो लागेकोले केही दिनका लागि भूत, प्रेत, पिशाचका साथ कैलाशपर्वतबाट विन्टर रिसोर्टमा जानु भएको छ। अहिले म एक्लैले कैलाशपर्वत कुरिबसेको छु। उहाँ आएपछि म खबर गरुँला, जाऊ।" पार्वतीको यस्तो बचन सुनी ईन्द्रले "हे माता! यो विन्टर रिसोर्टको बारेमा पहिलो चोटि सुन्दैछु। कहाँ पर्छ? अनि महादेव त्यहाँ के गर्दै हुनुहुन्छ? बताइदिनुहोला" भन्दै बिन्ती गर्दा भए। अन्त्यमा हार मानेर पार्वतीले बेलीबिस्तार लगाइन् - "हे देवराज! ज्ञानेन्द्र नाम गरेका तिमी जस्तै राजा भएको नेपाल नाम गरेको मुलुकमा कान्तिपुरी नामको शहर छ। त्यस शहरको पूर्वखण्डमा गौचरन भन्ने ठाउँ छ। त्यस गौचरनमा शिवजीले आफ्नो साँढे ल्यान्ड गराउनुहुन्छ। नजीकैको सडकमा निस्केर केही समय दाहिने हिँडेपछि बागमत्तीको तिरमा हाम्रो विन्टर रिसोर्ट छ। गौशाला भन्ने त्यस ठाउँमा राहुल नाम गरेका हाम्रा भक्त महादेवलाई कुरिराखेका छन्। शिबगुटीहरु तयार गरेर राखेको छु भनी राहुलबाट खबर आएकोले यस पटक श्रीमहादेवले भाँङ-धतुरो केही पनि नलिइकनै जानुभएको छ। ती भक्त कस्ता भन्दाखेरि, चौविसै घन्टा गाँजाको सुरमा हुने। भैंसीको मासु भित्र राखेको पिठो खान भनेपछि मरिहत्ते गर्ने। जतिखेर पनि कविता कोर्न सक्ने। जे विषयमा पनि कविता कोर्न सक्ने। महादेवलाई सुहाँउदो जोडा मिलेको छ। त्यही भएर यसचोटीको बसाइ लामो पनि हुनसक्छ। तैपनि, म वहाँ आएपछि खबर गरुँला।" यति भएपछि ईन्द्र पनि बिदाबारी भई स्वर्गतिर लाग्दा भए। इति श्रीस्कन्धपुराणे केदारखण्य माघमहात्म्येय --- सम्बादे त्रितीयोध्याय॥३॥ उपनयतु मंगल -- ततो जयमुदिरयेत।
Read Full Discussion Thread for this article