Posted by: Nepe January 2, 2007
ganatantra ko geet....
Login in to Rate this Post:     0       ?        
Just felt like posting the quintessential poem on revolution आमाको सपना गोपाल प्रसाद रिमाल आमा, त्यो आउँछ र ? "हो, बा, त्यो आउँछ । त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ । त्यसको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने तिमी एक हतियार देख्नेछौ; त्यसैले ऊ अधर्मसित लड्नेछ ! त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ ।" हो र आमा ? "हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा त्यसकै छाया देख्ने आशा गरेकी थिएँ; तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि; तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि; तर त्यो मीठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएनछ ! त्यो तिमी नै हौला भन्ने मेरो यौवनभरिको सपना थियो ! जे होस् त्यो आउँछ; म आमा हुँ, सारा सृजनशक्तिको मुख भएर म भन्न सक्तछु, त्यो आउँछ, मैले यो कुनै अल्छी सपना देखेको होइन ! त्यो आएपछि तिमी यसरी मेरो काखमा आएर घोप्टिने छैनौ; सत्य कुरालाई तिमी यसरी चुम्बकिएर कथा सुनेझैँ सुन्ने छैनौ; तिमी त्यसलाई आफैँ नै देखन सक्ने, सहन सक्ने र ग्रहण गर्न सक्ने हुनेछौ; मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई सान्त्वना दिँदै बिदा हुनेछौ; मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल मुसारिरहनुपर्ने छैन ! हेरौँला, त्यो हुरी भएर आउनेछ, तिमी पात भएर पछयाउनेछौ ! उहिले त्यो जीवनलोकबाट झरेर जूनजस्तै पोखिँदा सारा जडता सगबगाएको थियो, बा; त्यो आउनेछ, तिमी उठ्नेछौ !" त्यो आउँछ कि आमा, मधुर उषाले चराहरुको कण्ठलाई जस्तै त्यो आउने आशाले मेरो हृदयलाई कुतकुत्याइसक्यो आमा ! "हो, त्यो आउँछ, त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ । अब म उठेँ, गएँ ।" ० "तर त्यो तिमी नै हौला भन्ने मेरो यौवनभरिको सपना थियो !" _____________
Read Full Discussion Thread for this article