Posted by: sprakashp December 25, 2006
संघर्ष र समर्पण !
Login in to Rate this Post:     0       ?        
उपन्यास ( धारावाहिक ) संघर्ष र समर्पण ! शिव प्रकाश उसमा जमीन आकाशको परिवर्तन आयो अहिले । सोच्दै नसोचेको परिवर्तन ! त्यो कुरा अरुले पनि भनेका छन् र उ आफूले पनि महशुस गरिरहेछ । आफूले आफूलाई धेरै सच्यायो । उसमा यसरी परिवर्तन आउनुमा धेरै कारणहरु छन् । दाजुभाइमा सबैभन्दा काम नलाग्नेमा गनिन्छ कि भन्ने डर थियो, उसका आमा बालाई पनि ! गाउँलेहरुले पनि उसलाई त्यस्तै दृष्टिकोणले हेरेता पनि उसको कुनै पनि काम गराइप्रतिको मेहनत र लगनशीलता हिम्मत र साहसको भने प्रशंसा नै गर्थे। उसलाई गाउँका काजी भनाउदा सामन्त र ठूलाबडाका छोराछोरीहरुले दबाउन खोज्थे । तर उ आफ्नो दूर्भाग्य अलि गरीव परिवारमा जन्मनु भएता पनि आफू पनि उनीहरु जस्तै मान्छे भएकोले उसलाई सानैदेखि यी विषयहरुसंग संघर्ष सिकायो- समले । सानै उमेरदेखि आफ्नो बिद्रोही स्वभाव देखाउदै आयो । उ अहिले आफ्नो बाल्यकाललाई सम्झन्छ । बाल्यकालका अबोधताहरुलाई सम्झन्छ । विवशताहरुलाई सम्झन्छ । आफ्नो किशोरावस्थालाई सम्झन्छ । किशोरावस्थाका उदण्डताहरुलाई सम्झन्छ । गाह्रासाराहरुलाई सम्झन्छ । अप्ठ्याराहरुलाई सम्झन्छ । यदाकदा आफ्ना विवेकहीनताहरुलाई सम्झन्छ । अतीतलाई सम्झेर उग्राइ रहन्छ र आफूलाई परिवर्तन गर्ने पक्षमा निरन्तर लागि रहन्छ । बेलाबेलामा जीवनका आरोह-अवरोहहरुको उतरचढावमा आफूलाई लैजान्छ । कतै एकान्तमा लगेर बिसाउँछ अनि फेरि हिडाउँछ । ओराल्छ - उकाल्छ । भूतका भूलहरुलाई सम्झन्छ भविष्यका वारेम कल्पना गर्छ । अनि भविष्यप्रति आशावादी हुदैं वर्तमानलाई सुखमा परिणत गर्न चाहन्छ । महत्वाकाङ्क्षाको अथाह आकृतिमा नहराए पनि उ आकाङ्क्षाको बुनोट भने गरिरहेको हुन्छ । यीनै कुराहरुलाई एउटा मियोमा ब्यवस्थित गर्न उ लागि परिरहन्छ । मेहनत गर्न अल्छि मान्दैन र फूस्रको समयलाई यीनैमा उपयोग गर्न चाहन्छ र यीनै वस्तुहरुमा आफूलाई खुसी बनाउन राख्न खोज्छ । तर मान्छेको जीवनमा सुखै सुखमात्र कहाँ हुन्छ र ! सुख सुख जस्तो देखिए पनि सुख भित्र लुकेको दुःख देखिदैन । दुःखको आवरणले मान्छेलाई ढाकिसकेको थाह हुदैन । सुखको सपनामा रमाउँदा रमाउँदै सुखको कल्पनामा उड्दा उड्दै सुखको सागरमा तैरदा तैरदै कतिबेला रुनु पर्छ कतिबेला खस्नु पर्छ अनि कतिबेला डुब्नु पर्छ थाह हुदैन । कताकता कहिलेकाहीँं उसलाई पनि यस्तै हुन्छ । सायद अरुहरु मान्छेहरुलाई जस्तै ! तर उ दुःखसंग डराएन । अभाव देखेर छट्पटाएन । पीडाहरुसंग पछि हटेन । छट्पटीहरुमा विचलित भएन । कुण्ठाहरुबाट विक्षिप्त भएन । यी सबैका बिरुद्ध मेहनत र परिश्रम गर्न कहिल्यै पछि हटेन । मान्छेभित्र यी भावहरुको उपज हुनुको कारण मुख्यत गरीबी र अज्ञानता भएता पनि उसलाई आफ्नो परिवारको गरीवी भन्ने थाह त थियो तर अज्ञानताका बारेमा उ आफैं धेरै समयसम्म पनि अनभिज्ञ नै थियो । समयसंगको कठोर संघर्षले उभित्र त्यो ज्ञानको िसंचन पनि गराउन थाल्यो । मध्यम निम्न वर्गीय परिवारमा जन्मिएको उसमा पढ्नु लेख्नु पर्छ भन्ने ज्ञानको ज्योति पनि धेरै ढिलो गरि बलेको थियो । तर प्रत्येक मानिससंग अवगुणका बावजुद केही न केही गुण पनि हुन्छ । उसमा पनि त्यो थियो र उ असफलताहरुले किचिरहदा पनि चिच्याएन । सानै उमेरदेखि यावत् कुराहरुसंग संघर्ष गर्न बाध्य भयो । यदि उसले नगरेको हुदो हो त आज उसमा यो ज्ञान पनि आउने थिएन होला ! संघर्ष के र केका लागि किन गर्ने भन्ने कुराको बोध पनि हुने थिएन होला ! अनि झुसिल्कीरो पुतली बने जस्तो उ पनि आज जुन अवस्थामा छ सायद त्यहाँ पुग्ने थिएन होला ! उ पुतली जत्तिको हुने नसकेता पनि झुसिल्कीराको जस्तो सघर्ष उसले पनि निरन्तर नै गरिरह्यो । अहिले उसले आफूलाई धेरै कुरामा सम्झौतावादी पनि बनायो । उक्लदो उमेर परिवर्तित परिस्थिति सल्वलाउँदो समय बेला कुबेलाका विवशता र वाध्यताहरु संगत र साथीभाइ अनि पारिवारिक दािय त्वले उसलाई धेरै परिमार्जन गरायो । अलि उसलाई सम्झौताहरुसंग सम्झौता गर्न सिकायो । कतिपय अवस्था र ठाउँमा उसले सम्झौतालाई पनि संघर्षको रुप दिन थाल्यो भने संघर्षलाई सम्झौताको……! सामन्तीसंस्कारमा चलेको गाउँ ! गाउँको एउटा सानो केटो ! ज्यादै ज्याद्रो स्वाभावको ! केही आकाङ्क्षाहरु बोकेको ! सानैदेखि सामन्तवादको बिरोधी ! सहज भएन उसको बाल्यकाल पनि । दुःखै दुःखमा वितेको उसको बाल्यकाल सम्झन्छ । त्यो सम्झेर उ आज पनि छट्पटिन्छ । क्रमश…………॥
Read Full Discussion Thread for this article