Posted by: Jhiilke November 21, 2006
सजिलै जन्मिए चम्ल्याहा
Login in to Rate this Post:     0       ?        
बाग्लुङ नगरपालिका-५ की कमला कार्कीले आइतबार राति साढे १ बजे चार बच्चा जन्माएकी छन्। राजधानीको थापाथलीस्थित प्रसूतिगृहमा केही समयको अन्तरमा जन्मेका ती चारमा दुइ छोरी र दुइ छोरा छन्। चार वर्षअघि विवाह गरेकी २० वर्षीया कमलाले बिनाअपरेसन सहजै ती बच्चा जन्माएकी चिकित्सकले बताए। बाग्लुङको पाला गाविस माइती भएकी कमलाका ती बच्चा पहिला सन्तान हुन्। ती चम्ल्याहाको प्रसूतिमा बेबी केयर युनिटका डा. सुनील आचार्य, डा. उमेश सिंह, डा. कर्म भुर्तेल तथा डा. कल्पना सुवेदीको रोहबरमा प्रसूतिगृहका डा. कविता नकर्मी, डा. वन्दना गुरुङ र डा. मेरिना श्रेष्ठले सहयोग पुर्‍याएका थिए। ती बच्चाको तौल १ दशमलव ५ देखि १ दशमलव ७ किलोग्राम मात्रै रहेको छ। सामान्यतः जन्मँदा अढाइ किलोको बच्चा स्वस्थ मानिन्छ। '३९ हप्तामा जन्मनुपर्नेमा ३० हप्ता ५ दिनमा जन्मेकाले पछिल्ला दुइ छोरामा केही समस्या देखिएको छ' -बच्चाहरूको हेरविचार गरिरहेका डा. भुर्तेलले नेपाल समाचारपत्रसँग भने। दुइ छोरामा श्वासप्रश्वासको समस्या बढी देखिएको छ। बच्चाकी आमा कमलाको स्थिति भने सामान्य छ। उनको हेरविचार गरिरहेकी स्टाफ नर्स कृष्णा विष्टले भनिन्- 'आमा सामान्य हिँडडुल गर्न सक्ने अवस्थामा छिन्।? विश्वमै अति नै कम हुने चम्ल्याहाको सहज जन्म नेपालका लागि नौलो हो। प्रसूतिगृहका निर्देशक डा. कस्तुरी मल्लले बिनाशल्यक्रिया चार शिशु जन्मेको नेपालमा सम्भवतः पहिलो भएको बताउनुभयो। विसं २०६१ वैशाख २८ गते राजधानीको ओम अस्पतालमा असनकी उर्मिला वज्राचार्यले टेस्टटयुब प्रविधिबाट चार बच्चाको जन्म दिएकी थिइन्। प्रसूतिगृहमा चम्ल्याहाको जन्म भएपछि त्यहाँ चहलपहल बढेको छ, आफन्त खुसी छन्। तर तिनीहरूलाई जन्म दिने आमाले भने 'दुःख लागेको' बताइन्। उनले भनिन्- 'मेरो आर्थिक अवस्था निकै कमजोर छ, कसरी पालनपोषण गर्नु, उचित शिक्षादीक्षा कसरी दिनु ?' उनले सरकार वा कुनै संघसंस्थालाई लालनपालन र शिक्षादीक्षामा सहयोग गरिदिन आग्रह गरेकी छन्। कमलाका श्रीमान् हिक्मतबहादुर कार्की अहिले साउदी अरबमा छन्। उनी गत चैतको अन्तिम साता रोजगारीका लागि बिदेसिएका थिए। कमलाको घरमा अहिले सासू र ९७ वर्षका ससुरा मात्र छन्।
Read Full Discussion Thread for this article