Posted by: CaMoFLaGeD November 14, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
"ओइ कुम्ले! तँ घरमै हो?" हितेशको फोनले मेरो शनिबारको स्वागत गर्यो। "ए हिते! घरमै छु यार, किन नि के प्लान बनाएर फोन गरिस?" मैले उसको फोन आउने बित्तिकै कुनै प्लान पक्का बनाएको होला भन्ने लागेर उसलाई सोधेँ। "खासै त्यस्तो केहि छैन यार, अब तँ पनि जाने भइहालिस। बरु आज शनिबार केटाहरु मिलेर पुल्चोक क्याम्पसको फिल्डमा क्रिकेट खेल्ने बिचार गरिरहेका रहेछन् अनि हामीपनि जाऔँ खेल्न भनेर हो" उसको सबैभन्दा राम्रो टाइमपास मध्यमा एउटा पर्छ क्रिकेट म्याच खेल्ने। "ओहो क्रिकेट खेल्ने रे! ल ल, बरु को सङ्ग खेल्ने हो यार? आजकाल क्या फास्ट बलरहरु छन्, ब्याटिङ गर्न नि डरमर्दो" मलाई नि खेल्ने इच्छा भयो तर धेरै भएको थियो नखेलेको त्यहि भएर अलि संकोच लागिरहेको थियो। "ह्या नडरा न! त्यो कुपन्डोलको केटाहरु सङ्ग के! खासै छैन त्यो टिम, रमाइलै हुन्छ, अब उता त खेल्ने चान्स हुन्छ कि हुन्न, बरु यसैलाई लास्ट म्याच बनाएर जा" उस्ले मलाई आकर्षित गराउन नया कुरा थप्यो। "ओके ओके! म मेरो ब्याट लिएर तेरोमा आउछु अनि तलाईँ पिकअप गरौँला। खेलिसकेपछि मेरो दरवारमार्गमा जानु छ त्यो टिकटको पैसा अलिकत्ति फिर्ता पाउनुछ मैले, आज दिन्छु भनेको छ" मैले क्रिकेट खेल्ने निधो गरेँ अनि फोन राखेँ। फोन राखेपछि मैले मेरो कोठामा भएको पुरानो BDM ब्याट झिकेँ। त्यसपछि दराजमा भएको क्रिकेट खेल्ने ड्रेस (सेतो ट्राउजर) लगाएर तयार भएँ। त्यसपछि केहि खानेकुरा खाएर एकछिनपछि म हितेशको घर तिर लागेँ। हितेश तयार भएको रहेनछ। एकछिन त्यो सङ्ग झगडा गर्दै, एकछिन टिभि हेर्दै बसेपछि बल्ल बल्ल उ तयार भयो। त्यसपछि हामी पुलचोक क्याम्पस तिर हुँइकियौँ। क्रिकेट खेल्ने ड्रेसमै गएकोहुनाले हामीलाई त्यहाँका पालेहरुले रोकेनन्। हामी सिधै तल फिल्डमा पुग्यौँ। सबैजना आइसकेका रहेछन् अनि हामीपनि त्यहाँ पुगिसकेपछि खेल शुरुभयो। निकै रमाइलो भयो खेलमा। १ बजे शुरुभएको खेल ४ बजे सकियो। "अब कहाँजाने नि कुम्ले?" थकित अवस्थामा फिल्डमा बसिरहेको हितेशले मलाई सोध्यो। "त्यो टिकटको पैसा लिन जानुछ यार, त्यहाँ पुगौँ न एकचोटी अनि घरतिर जानुपर्ला" मैले उसलाई बिहानै भनेको कुरो फेरि दोहोर्याएँ। "यस्तो लुगामा दरवारमार्ग जाने र? के भन्छन् नि त्यहाँका सुन्दरीहरुले?" उसले थप्यो। "लौ के भन्छन् नि? क्रिकेट खेलेर आएका रहेछन्, जिते कि हारे होलान् यिनीहरुले भनेर सोच्छन् नि, सोधिहाले भने जित्यौँ भन्नुपर्छ" बास्तबमै जितेका थियौँ हामीले त्यो म्याच। " ल ल, जाऔँ त्यसो भए" उ जुरुक्क उठ्यो अनि मलाई एकहातले तानेर उठायो। हामी दुइजना त्यो टिकटको पैसा फिर्ता लिन त्यो ट्राभल एजेन्सीमा गयौँ। निकै बेरको कुराईपछि मात्र मैले मेरो सय डलर फिर्ता पाएँ। मेरो हातमा पैसा देखेपछि हितेशले उज्यालो मुख बनायो। उसको उज्यालो मुखको अर्थ मैले राम्ररी बुझेको थिएँ। "नाङ्ग्लोमा जाउँ न त" उसले बोलिहाल्यो। "यो लुगामा त्यहाँ जाने र? के भन्छन् नि त्यहाँका सुन्दरीहरु ले?" मैले उसैको हतियार उसैलाई तेर्साएँ। "केहि भन्दैनन्, क्रिकेट खेलेर आएकारहेछन्, जिते कि हारे होलान् भनेर सोच्छन्, सोधिहाले भने जित्यौँ भनौला नि" उसले मलाई मुखभरिको जवाब दियो। हामी दुबैजना नाङ्लोमा गयौँ। एकसे एक मान्छेहरु रहेछन् त्यो दिन नाङ्लोमा। हामी दुइजना चाँहि झत्ते ड्रेसमा त्यहाँ गयौँ अनि हामीलाई वेटरले एउटा छेउको टेबल देखायो। हामी त्यहि गएर बस्यौँ। हाम्रो छेउमा एकजना केटा र दुइजना केटीहरुपनि थिए। खूब हाँसी हाँसी कुरा गरिरहेका थिए। उनिहरुको कुरो सुनेर हामी लाटाले पापा हेरेजस्तै गरेर बसिरहेका थियौँ। "के खान्छस् नि तँ?" उसले मलाई सोध्यो। "म त चिकेन मोमो खान्छु यार। त्यत्ति भए पुग्छ मलाई त" मलाई त्यत्ति खाने रहर थिएन। आफ्नो ध्यान खाली छेउको टेबल तिर मात्र गइरहेको थियो। "ठिकै छ नि, तँ मोमो खा, म चाँहि सोच्चु एकछिन" भनेर उ मेनु हेर्न थाल्यो। त्यत्तिकैमा पल्लो टेबलमा सिजलर लिएर वेटर आइपुग्यो। हितेशले त्यो सिजलर देखेर मलाई हेर्दै भन्यो, "ओइ म त्यहि खान्छु" "जा न त गएर माग, मलाई अलिकत्ति दिनु न भनेर" मैले ठट्टा गरेँ। "हत्तेरी! त्यो भन्नाले, त्यस्तै सिजलर खान्छु भनेको मैले" उसले कुरो सुधार्यो। हामीले अडर गर्यौँ अनि एकछिन खेलको कुरो एकछिन बिदेशको कुरो गरेर बितायौँ। वेटरले हाम्रो अडर बमोजिम खाना ल्यायो। छेउमा रहेका ति तिनजना सबै खाइसकेर उठे। दुइजना केटीहरु अघि अघि लागे उनिहरुको पछि पछि त्यो केटा लाग्यो। जानेबेलामा त्यो केटाले हामीलाई हेर्यो अनि खिसिक्क हाँस्यो। हामीलेपनि आँखाबाटै इशारा गर्यौँ। उनिहरु बाहिर गए। हामीले ढोका सम्म तिनीहरुलाई हेरिरह्यौँ। एकछिनपछि त्यो केटा फर्केर हामी भएको ठाउँमा आयो। "ह्या केटाहरु! तिमीहरु मलाई र्‍याग हान्न किन यहाँ आएको?" उसले हाम्रो टेबलमा भएको अर्को कुर्सीमा बस्दै भन्यो। "ल के को र्‍याग नि, निशान्त? हामीलाई थाहै थिएन तिम्रो यहाँ डेट छ भनेर" मैले निशान्तलाई सम्झाएँ। "ल ल ठिकै छ, तर तिमीहरुलाई चिनाउन त मन थियो, तर यस्तो झूर लुगामा झत्ते भएर आको छौ अनि त्यहि भएर चिनाउन कस्तो कस्तो लाग्यो, बरु तिमीहरुलाई मेरो डेट कस्तो लाग्यो नि?" उसले हाम्रो कुरो बुझ्न खोज्यो। "राम्रो जोडी छ यार तिमेरुको। मलाई त तिम्रो जोडी मनपर्यो।" हितेशले खूब तारिफ गर्यो निशान्तको जोडीको। "तिम्रो चाँहि के बिचार छ नि कुम्ले?" निशान्तले मलाई सोध्यो। मैले एकछिन सोचेँ अनि भने, "निशान्त, साँच्चि अर्को चोटीको तिम्रो डेटमा मलाई तिम्रो साथी भएर आउने मौका देउ है, बरु खाने खर्च मै बेहोरौँला, अनि लुगापनि राम्रै लाएर आउँला, तिमीहरुलाई नि छुट्टै बसेर कुरा गर्न रमाइलो नै हुन्छ नि, हैन?" समाप्त :पि
Read Full Discussion Thread for this article