Posted by: world_map November 12, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू! आज यौटा कथा लिएर आएको छु। यसमा प्रयोग गरिएका नामहरू परिवर्तन गरिएका छन्। अब केही दिन चौतारीमा सक्रिय रूपमा आउन पाउँदिन होला। तैपनि यस्तो चियाउँदै भने गर्छु। तामाङ्सेलो र डम्फू कुरा म कक्षा ३ पढ्दातिरको हो, हाम्रो स्कूलमा हप्ताको दुई दिन अतिरिक्त क्रियाकलापको कक्षा सञ्चालन हुन्थ्यो, जस् अन्तर्गत बिद्यार्थी आफैंले जिम्न्याष्टिक्स्, योगा, नृत्य, पीटी आदी मध्ये एक छान्नु पर्थ्यो। मलाई जिम्न्याष्टिक्स् गर्ने मन थियो, विद्यार्थीहरू स्प्रिङ्बोर्डबाट बुर्लुक्क उफ्रेर हावामा घुम्दै मज्जाले ल्याण्ड गरेको, लामा स्पन्जका चकटीहरूमा नरोकी हात र खुट्टाले टेक्दै घुम्दै अघि बढेको देख्दा मलाई पनि त्यस्तै गर्ने रहर लाग्थ्यो। घरमा मैले जिम्न्याष्टिक्स्मा जाने इच्छा व्यक्त गरें। तर जेठी दिदीले भनिन्, ‘जिम्न्याष्टिकस् मा गईस् भने त घरभरि उफ्रेर घरै भत्काइहाल्छस् नि, पर्दैन। बरू डान्सिङ् मा जा।‘ बुबाले पनि मैले अलि सानोमा स्टेजमा गरेका नाचहरू सम्झनुभएछ र भन्नुभयो, ‘तिमी त्यस्तो राम्रो नाच्छौ, पुरानो अनुभव पनि छ, डान्सिङ् मै जानु अहिले, बरू अलि ठूलो भएपछि जे मा मनपर्छ त्यसमा जाऊ।’ मैले घरको आग्रहलाई टाल्न सकिनँ र डान्सिङ् क्लासमा नाम लेखाएँ। तर हाम्रो नृत्य प्रशिक्षक अत्यन्त कडा मिजासका थिए, सबै विद्यार्थीहरू उनलाई देख्ने बित्तकै त्राहिमाम हुन्थे। मोटो शरीर, छोटो कद, कालो वर्ण, सिनित्त खप्पर भएको उनलाइ देख्ने बित्तिकै मलाई कुनै फिल्मको भिलेनको याद आउँथ्यो। अरू शिक्षकहरू हामीलाइ तर्साउनु पर्यो भने, ‘डान्सिङ् सरलाई बोलाईदिउँ?’ भनी तर्साउँथे। अब यस्तो काल भैरव जस्तो नृत्य प्रशिक्षक पाए पछि त मलाई प्रारम्भमै वितृष्णा जाग्न थाल्यो। नाच्दा पनि कहीं कतै बिगार्ने बित्तिकै सजायँ पाईहालिन्थ्यो, कम्तिमा पनि गाली त खाइन्थ्यो। तर म भने यस्तो गल्ती कतै नहोस् भनी सधैं सचेत रहन्थें, फेरी ठूलो समूहमा अभ्यास गर्दा चैं उनले मेरो गल्ती पत्ता लगाइहाल्न सकेका भने थिएनन्। अभिभावक दिवस नजीक आइरहेको थियो, उक्त कार्यक्रममा नाच्नको लागि हाम्रो कक्षाबाट केही विद्यार्थीहरू छानिन्छन् भन्ने कुरा मैले थाहा पाइसकेको थिएँ। यदि म पनि छनोटमा परें भने त कति पिटाई खाइन्छ होला भन्ने कुरा सोच्दा सम्म पनि मेरो मुटु ढुकढुक गर्थ्यो। त्यसैले मैले यस्तो योजना बनाएँ कि उक्त नृत्यको लागि छनोट कार्य पूरा नभएसम्म डान्सिङ् सरको नजरमै नपर्ने। म दुई तीनवटा नृत्यको कक्षाहरूमा जानी जानी उनले नदेख्ने ठाउँमा लुकेर बसें। छ जना केटा र छ जना केटी उनले छाने। छनोटमा परेका साथीहरूलाई देखेर मनमनै भनें, ‘खुच्चिङ्! अब तिमीहरूले डान्सिङ् सरको दह्रो पिटाई भेट्ने भयौ।‘ नभन्दै भयो पनि त्यस्तै, रवि र अनिलले ठीक पाइला नचालेकोमा केही झापड खाए, र बिचरी सृजनाले पनि राम्ररी घुम्न नजानेकीले भुत्ल्याईपाइन्। मलाई त्यस्तो दृश्य देख्दा निश्चय पनि राम्रो त लागेको थिएन, तर आफू लुकेर छानिनुबाट बचेकोमा भने खुशी लागिरहेको थियो। भोलिपल्ट भने म निश्चिन्त थिएँ किनकी छनोट सकिसकेको थियो, त्यसैले मैले लुकिरहने कुनै आवश्यकता महसूस गरिनँ। दुर्भाग्यवश हिजो अलि बढी पिटाई खाने रवि डरले आज अनुपस्थित भएछ, डान्सिङ् सर रीसले भुत्भुताउँदै यताउता आखा घुमाउँन थाले। म अगाडी नै बसिरहेको थिएँ र आज कतै लुक्ने अवसर पनि पाइनँ, र यत्रो विद्यार्थीहरूको बथानमा उनले मलाइ नै रोजे। मेरो मुटुमा ढ्याङ्ग्रो ठोक्यो, खुट्टा काम्न थाल्यो ओठ सुक्यो, तैपनि उठेर अगाडि गएँ। आज चैं अरू साथीहरूले मनमनै मलाई ‘खुच्चिङ्!’ भनिरहेजस्तो अनुभूति भयो। मैले पहिलो दिन निकै मेहनत साथ नृत्य सिकें, कहीं कतै भूल नहोस् भनेर अत्यन्त होसियार भएँ, र फलस्वरूप मैले डान्सिङ् सरको पिटाई त के सानो गाली पनि खानु परेन त्यो दिन। फेरी मेरी नृत्यकी पार्टनर प्रिया पनि साह्रै निपुण थिईन्, उनको प्रशंसा डान्सिङ् सर समेत मुक्त कंठले गर्थे। उनको त्यो सुन्दर मुहार र कलात्मक नृत्यले मेरो मन प्रफुल्लित पारिदिन्थ्यो। हाम्रो नाच तामाङ् सेलो थियो र हामी कहिले हात समात्दै, कहिले घुम्दै नाच्थ्यौं। प्रियालाई आफ्नो डान्स् पार्टनरको रूपमा पाएर म खुशी थिएँ। हाम्रो तयारी अघि बढ्दै गयो, मैले अत्यन्त होशियारी पूर्वक नृत्य सिक्दै गएँ, कहीं गल्ती गरिनँ, यो देखेर डान्सिङ् सर पनि म देखि प्रशन्न भए। अभिभावक दिवस पनि आइपुग्यो, हाम्रो कार्यक्रम प्रज्ञा प्रतिष्ठानमा हुने तय भयो। त्यस दिन हामीलाई बिहानै बोलाईएको थियो, म प्रज्ञा प्रतिष्ठानको पछाडीपट्टीको चौरमा पुग्दा प्रिया लगायत अरू साथीहरू पनि आइपुगिसकेका थिए। प्रियाले आज रातो जामा लगाएकि थिई, दुइ चुल्ठो बाटेकि र हातमा ससाना गुलावी रंगका चुरा लगाएकी थिई। गोरो अनुहारमा हल्का मेकअप पनि गरेकी प्रिया आज असाध्यै राम्री देखिएकी थिई। हामीले दिउँसो भरी अभ्यास गर्यौं, कार्यक्रम साँझमा थियो। स्टेजमा गर्ने नृत्यमा चैं केटाहरूको पहिरन दौरा, सुरूवाल, टोपी, ईस्टकोट थियो, र हातमा डम्फू लिनुपर्थ्यो। केटीहरूको पहिरन चैं चोलो, पटुकी र जामा थियो। लक्ष्मी मिस, सीता मिस र विद्या मिस हामीलाई मेकअप र पहिरन मिलाईदिनको लागि हुनुहुन्थ्यो। ‘जीवन र चित्रे अगाडी नाच्ने भएकाले यो निलो दौरा सुरूवाल लगाउने, ल लेऊ’, लक्ष्मी मिसले भन्नुभयो। हामीले लियौं, अनि सीता मिसले लगाउन सघाईदिनुभयो। अरू पनि दुई दुई जनालाई एकै रंगको दौरा सुरूवाल बाँडियो। विद्या मिसले मेकप गरिदिनुभयो, आठ नौ वर्षको उमेरमा जुंगा पनि कोरिदिनुभयो, हामी ऐना हेर्दै हाँस्यौं। केटीहरू पनि तयार भइसकेका थिए, कलेजी रंगको चोलो, सेतो पटुकी र रातोमा पहेंलो बुट्टा भएको जामा प्रियालाई बेजोड किसिमले सुहाएको थियो। म आफ्नो कृत्रिम जुंगा कोरिएको अनुहार लिएर उनलाई नियालिरहेको थिएँ। अघि दौरा सुरूवाल लगाए देखि मलाई पछाडी खुट्टामा हावा लागेको जस्तो भइरहेको थियो, कारण भने मलाई थाहा थिएन। ‘लौन नि, यो चित्रेको सुरूवाल त पछाडी च्यातिएको रहेछ !’ एक्कासी विद्या मिस कराउनु भयो। ‘ए हो त रैछ नि।‘ सीता मिस हाँस्न थाल्नु भयो। अरू साथीहरू पनि हेरेर गलल्ल हाँसे। म लाजले रातो पीरो भएँ। ‘चित्रे, ल यता आऊ म सिलाईदिन्छु।‘ लक्ष्मी मिसले मिलाएर सिलाइदिनुभयो। स्टेजमा जाँदा मुटु ढुकढुक भइरहेको थियो, तेजिला बत्तीहरूले आखै तिर्मिरायो। दर्शकदिर्घामा यस्सो चियाएँ, आमा बुबालाई देख्छु कि भनेर, तर कसैलाई चिन्नै सकिनँ। हाम्रो नाच पनि शुरू भइहाल्यो, टीभीको क्यामेरा पनि थियो, अब टीभीमा पनि आउने कुराले मन हावामा उड्न थाल्यो। डम्फू हल्लाउँदै, हात समाउँदै नाच्दा नाच्दै हाम्रो नृत्य पनि सकियो। घर फर्किने बेलामा बुबा, आमा, दिदी, ठूलो बुबालाई भेटें र सँगै बसमा चढेर फर्क्यौं। मेरो माथिल्लो ओंठमा कोरिएको जुंगा देखेर बसमा मानिसहरू मुसुमुसु हास्न थाले। ‘हिजो देखि कहाँ गएछ भनेको त केटीको पिटाई खान पो गएको रहेछ!‘ हाम्रो नाचमा केटीले केटालाई पिट्ने एक अंश सम्झेर ठूलो बुबाले जिस्काउनु भयो।
Read Full Discussion Thread for this article