Posted by: CaMoFLaGeD November 4, 2006
Login in to Rate this Post:
0
?
"पून्टे दाई, यो केराको थम्बा चाँहि कता राख्ने नि?" एउटा बडेमानको केराको सिङ्गै बोट बोकेर नमे पून्टे दाईको अगाडी उभियो।
पून्टे दाई निकै ब्यस्त हुनुहुन्थ्यो। भ्याई नभ्याई भइरहेको थियो उहाँलाई। "ल ल उ त्यहाँ राख अनि अरु चाँहि कस्ले ल्याउदैछन् नि?" पून्टे दाईले नमेलाई सोध्नुभयो।
"ग्वाँचे, यामे र नेप्चेले एउटा एउटा बोकेर ल्याउदैछन्" नमेले सम्झी सम्झी भन्यो।
"ल ठिक छ, चारवटा भयो भने यहाँलाई पुग्छ। अब प्रवेशद्वारमा राख्नलाई अरु दुईवटा पनि चाहियो नि, नेप्चेलाई र यामेलाई फेरि लिन पठाउनु एउटा एउटा" पून्टे दाईले अर्हाउनु भयो।
"हुन्छ! अनि हामी चाँहि के गर्ने नि?" नमेले फेरि पून्टे दाईलाई सोध्यो।
"तिमीहरु चाँहि अब यहाँ बसेर जग्गे बनाउने" पून्टे दाईले दुईवटा खन्ती नमेलाई थमाउदै भन्नु भयो।
उता अर्कोतिर जिम्माल बा कुर्सीमा बसेर खाना बनाउने मान्छेलाई कराँउदै हुनुहुन्थ्यो, "यसरीपनि रसबरी बन्छ त? दुधको लोभ नगर न। अलि मेहनत गर"
"हत्तेरी! कत्ति कराउन सकेको होला यो उमेराँ पनि? चूपलागेर तिनीहरुलाई बनाउन दिनु न। तपाईहरुको बेला जस्तो हो र यिनीहरुलाई भनिरहनुपर्ने? सिपालु कालिगडहरु छन्, आफै राम्रो बनाइहाल्छन् नि", छेउमा बसिरहनु भएका दादालाई जिम्माल बाको कुरो सुनेर वाक्क भैरहेको थियो।
"तिमी कुरो बुझ्दैनौ दादा, तिम्रा बिहेमा यसरी कराई कराई बनाउन लाएको थिएँ अनि हेर त गाउँलेहरुले कस्तो मिठो मानेर खाए। झन यो त चेलिबेटीको कुरो, गाउँको इज्जतको कुरो झनै मेहेनत गर्नुपर्छ", जिम्माल बा ले दादालाई झपार्नुभयो।
"खोइ होला त नि, अब मैले के भन्ने? जत्ति कराएपनि उहि हो क्यारे, तिनीहरुले सुनेजस्तो मान्दिन" आफ्नो कुरो राख्न दादापनि के कम नि।
त्यो घरमा निकै चहलपहल थियो। नहोसपनि कसरी। घरकी जेठी छोरीको बिहेको दिन थियो। बेहुली झैँ सिँगारिएको थियो त्यो घर। पून्टे दाईले घर सिँगार्ने जिम्मा आफुले लिनु भएको थियो। आफ्नो कुरा सुन्ने ठिटाहरुलाई साथमा लिएर पून्टे दाई निकै मेहेनत गरेर घर सिङार्नु भएको थियो।
जिम्माल बा लाई उहिले देखि खानाको जिम्मा लगाउँथे गाउँमा। जस्तो सुकै कार्यक्रम भएपनि खानाको डिपार्ट्मेन्ट जिम्माल बाको हुन्थ्यो। आँफु साकाहारी भएको हुनाले मासुको बारेमा उहाँ हेर्नुहुन्न थियो।
"ल यो मासु चाँहि ठिक्क ग्रेभी बनाउने अनि त्यो मासुलाई चाँहि खरो पारेर भुट्ने", मासुको डिपार्ट्मेन्ट साम्हालेर गोताएँ दाई बस्नु भएको थियो।
"ए गोताएँ अब पाहुनाहरुपनि आउने बेला हुनलाग्यो। त्यहाँको पाकिसकेको भए अब खाना बफेमा राख्नुपर्छ" जिम्माल बा ले परैबाट भन्नुभयो।
जिम्माल बालाई मासुको गन्धपनि मन नपर्ने हुनाले मासु पकाउने ठाउँ अलि पर बनाइएको थियो।
"हुन्छ हुन्छ! एक ट्रिप त तयार छ। अर्को ट्रिप पकाउँदैछन्। अनि जन्तीको लागि चाँहि तयार हुदैछ" गोताएँ दाईले यताबाट हरियो झन्डा देखाउनुभयो।
घर भित्र केटीहरुको भिड थियो। सबैजना आँफु सिङारिने अनि बेहुली सिङार्नेमा ब्यस्त देखिन्थे।
"अब बेहुलीलाई तल कोठामा लइजानुपर्छ, पाहुनाहरु आउन थालिसके" मिसले हत्तार हत्तार गर्दै सृङार कोठामा आएर भन्नुभयो।
"हुन्छ हुन्छ! बेहुली तयार छिन" तितौरीले भनिन।
रातो सारी, हिरा र सुनको गहना, अनुहारमा बिभिन्न मेकअप अनि नया किसिमको कपाल बाटेकी ठुल्नानीलाई बेहुलीको रूपमा सार्है राम्री देखिएको थियो।
बेहुलीलाई लिएर सान्नानी र तितौरी तल कोठामा गए। तितौरी र सान्नानीपनि सारीमा निकै राम्रा देखिन्थे।
पाहुनाहरुले ठुलीलाई उपहारहरु दिदैँ बधाई दिन थाले। आएका पाहुनाहरुलाई खाना खान लैजाने काममा नमे र नेप्चे खटिएका थिए। निकै भिड थियो ठुलीको बिहेमा। सबैले खूब बयान गरिरहेका थिए, ठुलीको रूपको।
"ओहो! इन्द्रेणी! लौ किन ढिलो गरेकी नि?" मिसले भर्खरै आउँदै गरेकी इन्द्रेणीलाई सोध्नुभयो।
"के गर्नु नि मास्टर्नी दिदी! बल्ल बल्ल आइपुगेँ। त्यो खबर गर्ने मान्छेले पनि हिजै मात्र भन्यो भोली ठुलीको बिहे भनेर, अनि आज गर्धुवा किनेर आउँदा आउँदै यो बेला भयो", इन्द्रेणीले मिसलाई भनिन्।
"ए! ठिकै छ नि, आइपुग्यौ त्यही राम्रो" मिसले इन्द्रेणीलाई सजिलो पार्नुभयो।
"हो त भन्या! मलाई त केहि थाहा छैन, साँच्चि अनि जन्ती चाँहि कहाँबाट आउने नि? मलाई त केहि भनेनन् ति खबरेले पनि" इन्द्रेणीलाई बुझ्ने इच्छा भयो।
"ए पर्ख न! अब जन्ती आउनेबेला भयो अनि आँफै थाहा पाउँछौ नि" मिसले उनलाई अरु केहि भन्नुभएन।
"ल ल! जन्ती आइपुगे!!" भन्दै केटाकेटीहरु बाहिर दौडिन थाले।
इन्द्रेणी र मिसपनि बाहिर निस्कनुभयो।
परबाट जन्ती आइरहेको थियो। घोडामा बसेको बेहुला अनि वरिपरी नाँच्दै आइरहेका जन्तीहरु निकै राम्रा देखिन्थे। त्यस्तो जन्ती हाम्रो गाउँमा कहिले आएको थिएन।
इन्द्रेणीले निकै निहालेर बेहुला हेर्न खोजिन्। तर मान्छेहरुको भिडमा ठम्याउन गार्हो परिरहेको थियो।
"ल यो सुख्खा अक्षता! जन्ती पर्सिनको लागी" टपरीमा अक्षता लिएर गालउ हिडिरहनुभएको थियो।
इन्द्रेणीले एकमुठी अक्षता लिइन अनि फेरि बेहुलातिर ध्यानले हेर्न थालिन्। अलि अलि नजिक आइरहेका जन्तीहरुमा उनले अलि अलि बेहुलाको अनुहार देख्न थालिन्। अनि मिसलाई च्याप्प समाउदै उत्साहित हुँदै भनिन्, "मास्टर्नी दिदी त्यो बेहुला त चित्रे होइन र?"
समाप्त :पि