Posted by: Gautam B. November 2, 2006
कथा- "एक जोर सूट"
Login in to Rate this Post:     0       ?        
"एक जोर सूट" साँझको आठजति भईसकेको थियो। बिहानैदेखि ल्याबमा खटेको हुनाले उ अत्यन्त थकित थियो। कोठातिर फर्किन भनेर निस्किसकेको थियो, ‘मेल चेक गर्नुप-यो हिँड्ने बेलामा’ भनेर कम्प्यूटर अगाडि बस्यो। "के लेखेछ बूढाले?!” एउटा मेल प्रोफेसरको पनि रहेछ। "चन्द्र कुमारजी, भोलि योकोहामामा हुने 'निप्पोन बायोटेक'को त्रैमासिक बैठकमा भाग लिन तपाईँ जानुहोला। म जान नभ्याउने भएँ।गत महिनाको सम्मेलनमा पेश गरिएका सामाग्रीहरु पनि लैजानुहोला र त्यसबारेमा छोटो प्रस्तुति दिनुहोला। धन्यवाद।“ चन्द्र कुमारले पी.एच.डी. शुरु गरे यता एक दुई पटक बूढाले यस्ता बैठकमा आफ्नो साटो चन्द्र कुमारलाई पठाएको छ। चन्द्र कुमार अल्छी तालले कोठातिर फर्कियो। चिसो बतास चलिराखेको थियो। ‘हिऊँ पर्छ कि क्या हो!’ आफैँसंग बोल्दै ढोका खोल्यो र झोला ओछ्यानतिर हुर्र्यायो। जुत्तै नफुकालीभान्छा तिर गयो,चाउचाउ पकाउन कराहीमा पानी बसाल्यो र त्यसपछि जुत्ता फुकालेर हातगोडा धुनथाल्यो। उम्लेको पानीमा चाउचाउ एक पोका र दुइटा अण्डा हाल्यो। दराजबाट कोट र पाइण्ट निकाल्यो। कोट ठिकै हालतमा रहेछ, पाईण्ट अलि खुम्चिएको जस्तो देखियो। खाइसकेपछि आइरन गर्ने सोच बनाएर चाउचाउ खानथाल्यो। खाईसकेपछि पाइण्ट टेबुलमा फिजारेर आइरन दल्न थाल्यो। अलि अलि आइरन गरेर नपुग्ने जस्तो लाग्यो चन्द्र कुमारलाई, अलि बढीनै खुम्चिएको रहेछ। । दिक्क मान्दै दोहोराएर आइरन ग-यो, तैपनि उस्ताको उस्तै! मन नलागी नलागी तेस्रो पटक आइरन ग-यो, पाइण्टमा परेका मुजाले हराउने नामै लिँदैनन्! ‘स्सा—ला! थोत्रो भाँडोमा धो’को लुगा यत्रो गतिलो हुन्थ्यो---!’ धेरै पुरानो वाशिङ मेशीन थियो उस्को, कुनै नेपालीले नेपाल फर्किने बेलामा छोडेको। पछिल्लो पटक धोएर निकालेकै बेलामा पाइण्ट एकदम खुम्चिएको याद गरेको थियो उसले। पछि हेरौँला र कुनै ड्राइक्लीनरकहाँ लगेर ठीक पारौँला भनेर छोडेको थियो, तर त्यसपछि एकपटक पनि हेरेनछ उसले। अर्को एक जोर कालो सूट हाल्ने विचार पनि पुरानै हो चन्द्र कुमारको, तर कहिले के कहिले के भएर किन्ने मेसै परेको छैन। पाइण्टले भोलि घोर बेइज्जत गर्नी भो भन्ने भावले मन खल्ल भयो चन्द्र कुमारको। ‘भोलि बिहान एकछिन फेरि मच्चिनुपर्ला आइरन ले’र।‘ भन्ने सोच्दै उ सुत्यो। भोलिपल्ट बिहानको नित्यकर्म सकेर फेरि आइरन लिएर मच्चिन थाल्यो। अहिले भने एकछिनमै छोडिदियो किनभने जति मच्चिएपनि पाइण्टले ठीक ठाऊँमा आउने सूर ल्याएन। “अँ--- भन्।“ फोन उठायो चन्द्र कुमारले। “जिम्दै छस् तँ? के गर्न लाग्याछस् नि अहिले?” ओमे बोल्यो उताबाट। “पाईण्टले टेन्सन दि’राछ यार!” “के भ’ र?” “हेर्न, आज एउटा कार्यक्रममा योकोहामा जानुपर्नी, सूटको पाईण्ट नराम्रोसंग खुम्च्या’ रैछ अस्ति धुँदा, जति आइरन गरे नी ठाममा आऊँदैन।“ “अनि अर्को सूट लाएर गए हुन्न त तँलाई?” “अर्को त हरियो छ यार, दाजुको बिहेमा हालेको, नेपालाँ जन्त जाँदा मात्तै लाउन हुन्छ त्यो त! कागको माझाँ बकुल्ला भईन्छ यार त्यो लाएर गयो भने त! जाप्नीज बूढ्ढाहरु छपक्कै कालै भ’र बस्या हुन्छन्।“ “अनि अर्को एक जोर कालो सूट हाल्नु पर्दैन त?! कट्टू र चप्पलका भराँ’ पि एच डी सक्नी भईस् कि क्या हो?! स्कलरशिपको मूठो सटक्क बुझ्नी मान्छे, दिनदिनै सूट फेरेर हिँड्नु, वर्षैपिच्छे गाडी फेर्नु! बोरामा पैसा कोचेर राख्या छस्, अनि यत्रो! कति बोरा येन लानी भईस् नेपाल? कि सिरकको खोलै भरिसकिस्?! हा—हा—हा !” ओमेले उडाउन पा’को, किन छोड्थ्यो? “नकरा मु--, किन फोन गरिस् भन्।“ “तेरो कुच्च्या मुख नदेख्या धेरै भ’थ्यो, आज भेटेर संगै खाना खाम् भनेर हो, भईहाल्यो अब।“ फोन राख्यो ओमेले। चन्द्र कुमारले अमिलो मन लिएर लुगा लगायो। रेलमै बेन्तो किनेर खाऊँला भन्ने सोच्दै कोठाबाट निक्लियो। रेल स्टेशनसम्म पुग्न दश मिनेटजति हिँड्दा एक शताब्दी पूरै हिँडेजस्तो लाग्यो उसलाई। हरेक सेकेण्ड उस्को मनलाई कसैले आफ्नो खुम्चेको पाइण्ट हेरिरहेको होला भन्ने सोचाईले चिमोटिरहेको थियो। सधैं काँधमा झोला झुण्ड्याउन मन पराउने चन्द्र कुमारले आज हातमै झुण्ड्याएको थियो, ता कि खुम्चेको पाइण्ट अलिकति भएपनि छेकियोस्।
Read Full Discussion Thread for this article